जिल्लामा दोषी ठहर रामबहादुर बमजनलाई उच्चबाट सफाइ, जेलबाट छुटेर कता गए ? « Khabarhub

जिल्लामा दोषी ठहर रामबहादुर बमजनलाई उच्चबाट सफाइ, जेलबाट छुटेर कता गए ?


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बमजनलाई उच्च अदालतले सफाइ दिएको छ । उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बमजन जेलमुक्त भएका छन् ।

सर्लाहीकी नाबालिका अनुयायी ‘आनी’माथि यौन दुराचार गरेको आरोप लागेका बमजनलाई उच्च अदालत जनकपुरले सफाइ दिएको हो ।

उच्च अदालत जनकपुरले सर्लाही जिल्ला अदालतको फैसला उल्ट्याउँदै बमजनलाई २०८१ चैत ६ गते सफाइ दिएको हो ।

न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले बमजनलाई बलात्कार मुद्दामा सफाइ दिएको अदालतका उप-रजिष्ट्रार सुशील यादवले बताए ।

बमजनलाई जिल्ला अदालत सर्लाहीले २०८१ असारमा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो । त्यसविरूद्ध उनले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।

‘जिल्ला अदालत सर्लाहीले गरेको १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय उच्च अदालतबाट उल्टी भएको छ, अदालतले दाबी नपुग्ने देखिएपछि उक्त मुद्दा नै खारेज भएको छ,’ यादवले भने ।

उच्च अदालतले फैसला गरेको बखत बमजन जिल्ला कारागार कार्यालय सिन्धुपाल्चोक थिए । उनलाई अर्की आनी फूलमाया रुम्बा बेपत्ता पारेको मुद्दाको सुनुवाइको लागि सिन्धुपाल्चोक कारागार स्थानान्तरण गरिएको थियो ।

‘फैसला भएको राति चैत ६ गते हामीलाई पत्र आएको थियो,’ सिन्धुपाल्चोक कारागारका एक कर्मचारीले भने, ‘७ गते यहाँ कारागारबाट जानु भएको हो ।’

कारागारबाट मुक्त हुँदा बमजनलाई उनकी श्रीमती दीपशिखाले बुझेकी थिइन् । ती कर्मचारीका अनुसार रुम्बा बेपत्ता प्रकरणमा सिन्धुपाल्चोक अदालतले कात्तिक २५ गते धरौटीमा रिहा गरेको थियो ।

बमजनलाई तीन लाख धरौटीमा सिन्धुपाल्चोक अदालतले रिहा गर्ने आदेश दिएको थियो । सिन्धुपाल्चोकको मुद्दाको प्रारम्भिक सुनुवाइ सकिए पनि उनी त्यहीँ कारागारमा थिए ।

सिन्धुपाल्चोकको बाडेगाउँबाटै बेपत्ता पारिएका अर्का अनुयायी सञ्चलाल वाइबाको मुद्दा सरकारी वकिल कार्यालयले अघि बढाएको थिएन ।

यसअघि २०८१ साउन ८ गते बमजनको आश्रमबाट बेपत्ता भएकी अर्की आनी चिनिमाया तामाङ बेपत्ता पारिएको कसुरमा नुवाकोट जिल्ला अदालतले बमजनलाई साधारण तारिखमा रिहा गरिसकेको थियो ।

बमजनविरूद्ध एउटा निवेदन बारामा छ । जितपुर सिमरा उपमहानगरपालिका-१८ (हालको ठेगाना) बडहर्वाका सुरेशकुमार आले बेपत्ता प्रकरणमा बारा प्रहरीमा आफन्तले २०८० मंसिरमा निवेदन दिएका थिए । त्यो निवेदन अझैसम्म दर्ता भएको छैन ।

सर्लाहीको बागमती नगरपालिका-१२ की रिता बोट बेपत्ता प्रकरणको उजुरी परेको थियो । त्यो उजुरी के भयो भन्ने सर्लाही प्रहरीले बताउन सकेको छैन ।
बमजनविरूद्ध २०८१ फागुनमा जिल्ला अदालत सर्लाहीमा ८ करोड २७ लाख रुपैयाँ गैरकानुनी तरिकाले आर्जन गरेको सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको थियो । बमजनविरूद्धको सम्पत्ति शुद्धीकरण मुद्दा किनारा लागिसकेको छैन ।

कारागारबाट छुटेपछि बमजन कहाँ गए प्रहरीले खोजी गरेको छैन । बमजनको घर काठमाडौंस्थित बूढानीलकण्ठ नगरपालिका-६ हात्तीगौंडा हो ।

बमजनको स्थायी ठेगाना बाराको निजगढ नगरपालिका-१२ हो । ३० वर्षीय उनको वास्तविक नाम रामलाल बमजन हो । २०८० पुस २५ गते केन्द्रीय अनुसन्धान ब्युरोले बमजनलाई हात्तीगौंडास्थित घरैबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ३ : ०६ बजे

सामाजिक सञ्जाल सम्पर्क केन्द्र दर्ता नहुँदा साइबर अपराध नियन्त्रणमा चुनौती

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटफर्महरूको सम्पर्क केन्द्र

विपद्का घटनामा प्रभावकारी रुपमा काम गर्नेलाई पुरस्कृत गरिने

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् जोखिम

कांग्रेसले संसदीय दलको नेता शुक्रबार चयन गर्ने

काठमाडौं- नेपाली कांग्रेसले संसदीय दलको नेता शुक्रबार चयन गर्ने भएको

एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता

एजेन्सी– लगभग एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश

डा.दिपक मल्लले औँल्याएका सुगर बढ्नुका ७ कारण 

काठमाडौं– सुगर रोग विशेषज्ञ डा. दिपक मल्लले मधुमेह नियन्त्रणमा समस्या