म्याग्दीको गाजनेमा स्याउ उत्पादन सुरु « Khabarhub

म्याग्दीको गाजनेमा स्याउ उत्पादन सुरु


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–५ गाजने गाउँमा परीक्षणको रूपमा गरिएको स्याउखेतीले उत्पादन दिन थालेपछि कृषकहरू उत्साहित भएका छन् ।

समुद्री सतहदेखि दुई हजार ५० मिटर उचाइमा रहेको गाजनेमा चार वर्षअघि स्थानीयले परीक्षणका रूपमा स्याउका बिरुवा रोपेका थिए । चौबीस घरधुरीको बसोबास रहेको गाजने गाउँमा रोपेका १०० वटा स्याउका बोटमध्ये अधिकांशले फल दिन सुरू गरेको स्थानीय नीलकण्ठ शर्माले बताए ।

‘गाउँमा अधिकांशले पाँचदेखि १५ बोटसम्म स्याउका बिरुवा लगाएका थियौँ, बिरुवा रोपेको चार वर्षदेखि नै बोटमा फल लागेको छ, हामीले परीक्षणका रूपमा सुरू गरेको स्याउखेती सफल भएको छ, अब गाउँभर यसलाई व्यावसायिक रूपमा विस्तारमा लाग्छौँ’, शर्माले भने । मुस्ताङबाट गोल्डेन र रेड डेलिसियस प्रजातिको स्याउका बिरुवा ल्याएर लगाइएकामा अधिकांश बोटले उत्पादन दिन सुरू गरिसकेका छन् ।

गाउँमा काम गर्ने जनशक्तिको अभावले खेतीयोग्य जमिन बाँझिने समस्या बढिरहेको समयमा नगदे बालीका रूपमा स्याउखेतीलाई व्यावसायिक रूपमा विस्तार गर्ने स्थानीयको योजना छ ।

गाउँमा स्याउखेतीको परीक्षण सफल भएकाले अन्नबालीको विकल्पको रूपमा स्याउखेतीलाई विस्तार गर्ने तयारी गरेको स्थानीय कृषक गङ्गादक्त पौडेलले बताए । ‘पाँच वटा स्याउको बोट लगाएको थिएँ, बिरुवा हुर्किदै जाँदा उत्पादन दिन सुरू गरिसकेको छ, फलेको स्याउ स्वादिलो र रसिलो छ, यो वर्ष तीन रोपनी जग्गामा स्याउलाई विस्तार गर्ने योजना बनाएको छु’, पौडेलले भने ।

गाजने गाउँमा यसअघि २०४२ सालमा समेत स्याउखेती गरिएको थियो । सार्वजनिक पाखोमा सामूहिक रूपमा गरिएको स्याउखेती तत्कालीन समयमा मलजल र स्याहारको अभावले मासिएको थियो । चिसो हावापानी रहेकाले यस क्षेत्रमा स्याउखेतीको सम्भावना रहेको छ । अन्नबाली लगाउनका लागि श्रमशक्तिमा लगानी धेरै र उत्पादनबाट लाभ कम हुने भएकाले गाजनेका स्थानीयले अन्नबालीको विकल्पमा व्यावसायिक खेतीको रूपमा स्याउखेती गर्ने तयारी गरेका छन् ।

म्याग्दीमा यसअघि गुर्जा र राम्चेमा परीक्षणको रूपमा स्याउखेती गरिएको छ । हिउँदयाममा हिमपात हुने भू–भागमा स्याउखेती फस्टाउने कृषि प्राविधिक बताउँछन् । (रासस)

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ७ : ४९ बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो