वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती « Khabarhub

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

पाल्पा- वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि यहाँका किसान टिमुरखेतीमा आकर्षित भएका छन् । खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि किसानले विकल्पका रुपमा टिमुरखेती गर्न थालेका हुन् ।

टिमुरखेती गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको रैनादेवी छहरा गाउँपालिका सत्यवतीकी गीता घर्तीले बताइन् । उनले यहाँका प्रायजसोले बारीभरीमा टिमुर लगाएको बताइन् ।

‘यहाँका सबैजसो किसानले बारी र बाँझो जमिनमा टिमुर लगाएका छन्, वनसँग जोडिएका ठाउँमा अरू बाली लगाएर जोगाउनै सकिँदैन, त्यसको विकल्प टिमुरखेती बनेको छ’, घर्तीले भनिन् । टिमुरबाट आम्दानीसमेत राम्रो हुँदै आएको उनको भनाइ छ ।

पहिले मकैखेती लगाउँदै आएकी घर्तीले अहिले बारीमा ५० बोट टिमुरका बिरुवा लगाएकी छिन् । दिनहुँजसो वन्यजन्तु आउने ठाउँमा अन्नबाली लगाएर भित्र्याउने समयसम्म केही नरहने भएपछि टिमुरखेती गर्न थालेको उनी बताउँछिन् ।

उनले भनिन्, ‘हरेक वर्ष बारीमा मकै लगायो बाँदर र बदेलले खाएर सखाप पारिदिन्छन् । मेहिनत गरेर लगाएको बाली भित्र्याउने बेलामा आएर वन्यजन्तुले खाइदिएपछि विकल्पको रुपमा टिमुर लगाइदिएकी हुँ’, टिमुरबाट राम्रो आम्दानीसमेत हुने घर्तीको भनाइ छ । उनी मात्र हैन यहाँका अधिकांश किसान अन्नबाली छाडेर टिमुरखेतीमा लागेका छन् ।

यहाँका सत्यवती, जुठापौवा, बल्डेङ्गगढी, छहरा, रिब्दीकोटको देउराली, पालुङमैनादी, कुसुमखोला, फेकका गाउँमा अन्नबाली वन्यजन्तुले सखापै बनाउन लागेपछि किसानले वनबालीअन्तर्गत टिमुरको व्यावसायिक खेती गर्न थालेका हुन् ।

रिब्दीकोट गाउँपालिका ठिमुरे ढुस्टुङका वुद्धबहादुर राना पहिला–पहिला बारीका काल्नामा टिमुर लगाउँदा सबै हाँस्थे । जब टिमुर आम्दानीको बलियो माध्यम बन्यो, त्यसपछि भने बारी ढाक्ने गरी सबैले टिमुर लगाउन थालेको उनी बताउँछन् । बारीको छेउ, ढिक, खोरिया तथा वनमा लगाइएको टिमुरखेतीले जिल्लाका दुई हजारभन्दा बढी किसानलाई फाइदा पुगेको छ ।

असारको अन्तिम सातादेखि असोज–कात्तिक महिनासम्म टिमुर बिक्री गरेर यहाँका किसानले वार्षिक एक लाखदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । टिमुरबाट वार्षिक दुई लाख आम्दानी गरेको रिब्दीकोट–६, ठिमुरेका किसान शिवबहादुर जिसीले बताए । चार वर्षअघि बाँझो जग्गामा लगाइएको टिमुरका बोटले अहिले राम्रो फाइदा दिएको उनले बताए ।

पछिल्लो समय अर्गानिक र औषधिजन्य जडीबुटीको प्रयोगकर्ता बढेका कारण सहरी क्षेत्रमा टिमुरको माग अत्यधिक छ । बजारमा अचार बनाउन, तरकारी पकाउँदा तथा मसला बनाउन र औषधि बनाउन टिमुरको प्रयोग हुँदै आएको छ । ग्रामीण क्षेत्रमा भन्दा बजारमा बस्ने मानिसहरूले टिमुरको प्रयोग बढाएकाले टिमुरले राम्रो मूल्य पाएको किसानको भनाइ छ ।

अग्लो र ओसिलो स्थानमा यसको खेती गर्न सकिने भएकाले पाल्पाको अधिकांश स्थानमा टिमुरको खेती गर्न सकिने किसानको भनाइ छ । बाँदरले अन्य खेतीमा आक्रमण गरिरहेका बेला टिमुरखेती किसानका लागि फाइदाजनक र सुरक्षित भएको डिभिजन वन कार्यालयका प्रमुख नारायणदेव भट्टराईले बताए ।

उनले भने, ‘अन्य खेतीमा बाँदरको आक्रमण हुन्छ तर टिमुर खेतीबाट किसानलाई सुरक्षित र दीर्घकालीन फाइदा हुन्छ ।’ एकपटक टिमुरको बोट हुर्काएपछि वर्षौसम्म फाइदा लिन सकिने भट्टराईको भनाइ छ । टिमुरको पकेट क्षेत्र बनाउन कार्यालयबाट बिरुवासमेत वितरण गर्ने गरेको उनले बताए । जिल्लाका पूर्वखोला र निस्दी गाउँपालिकाका विभिन्न स्थानमा टिमुरखेती हुने गरेको उनको भनाइ छ । (रासस)

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ७ : ३२ बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित