काठमाडौँ – भ्रष्टाचार र बेथिति अन्त्यका लागि जेन–जी पुस्ताको दुई दिने आन्दोलनपछि दुईतिहाइ बहुमतको केपी शर्मा ओली नेतृत्वको सरकार पतन भइसकेको छ । ओली सरकार पतनसँगै फागुनमा चुनाव गर्ने म्यान्डेटसहित अन्तरिम सरकार बनेको छ।
प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ०८१ असार मसान्तमा बनेको ओली नेतृत्वको सरकारको पतनले मुलुकलाई नयाँ दिशातर्फ मोडेको छ ।
जेन–जी पुस्ताको आन्दोलनको दोस्रो दिन राजीनामा दिएर ओली नेपाली सेनाको हेलिकप्टरबाट ज्यान जोगाउँदै शिवपुरीतिर भागेपछि निम्तिएको राजनीतिक संकटबीच राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ (शुक्रबार) मा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरे ।
कार्की प्रधानमन्त्रीमा नियुक्त भएपछि शुक्रबार राति ११ बजेबाट लागू हुने गरी प्रतिनिधिसभा पाँच वर्षे कार्यकाल पूरा गर्न नपाउँदै विघटन भयो । नयाँ प्रतिनिधिसभा सदस्य चयनका लागि आगामी फागुन २१ गते निर्वाचनको मिति तय भएको छ ।
राजनीतिक संकटका बीच राष्ट्रपतिले पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेर निर्वाचन मिति घोषणा गरे । उनले प्रधानमन्त्रीको शपथ लिएलगत्तै प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रपतिसमक्ष गरेकी थिइन् ।
प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधिसभा विघटनलगत्तै कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक ‘भर्चुअल’ बसेर राष्ट्रिपति पौडेलको पछिल्लो कदमप्रति आपत्ति जनायो । बैठकले प्रतिनिधिसभा विघटनको विपक्षमा उभिने निर्णय नै गर्यो ।
आफैँले संविधानविपरित गठन भएको भनिएको अन्तरिम सरकारले गर्ने आगामी निर्वाचनबारे कांग्रेसले औपचारिक निर्णय भने गरिसकेको छैन । केन्द्रीय कार्यसमिति बैठकबाट निर्वाचनबारे छलफल गर्ने कांग्रेसको तयारी छ । तथापि, निर्वाचनको तयारीमा जुट्नुपर्ने मत अधिकांश कांग्रेसका नेताहरूको छ ।
जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भदौ २४ गते बूढानीलकण्ठस्थित निवासभित्रै सांघातिक आक्रमणमा परी घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवा यतिबेला उपचाररत छन् । उनी उपचाररत अस्पतालको नाम भने खुलाइएको छैन ।
घाइते भएर उपचार गरिरहेका सभापति देउवा अस्पतालबाट ‘डिस्चार्ज’ नहुँदै कांग्रेसमा नेतृत्व परिवर्तनको माग उठिरहेको छ । विशेष गरी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा मुखरित भएर परिवर्तित राजनीतिक परिवेशमा नेतृत्वले मार्गप्रशस्त गर्नुपर्ने बताइरहेका छन् ।
तर, उपचारकै क्रममा रहेका बेला महामन्त्रीद्वय थापा र शर्माले सार्वजनिक रूपमै ‘राजीनामा’ को कुरा उठाएपछि सभापति देउवा पक्षीय केही नेताहरू सन्तुष्ट देखिँदैनन् । कांग्रेसबाट लुम्बिनी प्रदेश सरकारका सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा (रोज राणा) ले विज्ञप्ति निकालेर आपत्ति जनाएका छन् ।
संस्थापन पक्षीय अन्य नेताहरूले सभापति देउवा उपचारमै हुँदा उठेको जिम्मेवारी हस्तान्तरणको विषयमा सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
तर, स्रोतको दाबीलाई आधार मान्ने हो भने पदाधिकारी तहमै रहेका संस्थापन पक्षीय नेताहरू समेत महामन्त्रीद्वय थापा र शर्मासँग सन्तुष्ट छैनन् ।
तथापि, राजनीतिक विश्लेषकले भने मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमको मूल मर्मलाई आत्मसात गरेर सभापति देउवाले मार्गप्रशस्त गर्नुपर्ने सुझाव दिएका छन् ।
राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले भन्छन्, ‘हालसम्मको असफलताको नैतिक जिम्मेवारी लिएर सभापतिले जनभावनाअनुसार राजीनामा गरी राजनीतिबाट स्वेच्छिक अवकास लिनुपर्छ ।’
अर्का राजनीतिक विश्लेषक डा. उद्धव प्याकुरेल पनि सभापति देउवाले जिम्मेवारी हस्तान्तरणको विषयमा वाग्लेसँगै सहमत देखिन्छन् ।
उनले खबरहबसँगको कुराकानीका क्रममा भने, ‘अहिलेसम्म जनतासँगको ‘इन्टरयाक्सन’ मा बसेका कारण काग्रेसले ढिलो गर्नुहुन्न । दुईजना महामन्त्रीमध्ये एकलाई संसदीय दलमा र अर्कोलाई पार्टीको नेतृत्व गरेर जानुस् भन्नु पर्ने अवस्था आइसकेको देख्छु ।’
त्यस्तै अर्का राजनीतिक विश्लेषक प्रा.डा. गोविन्दमान सिंह कार्कीले पनि कांग्रेसलाई थप क्षतिबाट जोगाउन सभापति देउवा सचेत हुनुपर्ने प्रतिक्रिया दिए ।
‘अझै पनि म गर्छु, खास के भएको छ र भन्दै टिकट पनि आफैँ बाँड्ने, आफ्ना नजिकका मान्छेको व्यवस्थापन गर्नेमा लागे भने हिजो गुमेको शाख त साफै भएको छ,’ उनले भने, ‘फेरि पनि अर्को क्षति हुन सक्छ । यसमा कांग्रेसका सभापति शेरबहादुर देउवा सचेत हुनैपर्छ ।’
गेजा शर्मा वाग्ले, राजनीतिक विश्लेषक

पहिलो, हालसम्मको असफलताको नैतिक जिम्मेवारी लिएर सभापतिले राजीनामा गरी राजनीतिबाट स्वेच्छिक अवकास लिनुपर्छ ।
दोस्रो, विधानअनुसार उपसभापतिलाई कार्यवाहक दिनुपर्छ ।
तेस्रो, दुई महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्छ ।
चौथो, समग्र जनता र विशेष गरी युवा पुस्ताले समेत विश्वास गरेको लोकप्रिय, ‘भिजनरी’ र स्वच्छ छवी भएको नेतृत्व स्थापित गर्नुपर्छ ।
जेन–जीको जनविद्रोहपछि आत्मसमीक्षा, आत्मचिन्तन र आत्माआलोचना गरी क्षमायाचनासहित महामन्त्री गगन थापाजीले प्रकाशित गरेका सार्वजनिक धारणा र विज्ञप्तिको आधारमा विश्लेषण गर्दा दुईटा निष्कर्षमा पुगिन्छ ।
पहिलो, विगतका गल्ती तथा कमी–कमजोरीलाई अन्तर्आत्मादेखि नै ‘रियलाइज’ गर्दै नयाँ कांग्रेस बनाउने संकल्प गरेको देखिन्छ ।
दोस्रो, जोखिम लिएर भए पनि पार्टीमा ‘रियल टाइम इन्टरभेन्सन’ गर्न खोजेको देखिन्छ ।
उहाँको यस्तो प्रयास, पहल र संकल्पप्रति केवल कांग्रेसजनमात्रै होइन, जनता र जेन–जी पुस्तासमेत सकारात्मक देखिन्छ । उहाँप्रति विश्वास र भरोसा बढ्दै गएको देखिन्छ । त्यसैले अब गगनजीको नेतृत्वमा कांग्रेस पुनर्गठन र रूपान्तरण गर्नु सबैभन्दा उत्तम विकल्प हुनेछ ।
पाँचौँ, विशेष महाधिवेशनबाट केवल नयाँ नेतृत्वमात्रै होइन, पार्टीलाई मौलिक रूपमा पुनर्गठन गरी नयाँ सिद्धान्त, विचार र नयाँ नीति अंगीकार गर्नुपर्छ ।
छैटौँ, अत्यन्त भीमकाय, भद्दा र अनावश्यक अस्थिपञ्जरजस्ता संरचना छन् । तर सिद्धान्त, नीति र आत्मा छैन । नागरिकमुखी, कार्यमूलक र उत्तरदायी चुस्त संरचना र कार्यप्रणाली स्थापित गर्नु अपरिहार्य छ ।
अब कम्युनिस्टजस्तो ‘क्याडर बेस्ड’ होइन, पूर्ण रूपमा ‘मास बेस्ड’ पार्टी हुनुपर्छ र क्रियाशील र साधारण गरी हाल प्रचलित दुई सदस्यता प्रणाली होइन, एकल सदस्यता प्रणाली हुनुपर्छ ।
पुस्तान्तरणसहितको ‘भिजनरी’ र लोकप्रिय नेतृत्व तथा नयाँ ‘भिजन’ नै कांग्रेस पुनर्गठनको मार्गचित्र एकमात्र हो । होइन भने यथास्थितिमा अब कांग्रेसको भविष्य मात्रै अन्धकार होइन, पार्टीको औचित्य नै समाप्त हुन सक्छ ।
डा. उद्धव प्याकुरेल, राजनीतिक विश्लेषक

अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले पद त्याग गरेर विश्राम लिनुपर्ने आवाज सुनिन थालिएको छ । त्यो कांग्रेसभित्रको मात्रै माग होइन । समग्र देशको माग हो । कांग्रेसमा एउटा पुस्ताले सधैँ उनलाई विश्राम लिन भनिरहेको थियो ।
महामन्त्री विश्वप्रकाश शर्माले त पार्टीको केन्द्रीय समिति बैठकमै तपाईंले ‘रिटायरमेन्ट’ लिनुपर्छ भन्नुभएको थियो । अस्ति, जेन–जी आन्दोलनमा पनि तीन नेताको फोटो लिएर प्रदर्शन भएकै हो ।
भोलिका दिन त्यसलाई ‘भ्वाइलेन्ट’ भयो । अरू ‘इन्फ्लिक्टेसन’ भयो होला, आर्मीेले कति प्रयोग गरे, गरेन । ‘सेक्युरिटी फोर्सेज’ को के हालत रहेछ हाम्रोमा । ‘सेक्युरिटी फोर्सेज’ लाई ‘सेलरी’ (तलब) कति उपयुक्त रहेछ ? त्यसमा प्रश्न गर्ने बाटो थिए कि थिएनन् ? ती तमाम कुरा एकातिर छन् ।
तर, तीनवटै पार्टीका नेताहरूको ‘रोमिङ चियर’ जस्तो भयो, वर्षौंदेखि एउटै लिडरसिप पार्टी कब्जा गरेर बस्ने र सत्ता पनि कब्जा गरेर बस्ने, अनि प्रधानमन्त्री बन्नलाई पनि ती पार्टी कहिले एउटासँग मिलेको छ, कहिले अर्कोसँग मिलेको छ ।
हुँदाहुँदा सरकार बनाउँदा पनि दुई परिवार (केपी शर्मा ओली र शेरबहादुर देउवाको परिवार) बसेर निर्णय गर्छ । त्यो कांग्रेस पार्टीलाई थाहा हुँदैन । अनि एक हप्तापछि सभापतिले गरेको कुरा कांग्रेसले गरेको मानौँ भनेर समर्थन गर्नुपर्ने अवस्था आयो । यो कांग्रेस र एमाले दुबैमा देखियो । माओवादीमा त झन् त्योभन्दा ठूलो समस्या छ ।
पार्टी भनेको सदस्यहरूको मात्रै संस्था हो, त्यसलाई पार्टीका सदस्यहरूले जसरी चाहन्छन्, त्यसरी लैजान सक्छन्– नेतृत्व परिवर्तनमा, विधान संशोधनमा, जनताको हुँदैन भन्ने कुरा एकथरीको सुनिन्छ ।
तर, पार्टी भनेको संस्था हो । पार्टीबिनाको लोकतन्त्र सम्भव नै छैन । एउटा पार्टीको राम्रो नराम्रो कामले ‘होल सिस्टम’ लाई प्रभाव पारिराखेको हुन्छ । त्यो सन्दर्भमा पार्टी भनेको ‘पबिलक गुड’ हो । हरेक जनताले त्यो पार्टी र त्यसको नेतृत्वले के गरिराखेको छ, कसो गरिरोखको छ, त्यसले यसो गर्नुपर्छ समेत भन्ने हैसियत राख्दछ ।
कुनै पार्टीको मतदाता होस् वा नहोस्, नेपाली नागरिकले सबै पार्टीका बारेमा ‘कमेन्ट’ गर्न पाउँछन् । पार्टी भनेको कसैको होइन, यो सार्वजनिक हो । ‘पब्लिक गुड’ हो । जनताले गरेको ‘कमेन्ट’का आधारमा पार्टीहरू ‘सर्भाइभ’ गर्ने हो ।
लोकतन्त्रमा पार्टीहरू एकदमै महत्वपूर्ण हुन्छन् । त्यही भएर जनताले पनि पार्टीका हरेक क्रियाकलपाहरू हेर्न पाउनुपर्छ । ‘कमेन्ट’ गर्न पाउनुपर्छ, र जनताले ‘कमेन्ट’ गरि पनि राखेका छन् ।
अस्ति जेन–जी पुस्ताको आन्दोलनको दोस्रो दिन के भयो, त्यसको स्वार्थ के थियो, ‘ग्राउन्ड’ बनेर आउँदा कहाँ–कहाँ छिरेर त्यसलाई बितण्डा मच्चाउन सकिन्छ भनेर हेरिरहेका मान्छेहरू को–को थिए त्यो बेग्लै कुरा हो ।
कांग्रेसमा देउवालाई सभापतिजी तपाईंले छोडिदिनुपर्यो भन्दै गर्दा उहाँले होइन मलाई एक कार्यकालको प्रधानमन्त्रीको कुरा हो भनेर उहाँलाई अहिलेसम्म छुट दिइएको थियो जस्तो लाग्छ मलाई । तर, अब पार्टीको ‘म्याटर’ भन्दा पनि त्यो ‘पब्लिक म्याटर’ भएको छ ।
नयाँ बानेश्वरमा देउवा, ओली, प्रचण्डले ‘स्ट्रकचरल’ रूपमा पार्टीलाई कब्जा गरिराखेका छन्, त्यसले गर्दा ‘नेपोटिजम्’ बढेको छ, त्यो भएर यी मान्छेहरूले ‘साइड’ लागिदिनुपर्यो भनेर जेन–जी आन्दोलनमा गएकै हुन् ।
अब उहाँहरूले त्यही नयाँ बानेश्वरमा जेन–जीहरूले बोकेको फोटो हेरिदिए हुन्छ । उनीहरूले फोटो राखेर तिमीहरू तीनैजना कामयाबी छैनौ भनेका छन् । त्यो कुरालाई बुझेर कांग्रेस अगाडि जानुपर्ने अवस्था छ ।
कांग्रेसलाई ठूलो चुनौती देखा परेको छ । कांग्रेस लोकतान्त्रिक पार्टी हो । यो अहिलेसम्म ‘सर्वभाइभ’ भएको पनि ‘पिपुल’ सँगको ‘इन्टरयाक्सन’ गरेर हो । कतिपय पार्टीहरू एउटा समयबाट अर्को समयमा जाँदा असन्दर्भिक हुन्छन्, तर कांग्रेस विगत ७० वर्षदेखि सबै परिवर्तनको नेतृत्व गर्ने ‘इभेन्चुयल हिरो’ को रूपमा आइरहेको हो ।
अहिलेको सन्दर्भमा पनि कांग्रेसले नेतृत्व गर्न सक्नुपथ्र्यो । युवाले माग गरिसकेपछि कांग्रेसका सभापतिले दुई महामन्त्रीमध्ये एउटालाई कार्यवाहक बनाएर अगाडि जान मिल्ने वातावरण बनाइदिनु भएको भए त्यसले जेन–जी पुस्तासँग ‘इन्टरयाक्सन’ पनि गर्थ्यो होला ।
त्यसले संसद् राख्नु हुँदैन, संसद् राख्यो भने यिनी टाउके आउँछन् भन्ने भाष्यलाई ‘च्यालेन्ज’ गथ्र्यो होला । अरू पार्टीलाई पनि युवा पुस्तामा ‘ट्रान्सफर’ र लोकतान्त्रिकरण गर्नका लागि ‘सपोर्ट’ हुन्थ्यो होला । त्यो अवसर ‘मिस’ गरेका कारणले हामीले संसद् विघटनको दुर्घटना ब्यहोर्नुपर्यो ।
त्यो दुई–तीन दिनमा देउवाजी अघि बढेर यो गरिदिनुभएको भए उहाँका सहकर्मीहरू जसले अहिलेसम्म देउवाजीलाई नेताका रूपमा मानेर हिँडिरहनुभएको छ, उहाँहरू सबै मिलेर गरिदिनुभएको भयो त्यो गर्न सक्नु हुन्थ्यो ।
त्यसले संसद् बचाउनलाई पनि सहयोग पुग्थ्यो । आन्दोलनकारीमा अब त कांग्रेसमा संसदीय दलको नेता आइसक्यो, उनीसँग हामीले छलफल गर्न सकिन्छ भन्ने जेन–जी पुस्तामा ढाडस हुन्थ्यो । संसद् भित्रैबाट प्रधानमन्त्री पनि हुन सक्थ्यो होला ।
अब ढिला गर्नु हुन्न । हुन त ढिला गरेर पार्टीलाई एकदमै कमजोर बनाउने छुट पनि छ । कतिपय पार्टी यो बाटोमा गइरहेको पनि देखिन्छन् । तर, कांग्रेस यसरी नगएको राम्रो ।
अहिलेसम्म जनतासँगको ‘इनट्रयाक्सन’ मा बसेको कारणले गर्दा काग्रेसले ढिलो गर्नुहुन्न । दुईवटा महामन्त्रीमध्ये एउटालाई संसदीय दलमा र अर्कोलाई पार्टीको नेतृत्व गरेर जानुस् भन्नु पर्ने अवस्था आइसकेको देख्छु ।
प्रा.डा. गोविन्दमान सिंह कार्की
राजनीतिक विश्लेषक

नेपाली कांग्रेसको नेतृत्व अहम्को भावनाबाट गुज्रिएकै हो । ‘पब्लिक सेन्टिमेन्ट’ (जनभावना) कता तिर गइरहेको छ र पार्टीमा आन्तरिक लोकतन्त्रलाई कसरी ठाउँ दिनुपर्छ भन्ने विषयमा खासै छलफल र चर्चा भएन ।
दुई–तीनवटा समूह बनेर आफ्ना–आफ्नै कुरा लिएर जाने, अल्पमतको समूहले पार्टीमा राखेका कुराहरू बहुमत भएको समूहले सुनुवाई नगरेको अवस्था हामीले देखिरहेका थियौँ ।
पार्टीभित्रको आन्तरिक लोकतन्त्र भन्ने कुरा सबैभन्दा ठूलो कुरा हुन्छ । नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्रको ठूलो कमी पहिल्लो समयमा देखिरहेको छ । पार्टीमा अल्पमतको सुनुवाइ नहुने स्थिति छ ।
कांग्रेसमा भ्रातृ संगठनहरूको समयमा अधिवेशन नहुने, आफ्ना नजिकका मान्छेलाई अध्यक्ष बनाउने, कार्यसमितिहरू अस्थायी किसिमले बनाउने परम्परा चलिरहेको छ । लामो समयसम्म भ्रातृ संगठनहरू नेतृत्वविहीन भएको स्थिति कांग्रेसमा छ ।
अहिलेको स्थितिमा पार्टीकै सभापतिमाथि त्यत्रो आक्रमण भएको छ । पार्टी नेतृत्वका प्रति जनतामा नकारात्मक छाप परेको छ । भ्रष्टाचारमा संलग्न छन् भन्ने आरोप नेतृत्वमाथि छ ।
नेतृत्वले आफूमाथि लागिरहेको आरोपको यो भाष्यलाई शुद्ध रूपले प्रस्तुत गर्ने सामथ्र्य राख्न सक्नुपर्छ । कांग्रेस पार्टीको नेतृत्वमा माथि जुन–जुन आरोपहरू लागेका छन्, ती कुराहरूलाई गलत छन् भने प्रमाणित गर्न सक्नु पर्छ ।
होइन भने सजायको भागेदार पनि बन्नुपर्छ । किन भने जेन–जी पुस्ताको यति ठूलो आन्दोलन भएको छ । त्यत्रा मान्छेहरू मारिएका छन् । नयाँ सरकार भनेको छ । दुईतिहाइको सरकारमा कांग्रेस पनि सहभागी थियो ।
त्यो सरकारलाई अपदस्थ गरेर राष्ट्रपतिले संविधानभन्दा बाहिरबाट मान्छे ल्याएर प्रधानमन्त्री, नियुक्त गर्नुपर्ने अवस्था सिर्जना भएको छ । मन्त्रीहरू पनि बाहिरबाट ल्याएर बनाउनुपर्ने भएको छ ।
संसद् पनि विघटन भएको अवस्था छ । निर्वाचन पनि हुँदैछ । यो बीचमा सरकारले पनि छानबिन गर्ला । नेपाली कांग्रेसका नेताहरू छानबिनका लागि तयार हुनुपर्छ । यसमा भाग्ने, डराउने काम कांग्रेसका नेताहरूबाट हुनुहुँदैन । गलत गरेका छन् भने खुशी–खुशीका साथ सजायको भागी हुनुपर्छ ।
अर्को कुरा, पार्टीका भ्रातृ संगठनहरूको अधिवेशन गर्ने, पार्टीलाई आन्तरिक लोकतन्त्र दिने कुरामा कांग्रेस सचेत हुनुपर्छ । पार्टीमा फरक विचार समूहलाई जबरजस्ती दबाएरमात्रै पार्टी सञ्चालन गर्न सकिँदैन भन्ने कुरा कसैले पनि सोच्नु हुन्न ।
सभापति शेरबहादुर देउवाको कार्यकाल अब सकिँदैछ । अब आउने नेतृत्वले पनि यो सोच्नु जरूरी छ । ०४६ सालदेखि विभिन्न पदमा बस्दै आएको कांगेसको केन्द्रीय नेतृत्वमा रहेकाहरूले ठाउँ खाली गर्नै पर्छ ।
अब दोस्रो पुस्ताका नेताहरू जो आफूलाई ‘फियर’(निष्पक्ष) गतिविधिमा संलग्न गराउनेहरू जो छन्, उनीहरूको हातमा नेतृत्व जानुपर्छ । पार्टीको अधिवेशन नेपाली कांग्रेसका लागि महत्वपूर्ण हुँदैछ ।
अहिले अधिवेशन हुनुपर्ने हो । तर, नेतृत्व त्यसमा इच्छुक देखिएन । अब पनि एक वर्ष लम्ब्याउनु हुँदैन । छिटोभन्दा छिटो अधिवेशन गरेर शेरबहादुर देउवा नेतृत्व हस्तान्तरका लागि तयार हुनुपर्छ ।
कतिपयलाई देउवा नेतृत्व छोड्न तयार छैनन् भन्ने परिरहेको छ । फेरि टिकट दिने बेला आइरहेको छ । फागुन २१ मा चुनाव हुँदैछ, यही नेतृत्वले टिकट बाँड्ने होला । यो चिजमा पनि कति सन्तुष्टि, कति असन्तुष्टि हुन्छ पार्टीभित्र ।
यो सबै कुराहरू हेरेर कांग्रेसमा सबैभन्दा ठूलो लोकतान्त्रिकको कुरो छ । भ्रष्टाचारबाट पार्टीलाई अलग गर्नुपर्ने, पार्टी नेतृत्वलाई अलग गर्नुपर्ने परिस्थिति छ । निर्वाचनमा पनि ध्यान दिनुपर्ने होला । यसमा नेपाली कांग्रेसले ध्यान दिनुपर्छ ।
जेन–जी आन्दोलनकारी नेताहरूका घर–घरमा पसेका छन् । आगजनी भएको छ । नेताहरूलाई हातपात नै भएको छ । त्यो गलत काम भएको छ । त्यसलाई हामीहरू राम्रो भयो भन्न सक्ने अवस्थामा छैनौँ । त्यत्रो ठूलो क्षति पुगेको छ ।
आजको स्थिति आउनुमा एमाले पनि दोषी होला, माओवादी पनि दोषी होला । तर, कांग्रेस दोषमुक्त छ भन्न मिल्दैन । कति आफ्नो भागमा पर्छ, त्यो भाग कांग्रेसले लिनै पर्छ ।
संघीयता, धर्मनिरेपक्षता, संविधान ल्याइसकेपछि हाम्रा सबै समस्या समाधान भए भन्ने खालको ढुक्क भएर बस्ने स्थिति ल्याउनु पथ्र्यो कि पर्दैनथ्यो ? के कारणले चुक्यो त ? किन यति ठूलो समूह पार्टी संगठनहरू भन्दा बाहिर गएर संगठित भयो ?
४–५ घण्टाभित्रै मुलुकलाई ठप्प बनाउने स्थिति कसरी आयो ? यसबारे ब्याख्या, विश्लेषण गर्न पर्द कि पर्दैन ? पार्टी संगठनको कुरामात्रै गरेर नहुने रहेछ, त्योभन्दा बाहिर पनि मान्छेहरू संगठित हुँदा रहेछन्, हाम्रा कुरा उनीहरूले मानेका रहेनछन् भन्ने कुरालाई पार्टीहरूले बुझ्नपर्छ ।
पार्टीका केन्द्रीय नेतत्वहरूले निःसन्देह अहिलेको विद्रोह भनेको हाम्राविरूद्ध हो है भन्ने कुरा बुझुनु जरूरी छ । यो आन्दोलन हामीप्रति लक्षित भन्ने कुरा बुझ्नु पर्छ । अब कांग्रेस सभापतिले सबै कुरा छोडिदिएर ल आउनुस् अधिवेशन हामीले गराइदिऊँ भनेर संरक्षकको रूपमा बस्दा उचित हुन्छ ।
अझै पनि म गर्छु, खास के भएको छ र भन्दै टिकट पनि आफैँ बाँड्ने, आफ्ना नजिकका मान्छेको व्यवस्थापन गर्नेमा लागे भने हिजो गुमेको साख त साफै भएको छ । फेरि पनि अर्को क्षति हुन सक्छ । यसमा कांग्रेसका सभापति शेरबहादुर देउवा सचेत हुनैपर्छ ।
प्रतिक्रिया