काठमाडौं- भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सबैभन्दा ठूलो धक्का नेकपा एमालेले ब्यहोरेको छ । सत्ताको नेतृत्व गरेको दल संसारकै छोटो आन्दोलनबाट अर्धभूमिगत अवस्थामा पुग्नुपरेको छ। एक झट्कामा प्रधानमन्त्रीको कुर्सीबाट शिवपुरी पुगेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अझैसम्म सार्वजनिक हुन सकिरहेका छैनन् ।
सोमबार मात्रै एमाले केन्द्रीय कार्यालय च्यासलमा महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली पुगे । जेन-जीका नाममा ध्वस्त पार्टी कार्यालय हेर्दै दुवै नेताले खरानीको थुप्रोबाट पार्टी फेरि उभिने बताए ।
आइतबार साँझ मात्रै एमाले महासचिव शंकर पोखरेलले करिब २ सय नेता सहभागी गराएर जुम मिटिङ आयोजना गरेका थिए । जहाँ एमालेको पुनर्निर्माण र नयाँ नेतृत्वबारे पनि कुरा भएको थियो । उक्त मिटिङमा अहिले नै अध्यक्ष ओलीको विकल्प खोज्ने भन्दा विधि र प्रक्रियाबाटै जानुपर्ने धारणा महासचिव पोखरेलले बताएका थिए । उक्त मिटिङमा एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेल पनि सहभागी थिए ।
पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका ढुंगेललाई जेन-जीको आन्दोलनपछिको परिस्थितिमा खबरहबले एमालेको नेतृत्व कहिले र कसरी फेर्ने भनेर सोधेको छ।
जेन-जीका नाममा कयौँ सरकारी संरचना ध्वस्त भए, तपाईंहरूकै पार्टी कार्यालय र नेताका घर पनि जलाइए । यसमा के छ तपाईंको धारणा ?
जेन-जीका नाममा कयौँ संरचना ध्वस्त पारिएका छन्, त्यो हामीमाझ छर्लङ्गै छ । अहिले बडो विरक्त लाग्दो अवस्था बनेको छ । हामी अब पुनिर्माणको दिशातर्फ जानुपर्छ भन्ने पक्षमै छौँ। जेन-जीका नाममा गरिएको यो विध्वंशको छानबिन हुने कुरा प्रधानमन्त्री सुशीला कार्कीले पनि बताउनु भएको छ । अब हामी पार्टी पंक्तिलाई परिचालन गरेर अगाडि बढ्छौँ ।
अगाडि बढ्ने खाका के हो त ?
हामी आफ्नो काम गर्छौँ । अब कहाँ कहाँ के के जलेको छ, खरानीको थुप्रो कहाँ कहाँ छ ? सरकार बनिसकेकाले पक्कै खोजी गर्ला। एमाले आफ्नो ढंगले अघि बढ्नेछ ।
अब पु:निर्माण कसरी होला त ?
अन्तरिम सकरार बनिसकेको छ, यो काम सरकारको हो, उसले पुननिर्माण अभियानलाई अघि बढाउला नि त ।
तर एमालेका लागि यो अवसर थियो नि, जलेका संरचनाको फोहोर हटाउने अभियान चलाउन सक्थ्यो । झण्डाबिना पनि अभियान थाल्न सक्थ्यो नि ?
होइन, हामी आफ्नो ढंगले काम गर्छौँ । फोहोर कहाँ छ, खरानी कहाँ छ । हिजो आगो कसले लगायो ? तिनीहरूलाई पक्कै पनि सरकारले जिम्मेवार बनाउला । भोलिका दिनमा त्यसको खोजी होला । एमाले आफ्नो ढंगले काममा लागिसकेको छ।
अहिले एमालेको नेतृत्व त भूमिगत जस्तो छ नि ?
एमालेको नेतृत्व भूमिगत अवस्थामा छैन । अहिले देशभर नै असुरक्षा छ, जनता नै भागेर हिँड्नुपर्ने अवस्थामा छ । जनधनको सुरक्षा छैन । समाजका हरेक सदस्य भागेर हिँड्नुपर्ने दृश्य देखिएको छ । समग्र समाजमै अन्योलमा परेको छ । समाज नै एक किसिमको त्रास र आतंक अनि भयमा गुज्रिएको छ । शान्ति सुरक्षा बहाली हुन समय लाग्छ नि ।

एमालेले के गर्छ त अब ?
एमाले अब कार्यकर्ता परिचालन गरेर आफ्नो कामलाई गति दिन्छ ।
अहिलेको जटिल अवस्थामा एमालेको धारणा के हो त ? आन्तरिक समीक्षा भयो होला नि ?
हामीले एक किसिमको धारणा बनाइसकेका छौँ । जेन-जी आन्दोलनपछि विकसित परिस्थितिबारेमा हाम्रो दृष्टिकोण आइसकेको छ । अहिलेका घटना परिघटनाबारे धारणा आइसकेको छ । त्यसैले मैले यसबारे धेरै भनिरहनु आवश्यक परेन ।
एमालेले ठूलो क्षति भोगेको छ, अब कसरी अगाडि बढ्ने ?
हाम्रो पार्टी पंक्ति माथिदेखि तलैसम्म परिचालन हुन्छ । विगतको भन्दा उन्नत र एकतावद्ध बनाएर पार्टी पंक्ति पुनर्निर्माणमा परिचालन हुन्छ । यो संविधान र व्यवस्थासँग सहकार्य गरेर हामी अघि बढ्छौँ । लोकतान्त्रिक अभ्यासबाट हामी अगाडि जान्छौँ ।
सरकार ढलेपछि एमालेको नेतृत्व फेर्ने दबाब आएको छ, यसमा के हुन्छ ?
हामी एमालेको नेतृत्व लोकतान्त्रिक अभ्यासबाट फेर्ने दिशामा जान्छौँ । अहिले नेतृत्वको फेर्ने कुरा असान्दर्भिक र हतारको विषय हुन सक्छ ।
एमालेको नेतृत्वबारे प्रश्न उठिरहेको छ, पुनर्विचार गर्ने समय भएन ?
अहिलेको पार्टी नेतृत्व एउटा अवस्थामा बनेको हो । अहिलेको नेतृत्व फेर्ने कुरा र व्यवस्थापनको निर्णय पनि महाधिवेशनसहितका वैधानिक फोरमबाट हुन्छ । आजभोलि नै नेतृत्व फेर्ने कुरातिर जानु उचित हुँदैन । विधि विधानमै गएर हामी नेतृत्व फेर्ने कुरा टुंग्याउँछौँ ।
संसद् त विघटन भयो संविधानको भविषय्य के होला ?
हामी सारा एमाले पंक्ति अब संविधान जोगाउने अभियानमा हुन्छौँ । हामी संविधान जोगाउन लागिसकेका छौँ। हामी लोकतन्त्र जोगाउने पक्षमा छौँ । अहिलेको व्यवस्थाको विकल्प खोज्ने पक्षमा हामी छैनौँ । लोकतन्त्रको विकल्प निरंकुशतन्त्र हुन सक्दैन । यस व्यवस्थामा समस्या भए, केही नराम्रा कुरा भए राम्रो बनाउने हो । यसको विकल्पमा अर्को व्यवस्था बदल्ने कुरामा हाम्रो सहमति हुँदैन ।
प्रतिक्रिया