काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट नभएको बताएका छन् ।
प्रेस चौतारी नेपालको टिमसँग आफ्नै निवास गुण्डुमा आइतबार बिहान छलफल गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।
उनले वर्तमान सरकार संविधानबाट पनि नबनेको, संसद्बाट नबनेको, दलबाट नबनेको, जेन-जीबाट नबनेकोले यो सरकार कस्को भन्ने प्रश्न गरेका छन् ।
‘यो सरकार कसको प्रतिनिधि हो ? जेन-जीले मेरो सरकार होइन भन्छ । दलले हाम्रो सरकार होइन भन्छन् । संसदले यसलाई म चिन्दिन भन्छ । संविधानले मसँग यस्तो सरकार बनाउने व्यवस्थै छैन भन्छ’ अध्यक्ष ओलीले प्रश्न गरे ‘आखिर यो सरकार कसको हो ?’
बेवारिसे सरकारले तोडफोड र आगलागीमा संलग्नलाई कारबाही नगरेर दण्डहीनतालाई प्रश्रय दिएको बताए । यस प्रकारका अपराधी पक्राउ नपर्नु र निर्दोषलाई पक्रन, स्थान हद गर्न सरकार विभिन्न समूहका नाममा माग पत्र,ज्ञापन पत्र बुझाउनुमा पनि सरकारकै हात रहेको अध्यक्ष ओलीको भनाइ छ ।
‘विभिन्न नामका समुह खडा गरेर कहिले २४ गतेका विध्वंस्कारीलाई पक्रन हुदैन भन्ने ज्ञापन पत्र बुझाउन लगाएको छ । कहिले केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्यो भन्न लगाएको छ’ अध्यक्ष ओलीले भन्नुभयो ‘यो कुनै जेन-जी समुहले गरेको होइन । सरकारले आफैं यस्ता समूह खडा गरेर,आफैं ज्ञापन पत्रको ड्राफ्ट बनाएर बुझाउन लगाएको नाटक हो ।’
यस्ता ड्राफ्ट कहाँ बने र कसले बनायो भन्ने कुराको अभिलेख पनि आफूहरुसँग भएको उनले बताएका छन् ।
गृहमन्त्रीले यस प्रकारका अपराधीलाई पक्राउ नगर्न निर्देशन दिनुले देशमा दण्डहीनतालाई प्रश्रय दिएको उनको भनाइ छ ।
अध्यक्ष ओलीले मुलुकको अनिश्चयलाई सही बाटोमा ल्याउन संसद् पुनर्स्थापना एक मात्रै विकल्प भएको बताए ।
‘असंवैधानिक र अनधिकृत रुपबाट विघटन गरिएको संसदलाई पुनस्र्थापना गरेर मात्र देशलाई सही बाटोमा हिडाउन सकिन्छ’ अध्यक्ष ओलीले भने, ‘यदि यस्तै असंवैधानिक तरिकाले संसदलाई विघटन गर्दै जाने हो भने नजिर बस्छ । जसले देशलाई संवैधानिक बाटोमा फर्कन अवरोध गर्दछ । त्यसकारण यो कोर्स अहिले नै करेक्सन गर्नु पर्दछ । ’
संसद् विघटनलाई सिंगो देशले नै अस्वीकार गरेको उनले बताएका छन् ।
‘अहिलेको संसद विघटनलाई सिंगो देशले अस्वीकार गरेको छ । सबै वडाहरुले अस्विकार गरेका छन् । पालिकाहरूले अस्विकार गरेका छन् । जिल्लाहरुले अस्विकार गरेका छन् ’ अध्यक्ष ओलीले भने ‘त्यसको प्रमाणको रुपमा एमाले वडामा उल्लेख्य जनताको सहभागितामा भएका भेला,पालिकाका जनप्रदर्शन र हिजो देशैभर भएका जनसभालाई हेर्न सकिन्छ । एमालेले सञ्चालन गरेका यी कार्यक्रममा ठूलो संख्यामा जनता उर्लिएर अहिलेको सरकार र यसका कदमलाई अस्वीकृत गरिसके ।’
अध्यक्ष ओलीले वर्तमान सरकारले प्रेस स्वतन्त्रतालाई पञ्चायतकालिन अवस्थामा पुर्याएको बताए ।
‘पञ्चायतकालमा संविधानमा नै प्रेस स्वतन्त्रता थिएन । अहिले संविधानमा त प्रेस स्वतन्त्रता छ तर अहिले व्यवहारमा छैन ’ प्रेस चौतारीको टिमसँग अध्यक्ष ओलीले भने ‘सेल्फ सेन्सरसिप लागु भएको छ । पत्रकारले आफूले देखेको, अनुसन्धान गरेका विषयहरु सहजै लेखेमा उनीहरुमा सरकारबाट खतरा छ । त्यसैले सेल्फसेन्सरसिपको मार पत्रकारले खेपिरहेका छन् ।’













प्रतिक्रिया