चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा « Khabarhub

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ ।

व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७४ प्रतिशत प्रगति भएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ ।

उक्त खण्डका इन्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले अब २६ प्रतिशतमात्र काम बाँकी रहेको जानकारी दिए । उनका अनुसार पुल निर्माण तीव्रगतिमा अगाडि बढाइएको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी उक्त पुलको काम सुरु गरिएकामा गत भदौ २१ गते ठेक्काको म्याद सकिएपछि आगामी असार १९ गतेसम्म म्याद थप भएको उनको भनाइ छ ।

सूचना अधिकारी पाण्डेका अनुसार पुल निर्माणका लागि २०७९ साल साउन २६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । उनले भने, ‘पुल निर्माणको म्याद सकिएपछि पुनः म्याद थपिएको छ । थप भएको म्यादभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता आएको छ ।’ उक्त पुलमा ७० प्रतिशत वित्तीय प्रगति भएको छ ।

तीन सय १५ मिटर लामो पुलमा छवटा स्पान रहनेछन् । पुलको वारिपारि दुई–दुई ‘प्रिस्टेटस् बक्स गडर’ स्पान सम्पन्न भइसकेको छ । उनका अनुसार फाउन्डेसनदेखि सुपर स्ट्रक्चरको काम सकिएको छ । उनले भने, ‘मिडल स्पान दुईवटा कङ्क्रिट नेचर आर्क ब्रिज हो । त्यसको काम पनि भइरहेको छ ।’

एक अर्ब २१ करोड भ्याटसहित लागतमा निर्माण भइरहेको पुल २३ मिटर चौडाइको एउटै मोनोलेथिक स्क्ट्रक्चर भएको यो नेपालकै पहिलो पुल भएको पाण्डेको भनाइ छ ।

सूचना अधिकारी पाण्डेले मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत पूर्वीतर्फ ८८ प्रतिशत प्रगति भएको जानकारी दिए । कालोपत्र सबै सकिएको बताउँदै उनले सडकका अन्तिम चरणका काममात्र बाँकी रहेको उल्लेख गरे । पुलको पहुँचमार्गको काम भने बल्ल सुरु भएको पाण्डेले बताए ।

निर्माण कम्पनी व्यवस्थापक दिनेशकुमार श्रेष्ठले निर्धारित मितिअगावै पुल निर्माणको काम सकिने बताए। उनका अनुसार असार १९ गतेसम्म म्याद रहे पनि वैशाखमा पुल निर्माणको काम सक्नेगरी काम भइरहेको छ । पुल निर्माणका लागि हाल दैनिक एक सय ५० कामदार खटाइएको छ ।

छवटा स्पानमध्ये दुईदुई स्पानको काम सकिएको र बीचको दुईवटा स्पान ६३ मिटरको काम भइरहेको उनले जानकारी दिए ।

पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ । (रासस)

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ७ : १९ बजे

पाँच वर्षे छोरालाई आमाको आशीर्वाद- ‘सरी’ भन्ने बानी कहिल्यै नत्याग्नू !

चिठ्ठी साहित्य प्रिय बाबु आयान्स,असीम माया !तिमी अहिले पाँच वर्षका

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने