जाग्राम बसेर देश विकास हुने हो र प्रधानमन्त्रीज्यू ? | Khabarhub Khabarhub

जाग्राम बसेर देश विकास हुने हो र प्रधानमन्त्रीज्यू ?



७२ वर्षीय बयोवृद्ध निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई पछ्याउँदै ७३ वर्षीया प्रधानमन्त्री सुशीला कार्कीले पनि १८ घण्टा काम गर्ने घोषणा पदबहाली पहिल्यै गरिन् ।

क्या गज्जब, कति मेहनती प्रधानमन्त्रीहरू ‘ब्याक टु ब्याक’ पाएको छ, देशले । अब देश प्रचण्ड र बाबुरामले बनाउनु पहिला  नै  स्विट्जरल्याण्ड बन्नेछ । प्रधानमन्त्रीले सार्वजनिक रूपमा भनिन्, ‘म दिनमा १८ घण्टा काम गर्छु।’ यो बयान स्वागतयोग्य, समर्पणको प्रतीक जस्तो लाग्न सक्छ, तर गहिराइमा केही प्रश्न उठ्दैछन् । के अरु प्रधानमन्त्री धेरै सुतेर देश पछि परेको हो ?  के नेताको काम गर्ने घण्टा नै राष्ट्र उकास्ने मापदण्ड हो ? के साँच्चै १८ घण्टा काम गर्नु नै राष्ट्र उकास्ने उपाय हो ? के अनुचित रूपमा निद्रा त्यागेर नेतृत्वको प्रभावकारिता वृद्धिले सुनिश्चित गर्दछ ? यी प्रश्नलाई वैज्ञानिक, शास्त्रीय, ऐतिहासिक र सामाजिक परिप्रेक्ष्यबाट हेर्दा उत्तर स्पष्ट हुन्छ— अहँ, होइन, यो नौटङ्की हो ।

मानव शरीर र मस्तिष्कले एक जैविक चक्र अनुरूप काम गर्छ । वैज्ञानिक अध्ययनहरूले बारम्बार देखाएका छन् कि वयस्कलाई औसत ७–८ घण्टा निद्रा आवश्यक हुन्छ।

मानव शरीर र मस्तिष्कले एक जैविक चक्र अनुरूप काम गर्छ । वैज्ञानिक अध्ययनहरूले बारम्बार देखाएका छन् कि वयस्कलाई औसत ७–८ घण्टा निद्रा आवश्यक हुन्छ। अमेरिकाका विभिन्न स्वास्थ्य संस्थाहरूले निद्राको अभावलाई उच्च रक्तचाप, मुटु रोग, मधुमेह, मानसिक स्वास्थ्य समस्या र स्मरण शक्ति घट्ने मुख्य जोखिमहरूसँग जोड्छ । विश्वका प्रतिष्ठित चिकित्सा संस्थाहरूले समेत निद्राको अभावलाई सार्वजनिक स्वास्थ्य चुनौतीको रूपमा मान्यता दिएका छन् ।

एरियाना हफिङ्टनले आफ्नो पुस्तक द स्लीप रेभुलुसनमा औँल्याएकी छिन्– ‘निद्रा कुनै आलस्यको लक्षण होइन, बरु सृजनशीलता, निर्णय क्षमता र दीर्घकालीन कार्यक्षमताको आधार हो ।’ उनको व्यक्तिगत अनुभव र अनुसन्धानले अत्यधिक काम र अनिद्राले न केवल व्यक्तिगत स्वास्थ्य बिगार्छ, बरु नेतृत्वको गुणस्तरीय निर्णय प्रक्रियामा पनि व्यवधान खडा गर्छ। जब शीर्ष नेतृत्व निद्राहीन हुन्छ, तब निर्णयहरू सतहमा आधारित, झटपट र दीर्घकालीन प्रभावको मूल्याङ्कन विहीन हुन सक्छन् ।

ऐतिहासिक उदाहरणहरूले यो सत्यलाई पुष्ट गर्छन् । विन्स्टन चर्चिलले द्वितीय विश्वयुद्धको समयमा दीर्घकालीन काम गरे तापनि उनले दिउँसो छोटो निद्रालाई आफ्नो दैनिक अभ्यास बनाएका थिए ।  सफल नेताहरूले समय व्यवस्थापन, प्राथमिकता निर्धारण र पुनः ऊर्जा प्राप्तिका लागि विश्रामलाई पर्याप्त महत्व दिएका छन् । जसिन्डा आर्डर्न जस्ता नेताहरूले पारिवारिक जीवन र शीर्ष सरकारको कर्तव्यबीच सन्तुलन राखेर आफ्नो कार्यक्षमता देखाए।

देशमा शान्ति, भाइचारा, सहिष्णु, संस्कार,  समृद्ध, दिगो विकास, लगानीमैत्री वातावरण, लगानीको प्रतिफल आउने सुनिश्चितता बिरामी हुँदा उपचार गर्न नसकेर वा नपाएर मरिने त्रासबाट नागरिकलाई मुक्ति दिलाउन १८ घण्टा काम को जरुरी छैन ।

नेपालको सन्दर्भमा चिन्ता अरू किसिमले गम्भीर छ । विगत दशक–डेढ दशकमा पटकपटक सरकार परिवर्तन, संस्थागत धोखाधडी र नीतिगत निरन्तरताको अभावले देशलाई प्रतिकूल बनाएको छ । यहाँ आवश्यक छ- ‘दिर्घकालीन नीति, पारदर्शिता, जवाफदेही र संस्थागत बलियो गर्ने कार्य । यी सबै गुण ‘… घण्टा बढी काम’ बाट होइन, योजना, कार्यान्वयन र नियमित आवधिक मूल्याङ्कनबाट आउँछन्।

प्रकृति र शरीरको नियम 
प्रकृतिले मान्छेलाई २४ घण्टाको चक्रमा डिजाइन गरेको छ । आयुर्वेददेखि आधुनिक न्यूरोसाइन्ससम्म एउटै कुरा भन्छन्— शरीरलाई सन्तुलन चाहिन्छ ।

चरक संहितामा भनिएको छ–
‘निद्रायुक्तं सुखं दुःखं पुष्टिः कर्ष्यं बलाबलम्।’ अर्थात् निद्रा प्राप्त भए सुख, स्वास्थ्य र बल आउँछ, निद्रा हरायो भने दुःख, रोग र दुर्बलता आउँछ।

प्रधानमन्त्रीले १८ घण्टा जाग्राम बस्दा उनले आफ्नो शारीरिक मात्र होइन, मानसिक स्वास्थ्य पनि खतरामा पार्छन् । अनि त्यो खर्च राज्यले व्यहोर्नुपर्ने हुन्छ- उपचारमा, निर्णयगत गल्तीमा र देशको दिशाहीनतामा । आम नागरिकलाई ढुक्कले निद्रा आउने बनाउनु चाहिँ कुशल नेताको दक्षता हो । त्यसका लागि देशमा शान्ति, भाइचारा, सहिष्णु, संस्कार,  समृद्ध, दिगो विकास, लगानीमैत्री वातावरण, लगानीको प्रतिफल आउने सुनिश्चितता बिरामी हुँदा उपचार गर्न नसकेर वा नपाएर मरिने त्रासबाट नागरिकलाई मुक्ति दिलाउन १८ घण्टा काम को जरुरी छैन । इमान, आचरण, नैतिकता, पारदर्शिता, सुशासन भए हुन्छ । संविधानलाई यदि घर सम्झिने हो भने तपाईँ क्रेनबाट घरमा पस्नु भएको हो । त्यो पीडाले १८ घण्टा छटपटी हुने कुरा तपाईँको हो । त्यसमा पपुलिस्ट शब्दावलीको कुनै उपादेयता देखिँदैन ।

काम गर्ने आँट योजना लागू गर्ने हिम्मत छ भने अमेरिका, बेलायत, फ्रान्स, भारत, चीन अथवा जापानका नेता वा प्रधानमन्त्रीका दिन पनि २४ घण्टाकै हुन्छ । उनीहरु कहाँ छन् ? अनि हामी कहाँ छौँ ? अघाउञ्जेल घुमिसकेका, देखिसकेका स्थान र देश स्मरण गराएको मात्रै हो । उनीहरूलाई प्रकृतिले ४८ घण्टाका दिन दिएर ती देश त्यस्ता भएका होइनन् । भ्रम छर्ने, भाषण र उत्तेजना वा भावनामा युवाहरू रुमल्लिने अल्झाउने  चेष्टा नगर्नुस् । तोकिएको काम बाहेक यताउता पल्याकपुलुक नगर्नुस् । त्यसो गर्नु भनेको फेरि देशको माटोमा रगत बग्नु हो ।

तसर्थ शान्त इजलासमा बसेर रिटायर भएजस्तो सुबिस्ताको जिन्दगी त हुने छैन, तर पनि तपाईँ आम नागरिक भन्दा बढी निदाउनुपर्ने कारण यस्ता छन् ।

अनिद्राका प्रत्यक्ष प्रभावहरूका केही तथ्य सङ्क्षेपमा यस्तो छ–

क)    स्मरणशक्ति कमजोर हुने अनुसन्धानले देखाएको छ कि निद्रा कमीले निर्णय क्षमता र स्मरणशक्ति दुवै घट्छ ।
ख)    हृदयरोग र मधुमेहको खतरा हुन्छ । रिपोर्टअनुसार ६ घण्टाभन्दा कम निद्रा लिनेहरूमा हृदयघातको जोखिम ३३ प्रतिशत बढी हुन्छ ।
ग)    मानसिक स्वास्थ्यको अध्ययनले अनिद्राले डिप्रेसन, एन्जाइटी, आत्मघाती र आत्महत्या प्रवृत्ति बढाउँछ भनी देखाएको छ।
घ)    न्यूरोलोजिकल घट्दा निर्णयशक्ति कमजोर, निद्राको कमीले प्रिफ्रन्टल कोर्टेक्स, जसले निर्णय र नियमनको कार्यक्षमता घटाएर जोखिमपूर्ण, हतार र हतोत्साही निर्णयलाई बढावा दिन सक्छ ।

स्वास्थ्य खर्च र आर्थिक प्रभाव र अन्य अध्ययनहरूले देखाएका छन् कि निद्रा अभावले उत्पादनशीलता घटाउँछ र समग्र अर्थतन्त्रमा ठूलो आर्थिक घाटा पुर्‍याउँछ।

राजनीतिक दृष्टिले, जब प्रधानमन्त्री स्वयंले आफ्नो स्वास्थ्यलाई जोखिममा पार्ने गर्व व्यक्त गर्छन्, त्यो सन्देशले नागरिकमा दुःख, असुरक्षा र भ्रम जन्माउन सक्छ । नागरिक सोच्छन्- ‘यदि प्रधानमन्त्रीले आराम गर्न सक्दैन भने उनी हाम्रो लागि जबाफदेही हुन कसरी सक्ने ?’ यसले शासनप्रति अविश्वास बढाउन सक्छ !

एरियाना हफिङ्टन र निद्राको क्रान्ति
एरियाना हफिङ्टनले आफ्नो पुस्तकमा भनेकी छिन्–
उनी आफैँ ‘कम निद्राले सफल हुन्छु’ भन्ने भ्रममा परेकी थिइन् । निरन्तर काम, थकाइ र निद्रा अभावले एक दिन अफिसमै ढलेपछि उनले बुझिन्— निद्राको कमीले सिङ्गो जीवनलाई सङ्कटमा पार्छ । त्यसपछि उनले ‘निद्राको क्रान्ति’ अभियान चलाइन्, जसले विश्वभरका राजनीतिक नेतृत्व र सार्वजनिक व्यक्तिहरूलाई प्रभावित गर्‍यो ।

हफिङ्टनले देखाएको उदाहरण के हो भने- नेता वा नीति निर्माता अनिद्रामा बस्दा उनी मात्र हैन, सम्पूर्ण संस्था वा राष्ट्र नै जोखिममा पर्छ ।

राष्ट्रको प्रगति १८ घण्टा जाग्राम भएर होइन, सुस्पष्ट दृष्टि, इमानदार कार्यान्वयन र जनताको विश्वासले सम्भव हुन्छ ।

संसारका ठूला नेताहरूले देश बनाउँदा उनीहरूलाई प्रकृतिले ४८ घण्टाको दिन दिएको थिएन । उनीहरूले पनि २४ घण्टाभित्रै आफ्नो समय व्यवस्थापन गरेका थिए ।
क)    बाराक ओबामा: ६–७ घण्टा निद्रालाई सधैँ प्राथमिकता दिन्थे ।
ख)    नरेन्द्र मोदी: ४–५ घण्टा मात्र निद्रा लिने बताउँछन् तर नियमित योग, प्राणायामले त्यसलाई सन्तुलित गर्छन् ।
ग)    विन्स्टन चर्चिल: दोस्रो विश्वयुद्धकै कठिन समयमा पनि दिउँसो छोटो निद्रा अनिवार्य गर्थे ।
घ)    शिन्जो आबेः स्वास्थ्य समस्या बढेपछि पदत्याग गर्नुपरेको थियो— कारण, निरन्तर तनाव र कम निद्राले शरीरलाई हार मान्न बाध्य बनायो ।

यी सबैले देखाउँछन्- संसारका मुलुकलाई अगाडि बढाउने कुरा १८ घण्टा जाग्राम हैन, समयको सही व्यवस्थापन र निद्राको सन्तुलन हो ।

नेपाली सन्दर्भ
जनतालाई प्रधानमन्त्रीले १८ घण्टा काम गर्छु भन्ने भन्दा बढी चाहिने कुरा के हो ?
क)    शान्ति र सुरक्षा– राति ढुक्कले निद्रामा पर्न सक्ने वातावरण ।
ख)    स्वास्थ्य र शिक्षा– बिरामी हुँदा उपचार नपाएर मर्नुपर्ने त्रास वा उपचार गर्न सक्ने अवस्था नभएर, छोराछोरीले गुणस्तरीय शिक्षा पाओस् ।
ग)    रोजगारी र लगानी– आफ्नो काम, उद्यम सुरक्षित होस्, लगानी फर्किने विश्वास होस् ।
घ)    सदाचार र पारदर्शिता– नेताले इमान, नैतिकता र सुशासनलाई प्राथमिकता दिनुपर्छ ।

जनताले प्रधानमन्त्रीसँग दिनरात जाग्राम होइन, विश्वासिलो वातावरण चाहन्छन् । १८ घण्टा काम गरेर होइन, इमान, आचरण, नैतिकता र सुशासनमार्फत मुलुक समुन्नत हुन्छ ।

हामीलाई निद्राहीन प्रधानमन्त्री होइन, जनतालाई शान्त निद्रा दिने प्रधानमन्त्री चाहिएको छ ।

शास्त्रले पनि मध्यम मार्गको वकालत गर्छ । भगवद्गीतामा भनिएको छ–
 ‘योगः कर्मसु कौशलम्’ (कर्ममा दक्षता नै योग हो) ।
यसले हामीलाई सिकाउँछ- कामको गुणस्तर नै सफलता हो, न कि समयको मात्र लम्बाइ ।

बुद्धधर्मको मध्यम मार्गले अत्यधिक र अल्प, दुवैबाट बच्न सिकाउँछ।

झापा र मोरङ जोडिएका जिल्ला हुँदा निवर्तमान प्रधानमन्त्री ओलीलाई छुँदै बहेको हावाले प्रधानमन्त्री कार्कीलाई पनि छोएको होला र उस्तै बान्कीका भाषण आउन थाले । तपाईं युवाको काँध र लास हुँदै सिंहदरवार पुग्दा असफल ती वृद्ध नेताका पदचाप छोडेर यस्तो सन्देश हुनुपर्छ- ‘म सन्तुलित जीवन अपनाउँछु ताकि निर्णायक, सुस्पष्ट र दीर्घकालीन नीति ल्याउन सकूँ।’

अर्कोतर्फ, हामीले पनि व्यवहारिक नीतिहरू प्रस्तुत गर्नुपर्छ जुन ७–८ घण्टाको स्वस्थ निद्रालाई सुनिश्चित गर्दा सार्वजनिक शिक्षा, स्वास्थ्य सुरक्षा र सामाजिक सुरक्षामा योगदान पुर्‍याउँछ । उदाहरणका लागि, कामको संस्कृति सुधार, पारदर्शी शासन, रात्री समयमा सुरक्षा र शान्ति सुनिश्चित गर्ने कार्यक्रमले नागरिकलाई ढुक्क निद्रा दिलाउन सहयोग पुर्‍याउँछन् ।

शास्त्रीय दृष्टान्त
‘नात्यश्नतस्तु योगोऽस्ति न चैकान्तमनश्नतः ।
न चातिस्वप्नशीलस्य जाग्रतो नैव चार्जुन ॥’
(भगवद्गीता अध्याय ६, श्लोक १६–१७)

अर्थात्, अत्यधिक खाने, अत्यधिक नखाने, अत्यधिक सुत्ने वा नसुत्ने व्यक्तिलाई योग हुँदैन । मध्यम मार्ग अपनाउनेलाई मात्र सफलता मिल्छ।

यसै शास्त्रीय सूत्रले पुष्टि गर्छ- सन्तुलित निद्रा नेतृत्व र राष्ट्र दुवैका लागि आवश्यक छ ।

अन्त्यमा, राष्ट्रको प्रगति १८ घण्टा जाग्राम भएर होइन, सुस्पष्ट दृष्टि, इमानदार कार्यान्वयन र जनताको विश्वासले सम्भव हुन्छ । प्रधानमन्त्री र उच्च नेताहरूले आफ्ना व्यवहारमार्फत मध्यमार्ग अपनाउनु पर्छ- पर्याप्त निद्रा, स्वस्थ जीवनशैली र परिणाममुखी शासन । जब नेतृत्वले यति गर्छ, नागरिकले पनि आफ्ना घरमा शान्त निद्रा पाउँछन् र राष्ट्र दीर्घकालीन समृद्धितर्फ अग्रसर हुन्छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  १० : १४ बजे

अफगान सीमा नजिक पाकिस्तानी सेनाको कारवाहीमा ३१ तालिबान लडाकूको मृत्यु

इस्लामावाद- पाकिस्तानी सेनाले अफगानिस्तानसँगको सीमा नजिक दुई अलग कारबाहीमा ३१

महोत्तरीका सबै प्रहरी युनिटबाट सेवा सञ्चालन

जलेश्वर–  ‘जेनजी पुस्ता’को आन्दोलनबाट प्रभावित भएका जिल्लास्थित नेपाल प्रहरीका सबै

दसैँसम्म मितेरी पुल निर्माण हुने

रसुवा– नेपाल–चीन सीमा क्षेत्रस्थित ल्हेन्दे खोलामाथि निर्माणाधीन ‘बेलिब्रिज’ यही दसैँअघि सम्पन्न

अग्नि सापकोटाले भने- जेन-जीको आन्दोलनमा गणतन्त्र विरोधी घुसेर ध्वंसात्मक कार्य गरे

काठमाडौं– नेकपा माओवादी केन्द्रले अत्याधुनिक नयाँ पार्टी कार्यालय भवन बनाउने

हाकिम बन्ने त्यो लिगलिगे दौड, अहिले मन्त्री र कर्मचारी

काठमाडौँ – भदौ २४ र २५ गते भएको जेन–जी आन्दोलन