वैचारिक आरोह अवरोह झेल्दै कम्युनिष्ट आन्दोलन « Khabarhub

वैचारिक आरोह अवरोह झेल्दै कम्युनिष्ट आन्दोलन


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

नेपालको कम्युनिष्ट आन्दोलन कुनै एक चरणको राजनीतिक अभ्यास होइन, दक्षिण एसियाली राजनीतिक इतिहासमै फैलिएको एक दीर्घ, जटिल र बहुआयामिक संघर्षको कथा हो । निरङ्कुश राणा शासन, पञ्चायतविरुद्धको भूमिगत प्रतिरोधदेखि बहुदलीय प्रजातन्त्रको स्थापना, गणतन्त्रको उदय र आज देखिएको गहिरो वैचारिक सङ्कटसम्म आइपुग्दा आन्दोलनले अनेक प्रयोग, विभाजन र पुनःसंयोजनको कठोर अनुभव गरेको छ ।

यस ऐतिहासिक यात्रामा मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ ले नेपाली कम्युनिष्ट आन्दोलनलाई निर्णायक मोड दियो । क्रान्ति र लोकतन्त्रबीचको पुरानो वैचारिक द्वन्द्व चिर्दै यस अवधारणाले वाम आन्दोलनलाई बहुदलीय प्रतिस्पर्धा, जनमत र संसदीय अभ्याससँग जोड्ने नयाँ राजनीतिक मार्ग खोल्यो । यही वैचारिक आधारबाट नेकपा एमालेको उदय सम्भव भयो, जसले वाम राजनीति मात्र होइन, समग्र नेपाली राज्यसत्ताको दिशा र चरित्रलाई समेत गहिरो प्रभाव पार्‍यो ।

१. भूमिका

नेपालको कम्युनिष्ट आन्दोलन कुनै एक कालखण्ड, एक नेताको नाम वा कुनै निश्चित विचारमा मात्रै सीमित छैन । यो आन्दोलन नेपाली समाजको वर्गीय संरचना, शक्ति सन्तुलन, ग्रामीण–शहरी अन्तरविरोध र अन्तर्राष्ट्रिय राजनीतिक प्रवाहसँग घनिष्ट रूपमा जोडिएको लामो, जटिल र बहुआयामिक यात्रा हो। निरंकुश पञ्चायती व्यवस्था विरुद्धको भूमिगत संघर्षदेखि बहुदलीय प्रतिस्पर्धा, सशस्त्र विद्रोह र गणतन्त्रको स्थापनासम्म यसले बारम्बार आफूलाई पुनःपरिभाषित गर्दै आएको छ ।

२. तेस्रो महाधिवेशनपछि देखिएको वैचारिक संकट

तेस्रो महाधिवेशनले नेकपाभित्र वैचारिक बहस तीब्र बनायो । संसद पुनःस्थापना बारेको विवाद, सोभियत–चीन विभाजनको प्रभाव र नेतृत्वबीचको असहमतिले पार्टीलाई विभाजनतर्फ धकेल्यो । वैचारिक स्पष्टता र साझा विचारबिना संगठनात्मक एकता दीर्घकालीन रहन सक्दैन ।

३. युवा क्रान्तिकारी आन्दोलन र झापा विद्रोह

झापा विद्रोह नेपाली कम्युनिष्ट आन्दोलनमा क्रान्तिकारी चेतनाको प्रतीकको रुपमा स्थापित हुन पुग्यो । झापा आन्दोलनले युवा पुस्ताको साहस, वर्ग संघर्षप्रतिको दृढ प्रतिबद्धता र राज्यद्वारा गरिएको कठोर दमनका बाबजुद आन्दोलनलाई अघि बढाउने क्षमतालाई देखायो । विद्रोहले संगठन निर्माण र राजनीतिक रणनीति विकास गर्ने नयाँ मार्ग चित्र कोर्‍यो ।

यही एतिहासिक पृष्ठभूमिमा नेकपा मालेको उदय सम्भव भयो, जसले कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशा र पहिचान प्रदान गर्‍यो । झापा विद्रोहले नेपाली कम्युनिष्ट आन्दोलनमा क्रान्तिकारी भावना जगायो र नेतृत्व विकासका अवसर सिर्जना गर्‍यो, जसले पछि पार्टीको सशक्त संगठनात्मक ढाँचा निर्माणमा योगदान पुर्‍यायो ।

४. नेकपा माले र संगठनात्मक विस्तार

पञ्चायती व्यवस्थाविरुद्धको संघर्षमा नेकपा मालेले भूमिगत संगठन, वैचारिक प्रशिक्षण र जनआधारित आन्दोलनलाई एकसाथ अघि बढाउँदै नयाँ राजनीतिक चेतना जगायो । जनमत संग्रह बहिष्कारको निर्णयले पार्टीको स्पष्ट दृष्टिकोण देखायो भने त्यसपछिका वैचारिक बहस र नेतृत्व परिवर्तनले संगठनलाई थप परिपक्व बनायो ।

यी अनुभवहरूले केवल पार्टीको आन्तरिक मजबुती होइन, नेपाली कम्युनिष्ट आन्दोलनमा लोकतान्त्रिक रूपान्तरणको आधार पनि तयार गरे। जनसाधारणसँगको सम्बन्ध, संगठनात्मक अनुशासन र वैचारिक स्पष्टताले नेकपा मालेलाई दीर्घकालीन संघर्ष र सामाजिक परिवर्तनका लागि सक्षम बनायो, र भविष्यका राजनीतिक कदमहरूको दिशानिर्देशन पनि सुनिश्चित गर्‍यो ।

५. मदन भण्डारी र जनताको बहुदलीय जनवाद

मदन भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका प्रमुख वैचारिक नेता थिए । उनले प्रस्तुत गरेको ‘जनताको बहुदलीय जनवाद’ अवधारणाले कम्युनिष्ट आन्दोलनलाई बहुदलीय प्रतिस्पर्धा, संवैधानिक शासन र जनताको सार्वभौमिक अधिकारसँग जोड्यो । यो विचार सोभियत मोडेलको प्रतिलिपि होइन, नेपाली समाजको वास्तविकता र परिस्थिति अनुसार सिर्जना गरिएको मौलिक प्रयोग थियो ।

भण्डारीले वर्गसंघर्ष र लोकतन्त्र विरोधाभासी होइनन्, बरु एकअर्काका परि पूरक हुन् भन्ने मान्यता स्थापित गराउनुभयो । यही दृष्टिकोणले नेकपा एमालेलाई जनआधार विस्तार गर्न सजिलो बनायो र कम्युनिष्ट आन्दोलनलाई नेपालको लोकतान्त्रिक प्रणाली भित्र स्थापित गर्‍यो।

६. जनआन्दोलन २०४६ र नेकपा एमालेको उदय

२०४६ को जनआन्दोलनपछि नेकपा माले र नेकपा मार्क्सवादीको एकताबाट नेकपा एमाले गठन भयो । यस गठबन्धनले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ राजनीतिक शक्ति प्रदान गर्‍यो । संसदीय राजनीति, जनआन्दोलन र संगठन निर्माणलाई सँगसँगै अगाडि बढाउने त्रिकोणात्मक रणनीतिले पार्टीलाई राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका निभाउने क्षमता दियो र यसरी नेकपा एमाले देशको मुख्य राजनीतिक केन्द्रमा उदायो ।

७. सत्ता अभ्यास, विभाजन र पुनःएकता

२०५० साल जेठ ३ गते तत्कालीन महासचिवको जिप दुर्घटनामा निधन भयो । यस घटनाले पार्टीलाई ठूलो क्षति पुर्‍यायो । तर एमालेले शोकलाई शक्तिमा बदल्ने निर्णय गर्दै २०५१ को निर्वाचनमा भाग लिएर पहिलो राजनीतिक दलको रूपमा आफूलाई स्थापित गर्‍यो । २०५१ को निर्वाचनपछि एमालेले अल्पमत सरकार निर्माण गर्‍यो र नौ महिनाभित्र लोकप्रिय काममा सफलता हासिल गर्‍यो । तर महाकाली सन्धि विवादले पार्टीभित्र गहिरो असहमति निम्त्यायो, जसले संगठनात्मक कमजोरीलाई उजागर गर्‍यो ।

२०५६ को निर्वाचनमा पार्टी पहिलो स्थानमा पुग्न सकेन र आन्तरिक फुटले नेकपा एमालेलाई कमजोर अवस्थामा पुर्‍यायो। यस परिस्थितिले स्पष्ट पार्‍यो कि वैचारिक संवादबिना पार्टी फुट अपरिहार्य हुन्छ। तर २०५८ मा पुनःएकताले आन्दोलनलाई नयाँ ऊर्जा दियो र पार्टीलाई पुनः सुदृढ बनायो।

८. गणतन्त्र, वाम एकता र विघटन

२०६२/२०६३ को जन आन्दोलनपछि नेपालको राजनीतिमा कम्युनिष्ट आन्दोलनले नयाँ उचाइ लियो। त्यसपछि दुई मुख्य कम्युनिष्ट धारा राजनीतिक परिदृश्यमा स्थापित भए । २०६४ तथा २०७० को निर्वाचनमा प्रमुख राजनीतिक दलको रूपमा उदाए।

२०७४ सालमा सामाजिक र राजनीतिक आवश्यकता अनुसार यी दलहरूले वाम गठबन्धन गरे र निर्वाचनमा विशाल बहुमतका साथ विजय हासिल गरे । केही समयपछि यही गठबन्धनलाई पूर्ण एकतामा रूपान्तरण गर्दै नेकपा पार्टीको गठन भयो ।

तर राजनीतिक चमक र ठूलो अपेक्षाका बाबजुद, पार्टीभित्र वैचारिक एकरूपता, संगठनात्मक अनुशासन र सामूहिक नेतृत्वको अभावले यो एकतालाई दीर्घकालीन बनाउन सकेन । अन्ततः विघटनले नेपाली कम्युनिष्ट आन्दोलनलाई गहिरो आत्मसमीक्षा गर्न बाध्य तुल्यायो ।

९. कम्युनिष्ट आन्दोलन किन जनताबाट टाढिँदै गयो ?

नेपाली कम्युनिष्ट आन्दोलन गम्भीर विश्वास संकटको चरणमा प्रवेश गरेको छ। यो संकट केवल निर्वाचन परिणाममा सीमित छैन, बरु वैचारिक दिशाहीनता, संगठनात्मक अराजकता र नेतृत्वको व्यक्तिवादी प्रवृत्तिको परिणाम हो । सिद्धान्तलाई व्यवहारसँग जोड्ने काम कमजोर बन्दा आन्दोलन सत्ता केन्द्रित बन्न पुग्यो ।

गुटबन्दी, निषेधको राजनीति र आलोचनालाई शत्रुता ठान्ने प्रवृत्तिले आन्तरिक लोकतन्त्र कमजोर बनायो। जनताको बहुदलीय जनवाद जस्तो उन्नत विचार व्यवहारमा उतार्न नसक्दा त्यो केवल दस्तावेजमा सीमित भयो। आज प्रश्न उठिरहेको छ– कम्युनिष्ट आन्दोलन सत्ता प्राप्तिका लागि हो कि समाज रूपान्तरणका लागि ?

यदि आन्दोलनले उत्पादन, रोजगारी, सामाजिक न्याय र सुशासनलाई केन्द्रमा राखेर स्पष्ट कार्यक्रम दिन सकेन भने जनविश्वास आर्जन गर्न धेरै कठिन हुनेछ।

१०. निष्कर्ष– मदन भण्डारीको विचार आज किन झन् सान्दर्भिक छ ?

नेपाली कम्युनिष्ट आन्दोलनले आफ्नो इतिहासबाट धेरै सिकेको दाबी गरे पनि व्यवहारमा त्यो सिकाइ निरन्तरता पाएको छैन। आजको राजनीतिक मोडमा, मदन भण्डारीको वैचारिक विरासत झन् महत्वपूर्ण देखिन्छ। लोकतन्त्र, समाजवाद र राष्ट्रिय स्वाधीनता यी तीनैको सन्तुलित संयोजन नेपाली समाजको वास्तविक आवश्यकता बनेको छ।

भण्डारीको दृष्टि केवल सत्ता हासिल गर्ने उपाय थिएनस यो समाजलाई दीर्घकालीन रूपमा रूपान्तरण गर्ने स्पष्ट मार्गचित्र थियो। यदि आन्दोलनले पुनः जनतामा फर्किने साहस, आत्म–आलोचनाको संस्कृति र वैचारिक स्पष्टता अपनाउन सकेन भने, इतिहासले यसलाई “अवसर गुमाएको आन्दोलन” को रूपमा मात्र सम्झनेछ।

आजको बाटो स्पष्ट छ विभाजन होइन, वैचारिक पुनर्निर्माणस व्यक्तिवाद होइन, सामूहिक नेतृत्वस सत्ता होइन, जनताको जीवनमा प्रत्यक्ष परिवर्तन। यही मार्ग अपनाएमा मात्र नेपाली कम्युनिष्ट आन्दोलन फेरि जनविश्वासको केन्द्र बन्न सक्छ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  २ : २६ बजे

एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा, ग्राहकले आफ्नो आवेदनको ट्र्याक गर्न सक्ने

काठमाडौं– एनएमबि बैंकले ग्राहकका लागि एक महत्त्वपूर्ण डिजिटल सुविधाको सुरुवात गरेको

भृकुटीमण्डपमा एमाले चुनावको रन्को: मतदान बेलुका ७ बजेदेखि

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) को एघारौँ राष्ट्रिय महाधिवेशनको

युद्ध रोक्न कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नुपर्छ : थाइल्यान्ड

एजेन्सी– थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई

नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा 

पोखरा– नबिल बैंकले पोखरा शाखामा छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु

हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल

एजेन्सी– पाकिस्तानको एक आतंकवाद विरोधी अदालतले प्रतिबन्धित इस्लामवादी राजनीतिक दलका