जेन–जीलाई कर्णालीको सन्देश : आन्दोलनलाई अवसरमा बदलौँ | Khabarhub Khabarhub

जेन–जीलाई कर्णालीको सन्देश : आन्दोलनलाई अवसरमा बदलौँ



भदौ २३ को दिन नेपाली इतिहासमा एउटा महत्वपूर्ण मोडको रुपमा दर्ज भएको छ । जुन दिन हजारौँ जेन–जी अर्थात् नवपुस्ताका युवाहरूले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचारविरुद्ध कडा कारवाही, सुशासनको सुनिश्चिततालगायत माग राख्दै देशभर शान्तिपूर्ण रूपमा सडक आन्दोलन सुरु गरे । यो आन्दोलन केवल मागहरूको सूची मात्र थिएन, यो पुस्ताको पीडा, आक्रोश र भविष्यप्रतिको चिन्ताले भरिएको आवाज थियो ।

स्कुलबाट फर्कँदै गरेका विद्यालयको पोशाकमा रहेका निर्दोष बालबालिकामाथि प्रहरीले गोली प्रहार गर्‍याे । बानेश्वरको सडक मात्र होइन, सामाजिक सञ्जाल एकाएक रक्ताम्य बन्यो । आन्दोलन सातै प्रदेशमा फैलियो । जेन–जीका समर्थक युवाहरू सबै उमेर समूहमा सडकमा ओर्लिए । साँझपख देशभरका विभिन्न स्थानबाट करिब १९–२० जना बालबालिकाको मृत्युको खबर आइपुग्यो । सामाजिक सञ्जाल पहिलो दिनमै रगतले भरियो ।

देशका विभिन्न जिल्लाबाट काठमाडौं पढ्न आएका ती अबोध विद्यार्थीहरूका अभिभावकको मुटु च्यातिँदै गयो । डेरामा फर्किएनन्, फोन आएन । विद्यालयको पोशाकमै आन्दोलनमा हिँडेका ती बालबालिका हराए । गाउँबाट पठाइएको फोन डेरामा छुटेको मोबाइलमा घण्टी बजिरह्यो । अर्को दिन पुनः आन्दोलन भड्कियो, यसपटक नियन्त्रणभन्दा बाहिर गयो ।

जेन–जी आन्दोलनको घटनाक्रमले एकपटक फेरि सावित गर्‍याे कि जब शासकहरूले जनताको आवाज नसुन्ने गल्ती गर्छन्, त्यसको परिणामस्वरूप जनताले उग्र रूप लिन्छन् ।

आन्दोलनको पहिलो दिनमै सरकारले जेन–जीहरूको शान्तिपूर्ण प्रदर्शनमाथि गरेको बर्बर दमनले आन्दोलनलाई अन्तर्राष्ट्रिय ध्यानाकर्षणको केन्द्र बनायो । प्रहरीको गोलीबाट केही घण्टामै १९ जना युवाले ज्यान गुमाउनु र पाँच सय बढी घाइते हुनु कुनै सामान्य घटना थिएन । यो घटना नेपाली जनतामाथि राज्यकै हातबाट गरिएको हिंसा थियो । इतिहासले यस्ता नरसंहारलाई कहिल्यै क्षमा गर्दैन र जनताले पनि । यस्तो घटनाले जेन–जी पुस्तामा गहिरो मानसिक आघात मात्र दिएको छैन, यसले सरकारप्रति विश्वासको अन्त्यसमेत गराइदियो ।

पहिलो दिनको दमनपछि भोलिपल्ट देखिएको प्रतिरोध स्वभाविक थियो । जेन–जी शक्तिले देशभर सरकारलाई प्रत्यक्षरूपमा चुनौती दियो । यद्यपि, आन्दोलनमा विभिन्न स्वार्थ समूहहरूको प्रवेश र केही ऐतिहासिक धरोहरमा आगजनी हुनु दुर्भाग्यपूर्ण पक्ष थियो । यस्ता कार्यहरू आन्दोलनको मूल उद्देश्यसँग मेल नखाने भएपनि ती राज्यपक्षको दमनले निम्त्याएको उग्र प्रतिक्रिया मात्र थिएन, जेनजी शान्तिपूर्ण प्रदर्शनमै हुँदा राज्यले नरसंहार मच्याउँदा भोलिपल्ट अकल्पनीय क्षति भयो । यद्यपि मुलुकको भविष्य बोकेका हाम्रा नवयुवाहरूमा रत्तिभर विध्वंश, आगजनी गर्ने कुरा कल्पनासमेत गरेका थिएनन् ।

जेन–जी आन्दोलनको घटनाक्रमले एकपटक फेरि सावित गर्‍याे कि जब शासकहरूले जनताको आवाज नसुन्ने गल्ती गर्छन्, त्यसको परिणामस्वरूप जनताले उग्र रूप लिन्छन् । जुन न त आन्दोलनकारीको चाहना थियो, न तिनीहरूको नियोजित कार्य नै । नेपाली राजनीतिमा जेन–जी आन्दोलनले एक नयाँ धारको स्थापना गरेको छ । यो केवल विरोध मात्रै होइन, अब यो एक राजनीतिक चेतनाको सशक्त स्वरूप बन्दै गएको छ ।

जेन–जी पुस्ताले देखाएको संगठित शक्ति र संयमता राजनीतिक इतिहासमा नौलो अभ्यास हो । जेन–जीहरूले उठाएका मागहरू कुनै व्यक्तिगत स्वार्थका लागि होइनन्, यो समग्र राष्ट्रको हितका लागि हो । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टाचारको छानबिन, नागरिक सरकारको गठन, सार्वजनिक पदमा बसेकाको सम्पत्ति छानबिन, अकूत सम्पत्तिको राष्ट्रियकरण, संसद विघटन र नयाँ प्रणालीको सुरुवात यी सबै मागहरू मुलुकलाई सही दिशामा लैजानका लागि अत्यन्त जरुरी छ । तर, हालको संविधान र संसदीय प्रणालीले यी मागहरू पुरा गर्न सक्ने हैसियत राख्दैन ।

अहिलेको अवस्थामा हाम्रो मुलुक अर्थतन्त्रको भेन्टिलेटरमा बाँचेको अनुभूति गराउँदैछ । नेपालमा ठूला उद्योगधन्दा छैनन्, रोजगारीका अवसर सीमित छन् र आम नेपाली युवाहरू रोजगारीका लागि विदेश पलायन छन् ।

यसले देखाउँछ कि संविधान फेरबदल वा पुनर्लेखन अब अपरिहार्य बन्ने सम्भावना छ । तर अझै जेन–जीका माग पुरा गर्न आनाकानी गर्ने हो भने देश थप द्वन्द्वतर्फ जान सक्छ, जसको मूल्य फेरि पनि देश र जनताले नै चुकाउनु पर्नेछ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको अमरपंक्ति, ‘नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे… यतिखेर झल्झली मानसपटलमा आउँछ । आजभोलि सामाजिक सञ्जालमा यो कविताका पङ्क्तिहरू यत्रतत्र देख्न पाइन्छन्, जसले हाम्रो भित्री मानवता र राष्ट्रप्रेममाथि प्रश्न उठाइरहेको छ । कुनै अपरिचित नागरिकले दुःख पाए पनि आँखा रसाएर सहायता गर्न पुग्ने हाम्रो संवेदनशीलता आज हराइरहेजस्तो लाग्छ । अब रह्यो, मुलुक बनाउनुपर्ने दायित्वमा जेन–जीको काँधमा आयो ।

नेपाल एक सानो, सुन्दर तर अल्पविकसित राष्ट्र हो- यो तथ्य हामी सबैलाई थाहा छ । तर, यतिबेला यो देश केवल अल्पविकसितमा सीमित छैन; बारम्बारका प्राकृतिक प्रकोप, सरकारको असक्षमता, आर्थिक अस्थिरता र सामाजिक अव्यवस्थाले गर्दा यो राष्ट्र आफ्नै छायाँमा जलिरहेको छ । अहिलेको अवस्थामा हाम्रो मुलुक अर्थतन्त्रको भेन्टिलेटरमा बाँचेको अनुभूति गराउँदैछ । नेपालमा ठूला उद्योगधन्दा छैनन्, रोजगारीका अवसर सीमित छन् र आम नेपाली युवाहरू रोजगारीका लागि विदेश पलायन छन् । यस्तो अवस्थामा देशको कुल गार्हस्थ उत्पादन अत्यन्तै न्यून छ, जसले समग्र राष्ट्रिय आयमा उल्लेखनीय योगदान दिन सकेको छैन । उत्पादनमूलक क्षेत्रमा पर्याप्त लगानी नहुँदा देशको आर्थिक इन्जिन सुस्त गतिमा गुडिरहेको छ ।

जब सरकार जनताको पीडामा चासो दिन असफल हुन्छ, जब सार्वजनिक संस्थाहरू भ्रष्टाचारको जालोमा अल्झिन्छन्, र जब युवाहरूको आशा टुट्छ, तब समाज आफैँभित्र भासिन थाल्छ ।

हाम्रो इतिहास हेर्ने हो भने प्रत्येक पिँढीले कुनै न कुनै विनाशकारी भूकम्प वा प्रकोपको सामना गरेको देखिन्छ । विक्रम सम्वत् १२१८ सालदेखि २०७२ सालको विनाशकारी गोरखा भूकम्पसम्म, हामीले हजारौँ जनाको ज्यान गुमाएका छौँ, लाखौँ सम्पत्ति नष्ट भएको छ । पछिल्लो समय २०८० कार्तिक १७ गते आएको जाजरकोट भूकम्पले पनि फेरि हामीलाई सम्झायो कि हाम्रो भौगोलिक बनावटसँगै सरकारी तयारी पनि कहिल्यै परिपक्व हुन सकेको छैन । भूकम्पपछिको उद्धार कार्यमा सेना, प्रहरी सक्रिय भए तापनि राहत वितरण, पुनर्निर्माण र दीर्घकालीन पूर्वाधार सुधारमा हुने सुस्तता आजको दिनमा नेपाली जनताको गुनासोको विषय बन्न पुगेको छ ।

त्यस्तै कोरोना महामारी नेपालका लागि केवल स्वास्थ्य सङ्कट मात्र थिएन, त्यो आर्थिक र सामाजिक संरचना नै हल्लाउने अर्को विपत्तिको रुपमा आयो । तथ्यांकअनुसार यो महामारीले करिब २ हजार ६८४ जनाको ज्यान लिएको छ भने, लाखौँ नेपालीले आफ्नो रोजगारी गुमाए । विशेषगरी कृषि, पर्यटन, होटल, यातायात, लघु तथा मझौला उद्योगहरू यस महामारीबाट अत्यधिक प्रभावित भए । संयुक्त राष्ट्रसंघको रिपोर्टले जनाएअनुसार करिब २५ लाख ७० हजार नेपालीले महामारीको समयमा रोजगार गुमाए । यसको प्रत्यक्ष असर विप्रेषण, उपभोग, कर संकलन र समग्र आर्थिक चक्रमा देखियो ।

अब समय आइसकेको छ- राज्य संयन्त्रले युवाको आवाज बुझ्ने, दमन होइन संवाद गर्ने, अनि आन्दोलनलाई अवसरमा रूपान्तरण गर्ने ।

प्राकृतिक प्रकोप त देशको नियति हुन्, तर आजको हाम्रो वास्तविक सङ्कट मानव निर्मित छ । जब सरकार जनताको पीडामा चासो दिन असफल हुन्छ, जब सार्वजनिक संस्थाहरू भ्रष्टाचारको जालोमा अल्झिन्छन्, र जब युवाहरूको आशा टुट्छ, तब समाज आफैँभित्र भासिन थाल्छ । भर्खरै भएको जेन–जी आन्दोलन यसको एउटा उदाहरण हो ।

​​​​​​​देशले बेहोर्दै आएको बहुआयामिक असर
भौतिक संरचना भूकम्प, बाढीपहिरो, आगलागी, आन्दोलन र अव्यवस्थित विकासले पूर्वाधारमा ठूलो असर पारेको छ । विगतमा पनि पुनर्निर्माणमा ढिलाइले जनविश्वास कमजोर बनाएको छ ।  अहिलेको आन्दोलनले थप चुनौती थपेको छ ।

स्वास्थ्य सेवाः महामारीले स्वास्थ्य संरचना कमजोर बनायो  । अस्पतालहरू सीमित क्षमतामा सीमित उपचार दिन बाध्य भए । सरकारको प्राथमिकतामा स्वास्थ्य क्षेत्र परेको देखिन्न । डाक्टर तथा स्वास्थ्यकर्मीसमेत देशबाट पलायन हुने अवस्था विद्यमान छ ।

रोजगारी स्वदेशमै रोजगारीको अभावले युवाशक्ति पलायनमा छ, जसले दीर्घकालीन उत्पादनशक्ति र उद्यमशीलतालाई कमजोर पारेको छ । लोकतन्त्र, गणतन्त्र स्थापनाका यतिका वर्षसम्म पनि स्वदेशमै केही गरौँ भन्ने वातावरण सिर्जना हुन सकेन ।

सामाजिक मनोविज्ञान निराशा, असुरक्षा, सामाजिक असमानताको भावना जनमानसमा मौलाउँदै गएको छ । विभिन्न समयमा हुने गरेका आन्दोलनहरूले सामाजिक ध्रुवीकरण बढाएका छन् । मुलुकलाई दिगो विकास र शान्ति दिन सकेका छैनन् । पछिल्लो जेनजी आन्दोलन यसकै उपज हो ।

अब के गर्ने ?
आजको आवश्यकता विध्वंश, आलोचनामात्र होइन, गहिरो आत्मपरीक्षण हो । देश फेरि पनि उठ्नेछ- तर केवल भौतिक संरचनाको पुनर्निर्माणले हैन, मानसिकता र सोचको पुनरुत्थानबाट मात्र सम्भव छ । अब समय आइसकेको छ- राज्य संयन्त्रले युवाको आवाज बुझ्ने, दमन होइन संवाद गर्ने, अनि आन्दोलनलाई अवसरमा रूपान्तरण गर्ने । आन्दोलनले हामीलाई फेरि सम्झाएको छ— देश हाम्रो हो, समस्या पनि हाम्रो हो र समाधान पनि हामी आफैँबाट हुनुपर्छ । अब युवाहरूको ऊर्जा नष्ट गर्ने होइन, राष्ट्र निर्माणमा प्रयोग गर्ने युगको सुरुवात गर्नुपर्छ । 

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  १२ : ४४ बजे

लोकमानलाई शक्तिहीन बनाउने ओमप्रकाशको अग्निपरीक्षा

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा ओमप्रकाश अर्यालले गृह र कानून,

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुने

काठमाडौँ – अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्‌

तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खोलियो

काठमाडौं– चीनसँगको वैदेशिक व्यापारका लागि प्रयोग हुँदै आएका सिन्धुपाल्चोकको तातोपानी

प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार जाँदै भारतीय राजदूत

काठमाडौँ – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव प्रधानमन्त्री सुशीला

झापामा एक सय ५२ भौतिक संरचनामा क्षति

सुरुङ्गा– जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति