प्रतिपक्षी कमजोर भएका कि मतो नमिलेको ? | Khabarhub Khabarhub

प्रतिपक्षी कमजोर भएका कि मतो नमिलेको ?

प्रधानमन्त्री भन्छन् : १०/१५ दिनभित्र संसद् सुरु हुन्छ



काठमाडौं– नेपाली कांग्रेसको समर्थनसहित गत असार ३० गते गठित केपी शर्मा ओली नेतृत्वको सरकारले ६ महिना पूरा गरेको छ । कांग्रेसका ८९ र एमालेका ७८ सिट तथा साना दलसमेत जुट्दा यो सरकार दुईतिहाइ नजिकको छ । दुई ठूला पार्टी मिल्दा विपक्षीलाई भने समस्या भएको छ । सात दल जुट्दा पनि दुई ठूला दललाई चुनौती दिन सक्ने क्षमता देखिएको छैन ।

प्रमुख प्रतिपक्षी दलका रूपमा ३२ सिटसहित नेकपा माओवादी केन्द्र छ । तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगातार खेलेको भन्दै दुई दल मिलेर सरकार बनाएका थिए । त्यसपछि विपक्षीहरूको स्वर सानो भएको छ ।

२१ सिटको राष्ट्रिय स्वतन्त्र पार्टी पनि अहिले प्रतिपक्षमा छ । यस्तै १४ सिटे राष्ट्रिय प्रजातन्त्र पार्टी, १० सिटे नेकपा एकीकृत समाजवादी पार्टी लगायत साना दल पनि प्रतिपक्षमा छन् । तर तिनै प्रतिपक्षीहरू एकजुट हुन नसक्दा सरकारविरुद्ध सशक्त खबरदारी गर्न सकेका छैनन् । सरकारले संसद् नबोलाई धमाधम अध्यादेश जारी गर्दा पनि विपक्षीको एकमुष्ट आवाज सुनिएको छैन । शुक्रबार बल्ल ७ दल जुटेर सरकारविरुद्ध पाँच बुँदे वक्तव्य निकाल्न भ्याएका छन् ।

संसद् खुलाउनुपर्नेमा अध्यादेश ल्याउन थालेपछि संविधानका जानकार र विश्लेषकले सरकारको आलोचना गरिरहेका छन् । बलिया विपक्षी नहुँदा ओलीले ल्याएका अध्यादेशको सुनिने गरी विरोध हुन सकेको छैन । ओलीले मंगलबार गरेको पत्रकार सम्मेलनमा भनेका थिए, ‘सरकारको विरोध गरे हुन्छ । तर, सरकारले जनताका लागि अध्यादेश ल्याएको हो । सदन बिस्तारै खुल्छ । सरकारको कामको खण्डन नगरे पनि हुन्छ ।’

दुईतिहाइ नजिकको सरकारले धमाधम अध्यादेश ल्याउन थालेपछि विधिको शासनको प्रावधान मिचेको टिप्पणी भइरहेको छ । पुस नलाग्दै बोलाउनुपर्ने विधेयक अधिवेशन अर्थात् हिउँदे अधिवेशन अझै पनि बोलाइएको छैन । प्रधानमन्त्री ओलीले अबको १५ दिनमा मात्रै संसद् बोलाउने शुक्रबार मात्रै बताएका छन् । अहिले संसदीय समितिमा १९ विधेयक छन् । केही विधेयक सदनमा आउने तयारीमा छन् । तर, सदन नखुलेपछि समस्या भएको संसद् सचिवालयका अधिकारी बताउँछन् ।


किन ढिलोगरी एक ठाउँमा प्रतिपक्षी

पूर्वसभामुख दमन ढुगानाले संसदीय अभ्यासको एक किताबमा लेखेका थिए । जसमा ‘सदन प्रतिपक्षीको, सरकार सत्तापक्षको’, भनिएको थियो । तर सरकारले प्रतिपक्षी हाबी हुने सदन चलाउन अझैसम्म चाहेको छैन । सदन खुलाउने कुरामा प्रतिपक्षीहरू एकमत हुन नसक्दा पनि ढिलाइ भएको हो । प्रतिपक्षी दलहरू आन्तरिक किचलोमा फस्दा सदन खलाउने बलियो ताकेता गर्न सकेका छैनन् ।

हालै जारी पाँच वटा अध्यादेशबाट २८ वटा कानुन संशोधन गर्न लागिएको छ । तर यसमा प्रतिपक्षी दल खुसी देखिँदैनन् । यसको संयुक्त रूपमा विज्ञप्ति निकालेर बल्ल शुक्रबार विरोध गरेका छन् । तर अहिलेसम्म प्रतिपक्षीले हस्ताक्षर बुझाएर सरकारमाथि संसद् खुलाउने दबाब दिन सकेका छैनन् । यदि सरकारले सदन नखुलाए मात्रै विशेष अधिवेशन माग गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार वक्तव्यमार्फत् बताएका छन् ।

शुक्रबार प्रचण्ड, रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्याल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेसपा अध्यक्ष महेन्द्रराय यादव, आजपा सह अध्यक्ष तिलक थापामगर र राजमो उपाध्यक्ष दुर्गा पौडेललेले जारी गरेको वतव्यमा थ्रेसहोल्ड र दल फुटाउन अध्यादेशको डर देखिएको छ । उनीहरुले ३ नम्बर बुँदामा थ्रेसहोल्ड र दल फुटाउन अध्यादेशको सामूहिक प्रतिवाद गरेका छन् ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे विपक्षीहरू कमजोर नभएको बताउँछन् । तर सामूहिक रूपमा प्रतिवाद गर्नग उद्देश्य नीति र कार्यदिशा निर्धारण गर्नुपरेकाले केही समय लागेको उनी दाबी गर्छन्। प्रतिपक्षी दल सामूहिक प्रतिवाद गर्ने सडकसम्म पुग्ने तयारीमा रहेको उनी दाबी गर्छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि प्रतिपक्षीहरू एक ठाउँमा आउन समय लागेको स्वीकार्छन् । उनी राष्ट्रिय मुद्दा र सरकारको गलत कामविरुद्ध प्रतिपक्षीहरू सडक र सदनमा पनि मिल्न तयार भएको दाबी गर्छन् ।

‘अध्यादेशको सन्दर्भमा त हामी सबै प्रतिपक्षीको सामूहिक प्रतिवाद रहन्छ । यो विषयमा सत्तापक्षका नेताहरू पनि खुसी हुनुहुन्न,’ लिङ्देनले खबरहबलाई भने, ‘संसद् चल्न एक महिना ढिलो भइसकेको छ सदन नै नचलाई ल्याएका अध्यादेशको हामी सदनमा पनि विरोध गर्नेछौँ ।’

उनले प्रतिपक्षीहरूको धारणालाई सरकारले बेवास्ता गरे सडक र कानुनी बाटोबाट पनि उपचार खोजिने बताएका छन् ।
रास्वपा सभापति अर्यालले पनि प्रतिपक्षीहरू एक ठाउँमा आउन समय लागेको बताए । ढिलै भए पनि प्रतिपक्षीले सदन प्रभावकारी बनाउन र जनजीविकाका सवालमा मिल्न राम्रो तयारी गरेको दाबी गर्छन्।

‘केही ढिलो भयो होला तर हामी चुप बसेका छैनौँ’, अर्यालले खबरहबसँग भने, ‘बिहीबार पत्रकार सम्मेलन गर्न सकिएन । तयारी गर्नुपर्ने कारण केही ढिला भएको हो। अध्ययन नगरी गर्न भएन । अध्ययनमा समय लाग्यो, अब यो गति निरन्तर रहन्छ ।’


प्रचण्डको ताकेता

सरकारबाट बिदा भएपछि गत असार ३० गते नै पूर्वप्रधानमन्त्री प्रचण्डले विपक्षीहरूको मोर्चा बनाउने कोसिस गरेका थिए । यसका लागि विपक्षी दलसँग छलफलसमेत गरे तर राप्रपा र रास्वपा, नेकपा एसले उक्त कुराको वास्ता गरेनन् । प्रचण्ड सत्तामुखी भएकाले जुनसुकैबेला धोका दिने भन्दै उनीहरूले विपक्षीको मोर्चा बनाउन मतलब गरेनन् ।

रवि लामिछाने पक्राउ परेपछि रास्वपाले यबारे छलफल अगाडि बढाउन पाएन । तर रास्वपा र माओवादी नेताहरूबीच पटक–पटक छलफल भएको थियो । ‘हामीले पटक पटक छलफल गरेकै हौँ । तर अन्य साथीहरूले मोर्चाबारे चासो नगरेका कारण पार्टीको काममा व्यस्त भइयो,’ माओवादी सांसद माधव सापकोटाले खबरहबसँग भने, ‘व्यस्त हुनु भनेको विपक्षी कमजोर हुनु होइन । मोर्चा नबने पनि हामी राष्ट्रिय मुद्दामा एक भएर जान्छौँ । अध्यादेश र संसद् नचलेको विषयमा पनि हाम्रो सामूहिक आवाज हुने छ ।’

रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले पनि विपक्षीहरू संसद् नचलेका बेला पार्टीका कामले विभिन्न जिल्लामा खटिनुपर्दा समस्या आएको बताउँछन् ।

सदन कहिलेबाट खुल्छ ?

सरकारले आइतबार मन्त्रिपरिषद् बैठक बोलाउने तयारी गरेको छ । सम्भवतः उक्त बैठकबाट सदन खुलाउने मिति सरकारले सार्वजनिक गर्ने छ ।

तर यसबारे प्रधानमन्त्रीको सचिवालयले ठोस धारणा दिएको छैन । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘अबको मन्त्रिपरिषद्ले सदन खुलाउने मिति तय गर्छ । सायद पुस १४ या १५ गतेतिर नै हुन्छ होला । आगामी मन्त्रिपरिषद् बैठकबाट यसबारे छलफलपछि निर्णय हुन सक्छ ।’

यता सभामुख देवराज घिमिरे पनि पनि संसद् खुलाउने विषयमा अलमलमा छन् । सभामुखसँग यसबारे परामर्शमा रहेको उनको सचिवालयले जनाएको छ । ‘सभामुखले त पटक पटक सदन सञ्चालन गर्न सरकारलाई भनिरहनु भएको छ । सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूले पनि यस विषयमा छलफल गरिरहनु भएको छ । सरकारले माघ १५ गतेसम्म सदन चलाउने भनेको छ ।’

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पुस तेस्रो साता संसद् खुल्ने बताएका थिए । तर अहिले बर्तौला भन्छन्, ‘विधेयकहरूमा छलफल गर्नुपर्ने थियो । थुप्रै काम बाँकी रहेकाले सरकारले सदन नबोलाएको बुझेको छु। अब छिट्टै सञ्चालन हुन्छ ।’ उनले गत र अन्य वर्षको तुलनामा यो पटक विधेयक अधिवेशन ढिलो सुरु बताएका छन् ।

‘ढिलो हुनु गलत हुनु पनि होइन । ढिलो आए पनि सरकारले पूरा तयारीसाथ सदन सञ्चालन गर्ने छ । अहिले भर्खरै जारी भएको अध्यादेश र समितिहरूमा अड्किएका विधेयकबारे छलफल गर्नुपर्नेछ’, बर्तौलाले अगाडि भने, ‘अरुबेला एक दिन चलेर एक हप्ता नचल्ने परिपाटी हुन्थ्यो । तर यो पटकबाट यस्तो हुँदैन, नियमित सदन चलाएर छिट्टै नयाँ बजेट र विधेयकमा छलफल गर्नेछौँ।’

यता कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे पनि माघ दोस्रो सातासम्म सदन चलाउने तयारी भइरहेको दाबी गर्छन् ।
‘माघ १५ सम्म सदन खुल्छ । ढिलो भयो तर हामीले पूरा तयारी गरेका छौँ,’ घिमिरेले भने, ‘सदन खुलेपछि नियमित चलाएर विधेयकहरू पास गर्नुपर्ने छ । विधेयकमा छलफल गर्नक पनि समय लाग्यो ।’

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ७ : ५७ बजे

कांग्रेसलाई रास्वपाको प्रश्न : नीलो मफलर नलगाऊ कुन नियमावलीले भन्छ ?

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तारूढ नेपाली कांग्रेसलाई

रास्वपाले गृहमन्त्रीलाई भन्यो– रोष्ट्रमबाट धम्क्याउनुको अर्थ के हो ?

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद चन्दा भण्डारी

नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड

गलकोट–  निर्माण व्यवसायीको चरम लापरबाहीका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत

उत्तर कोरिया पुगेका रुसी सुरक्षा परिषदका सचिव शोइगु र सर्वोच्च नेता किमबीच भेटवार्ता

काठमाडौं– रुसी सुरक्षा परिषदका सचिव सर्गेइ शोइगु उत्तर कोरिया भ्रमणमा

सुदूरपश्चिममा संगठन सुदृढ-सक्रिय बनाउन जुट्यो एमाले, खटाइयो लीला र लालबहादुर 

धनगढी– नेकपा एमालेले सुदूरपश्चिमको सिंगो पार्टी संगठनलाई थप सुदृढ र