भौतिक पूर्वाधारमन्त्रीको दाबी- महानगरका सडकमा खाल्डा हाेलान्, सडक विभागका बाटामा छैनन् | Khabarhub Khabarhub

भौतिक पूर्वाधारमन्त्रीको दाबी- महानगरका सडकमा खाल्डा हाेलान्, सडक विभागका बाटामा छैनन्


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सडक विभागले बनाएको बाटोमा खाल्डाखुल्डी नभएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दाबी गरेका छन् । उनले विभागले बनाएको बाटोमा खाल्डाखुल्डी कतै भेटिए जानकारी दिन अनुरोध गरेका छन् ।  

सडक विभाग आफ्नो मन्त्रालयअन्तर्गत पर्ने भएकाले विभागले बनाएको बाटोमा खाल्डो नभएको दाबी गर्दै मन्त्री दाहालले भने, ‘अहिले कुनै पनि सडकहरू खाल्डो छैन, फेरि काठमाडौंमा छ भन्नु होला, त्यो महानगरको हुन सक्छ ।’

काठमाडौं महानगर र आफ्नो मातहतमा भएको बाटो छुट्याउन गारो भएकाले बिजुलीका पोलमा स.वि. लेखेको मन्त्री दाहालले बताए । उनले महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै भने, ‘काठमाडौंमा एउटा भ्रम छ । महानगर र हाम्रो बाटो छ’, दाहालले भने, ‘स.वि. लेखिएको बाटोमा खाल्डो परे मलाई भन्नू, अनि मलाई फोन गर्नू ।’

मन्त्री दाहालले नेपाल ईभीको युगमा प्रवेश गरिसकेको बताए । दिगो, सुरक्षित, वातावरणमैत्री यातायातको सुरुवात गरिसकेकाले अब यसलाई कसैले रोक्न नसक्ने उनले बताए ।

दाहालले यातायात पूर्वाधारको क्षेत्रमा नेपाल पछि नै रहे पनि केही वर्षको दौरानमा धेरै प्रगति भइरहेको बताए । ‘पूर्वदेखि पश्चिम समेट्ने राजमार्ग बनिरहेका छन् ।  उत्तर दक्षिणका करिडोर रहर लाग्दो तवरले बनिरहेका छन्’, दाहालले भने, ‘यी करिडोरलाई हामीले त्रिदेशीय कनेक्टीभिटीका रूपमा विकास गर्दछौं ।’ 

यसले भारत, नेपाल चीन जोड्न सघाउने दाहालको बुझाइ थियो । संसारका ठूला देशहरूलाई जोड्न सकियो भने धेरै लाभ लिन सक्ने र मुलुकलाई संघीय संरचनामा लगेपछि कतिपय द्विविधा देखिएको दाहालले बताए । दाहालका अनुसार संघले गर्ने काम प्रदेशले र प्रदेशले गर्ने काम कतिपय स्थानीय तहले गरिरहेका छन् । यसमा संघले समन्वय गरेर दुविधा हटाउन खोजिरहेको बताए ।

दाहालले ड्राइभिङ लाइसेन्सको समस्या हल भएको दाबी गरे । उनले आफू मन्त्री भएर आएपछि अनवरत प्रयत्न गरेर समस्या हल गरेको जिकिर गरे । अब लाइसेन्स दिने काम प्रदेशको भएकाले १ साउनदेखि प्रदेशले नै दिने बताए । मन्त्री दाहालले सार्वजनिक गाडीहरूमा क्यासलेस सिस्टम लागू गर्नुपर्ने बताए । साना गाडीहरू विस्थापन गर्ने नीति सरकारको रहेको उनको भनाइ थियो ।

मन्त्री दाहालले नेपाल सरकारले जामलाई व्यवस्थित गर्ने काम गरिरहेको बताउँदै यातायात व्यवसायीहरूसँग बसेर यातायातका समस्याका बारेमा छलफल गर्न आफू तयार रहेको बताए । बागमती प्रदेश श्रम तथा भौतिक पूर्वाधार मन्त्री प्रेमभक्त महर्जनले यातायात व्यवसायमा आबद्ध भएका व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा कसरी जोड्न सकिन्छ त्यो तर्फ लागेको बताए । 

यातायात व्यवसायीको समस्या बुझेकाले त्यसलाई सम्बोधन गर्ने समेत महर्जनले बताए । ‘समस्याको समाधानलाई कसरी समाधान गर्ने भन्ने विषयमा हामी अगाडि बढेका छौं’, महर्जनले भने, ‘राइड शेयरिङको विषयमा गण्डकी प्रदेशबाट सिकेका छौ । त्यो किसिमको गल्ती हुन दिंदैनौं ।’

सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डा. डोलनाथ खनालले कालो नम्बर प्लेट बाहिर निजी सवारी साधनले राइड शेयरिङ सेवा सञ्चालन गर्नु गैरकानुनी भएको बताए । खनालले सार्वजनिक यातायातको क्षेत्रमा राइड शेयरिङको विरुद्ध नरहेको तर रातो नम्बर प्लेट भएको सवरीसाधनलाई भने दिन नहुने तर्क गरे । सबैलाई नियम बराबर हुनुपर्ने खनालको भनाइ थियो । 

काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधनको सङ्ख्या पर्याप्त रहेको तर व्यवस्थापन आवश्यक रहेको नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए । स्वाँरले सार्वजनिक यातायात व्यवसायीले थोरै मार्जिन लिएर व्यवसाय सञ्चालन गर्नु पर्ने भएकाले यात्रुलाई पर्याप्त सुविधा दिन नसकेको बताए । 

महानगर यातायात प्रालिका अध्यक्ष सन्तोष खतिवडाले यात्रुलाई सेवा विस्तार गर्ने क्रममा विद्युतीय बसको सेवा सुरु गरेकोमा खुसी व्यक्त गरे । विद्युतीय मास ट्रान्स्पोर्टेशन सेवा दिन पाएकोमा हर्षित भएको बताए ।

‘महानगर यातायात आईपिओसम्म जानुपर्छ भन्ने लक्ष्य राखेका छौं’, खतिवडाले भने, ‘यहाँ धेरैले लगानी गर्नु भएको छ, हामी तपाईँहरूको लगानी डुब्न दिनौँ, लगानीको रिटर्न हामी पक्कै दिन्छौँ ।’

महानगर यातायात अब सार्वजनिक कम्पनीको रूपमा रुपान्तरण गर्ने तयारीमा रहेको खतिवडाले जानकारी दिए । साना गाडीलाई निरुत्साहित गर्दै ठूला गाडीहरूलाई प्रोत्साहन गर्नुपर्ने खतिवडाको भनाइ थियो । महानगर प्रालिले बुधबारबाट १२ वटा विद्युतीय गाडी सञ्चालनमा ल्याएको छ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ३ : १८ बजे

एमालेमा दुई विकेट पतन ! ओली सरकारको ‘भिजिबिलिटी’मा समस्या

गत साल बनेको ओली सरकारको टिम, जसमा केही मन्त्रीहरु हेरफेर

अफगानिस्तानमा सडक दुर्घटना : ११ जनाको मृत्यु, चार घाइते

एजेनसी – दक्षिण अफगानिस्तानको हेलमण्ड प्रान्तमा राजमार्ग दुर्घटनामा कम्तीमा ११

गुप्ताको राजीनामालगत्तै मन्त्री अधिकारीले पनि ३२ लाख घुस लिएको आरोप, बाहिरियो अडियो

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ७८

तीन वर्षमा पनि बनेन मध्यपहाडीको दुई किमि सडक

गण्डकी– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्की पोखरा महानगरपालिका–१ को