दमास्कस – इजरायलले बुधबार सीरियाको राजधानी दमास्कसस्थित रक्षा मुख्यालयमा हवाई आक्रमण गरेको छ। अल जजिराका अनुसार, इजरायलले उक्त मुख्यालयमा दुईवटा ड्रोनमार्फत हमला गरेको हो।
अहिले सामाजिक सञ्जालमा आक्रमणको भिडियो भाइरल भइरहेको छ, जहाँ लाइभ टिभी कार्यक्रमका क्रममा बमबारी भइरहेको देखिन्छ।
उता दक्षिणी सीरियाको स्वेदा प्रान्तमा शिया ड्रूज र सुन्नी बेदोइन समुदायबीच पछिल्लो ४ दिनदेखि हिंसात्मक झडप चलिरहेको छ । जसमा अहिलेसम्म २५० जनाको मृत्यु भइसकेको छ।
इजरायली रक्षा मन्त्री इजरायल काट्जले सिरियाली सेना देशको दक्षिणी भागबाट नहट्ने हो भने आफ्नो सेनाले आक्रमण जारी राख्ने चेतावनी दिएका थिए।
स्वेदा प्रान्तमा चार दिनसम्मको झडपपछि मंगलबार संघर्षविराम घोषणा गरिएको थियो, तर बुधबार पुनः हिंसा भड्किएको हो।
ड्रूज र बेदोइनबीच तनाव
यो हिंसा आइतबार सुरु भएको थियो । स्वेदा क्षेत्रका केही बेदोइन समुदायका व्यक्तिहरूले एक ड्रूज नागरिकमाथि हमला गरी लुटपाट गरेपछि ड्रूज मिलिशिया र बेदोइन समूहबीच झडप सुरु भयो।
यी बेदोइन समूहहरूमध्ये केहीलाई सिरियाली सरकार समर्थक मानिन्छ। त्यसपछि अपहरण, गोलीबारी र हिंसा बढ्दै गयो। हिंसा रोक्न सिरियाली सरकारले सोमबार सेनाको तैनाथी गर्यो।
तर ड्रूज मिलिशियाका नेताहरूले नयाँ सरकारप्रति अविश्वास देखाए । पठाइएका सैनिकहरूले बेदोइनको पक्ष लिन सक्ने आशंकाबीच झडपले अझ उग्र रूप लियो।
ड्रूज समुदायको समर्थनमा इजरायल
यसपछि इजरायल पनि हिंसामा संलग्न भयो । उसले स्वेदा आसपासका क्षेत्रमा सिरियाली सरकारी फौजमाथि बमबारी गर्यो।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भने, ‘हाम्रो उद्देश्य ड्रूज समुदायको सुरक्षा गर्नु हो । इजरायल र इजरायली अधीनस्थ गोलान हाइट्समा ड्रूजहरूसँग हाम्रो राम्रो सम्बन्ध छ।’
सिरियाको गृह मन्त्रालयले भने यो संघर्षलाई साम्प्रदायिक नभई अपराधीहरूसँगको सरकारी लडाइँ भनेको छ। मन्त्रालयले स्वेदा क्षेत्रमा सरकार असफल भएको स्वीकार गरेको छ। हाल स्वेदा शहरमा इन्टरनेट र विद्युत् पूर्णरूपमा बन्द छ।सीरियाको जनसंख्याको करिब ३ प्रतिशत ९८ लाख० ड्रूज समुदाय छन्।
१४ वर्ष लामो गृहयुद्धका क्रममा यस समुदायले आफूलाई असद सरकार र इस्लामी अतिवादीहरूबाट बचाउन मिलिशिया गठन गरेका थियो।
स्वेदा नियन्त्रणमा लिन चुके जुलानी
डिसेम्बरमा राष्ट्रपति बशर अल-असद अपदस्थ भएपछि, सुन्नी विद्रोही गठबन्धनले सत्ता सम्हालेको थियो। नयाँ सरकारले ड्रूज मिलिशियासँग वार्ता गर्दै उनीहरूलाई राष्ट्रिय सेनामा समावेश गर्न चाहेको थियो।
तर ड्रूज नेताहरूले नयाँ राष्ट्रपति अहमद अल-शरा (मोहम्मद अल-जुलानी)माथि विश्वास गरेनन्। शरा पहिले एक इस्लामी विद्रोही संगठनका सदस्य थिए, जुन अलकायदा–सम्बद्ध मानिन्थ्यो। यसैले ड्रूज र अन्य अल्पसंख्यक समुदाय नयाँ सरकारप्रति आशंकित छन्।
इजरायल किन गरिरहेको छ हमलारु
न्यूयोर्क टाइम्सका अनुसार, इजरायलको यो संलग्नताको दुई मुख्य कारण छन् । इरान समर्थक वा इजरायलविरोधी चरमपन्थी समूहहरूले सिरियाली सीमा नजिककमका ड्रूज बाहुल्य स्वेदा जस्ता क्षेत्रमा ठाँउ नबनाउन् भन्ने पहिलो चाहना।
दोस्रो, इजरायलमा बसोबास गर्ने ड्रूज समुदायका चासोहरूप्रति उत्तरदायित्व। उनीहरू इजरायली सरकारप्रति नजिक छन् । इजरायलले सोमबार र मंगलबार स्वेदा क्षेत्रमा सीरियाली सेना लक्षित हवाई हमला गरेको थियो। हालका महिनाहरूमा इजरायली सेनाले संयुक्त राष्ट्रसंघले गस्ती गर्ने बफर जोनमा नियन्त्रण कायम गरेको छ।
त्यस्तै, इजरायली सेना दमास्कसको दक्षिणतर्फ पसेको पनि खबर छ। असद शासनको समयमा भएका हतियार चरमपन्थी वा शत्रुका हातमा नपरोस् भन्ने बहानामा इजरायलले सिरियामा सयौं हवाई हमला गरिसकेको छ।
प्रतिक्रिया