गृह प्रदेशमा भीम रावल : बालेनसँग सहकार्यको चाहना, रविबारे बोल्न मानेनन् | Khabarhub Khabarhub

गृह प्रदेशमा भीम रावल : बालेनसँग सहकार्यको चाहना, रविबारे बोल्न मानेनन्

कर्ण थापासँग जहाजमा एउटै सिटको संयोग


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेकपा एमालेबाट निष्कासित भएका डा. भीम रावलले सबै देशभक्तलाई समेटेर वैकल्पिक शक्ति बनाउने दाबी गरेका छन् ।

मातृभूमि जागरण अभियान चलाइरहेका रावलले गृह प्रदेश सुदूरपश्चिममा पुगेर सबै देशभक्तहरू मिलेर अघि बढ्नुपर्ने बेला आएको धारणा राखेका छन् ।

रावल शुक्रबार बिहान नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापासँग जहाजको एउटै सिटमा बसेर काठमाडौंबाट धनगढी आइपुगेका छन् ।

गृहजिल्ला अछामको रामारोशन गाउँपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन रावल गृहप्रदेश उत्रिएका हुन् ।

रावल र थापा विमानस्थलमा एकसाथ ओर्लिए पनि रावलको पक्षमा पुरानो माहोल भने देखिएएन । एमालेका सिनियर नेताहरूमध्ये प्रदेश पूर्वमन्त्री कृष्ण सुवेदीमात्रै स्वागतका लागि विमान स्थल पुगे ।

रावलले पत्रकारहरूको भेटमा देशभक्तबीचको एकता र सहकार्य बलियो पार्नुको विकल्प नरहेको बताए । त्यसका लागि मातृभूमि जागरण अभियान सञ्चालन गरिएको बताए ।

पूर्वउपप्रधान तथा रक्षा र गृह मन्त्री रावलले अभियानमा काठमाडौंका मेयर बालेन्द्र साहलाई समेत समेटेर अगाडि बढ्दा राम्रो हुने धारणासमेत सार्वजनिक गरे ।

पत्रकारहरूले बालेनसँग पनि छलफल गरेको चर्चाबारे सोधेका थिए । जिज्ञासामा रावलले भने, ‘बालेनजी हुनुहुन्छ, जोजो हुनुहुन्छ, ती सबलाई एकजुट गरेर राष्ट्रको हितमा अगाडि बढाएदेखि राम्रो हुन्थ्यो भने धारणा छ । म त्यसका लागि प्रयासरत छु ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे सोधिएको प्रश्नमा भने रावलले अदालतमा पुगेको कुरामा टिप्पणी नगर्ने बताए । रावल विमानस्थल ओर्लिँदा उनका समर्थकहरूले एमालेको विरोधमा नारा लगाए ।

तर, माहोल एमाले नेताको भूमिकामा गृह प्रदेश प्रवेशको जस्तै देखिएन । सीमित नेता-कार्यकर्तामात्रै विमानस्थल पुगेका थिए ।

एमाले नेता थापा भने विशिष्ट कक्षबाट सुटुक्क बाहिरिए । रावल पत्रकार भेटघाटपछि गृहजिल्ला अछामको रामारोशनतर्फ प्रस्थान गरे ।

राजावादीहरूसँग भेटघाटबारे गरिएको जिज्ञासामा उनले अहिलेको देशको अवस्था परिवर्तनका लागि धेरैसँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने भएकोले त्यही क्रममा विभिन्न व्यक्तिसँग भेट्नुलाई स्वाभाविक भएको बताए ।

त्यसैको निरन्तरतामा रावलले पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालको चियापानमा पनि सहभागी भएको जानकारी दिए ।

राजावादी निकटहरूले रावललाई विराटनगर गएका बेला स्वागत गरेका थिए । त्यतिबेला इटहरीमा राजावादीहरूसँगको भेटमा उनले दोस्रो जनआन्दोलनको उद्देश्य राजा फालेर गणतन्त्र ल्याउने नभए पनि घुसपैठ भएको जिकिर गरेका थिए । राजावादीलाई भेट्दैमा आफूलाई पनि राजावादी भन्न नमिल्ने रावलले बताए ‘मलाई राजावादी नै भन्न मिल्दैन’, रावलले भने ।

प्रधानमन्त्रीसहित राजनीतिक नियुक्तिमा भागबण्डा गरेर खाने गरेको भन्दै उनले त्यसलाई रोक्नुपर्ने आफूहरूको धारणा रहेको बताए । ‘प्रधानमन्त्री बन्यो भागबण्डा गरेर खाने, विश्वविद्यालयमा भागबण्डा गरेर खाने । भूमिसम्बन्धी आयोग गठन भयो हेर्नुस् त भागबण्डा,’ रावलले भने, ‘भागबण्डाभित्र पनि गुटबन्दी छ फेरि । अनि के यो राज्य भनेको व्यक्तिगत हो कसैको ? त्यसकारण यस्तो कुरालाई रोक्नुपर्छ ।’

पार्टीको संगठनात्मक स्वरुपबारे सोधिएको प्रश्नमा रावलले मुख खोले । ‘देशको अहिलेको अवस्था परिवर्तनका लागि अरु धेरै मानिसहरूले हातेमालो गरेर अगाडि बढ्नुपर्ने हुन्छ । त्यतिबेला त्यसलाई अझ परिमार्जित गरेर जे जस्तो आवश्यक हुन्छ, त्यो रुपमा ल्याउन तयार छौँ’, उनले भने । अहिले नै पार्टी घोषणाको चरणमा नपुगेको पनि रावलले बताए ।

आफूले सुरु गरेको अभियानले कालान्तरमा ठूलो रुप लिने विश्वास उनले व्यक्त गरे । ‘हिमालमा हिउँको डल्लो गुडिरहेको बेला सानो देखिन्छ । पछि त्यसले हिमआँधीको रुप लिन्छ’, उनले भने ‘हामी जसरी पनि सफल पार्छौँ, सफल पार्न देशभक्त सबैको साथ चाहिन्छ ।’

रावलले ठूला राजनीतिक दल गन्तव्यहीन, आदर्शहीन र सिद्धान्तहीन भएको आरोप लगाउँदै राष्ट्र र राष्ट्रियता जोगाउन सबै एक हुनुपर्ने धारणा राखे । ‘देश र जनताका लागि जोजो छन्, इमान्दार देशभक्तहरू हामी एक ठाउँमा आउँछौं भन्नेमा मेरो विश्वास छ,’ उनले भने ।

उनी अहिले ‘मातृभूमि जागरण अभियान नेपाल’को नामबाट देश दौडाहामा छन् । यो अभियानले राष्ट्रिय रुप लिएपछि पार्टीको स्वरुप दिने उनले बताए ।

एमालेबाट निष्कासनमा परेपछि १७ पुसमा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा लाग्ने घोषणा गरेका थिए ।

गृहप्रदेशमै रावलको पक्षमा ठूलो माहोल नदेखिएको चर्चा पनि भइरहेको छ । एमालेबाट निकालिएपछि रावल पहिलो पटक गृह प्रदेश र गृहजिल्ला अछाम जान लागेका हुन् ।

विमानबाट एकसाथ झरेपछि एमाले स्थायी कमिटी सदस्य थापाबारे पनि चासो र छलफल चलेको थियो । तर थापा व्यक्तिगत कामले धनगढी आएका हुन् । संयोगले सिटसमेत एउटै भएपछि चासो राख्नु अन्यथा नमानिने एमाले नेताहरूको दाबी छ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  १ : ४३ बजे

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

 सुनसरी– सुनसरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको

गभर्नर अधिकारीसँग सम्बन्धित मुद्दामा १७ वटा तारेख, आज पनि भएन सुनुवाइ

काठमाडौं नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकार विरुद्ध दायर

क्षेत्रपाटीबाट चोरिएको मोटरसाइकल नयाँ बजारमा भेटियो

काठमाडौं– काठमाडौँको क्षेत्रपाटीबाट चोरी भएको मोटरसाइकल नयाँ बजारमा फेला परेको

तौलिहवामा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने

काठमाडौं– तौलिहवामा फागुन ७ गते ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उद्घाटन खेलमा म्यानमार विजयी

काठमाडौं– अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा म्यानमारले उद्घाटन खेलमा विजयी भएको छ।