‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’ « Khabarhub

‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’


२ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, एसिड रिफ्लक्स तथा निल्न असहज हुने समस्या देखिन सक्ने भएकाले खानपानमा सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

बढी चिल्लो र बोसोयुक्त मासु खाँदा केही व्यक्तिमा एसिड रिफ्लक्सको समस्या बढ्न सक्छ । मासु खाँदा हड्डी वा मासुको टुक्रा घाँटीमा अड्किएमा गम्भीर समस्या आउन सक्ने भएकाले सतर्क रहनुपर्ने वीर अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा.विमलेशकुमार गुप्ताले बताए।

दसैँमा खानपान गर्दा अपनाउनुपर्ने सावधानी, चिल्लो तथा बोसोयुक्त मासुले घाँटीको स्वास्थ्यमा पार्ने असर र घाँटीमा मासु वा हड्डी अड्किएमा गर्नुपर्ने उपायबारे समाचारदाता प्रगति ढकालले डा. गुप्तासँग गरेको कुराकानीको सम्पादित अंशः

दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुरा बढी खाने चलन छ । यसले घाँटीको स्वास्थ्यमा कस्तो असर पार्छ ?

यस्ता खानेकुरा बढी खाँदा घाँटीमा जलन र असहजता हुन सक्छ । पेटको अम्ल घाँटीसम्म फर्किने एसिड रिफ्लक्सका कारण घाँटी र छाती पोल्ने तथा घाँटीमा केही अड्किएजस्तो वा खसखस हुने महसुस हुन सक्छ । त्यसैले खानाको मात्रा र प्रकृतिमा ध्यान दिनुपर्छ ।

घाँटीमा एलर्जी हुने वा रुघाखोकी लागेर घाँटी दुख्ने व्यक्तिले दसैँमा चिल्लो र बोसोयुक्त मासु खान मिल्छ कि मिल्दैन ?

घाँटीमा जलन वा एसिड रिफ्लक्सको समस्या भएका व्यक्तिले चिल्लो र बोसोयुक्त मासु कम खानु उपयुक्त हुन्छ । यस्ता खानेकुराले केही व्यक्तिमा रिफ्लक्स बढाउन सक्छन् । यस्तो अवस्थामा आफूलाई सहज हुने, पचाउन सजिलो खानेकुरा खानु र पर्याप्त पानी पिउनु राम्रो हुन्छ ।

दसैँमा मासु खाँदा मासुको टुक्रा वा हड्डी घाँटीमा अड्कियो भने कस्तो समस्या हुन सक्छ ?

मासु वा हड्डी अड्किँदा निल्न गाह्रो हुने, घाँटीमा दुखाइ हुने र थुक निल्नसमेत समस्या हुन सक्छ । अड्किएको वस्तुले श्वासनलीमा अवरोध गरेमा सास फेर्न गाह्रो हुन सक्छ, जुन ज्यानै जोखिममा पार्ने अवस्था हो । हड्डी अड्किएको शङ्का भएमा आफैँ निकाल्ने प्रयास नगरी चिकित्सकको सहायता लिनुपर्छ ।

मासु वा हड्डी घाँटीमा अड्किएमा तत्काल के गर्ने र के गर्नु हुँदैन ?

अड्किएको वस्तु निकाल्न औँला घाँटीभित्र हाल्नु हुँदैन । भात, रोटी वा अन्य खानेकुरा निलेर त्यसलाई तल धकेल्ने प्रयास गर्दा चोट लाग्न सक्छ ।

निल्न नसक्ने वा थुकसमेत निल्न गाह्रो हुने अवस्था भएमा तुरुन्त अस्पताल जानुपर्छ । यदि सास फेर्न नसक्ने, बोल्न नसक्ने वा प्रभावकारी रूपमा खोक्न नसक्ने अवस्था आएमा श्वासनलीमा अवरोध हुन सक्ने भएकाले तत्काल आपतकालीन सहायताका लागि अस्पताल जानुपर्छ ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  १ : ४६ बजे

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको

नवरात्रको नवौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

सुस्त सुरुवात, १० करोडको छलाङ, ‘पेन्सन पट्टा’ बन्यो वर्षकै दोस्रो ठूलो कमाइ गर्ने फिल्म

काठमाडौँ – दयाहाङ राई अभिनीत नेपाली फिल्म ‘पेन्सन पट्टा’ले बक्सअफिसमा १०

‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

काठमाडौँ-  दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा