कलङ्की–बसुन्धारा सडक विस्तार गर्न नेपाल र चीन सरकारबीच अन्तिम हस्ताक्षर हुनै बाँकी | Khabarhub Khabarhub

चक्रपथ विस्तार विवाद

कलङ्की–बसुन्धारा सडक विस्तार गर्न नेपाल र चीन सरकारबीच अन्तिम हस्ताक्षर हुनै बाँकी

हस्ताक्षरपछि बल्ल डिजाइन आउने



काठमाडौं- काठमाडौं चक्रपथको कुल लम्बाई २७ किलोमिटर छ । उक्त सडक वि.स. २०३० को दशकमा चीन सरकारको आर्थिक सहयोगमा निर्माण भएको थियो । सो समयमा नै चिनियाँ पक्षले बस्ती बढ्दै जाँदा विस्तार गर्नुपर्ने दायाँबायाँ ६२ मिटर क्षेत्रफल सीमाङ्कन गरिदिएको थियो । तर, नेपाल सरकारले सडकको लागि तोकिसकेको जग्गा अतिक्रमण हुनबाट रोक्न सकेन । यही कारण चक्रपथ परिक्रमा विस्तारका क्रममा विवाद निम्तिइरहेको छ ।

सरकार-सरकार (जीटुजी) मार्फत् वि.स. २०६९ पुस ३ मा पहिलो चरणमा कोटेश्वर–कलङ्की (१०.३५ किमि) सडक ६२ मिटर चौडाई रहनेगरी ८ लेनमा विस्तारको सम्झौता भयो । भूकम्प र नाकाबन्दी बाधक बन्दा ०७० भदौबाट मात्र काम सुरु भएको उक्त खण्ड सम्पन्न गर्न चिनियाँ पक्षलाई पाँच वर्ष लाग्यो । समय बढी लाग्नुको मुख्य कारण थियो – सडक मिचेर बनाइएका संरचना । त्यतिमात्रै होइन, सडकको डिजाइनलाई लिएर पनि सरकारले नागरिकस्तरबाट ठूलो विरोधको सामना गर्नुपर्‍यो ।

आठ लेन सडक पार गर्न सरकारले आकाशे पुल, जेब्रा क्रसिङ, अन्डर पास लगायतका कुनै व्यवस्था नगरेको स्थानीयको भनाइ थियो । जनस्तरको विरोधपछि सरकारले कमजोरी सुधार गर्दै जेब्रा क्रसिङ र १० वटा आकाशे पुल निर्माण गर्ने घोषणा गर्‍यो । यीमध्ये तीन वटा चिनियाँ पक्षले र अन्य नेपालसरकारले निर्माण गर्नुपर्ने थियो । सडक विस्तार थालेको १३ वर्ष बितिसक्दा पनि नेपाल सरकारले बनाउनुपर्ने तीन वटा पुल अझै निर्माणाधीन छन् ।

यतिमात्र कहाँ हो र, पहिलो खण्डमा कोटेश्वर, बल्खु र खसीबजार तीन ठाउँमा डेढ किलोमिटर सर्भिस लेन समेत जग्गा विवादकै कारण हालसम्म पनि अपूरै छ । सर्भिस लेन निर्माणको जिम्मा नेपाल सरकारकै भएपनि २०७५ पुस २४ गते विवादबीच चिनियाँ पक्षले पहिलो खण्ड हस्तान्तरण गर्‍यो ।

यसलगत्तै सरकारले २०७५ मा कलङ्की–धोबीखोलासम्म दोस्रो खण्ड (११.६ किमि) विस्तार गर्ने सम्झौता गरेको थियो । पहिलो खण्डमै चीनले सो खण्ड विस्तारका लागि नेपालले पहिला साइट क्लियर (रूख, पोल र ढल हटाउनुपर्ने) को अडान राख्यो । त्यसपछि मात्रै चिनियाँ टोलीले सडक विस्तार गर्ने उक्त सम्झौतामा उल्लेख छ ।

तर, महाराजगञ्जको ६२ मिटर क्षेत्रमा भएको मुआब्जा विवाद सडक विभागका कर्मचारीलाई टाउको दुखाई बन्यो । जसकारण दोस्रो खण्ड विस्तारको काम बसुन्धरासम्म (८.२ किमि) भित्र खुम्चिन पुग्यो । यसमा २०७४ असोजमा अदालतले जग्गाधनीकै हकमा आदेश सुनाएपछि २०३० सालदेखिको मुआब्जा विवाद तत्काल समाधान हुने देखिएन ।

चिनियाँ पक्ष आफैँले जिम्मा लिएको पहिलो खण्डमा अनेकन झमेला व्यहोरेपछि निर्माणाधीन कलङ्की–बसुन्धरा खण्ड विस्तारका लागि भने छेउको सर्भिस लेन सम्पन्न नभइ मुख्य सडक विस्तार नगर्ने चीनको नीति छ । तर, सात वर्ष बितिसक्दा पनि नेपाल सरकारले लेन बनाइसकेको छैन । सरकारले यस खण्डमा सर्भिस लेन निर्माणका लागि २०७५ जेठ २४ गते सडक सीमा मिचेर निर्माण गरिएका संरचना हटाउन सूचना जारी गर्दै विस्तार थालेको थियो ।

मुख्य सडकको डिजाइनका लागि चिनियाँ पक्ष पटक–पटक नेपाल आएर सर्वेक्षण गरेपनि हालसम्म अन्तिम डिजाइन आइसकेको छैन । यतिमात्र होइन, आश्वासन दिँदै आएको चिनियाँ पक्षले हालसम्म पनि नेपाल सरकारसँग अनुदानका लागि सम्झौतामा हस्ताक्षर समेत गरिसकेको छैन ।

कोटेश्वर–कलङ्की खण्डको सर्भिस लेन १३ वर्षदेखि अधुरै

‘सडकको दायाँबायाँ साइट सफा गर्नका लागि चारवटा भिन्न–भिन्न ठेक्का लगाएर काम गरेका छौं । सबै सामाग्री सडकमा डम्प भइसकेकाले रोलिङ्गसँगै वेश-वास लगायत सतहको काम भइरहेकाले अब धेरै समय खर्चिनुपर्दैन । करिब ७०/८० प्रतिशत काम भइसकेको छ । पहिलो ठेक्का स्वयम्भूसम्मको त सकिइसकेको भन्ने मौखिक रिपोर्छ छ’, चक्रपथ सुधार आयोजनाकी प्रमुख इन्जिनियर आशिका पोखरेलले भनिन् ।

‘अनाधिकृत रुपमा विगतदेखि सडकमै फोहर हाल्ने, निर्माण गर्दा निस्किएका सामाग्री फाल्नेसम्मको काम भएको देखियो, त्यसमा जनताहरु सभ्य बनिदिनुपर्‍यो । दुई तीन स्थानमा मुआब्जाको समस्या पनि छ ।’ उनले भनिन् ‘तर त्यसले सर्भिस लेनका लागि अवरोध छैन । फुटपाथका लागि भने समस्या छ । व्यक्ति आफैँले पनि भत्काउँदै हुनुहुन्छ त्यसैले अप्ठ्यारो नपर्ला । बजेट पर्याप्त नहुँदा समयमै ढल, खानेपानी, विद्युतसँग गर्नुपर्ने सहकार्यले समय फ्रिज गर्‍यो ।’

जतिसक्दो छिटो काम सम्पन्न गर्न यतिबेला निर्माण व्यवसायीदेखि काठमाडौं महानगरपालिकासँग समेत पहल चालेको उनले जानकारी दिइन् । उनका अनुसार नेपाल र चीन सरकारबीच अझैपनि अन्तिम सम्झौतामा हस्ताक्षर हुन बाँकी छ ।

‘त्यसका लागि फाइल उठाएर तयारी गरिसकेका छौं, चिनियाँ पक्षले डिजाइनका लागि सर्भे, सर्वेक्षण लगायतका ब्याकग्राउण्डमा काम गरिरहनुभएको छ । अब औपचारिक रुपमा दुई पक्षबीच हस्ताक्षर भएपछि बल्ल अन्तिम डिजाइन चिनियाँ पक्षले पठाउनेछ’, उनले भनिन् ।

यसबीचमा कुनै विवाद नआएमा छिटै हस्ताक्षर हुने उनको भनाइ छ । चीन बसुन्धरासम्मका लागि मात्रै अनुदान दिन सकारात्मक देखिनुको अर्को मुख्य कारण हो- नारायणगोपाल चोकसँगै त्यहाँबाट अगाडि चाबहिल, गौशाला, तिलगङ्गा, सिनामङ्गल र तीनकुने क्षेत्रको जग्गा विवाद ।

यस कारण विगतमा समग्र चक्रपथ विस्तारका लागि अनुदान दिन सहमत रहेको चिनियाँ पक्षले बसुन्धराबाट कोटेश्वरतर्फको (८.४५ किमि) सडक विस्तारका लागि सहयोग नगर्ने बताइसकेको छ । त्यसपछि सरकारले आफ्नै लगानीमा महाराजगञ्जको विवादित क्षेत्र छोडेर महाराजगञ्ज चौकीदेखी चप्पल कारखानासम्म सात सय मिटर सडक विस्तारको काम गरिरहेको छ ।

बसुन्धरासम्म चक्रपथ विस्तार आयोजनाको रोहवरमा विस्तार हुँदै आएको चक्रपथको बाँकी खण्ड भने सडक डिभिजन कार्यालय काठमाडौंको जिम्मामा छ । डिभिजनद्वारा २०८१ फागुनदेखि सुरु गरिएको सो खण्ड चिनियाँ पक्षकै डिजाइनअनुरुप निर्माण गरिनेछ । तर जम्मा ७ सय मिटर सडक विस्तारका लागि भने डिभिजनले ३ पटकसम्म म्याद थप गरिसकेको छ ।

तरपनि निर्माणको काम पूरा भएको छैन । फागुनबाट सुरु गरेर असारभित्र काम सकिनुपर्ने भए पनि खानेपानी, ढल र विद्युतसँगको सहकार्यमा ढिलाइ हुँदै गएपछि काम अघि बढ्न सकेन । असारमै वर्षा सुरु भएपछि काममा बाधा भएको र पहिरोले बाटो अवरुद्ध हुँदा क्रसर उद्योगसम्म पुगेर गिट्टी–बालुवा ल्याउन पनि नसकिएकाले देखिनेगरी काम भएन, असोज १२ गतेसम्म म्याद थपियो । तर असोजसम्म पनि निरन्तर पानी परेपछि काम ठप्पजस्तै रह्यो ।

दशैं–तिहार सकिएर फिल्डमा खटिन तयार भएका बेला पनि वर्षाले फेरि अवरोध गर्‍यो । सडक हिलाम्मे हुँदा यात्रु र व्यवसायीले असन्तोष जनाए के गर्नु हाम्रो पनि बाध्यता हो समयनै अप्ठेरो पर्दा काम गर्नै सकेनौँ,’ सडक डिभिजन कार्यालय काठमाडौंका साइट इन्जिनियर सन्तराम पाण्डेयले बताए ।

उनका अनुसार हाल नालाको काम सकिएको छ तर सडकको मूल काम अझै बाँकी छ। क्रसरबाट गिट्टी ल्याउन नपाउँदा बाँकी रहेको सडकको मुख्य पेभमेन्टको काम यतिबेला सुरु भएको छ ।

‘यसका लागि सबैभन्दा पहिले मूल जमिन (सबग्रेड) तयार पारेर सब–बेस, बेस कोर्स सडकलाई बाँध्ने र अन्तिममा सवारी सतह (वेयरिङ कोर्स) राख्नुपर्छ । यी सबैका लागि क्रसरबाट ढुङ्गा, गिट्टी, ग्राभेल, बालुवा निरन्तर आपूर्ति हुनुपर्छ । तर वर्षायाम लागेपछि क्रसर उद्योग बन्द हुने, बाटो भासिने र सामग्री ढुवानी नै असम्भव हुने अवस्थाले काम रोकिएको थियो ।’ उनले भने, ‘पछिल्लो पटक मंसिर १३ गतेसम्मका लागि म्याद थप भएको छ । बजेट लगायतका अन्य कुनै अभाव नभएकाले उक्त समयभित्र सक्नेगरी काम गरेका छौं ।’

चप्पल काखानापछि जग्गा विवादका क्षेत्र छोडेर डिभिजनले पिङ्गलास्थानदेखि तिलगङ्गासम्म ३ सय ५० मिटरमा विस्तारको काम गरिरहेको छ । चाबहिलदेखि गौशाला हुँदै सिनामङ्गल, तीनकुने क्षेत्रपनि विवादबाट अछुतो छैनन् । त्यसैले डिभिजनले ती क्षेत्रमा सरकारको मुख ताक्नुको विकल्प छैन ।

यो पनि-

बसुन्धरा–कोटेश्वर खण्डमा चक्रपथ साँघुरो पार्ने पाँच विवाद

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ५ : ४५ बजे

युक्रेनले ग्रीसबाट ग्यास आयात गर्ने : राष्ट्रपति जेलेन्स्की

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हिउँदको इन्धनको आवश्यकता पूरा गर्न

कलैयाका पूर्वनिमित्त डिभिजन प्रमुखसहित चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय,

एनसेल फाउन्डेसनले एनपीएल सिजन २ का हरेक चौकाबापत ४ वटा शैक्षिक सामग्री वितरण गर्ने 

काठमाडौं– एनसेल फाउन्डेसनले यस वर्ष पनि  नेपाल प्रिमियर लिग (एनपीएल) सिजन

एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सातै प्रदेशमा सुरक्षा गोष्ठी गरिने

काठमाडौं- केन्द्रीय सुरक्षा समितिले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको