राप्ती र नारायणी नदीमा तीन सय बाउन्न घडियाल गोही भेटिए « Khabarhub

राप्ती र नारायणी नदीमा तीन सय बाउन्न घडियाल गोही भेटिए


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– राप्ती र नारायणी नदीमा तीन सय ५२ वटा घडियाल गोही भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्जले हालै गरेको गणना तथा अनुगमनका क्रममा राप्ती नदीमा दुई सय छ र नारायणी नदीमा एक सय ४६ वटा गोही भेटिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले पुस १२ गतेदेखि १४ दिन लगाएर गरिएको गणनामा सो सङ्ख्यामा गोही भेटिएका बताए । गणनामा निकुञ्जका नौ कर्मचारी र माझीहरू सहभागी भएका थिए । गत वर्ष गरिएको सर्वेक्षणमा राप्तीमा एक सय ५२ र नारायणीमा एक सय १३ वटा गोही भेटिएका थिए । 

त्यस बेला राप्ती र नारायणीमा तीन-तीनवटा भाले भेटिएकामा यस वर्ष राप्तीमा दुई र नारायणीमा तीन गरी पाँच वटा भाले भेटिएका छन् । 

यस वर्ष एउटा भाले नभेटिए पनि समग्रमा सङ्ख्या भने बढेको छ । गणना हुनुअघि राप्तीमा ४१ वटा गोही छोडिएकाले पनि सङ्ख्या बढेको सूचना अधिकारी थापामगरले बताए। निकुञ्जले गत पुस महिनामा राप्तीमा थप २० वटा गोही छोडेको थियो । 

गत आर्थिक वर्षमा एक सय पाँच वटा गोही प्राकृतिक वासस्थानमा छाडिएकामा चालु आवमा थप ४० वटा गोही छोड्ने योजना रहेको छ । यहाँ नदी किनारबाट गोहीका अण्डा संकलन गरेर प्रजनन केन्द्रमा कोरलेर बच्चा हुर्किएपछि नदीमा छोड्ने गरिन्छ ।

हालसम्म राप्ती, नारायणीसहित देशका विभिन्न नदीमा दुई हजार १८ गोही छाडिसकिएका छन् । हाल प्रजनन केन्द्रमा सात सय ३९ गोही रहेका छन् ।

घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बङ्गलादेश, भूटान, म्यान्मालगायत देशहरूमा समेत पाइने घडियाल हाल नेपाल र भारतमा मात्रै पाइन्छन् ।

सन् १९४० को दशकमा यसको सङ्ख्या विश्वमा १० हजार जति रहेको पाइन्छ । सन् १९७० मा त्यसको दुई प्रतिशत मात्रै सङ्ख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढ्दै गएको संरक्षणकर्मी बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो । त्यस बेला देशभर एक सयभन्दा कम सङ्ख्यामा घडियाल गोही रहेको अनुमान गरिएको थियो । 

नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण, माछा मार्नेलगायत कारणले गोहीका प्राकृतिक वासस्थानमा क्षति भइरहेको सूचना अधिकारी थापामगरले बताए। साथै बाढी आउँदासमेत गोही बगेर जाने गरेका छन् । 

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  १२ : १३ बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा