पाँचथरको हेंवा खोलामा ‘मोडुलर बेलिब्रिज’ जडान « Khabarhub

पाँचथरको हेंवा खोलामा ‘मोडुलर बेलिब्रिज’ जडान


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथरको हेंवा खोलामा ‘मोडुलर बेलिब्रिज’ जडान गरिएको छ । मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा छुट्याउने हेंवा खोलामा नेपालकै लामो ७० मिटरको बेलिब्रिज जडान गरिएको हो ।

सडक डिभिजन कार्यालय इलामले भारतीय प्राविधिकको सहायतामा जडान गरेको बेलिब्रिजको पहुँचमार्गसहितका संरचना निर्माण भइरहेका छन् ।

आगामी हप्तादेखि यसै बेलिब्रिजबाट सवारीका साधन सञ्चालन हुने सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए । उनका अनुसार हेंवा खोलामा निर्माण गरिएको बेलिब्रिज नेपालमा जडान भएकामध्ये सबैभन्दा लामो हो । बेलिब्रिजको भार बहन क्षमताको मापनसमेत सफल भइसकेको छ ।

निर्माण कम्पनीले गत चैतदेखि बेलिब्रिजका संरचना निर्माण थालेको थियो । तर बेलिब्रिज जडान अन्तिम चरणमा पुगेको समयमा गत जेठ ३१ गते बेलिब्रिज भाँचिएर झर्दा तीन जना कामदारको ज्यान गएको थियो । यसपछि सडक विभागले बेलिब्रिजका संरचना निर्माण गर्ने भारतीय कम्पनीलाई भाँचिएका सामग्री तथा प्राविधिक पठाइदिन आग्रह गरेको थियो । भारतबाट आएका प्राविधिक र मिस्त्रीले साउन १७ गते बेलिब्रिज जडानको काम थालेर साउन २८ गते सम्पन्न गरेका हुन् ।

बेलिब्रिजका सबै सामग्री भारत सरकारले निःशुल्क उपलब्ध गराएको थियो । भारतीय पक्षले सामग्रीका अतिरिक्त पठाएको लन्चिङ सेट र पुल जडान गर्न इन्जिनियर तथा प्राविधिक रहेको १८ जनाको टोलीले छोटो समयमै बेलिब्रिज जडान सम्पन्न गरेको डिई भट्टराईले जानकारी दिए ।

मेची राजमार्गअन्तर्गत हेंवा खोलामा रहेको सडक पुल २०८० असार २ गते आएको बाढीले बगाएको थियो । पुल बगेकै स्थानमा २९ दिन लगाएर नयाँ बेलिब्रिज निर्माण गरिएको थियो । तर उक्त बेलिब्रिजसमेत ०८१ असोज १२ गते आएको बाढीले बगाएपछि हेंवा खोलामा डाइभर्सनका माध्यमबाट सवारीका साधन आवतजावत गर्दै आएका थिए ।

सडक डिभिजन कार्यालयले नै डाइभर्सन मर्मतको कामसमेत निरन्तर चलाएको थियो । नयाँ बेलिब्रिज जडानपछि हेंवा खोला उत्तरका नागरिकले तीन वर्षदेखि वर्षायाममा भोग्दै आएको सास्ती हट्ने आशा पलाएको पाँचथरको हिलिहाङका वीरेन्द्र मङ्ग्रातीको भनाइ छ ।

यस पटक बेलिब्रिज जडानसँगै सडक विभागले मोडुलर बेलिब्रिज जडानसम्बन्धी दश दिने प्रयोगात्मक तालिमसमेत सञ्चालन गरेको थियो । तालिममा सडक विभागका इन्जिनियर, सबइन्जिनियर, मेकानिक र अपरेटर गरी ३२ जनाले सहभागिता जनाएका थिए । (रासस)

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ७ : ०० बजे

राप्ती नदीमा निर्माणाधीन पुलको ७५ प्रतिशत काम पूरा

नेपालगन्ज– बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन

ग्लोबल आइएमई बैंकद्वारा ‘उद्यमशाला’ कार्यक्रम घोषणा, आवेदन खुला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा लघु,

कास्कीमा रोपाइँ तीव्र, ४७ प्रतिशत रोपाइँ सकियो

लेखनाथ– अघिल्लो वर्षको तुलनामा यस वर्ष एक हप्ताअघि मनसुन सुरु

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

अर्घाखाँची– अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा

टिपरको ठक्करबाट पैदलयात्रुको मृत्यु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज