आन्दोलनकारीले सबै जलाएपछि सादा पोशाकमा सेवा दिँदै ट्राफिक | Khabarhub Khabarhub

आन्दोलनकारीले सबै जलाएपछि सादा पोशाकमा सेवा दिँदै ट्राफिक



काठमाडौं – चर्को घाम न झरी। अनवरत सडक सुरक्षामा खटिइरहेका हुन्छन् ट्राफिक प्रहरी। हातमा सिट्टी, सेतो र कालो रङ् मिसिएको क्याप, नीलो आकाशे रङ्को सर्ट अनि गाढा निलो पेन्ट। यो पोशाक उनीहरुको चिनारी हो तर यतिबेला उनीहरु पोशाकबिहीन भएका छन्।

जेनजी आन्दोलनले ट्राफिक प्रहरीको चिनारी खोसिएको छ। सामाजिक सञ्जालमा प्रदर्शनकारी ट्राफिकको पोशाक लगाएर सिट्टी फुक्दै गरेका देखिन्छन्। कतिपयले अमर्यादित व्याङ्ग्य गरेको पनि देखियो। ट्राफिक भने पोशाक बिना नै घाम पानी नभनी सडकमा खटिनुपर्ने बाध्यतामा छन्।

एक ट्राफिक प्रहरीले नाम नलेख्ने शर्तमा भने, ‘सडकमा पोशाक नै हाम्रो चिनारी थियो। खोलेर राखिएका हाम्रा पोशाक रमाइलोका लागि प्रयोग गरियो। महत्त्व बुझिएन अहिले ड्युटीमा जाँदा एउटाको बेल्ट, अर्कोको सर्ट, अर्कोको क्याप लगाएर खटिनुपरेको छ, यो पनि नमिले त सिभिलमै सडकमा उभिएका छौँ।’

आक्रोश र पीडासहित उनले थपे, ‘कति लामो द्वन्द्वको अनुभव हामीसँग छ, कहिल्यै यसरी नाङ्गो हुनुपरेको थिएन, आज सुरक्षा दिने हामी नै असुरक्षित छौँ। तर हामी जनताको सेवामा जस्तोसुकै परिस्थितिमा पनि खट्नुपर्छ।’

सुत्ने बिस्तारा र खाना पकाउने भाँडाकुँडा सबै जलेपछि आफन्तकोमा शरण लिनु परेको उनको भनाइ छ। अधिकांश ट्राफिक प्रहरी बिस्कुट पानीको भरमा लामो– लामो ड्यूटी गर्न बाध्य भएको उनले सुनाए।

‘हामी मध्ये कति कार्यालयमा नै सुत्ने गथ्र्यौं, यहाँका सबै बिस्तारा खरानी भएका छन्। नाता हुने आफन्तकोमा गएका छन्, नहुनेलाई सास्ती भएको छ। भाँडाकुडा जुटाएर कार्यालयमै पकाउने तयारी गर्दैछौ’, खबरहबसँग उनले गुनासो पोखे।

सडकमा ट्राफिक व्यवस्थापनमा खटिरहेका उनको जस्तो गुनासो अन्य सुरक्षा निकायको पनि छ। पोशाक मात्रै होइन प्रहरीका हातहतियार गोलीगठ्ठा समेत लुटिएका छन्। अपराधमा संलग्न दशौं हजार कैदीबन्दीलाई कारागारबाट भगाइएको छ। जसले गर्दा सर्वसाधारणमा त्रास छाएको छ।

यस्तो विषम परिस्थितिमा देशवासीले समाजमा शान्ति सुव्यवस्था कायम गर्ने सुरक्षा निकायलाई सघाउनु जरुरी छ। सोहीअनुरुप जनताले समिति बनाएर जिन्सी, आर्थिक कसरी सकिन्छ सहयोगमा जुटिरहेको काठमाडौं उपत्यका प्रहरी प्रवक्ता शेखर खनालले बताए।

‘जनताले टोल टोलमा देखाएको जागरूकताले हातहतियार फर्काउनेक्रम जारी छ। प्रहरी बिना समाजमा शान्ति कायम हुन सम्भव छैन, के सहयोग चाहिन्छ भनेर नागरिक समाज आफैँ आइरहनु भएको छ। यसले हामीलाई बल पुगेको छ। बिदामा भएका साथीहरु पनि काममा फर्किनु भएको छ। कतिले लत्ता कपडा, भाँडाकुँडा, रासन सहयोग गरिरहनु भएको छ । कति आर्थिक सहयोग गर्न आउनुभएको छ’, प्रवक्ता खनालले थपे।

आन्दोलनको भोगाइले आत्मबल धर्मराए पनि जनताको सेवामा अनवरत खटिरहेको उनको भनाइ छ। यता काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा भने प्रहरी प्रधान कार्यालयले पोशाक व्यवस्थापन गरेको छ। ‘आइतबारदेखि उपत्यकामा ट्राफिक बढिरहेको छ। ड्रेस नभएसम्म काम गर्न असहज हुन्छ, प्रहरी प्रधान कार्यालयले व्यवस्था गरिदिएको छ। साथीहरुले सिलाउँदै हुनुहुन्छ’, उनले भने, ‘कार्यालय ध्वस्त छ, ट्राफिक मेट्रो एफएमबाट काम गर्ने तयारी थालेका छौं। अहिले पालमुनी छौं’

ट्राफिक कार्यालयमा राखिएका प्रहरीका सवारी साधनसँगै कारबाहीका लागि राखिएका सबै सवारीसाधन जलाइएको छ। क्षतिको आंकलन भने अझैसम्म भइसकेको छैन।

उपत्यकामा मात्र तीन जना प्रहरीको ज्यान गयो

काठमाडौँ उपत्यका प्रहरीका अनुसार आन्दोलनका क्रममा उपत्यकामा मात्रै तीन जना प्रहरीको ज्यान गएको छ भने एक हजार ३६ जना घाइते भएका छन्।

‘कोटेश्वरमा एक र महाराजगन्ज प्रभागमा दुई गरेर तीन जना सुरक्षामा खटिएका प्रहरीले ज्यान गुमाए’, उनले भने। काठमाडौंमा घाइते भएका नौ सय १६ जनामध्ये एक सय ३१ जना अझैसम्म उपचारमा छन्।

यस्तै काठमाडौँमा रहेका ६२ वटा प्रहरी कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् भने ६४ मा आंशिक क्षति पुगेको छ। ललितपुमा ९ वटा कार्यालय पूर्ण र ११ वटामा आंशिक क्षति पुगेको छ । भक्तपुरमा १० वटामा पूर्ण क्षति हुँदा र आठमा आंशिक क्षति भएको छ।

ट्राफिकका एक सय ३४ सवारी साधनमा क्षति
उपत्यकामा मात्र ट्राफिक प्रहरीका मात्र एक सय ६४ सवारीसाधन क्षतिग्रस्त भएका छन्। जनताको गुनासो आएसँगै त्यहाँसम्म पुग्नका लागि प्रहरीका लागि सवारीसाधन अत्यावश्यक हुन्छ। ‘जनता समस्यामा पर्दा जतिसक्दो छिटो सुनुवाइ गर्न सवारीसाधनको अपरिहार्य थियो, आन्दोलनमा काठमाडौंको ४९ वटा चारपाङ्ग्रे ५३ वटा दुई पाङ्ग्रे, ललितपुरको ७ वटा चारपाङ्ग्रे १६ वटा दुई पाङ्गे, ४९ वटा चारपाङ्ग्रे, ५३ वटा दुई पाङ्गे र भक्तपुरमा चार वटा चारपाङ्ग्रे ११ वटा दुई पाङ्ग्रे सवारीसाधन नष्ट भए,’ उनले भने।

सीमित स्रोत साधनमा काम गरिरहेको प्रहरीले देश संकटमा परेका बेला समस्या प-यो भनेर बस्न नमिल्ने उनको भनाइ छ। यो परिस्थितिको सामना गरेर प्रहरी अगाडि बढेको उनले सुनाए

रानीपोखरीमा रहेको उपत्यका प्रहरी कार्यालय क्षतिग्रस्त बनेपछि प्रहरी क्लब प्रदर्शनीमार्गबाट उपत्यका प्रहरी सञ्चालन गर्ने तयारी छ। देशभर भएको क्षति संकलन गर्न भने अझै केहिदिन लाग्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ७ : १० बजे

झापामा एक सय ५२ भौतिक संरचनामा क्षति

सुरुङ्गा– जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति

जेन-जी प्रदर्शन : ४१ जनाको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाईयो 

काठमाडौं– भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनमा मृत्यु

सडकको अवस्था हेरेर अग्रिम ‘टिकट बुकिङ’ खुला गरिने

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सडकको अवस्था हेरेर मात्रै

कैलाश ढुंगेललाई प्रश्न- एमालेको नेतृत्व कहिले फेर्ने ?

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

चाडपर्वमा यातायात सेवा प्रभावकारी बनाइँदै, भाडा नबढाइने

काठमाडौं– यातायात व्यवस्था विभागले चाडपर्वलाई मध्यनजर गर्दै यातायात सेवालाई प्रभावकारी