जेन-जी नेताहरूलाई कांग्रेस-एमालेको डर, सम्झौताका लागि बढाउँदै सरकारमाथि दबाब « Khabarhub

जेन-जी नेताहरूलाई कांग्रेस-एमालेको डर, सम्झौताका लागि बढाउँदै सरकारमाथि दबाब



काठमाडौं– जेन-जीहरूले सरकारसँग सम्झौताका लागि ११ बुँदे माग शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएका छन् । प्रधानमन्त्री कार्कीले त्यसलाई अध्ययन गरिसकेर जेन-जीहरूबीच लिखित सम्झौता गर्ने आश्वासन दिएकी छन् । 

जेन-जीले आफ्नै दल बनाएर आगामी निर्वाचन फेस गर्ने वा नयाँ दल दर्ता गर्ने निधोमा पुगेका छैनन् । काउन्सिल अफ जेन-जी कोशी प्रदेशका संयोजक उपार्जुङ राई भन्छन्, ‘दल दर्ताबारे हामीलाई थाहा छैन । यो कुरा गोप्य राख्ने योजनामा छौँ । सरकारसँग सम्झौता भएपछि मात्र यतातिर लागिन्छ ।’ 

उनले गरेको संकेतअनुसार अहिले जेन-जी दल खोल्ने पक्षमा छैनन् । कसैलाई आफ्नो दल भनेर देखाउने पक्षमा पनि उनीहरू छैनन् । किन दल दर्ता गर्नुभएन ? भन्ने प्रश्नमा जेन-जी अमित खनाल भन्छन्, ‘अहिले आन्दोलनलाई संस्थागत गरेर जानु हाम्रो प्रमुख दायित्व हो । हामीले लामो समय कसरत गरेर सम्झौता पत्र बनाएका छौँ । त्यो सम्झौता नै हाम्रो मुख्य उपलब्धि हो ।

उनले अगाडि भने, ‘बरु हामी साथीहरूलाई वैकल्पिक शक्तिसँग निर्वाचनमा मिलेर जान अथवा स्वतन्त्र ढङ्गले सहयोग गर्न सक्छौँ तर हाम्रो आन्दोलनलाई संस्थागत गर्ने कुरा र सम्झौता बनाएर यो आन्दोलनको औचित्य पूरा गर्ने काम प्रमुख दायित्व हो ।’ 

खनाल आन्दोलनलाई संस्थागत गर्ने विषयमा दलहरूले पनि सहयोग गर्ने दाबी गर्छन् । प्रमुख दलको कुरा भएन तर हामीलाई वैकल्पिक दलहरूले हाम्रो आन्दोलन संस्थागत गर्न सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा राखेका छौँ । सरकार पनि यसलाई गम्भीर मानेर अगाडि बढ्नु पर्छ’ ।

सम्झौता नभए ‘आतंककारी’ करार हुने भय 

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलन आफ्नो माग र अधीनबाट बाहिर गएकाले देशमा धेरै ठूलो क्षति भएको थियो । जेन-जीको निश्चित लिडर नहुँदा र आन्दोलनका गुण, दोषको स्वामित्व नलिँदा कालान्तरमा आत्मघाती सिद्ध हुनसक्ने भयले जेन-जी अगुवाहरू डराएका छन् । देशको प्रमुख संरचनाहरू ध्वस्त भएका र आगजनी भएकाले जेन-जीहरूलाई ठूला राजनीति दलका नेताहरूले अघोषित ‘आतंककारी’को संज्ञा दिन थालिसकेका छन् ।  

यसैबेला आन्दोलनलाई संस्थागत गरेर सरकार पक्ष र आन्दोलनकारीबीच सम्झौतामा हस्ताक्षर नभए आफूहरूलाई जुनसुकै बेला पनि आतङ्ककारी करार गरेर सरकारले पक्राउ गर्ने दबाबमा जेन-जी अगुवाहरू छन् । त्यही भएर उनीहरूले भदौ २३ गते १९ जनाको ज्यान जाने गरी भएको दमनमा संलग्नहरूलाई कठोर कारबाहीको माग गरेका छन् । तर यिनै जेन-जीले भदौ २४ गतेको विध्वंशमा संलग्नहरूबारे नरम भएर बोलेका छन् । सकेसम्म भदौ २४ गतेको विध्वंश र आगजनीमा संलग्नलाई कारबाहीको भागी बनाउन नहुने राय उनीहरूले सम्झौता पत्रमा दिएका छन् ।

काउन्सिल अफ जेन-जीका प्रदेश संयोजक राई आन्दोलनलाई संस्थागत गरेर अगाडि नबढ्दा सरकारले  जुनसुकै बेला आफूहरूलाई आतंकवादी भनेर पक्राउ गर्ने योजना गर्न सक्ने भन्दै त्यसतर्फ सचेत रहेको बताउँछन् । 

उनी जेन-जीले पार्टी खोलेर अगाडि बढ्ने भन्दा आन्दोलनलाई संस्थागत गरेर शहीद र घाइते परिवारलाई न्याय दिने प्रमुख काम भएको बताउँछन् । 

आन्दोलन क्रममा भएका जघन्य अपराध बलात्कार र हत्याबाहेक अन्य क्रियाकलापमा आन्दोलनकारी पक्राउ पर्नु नहुने उनको तर्क छ। उनी अब जेन-जीले सम्झौतामा हस्ताक्षर नगरी कुनै पनि गतिविधि नगर्ने बताउँछन् ।  उनीहरूलाई खासमा नेपाली कांग्रेस र नेकपा एमालेको डर देखिएको छ। यदि कांग्रेस र एमालेले पुनरागमन गरे भने उल्टै आफूहरू कारबाहीमा पर्ने डर उनीहरूमा छ ।

पछिल्लो समय देशव्यापी रुपमा प्रहरीले सरकारी कार्यालय आगजनी र तोडफोडमा संलग्नलाई समातिरहेको छ । खासगरी प्रहरी कार्यालय जलाउने, तोडफोड गर्ने र सामान लुट्नेहरू कम्तीमा पनि ४ सयको संख्यामा समातिइसकेका छ्न् । जसमा डेढ सयभन्दा बढीलाई मुद्दा चलेको छ । अहिले जेन-जीहरू यसरी नै पक्राउ परेर थुनिने त्रासमा छन् । त्यहीकारण उनीहरूले गम्भीर अपराधबाहेकलाई मुल्तबीमा राख्न सरकारलाई दबाब दिएका हुन् ।

https://khabarhub.com/?s=%E0%A4%9C%E0%A5%87%E0%A4%A8-%E0%A4%9C%E0%A5%80

‘हामीलाई अहिले दल खोलेर कुनै राजनीति गर्नु छैन । निर्वाचन तोकिएकै समयमा हुनुपर्ने पक्षमा छौँ । हाम्रो प्रमुख ध्येय निर्वाचन गराउनु नै हो । तर जेन-जी आन्दोलनलाई संस्थागत नगरी र सम्झौता पत्रमा सरकार र हामीबीच हस्ताक्षर नभई कुनै गतिविधि अगाडि बढ्दैनन्’  राईले अगाडि भने, ‘हामी अहिलेकै व्यवस्था मानेर जाने पक्षमा छौँ । हत्या-हिंसा, लुटपाट लगायतमा संलग्नलाई कारबाही हुनुपर्छ भन्ने माग छ । तर यो तत्कालीन सरकारमा रहेका नेतृत्व र आन्दोलनकारीबीच समान हुन जरुरी छ । हाम्रो माग भनेको सम्झौता पत्रमा सरकारले हस्ताक्षर गरोस् । आन्दोलन संस्थागत गरेर हामी र हाम्रा साथीहरूलाई नियोजित रुपले पक्राउ नगरियोस् ।’ 

यता जेन-जी फ्रन्टकी संयोजक रक्षा बम पनि आन्दोलनलाई संस्थागत गर्ने कुरामा आफूहरू लागिरहेको बताउँछिन् । उनले विभिन्न सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यममा जेन-जीले सम्झौता पत्रमा उठाएका कुरालाई सरकार र जेन-जीले  हस्ताक्षर हुनुपर्ने बताउँदै आएकी छन् ।  

वैकल्पिकलाई सघाउने या दल खोल्ने

स्रोतका अनुसार जेन-जीहरू दल दर्ताका क्रममा अगाडि नसर्ने योजनामा छन् । उनीहरू कुनै वैकल्पिक दललाई संशोधन गरेर आफ्नो बनाउने या अदृश्य रूपमा दल दर्ता गरेर त्यसैलाई आफ्नो पक्षमा ल्याउने सोचमा छन् । 

यसका लागि जेन-जीहरूले लामो समय छलफल र कसरत गरेको देखिन्छ । यता मुभमेन्टका अगुवा खनालका अनुसार दुवै पक्षबीच आन्दोलनमा सम्झौता भएपछि इच्छुकले वैकल्पिक धारका दलहरू समातेर जाने स्वतन्त्रता दिइनेछ । यदि आफ्नै दल बनाउने खण्डमा पनि दर्ता भइसकेका कुनै दललाई समातेर जाने पक्षमा रहेको उनको भनाइ छ ।

‘दल दर्ता प्रमुख विषय होइन, वैकल्पिक धारका कुनै दल समातेर अगाडि बढ्न साथीहरूलाई छुट् छ,’  खनालले भने, ‘हामी पुराना दलसँग कुनै हालतमा सहकार्य गरेर जाने मनसायमा छैनौँ ।  यदि हामीले आफ्नो दल बनाएनौँ । आफ्नो दल खोलेनौँ भने पनि वैकल्पिक शक्तिहरूसँग एकीकृत गरेर जान सक्छौँ । यदि त्यसो नभएको खण्डमा स्वतन्त्र उम्मेदवारी दिएर उनीहरूलाई समर्थन गर्न सकिन्छ ।’

स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले दल दर्ता गर्ने समय थप्नका लागि आयोगलाई अनुरोध गरेकी छिन् । तर आयोगले अहिलेसम्म औपचारिक जानकारी गराएर दल दर्ता गर्ने समय थप्ने या नथप्ने भन्ने बारेमा निर्णय गरेको छैन । उता मतदाता नामावलीको समयमा भने पाँच दिन थप भइसकेको छ।

कानुनमा केलाइँदै सम्झौताको खेस्रा 

प्रधानमन्त्री कार्यालयले जेन-जीले उठाएका सम्झौतापत्रको अध्ययन गरिरहेको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले छुट्टै टिम बनाएर यसको अध्ययन भइरहेको बताएका छन् ।

यसबारे प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले खबरहबलाई भने, ‘मैले जानकारी पाएसम्म जेन-जीको सम्झौतापत्रलाई कानुनी भाषा दिने र केलाउने काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कानुन सचिव फणिन्द्र गौतमले गरिरहनुभएको छ ।’

उनले अगाडि भने, ‘उहाँको नेतृत्वमा अगाडि बढाउने काम भएको छ । काम छिटो भइरहेको छ । केही दिनमा प्रक्रिया पूरा होला ।’ 

सचिव गौतमले सम्झौतालाई कानुनी ड्राफमा परिणत गरेपछि प्रधानमन्त्री कार्कीसँग संवाद अघि बढाइने छ । प्रधानमन्त्री कार्की सहमत भएपछि मात्र यो सम्झौता जेन-जीसँग छलफलमा पुग्ने उनी निकट स्रोत बताउँछ । 

प्रेस सल्लाहकार रावल यसलाई कानुनी भाषा मिलाएर जेन-जीसँग छलफल अघि बढाउने बताउँछन् । जेन-जी र सरकारबीच सम्झदारी भएपछि उक्त सम्झौतापत्रलाई राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सरकार र जेन-जीहरुबीच हस्ताक्षर गर्ने तयारी छ । 

छरिएका जेन-जीले आफ्ना आफ्ना माग लिएर प्रधानमन्त्री कार्कीसँग पुगेपछि उनले सबै जेनजी एक भएर एउटा सम्झौता पत्र बनाउन आग्रह गरेकी थिइन । उनले सामूहिक सम्झौतापत्रलाई आफूले हेर्ने र सम्झौता गर्ने आश्वासन दिएकी थिइन । उनले यस्तो भनेको १ महिना १५ दिन लगाएर जेन-जीले सम्झौता पत्र बनाएका हुन् । 

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार जेन-जीलाई एक ठाउँमा ल्याउन प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरका मेयर बालेन्द्र साह, जेन-जी अभियन्ता सुदन गुरुङ लगायतले भूमिका खेलेका थिए । 

सम्झौतापत्रका जटिलता

जेन-जीले उठाएको ११ बुँदामा महत्त्वपूर्ण अडान र सम्झौता राखिएको छ । जेन-जीका माग पत्र हेर्दा भ्रष्टाचारका फाइल खोल्ने, प्रतिनिधिसभा प्रदेशसभा र स्थानीय तहको सदस्यताको उमेर हदबन्दी २१ वर्षदेखि ७० वर्षमा सीमित गर्ने प्रस्ताव गरिएको छ । 

यो उमेर हदबन्दीले अहिलेका प्रमुख दलका नेताहरूलाई ठूलो धक्का लाग्ने देखिन्छ । यदि सरकारले जेन-जीको सम्झौतालाई कार्यान्वयन गरेमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल राजनीतिमा अभिभावक मात्रै बन्न पाउँछन् । 

यस्तै राज्यको राष्ट्रिय प्रमुख तीनै तहको सरकारको कार्यकारी प्रमुख र मन्त्रिपरिषद्को पदावधि दुई वर्ष पूर्णकालीन गर्ने सम्बन्धमा पनि जेन-जीहरूले सम्झौता अगाडि बढाएका छन् । 

सम्झौताको दुई नम्बर बुँदाको उपबुँदा १ मा भनिएको छ, ‘नेपाल सरकारले गठन गरेको जाँचबुझ आयोगले शीघ्र निष्पक्ष, प्रभावकारी छानबिन तथा अनुसन्धान गरी यस जनआन्दोलनको क्रममा भएका हत्या र अन्य सम्पूर्ण मानव अधिकार उल्लङ्घनका घटनामा संलग्नलाई तत्कालीन सरकार पक्षका सबै पदाधिकारीलाई अभियोजन र सजायका लागि सिफारिस गर्ने ।

यस्तै जघन्य अपराध बाहेक अन्य कुनै घटनामा प्रहरीले आन्दोलनकारीलाई पक्राउ गरी अभियोजन गरेको छ । ती मुद्दालाई सरकारले मुलतबीमा राखी ज्यान मार्ने कसुर र करणीसम्बन्धी कसुरबाहेक अन्य घटनामा पक्राउ परेका थुनुवालाई तत्काल थुनामुक्त गरी उक्त अनुसन्धान गर्ने अधिकार आयोगमा हस्तान्तरण गर्ने भनिएको छ । 

यस्तै जेन-जीले प्रधानमन्त्रीलाई पठाएको सिफारिस पत्रमा आन्दोलनसँग सम्बन्धित विषयमा अन्य कुनै निकायले क्षेत्र अधिकार ग्रहण गर्न नपाउने र आयोगले सिफारिस गरेका घटनाहरू बाहेक अन्य कुनै घटना भविष्यमा कुनै पनि निकायले अभियोजन गर्न नपाउने माग गरिएको छ । 

प्रधानमन्त्री कार्कीले यो सम्झौताका लागि तयार हुने नहुने ठेगान छैन । सुरक्षा निकायले दिने सल्लाहमा प्रधानमन्त्रीको कदम निर्भर रहन्छ । जेन-जीले उठाएका मागहरू अन्य दलका नेताहरूले टेर्छन् टेर्दैनन् या सहमति जनाउँछन् जनाउँदैनन् त्यसमा पिन चासो छ ।

जेन-जी अभियन्ता राई भने माथिका सबै सम्झौता पत्र सरकारले कार्यान्वयन नगरे आन्दोलनकारीलाई जुनसुकै बेला संकट आउने बताउँछन् । 

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ८ : २८ बजे

सशस्त्र प्रहरी बलको सक्रियतासँगै अवैध कारोबारमा कमी

रौतहट– सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउटपोष्ट (विओपी) सरमुजवा रौतहटको

डा. पोखरेलको गीति एल्बम ‘परेली’को विमोचन

काठमाडौं–  गीतकार एवं चलचित्र निर्देशक तथा निर्माता डा. सुबोधकुमार पोखरेलको

जेन-जीको आन्दोलनका क्रममा आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ

सिन्धुली– गत भदौ २४ गते सिन्धुलीमा जेन-जीको आन्दोलनका क्रममा सरकारी

हर्कले भने- बहुमत पाएर देश चलाएँ भने कायापलट गर्छु, नत्र शरणार्थी बन्छु

काठमाडौं– श्रम संस्कृति पार्टीका सभापति एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डको आग्रह

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्बासी