बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र गाउँबस्तीमा दसैँको रौनक छ । तर राजापुर नगरपालिका–९ तिनघरवाका पाँच परिवारका लागि यस वर्ष दसैँ खुसीको पर्व बन्न सकेको छैन ।
परिवारको भविष्य बनाउने सपना बोकेर रोजगारीका लागि रसुवा पुगेका आफन्त भोटेकोशी बाढीमा बेपत्ता भएपछि उनीहरूका परिवारमा खुसीभन्दा बढी पीडा छ ।
बाढीमा बेपत्ता प्रदीप थारूकी श्रीमती सिर्जना थारूलाई यस वर्षको दसैँले झन् पीडा थपेको छ । घरमा जमरा राखिए पनि श्रीमान् बेपत्ता भएको पीडाले उनलाई पर्व मनाउने जाँगर छैन । आँखाभरि आँसु पार्दै उनले भनिन्, ‘दसैँ आएको छ, तर परिवारमा कुनै खुसी छैन ।’
परम्पराअनुसार कुलदेवताको पूजा गरे पनि श्रीमान् बेपत्ता हुँदाको पीडाले दसैँ मनाउन नसकेको उनले बताइन्। विगतमा परिवारसँगै बसेर खुसी साटासाट गरेको दसैँ सम्झँदा अहिले मन झन् भारी हुने उनको भनाइ छ ।
सोही गाउँका सुरेश थारू पनि भोटेकोशी बाढीमा बेपत्ता भएका छन् । उनकी श्रीमती रमिता थार श्रीमान् फर्किने आशामा दिनरात बिताइरहेकी छन् ।
‘रातदिन श्रीमानको प्रतीक्षामा छु । उनलाई सम्झेर दसैँ कसरी मनाउने ?’ उनले भनिन्। घरमा जमरा राखेर कुलदेवताको पूजा गरे पनि दुःखका कारण टीका नलगाई दसैँ बिताउने उनले बताइन्।
सिर्जना र रमिताजस्तै तिनघरवाका पाँच परिवार अहिले शोक र प्रतीक्षामा छन् । एउटै टोलका सुरेश थारु, अमिस थारु, सिसन थारु, प्रदीप थारु र राजु थारु गत भदौ १० गते भोटेकोशी बाढीमा परेर बेपत्ता भएका थिए ।
पाँच जना बेपत्ता भएपछि पीडा परिवारमा मात्र सीमित छैन, सिङ्गो गाउँ नै शोकमा डुबेको छ । बेपत्ता राजु थारुका दाइ तुलाराम थारुले पाँच परिवारमा परेको विपत्तिले गाउँका सबैलाई दुःखी बनाएको बताए। आफन्त, गरगोतियार र छरछिमेकमा पनि यस वर्ष दसैँको रौनक नरहेको उनले बताए।
राजापुर नगरपालिका–९ तिनघरवा गाउँमा ७५ परिवार बसोबास गर्छन् । विगतमा रोजगारी, व्यवसाय र अध्ययनका लागि सहरबजार तथा जिल्लाबाहिर गएकाहरू दसैँ मनाउन गाउँ फर्किन्थे ।
गाउँमा चहलपहल हुन्थ्यो र सबैले मिलेर पर्व मनाउँथे । तर यस वर्ष बाढीको पीडाले गाउँको माहोल बदलिएको छ । गाउँका बरघर बरुण थारुले यस वर्ष गाउँमा दसैँको रौनक नरहेको बताए।
‘दसैँ आएको छ, तर गाउँमा मादल बज्दैन । कसैको मनमा पनि खुसी छैन,’ उनले भने । बाढीको पीडाका कारण तिनघरवासीले यसअघि अटवारी र तीज पनि उल्लासपूर्वक मनाउन नसकेको स्थानीयले बताएका छन् ।
भोटेकोशी बाढीमा बेपत्ता भएका मजदुरका परिवारले अहिलेसम्म सरकारी राहत नपाएको गुनासो गरेका छन् । आफन्तको काजकिरिया गर्न खर्च अभाव भएको उनीहरूको भनाइ छ ।
बेपत्ता सुरेश थारुकी श्रीमती रमिताले काजकिरियाका लागि आर्थिक समस्या भएको बताए। स्थानीय सरकारले किरियाखर्च उपलब्ध गराउने आश्वासन दिए पनि अहिलेसम्म नपाएको उनको गुनासो छ ।
राजापुर नगरपालिकाका विपद् सम्पर्क व्यक्ति खुसीराम थारुका अनुसार सरकारले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूलाई मृत घोषणा नगरेकाले काजकिरियाका लागि राहत उपलब्ध गराउन समस्या भएको हो । बेपत्ता व्यक्तिलाई मृत घोषणा गरिएमा स्थानीय सरकारले काजकिरियाका लागि रु ५० हजारसम्म सहयोग गर्न सक्ने उनले बताए।
बेपत्ता राजु थारुका दाइ तुलाराम थारुले पनि सरकारले कुनै किसिमको राहत वा सहयोग उपलब्ध नगराएको गुनासो गर्नुभयो । उनका अनुसार राजु काममा गएको ज्यालासमेत पाएका छैनन् ।
‘यहाँबाट कामदार लगेको ठेकेदारसँग फोनमा सम्पर्क भए पनि प्रत्यक्ष भेटघाट भएको छैन,’ उनले भने। बेपत्ता परिवारलाई राहत उपलब्ध गराउन र बाँकी ज्याला दिलाउन सरकारले प्रभावकारी पहल नगरेको उनको गुनासो छ ।
भोटेकोशी बाढीमा राजापुर नगरपालिका–९ तिनघरवाका पाँच जनासहित राजापुर नगरपालिकाका ११ जना बेपत्ता छन्। बर्दियाबाट ७६ जना बेपत्ता छन् ।














प्रतिक्रिया