ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता « Khabarhub

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता


२ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँ जारेड कुशनरसँग वार्ता गरेका छन्। यसैबीच, ट्रम्पले जेलेन्स्कीमाथि रुससँगको युद्ध अन्त्य गर्न इच्छुक नरहेको आरोप लगाएका छन्।

रुसी आक्रमणका कारण युक्रेनका विभिन्न क्षेत्रमा दशौँ हजार मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन्। आक्रमणमा तीन जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। त्यसको जवाफमा युक्रेनले रुसको सेन्ट पिटर्सबर्गमा युद्ध सुरु भएयताकै ठूलो ड्रोन आक्रमण गरेको जनाएको छ।

युक्रेनी ड्रोन आक्रमणबाट तेल प्रशोधन केन्द्रलगायत संरचनामा आगलागी भएको छ। घटनामा एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको रुसी अधिकारीहरूले बताएका छन्।

ट्रम्पले रुसमाथि थप प्रतिबन्ध लगाउन रोकेको र मस्कोसँग डिजेलसम्बन्धी सम्झौता गरेपछि अमेरिका र युक्रेनबीच मतभेद बढेको छ। ट्रम्पले सामाजिक सञ्जालमार्फत शान्ति वार्तामा ठूलो प्रगति भइरहेको दाबी गर्दै जेलेन्स्की युद्ध अन्त्य गर्न इच्छुक नरहेको आरोप लगाएका थिए। युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण गर्दा विश्व बजारमा डिजेलको आपूर्तिमा असर परेको उनको भनाइ छ।

अमेरिकी दूतहरूसँगको वार्तापछि जेलेन्स्कीले युद्ध अन्त्यका लागि युक्रेन रचनात्मक र इमानदार ढङ्गले अघि बढ्न तयार रहेको बताएका छन्। उनले अमेरिका र युरोपेली साझेदारबाट पनि यस्तै व्यवहारको अपेक्षा गरेको उल्लेख गरेका छन्।

वार्तामा रुसी क्षेप्यास्त्र आक्रमणबाट युक्रेनको रक्षा गर्न आवश्यक अमेरिकी प्याट्रियट वायु रक्षा प्रणालीको आपूर्तिबारे समेत छलफल भएको जेलेन्स्कीले जानकारी दिएका छन्।

अमेरिकाले औपचारिक रूपमा रुसलाई समर्थन गरेमा त्यो ऐतिहासिक गल्ती हुने चेतावनी दिँदै जेलेन्स्कीले ट्रम्पले आफ्नो निर्णय परिवर्तन गर्ने आशा व्यक्त गरेका छन्। यसअघि रोकिएको गुप्तचर सूचना आदानप्रदान अमेरिकाले पुनः सुरु गरेकामा भने उनले धन्यवाद दिएका छन्।

जेलेन्स्कीका अनुसार रुसले ट्रम्पले प्रस्ताव गरेको ‘ऊर्जा युद्धविराम’ ७६ पटक उल्लङ्घन गरेको छ। जाडो सुरु हुनुअघि युक्रेनी नागरिकलाई ताप र विद्युत् सेवाबाट वञ्चित गराउने उद्देश्यले रुसले आक्रमण गरिरहेको उनको आरोप छ।

यसैबीच, रुसको लेनिनग्राद क्षेत्रका प्रमुख अलेक्जान्डर ड्रोज्डेन्कोले हवाई प्रतिरक्षा प्रणालीले १४४ वटा युक्रेनी ड्रोन खसालेको बताएका छन्। रुसी सरकारी सञ्चारमाध्यमले उक्त घटनालाई युद्ध सुरु भएयताकै ठूलो ड्रोन आक्रमणका रूपमा वर्णन गरेका छन्।

सेन्ट पिटर्सबर्गमा तेल टर्मिनल, तेल भण्डारण केन्द्र र औद्योगिक गोदाममा लागेको आगो नियन्त्रणमा लिन प्रयास गरिएको थियो। सामाजिक सञ्जाल भिकोन्टाक्टे र खुद्रा व्यापार कम्पनी ओजनले पनि आफ्ना संरचनामा आक्रमणको असर परेको जनाएका छन्।

क्रेमलिनले युक्रेनी आक्रमणबाट रुसको युद्ध लक्ष्यमा कुनै परिवर्तन नआउने जनाएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको बाँकी भूभाग कब्जा गर्ने लक्ष्य दोहोर्‍याउँदै आएका छन्।

रुसले युक्रेनी सहरहरूमा दैनिक ड्रोन र क्षेप्यास्त्र आक्रमण गर्दै आएको छ। युक्रेनले भने आफ्ना आक्रमणलाई रुसी हमलाको जवाफका रूपमा व्याख्या गर्दै आएको छ। यस वर्षको सुरुतिर युक्रेनी आक्रमणका कारण रुसमा देशव्यापी इन्धन अभावसमेत भएको थियो।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  ३ : ०५ बजे

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान