सम्हालिँदै अर्थतन्त्र, अधिकांश आर्थिक सूचक सकारात्मक | Khabarhub Khabarhub

शक्तिशाली सरकारको एक वर्ष

सम्हालिँदै अर्थतन्त्र, अधिकांश आर्थिक सूचक सकारात्मक


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस–एमालेको गठबन्धन सरकारले एउटा आर्थिक वर्षको बजेट पूरै कार्यान्वयन गर्न भ्याएको छ । तत्कालीन प्रधानमन्त्री पुष्कमल दाहाल नेतृत्वको सरकारका पालामा अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेट यो सरकारले कार्यान्वयन गर्न भ्याएको हो ।

२०८१ जेठ १५ गते चालु आर्थिक वर्षको बजेट ल्याउँदा यो सरकार थिए । बजेट आएको डेढ महिनापछि कांग्रेस–एमालेको समीकरणमार्फत् यो सरकार असार ३१ गते बनेको थियो । यसअर्थमा प्रचण्ड सरकारले ल्याएको बजेट ओली नेतृत्वको सरकारले कार्यान्वयन गरेको हो ।

नयाँ गठबन्धन बनेको एक वर्षपछि गत जेठ १५ गते वर्तमान अर्थमन्त्री विष्णुप्रसा पौडेलले आगामी आर्थिक वर्षको बजेट ल्याइसकेका छन् । एउटा सरकारले ल्याएको बजेट अर्कोले कार्यान्वयन गरे पनि अर्थतन्त्रका केही सूचक सकारात्मक देखिएका छन् ।

कोरोना महमारीपछि खुम्चिएको मुलुकको अर्थतन्त्र अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा केही विस्तार भएको थियो । चालु आर्थिक वर्षमा अर्थतन्त्र थप विस्तार भएको सूचकांकले देखाएका छन् ।

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्य ल्याउँदा पनि मुलुकको आर्थिक अवस्थाको विश्लेषण गरेका थिए । उनले मुलुकको आर्थिक अवस्था र वित्तीय स्वास्थ्य ठिक नभएको चर्चा बजेट वक्तव्यमै गरेका थिए ।

उनले अहिलेको सरकार गठन हुँदा अर्थतन्त्र दबाबमा रहेको परिसूचकहरूले संकेत गरेको बताएका थिए । तर निरन्तरको प्रयासबाट अर्थतन्त्र सकारात्मक लयतर्फ उन्मुख रहेको पनि उनको दाबी थियो ।

उद्योग, निर्माण, थोक तथा खुद्रा व्यापार लगायतका क्षेत्रमा गत आर्थिक वर्षमा ऋणात्मक वृद्धिदर रहेकोमा चालु आर्थिक वर्षमा वृद्धि हुने र विद्युत्, यातायात तथा भण्डारण र वित्तीय तथा बीमा सेवा क्षेत्रमा उल्लेखनीय वृद्धि हुने अनुमान रहेको उनले बजेटमा उल्लेख गरेका थिए ।

बजेट वक्तव्यको बुँदा नम्बर १८ देखि २३ सम्म उनले मुलुक ‘ग्रे लिस्ट’मा पर्नुको कारणदेखि राजस्व आम्दानीको स्रोत साँघुरिदै गएको उल्लेख गरेका थिए । तर पनि पुँजीगत खर्च, पर्याप्त लगानीको वातावरणका बाबजुद अर्थतन्त्रका अधिकांश सूचकहरू गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा फड्को मार्ने गरि सुधार नदेखिए पनि क्रमशः सकारात्मक बनेको देखिएको छ ।

सकारात्मक दिशातर्फ बाह्य सूचक

सरकारले अर्थतन्त्रको बाह्य क्षेत्र सुधारका उल्लेख्य कदम चालेको छैन, तर पनि रेमिट्यान्सको आधारमा अर्थतन्त्रको बाह्य क्षेत्र विस्तारै सुधारको अवस्थामा रहेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिमा भनिएको छ, ‘अर्थतन्त्र क्रमशः लयमा फर्कन थालेको छ ।
मुद्रास्फीति वाञ्छित सीमाभित्र छ । विप्रेषण आप्रवाह, विदेशी पर्यटक आगमन र निर्यातको बढोत्तरीले विदेशी विनिमय सञ्चिति बढेको छ । विगत दुई वर्षदेखि संकुचनमा रहेका आर्थिक क्षेत्रहरूसमेत विस्तार भई आर्थिक वृद्धि दर अघिल्लो वर्षको तुलनामा सुधार भएको छ ।’

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मुद्रास्फिति, शोधनान्तर स्थिति, वैदेशिक व्यापार, विप्रेषण आप्रवाह र विदेशी विनिमय सञ्चितिको अवस्था सकारात्मक रहेको छ ।

तर, सरकारको खर्च र राजस्व परिचालनबीचमा खाडल झन् ठूलो बन्न पुगेको छ । विस्तृत मुद्रा प्रदाय गत आर्थिक वर्षको तुलनामा घट्न पुगेको छ । यसका साथै निक्षेपको तुलनामा कर्जा प्रवाहको प्रतिशत पनि घट्न पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्षको त्यही अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्यामा बढेको छ । त्यस्तै, विदेशमा उच्च शिक्षा अध्ययन गर्न जानेको संख्या पनि उस्तै छ ।

निजी क्षेत्रमैत्री काम

सरकारले चालु आर्थिक वर्षको एक वर्ष अवधिमा निजी क्षेत्रलाई लक्षित गरेर केही नीतिगत कामको प्रयत्न गरेको छ । यद्यपि केही वर्षयताका सरकारले दलीय सहमतिका आधारमा यस्तो प्रयत्न गर्दै आएका थिए ।

आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८१, निजीकरण (पहिलो संशोधन) ऐन, २०८१, भन्सार महसुल ऐन, २०८१, बैंकिङ कसुर तथा सजाय ऐन, २०८२ र भन्सार ऐन, २०८१ चालु आर्थिक वर्षमा सरकारले संशोधन गर्ने काम गरेको छ ।

त्यस्तै, सरकारले निजी क्षेत्रको सहभागितामा उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोग गठन गरेर त्यसको प्रतिवेदनसमेत लिइसकेको छ । यसका साथै, त्यही प्रतिवेदनका केही सुझाव आगामी आर्थिक वर्षको बजेटमा समेत समेटिएको छ ।

यद्यपि, त्यही प्रतिवेदनका आधारमा बजेटमा समावेश ‘टेक एन्ड पे’ सुझाव निजी क्षेत्रको व्यापक विरोधका कारण सरकारले फिर्ता लिइसकेको छ ।

केही नीतिगत सुधारका बाबजुद चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा वैदेशिक लगानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वृद्धि भए पनि धेरै ठूलो फड्को मार्न सकेको देखिँदैन । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको जेठसम्म विभिन्न ७१७ वटा उद्योगमा ६०.६०९४ अर्ब विदेशी लगानी प्रतिबद्धता आएको छ । गत आर्थिक वर्षको त्यही अवधिमा यस्तो प्रतिबद्धता ४४ अर्ब ४० करोड रुपैयाँ बराबर थियो ।

कमजोर खर्च बढ्दो ऋण

चालु आर्थिक वर्षमा पनि पुँजीगत खर्च गर्ने सरकारको क्षमता भने विगतका वर्षहरू जस्तै माथि उठ्न सकेको छैन । सरकारको चालु खर्च वृद्धि भइरहेको छ भने वित्तीय व्यवस्थापन पनि बढ्न पुगेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार असार ३० गते सम्ममा सरकारले गरेको पुँजीगत खर्च ६१ प्रतिशत पुगेको छ । चालु शीर्षकको खर्च वार्षिक लक्ष्यको ८६ प्रतिशत र वित्तीय व्यवस्थातर्फको ८६ प्रतिशत पुगेको छ ।

त्यस्तै यो अवधिसम्ममा सरकारको राजस्व संकलन ७८.६ प्रतिशत मात्रै रहेको छ । उक्त राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने एक खर्ब बढी हो ।

यस वर्ष सरकारले ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेको थियो । असार ३० गतेसम्म लक्ष्यको ४४.३४ प्रतिशत अर्थात् २३ अर्ब २० करोड १५ लाख रुपैयाँ बराबर मात्रै सरकारले उठाउन सकेको छ ।

सरकारीको ऋणको साँवा–ब्याज भुक्तानीका लागि भने पछिल्लो ११ महिनामा तीन खर्ब २९ अर्ब ६० करोड खर्च भएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षको ११ महिनामा भने सार्वजनिक ऋणको हिस्सा दुई खर्ब २० अर्ब ५८ करोड रुपैयाँले बढाएको छ ।

सरकारले हालसम्म तिर्न बाँकी कुल ऋण २६ खर्ब ५४ अर्ब ६८ करोड रहेको छ । गत वर्ष साउनमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रहेको थियो । तर, चालु आर्थिक वर्षको ११ महिनामा सरकारले वैदेशिक ऋण भने लक्ष्यको ४५.७२ प्रतिशत मात्रै उठाउन सफल भएको देखिन्छ ।

वैदेशिक ऋण र अनुदानको प्राप्तिलाई हेर्दा सरकार वित्तीय कूटनीतिमा असफल भएको मूल्याङ्कन गर्न सकिन्छ ।

सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने सुरुवाती लक्ष्य राखेको थियो । तर, बजेट वक्तव्यसम्म आइपुग्दा अर्थमन्त्रालय र राष्ट्रिय तथ्यांक कार्यालयले समेत चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान गरेका छन् ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  १ : २३ बजे

धरान पुगेर मेयर हर्कले भने- ‘भारतीय दूतावास जानुपर्ने भएपछि मन्त्री खान हच्किएँ’

काठमाडौं – धरान उपमहानगरका मेयर हर्क साम्पाङले देशको नेतृत्वको जिम्मेवारी

दुईवटा कोठाबाट जिल्ला प्रशासन कास्कीको सेवा सुरु

कास्की– जेन–जी प्रदर्शनका क्रममा आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले

आन्दोलनकारीले सबै जलाएपछि सादा पोशाकमा सेवा दिँदै ट्राफिक

काठमाडौं – चर्को घाम न झरी। अनवरत सडक सुरक्षामा खटिइरहेका

बीपी राजमार्ग भोलिदेखि चौबीसै घण्टा सञ्चालन हुने

काभ्रेपलाञ्चोक– यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन

कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा