मानव समाजको सुरुवाती चरणमा विवाहको औपचारिकता थिएन, तर जोडी बन्ने प्रवृत्ति (Pair Bonding) प्राकृतिक रूपमा अस्तित्वमा थियो । विवाह मानव समाजको आधारभूत संस्था हो, जसले दुई व्यक्ति र दुई परिवारलाई जोड्छ। यो केवल यौन प्यास मेटाउने वैधानिक र औपचारिक बाटो मात्रै नभएर वंश धान्ने र आफ्नो अस्तित्वको निरन्तरता दिने माध्यम पनि हो।
कौटिल्यको अर्थशास्त्रले विवाहलाई सामाजिक अनुशासन, धर्म, र राज्यको नियन्त्रणसँग जोडेको छ भने मनुस्मृतिले धार्मिक संस्कार र सामाजिक कर्तव्यका रुपमा। त्यसैगरी प्राचीन दार्शनिक प्लेटोले रिपब्लिकमा विवाहलाई सामाजिक दायित्व मान्दै राज्यको हितका लागि नियन्त्रित हुनुपर्ने कुरा लेखेका छन्। उनको विचारमा, उत्कृष्ट नागरिक उत्पन्न गर्नका लागि शारीरिक र बौद्विक रुपमा योग्य पुरुष र महिलाहरु बीचमा मात्र सम्बन्ध हुनुपर्छ। शारीरिक रुपमा कमजोरहरुका लागि विवाह वर्जित हुनुपर्छ।
कौटिल्यको मत भने अलि फरक देखिन्छ । वंश धान्नका लागि पुत्रको रहर गर्ने स्त्रीले कुष्ठरोगी वा पागल पुरुषसँग पनि संसर्ग गर्न पाउँछन्। यसको अर्थ, जसरी पनि वंश धान्नै पर्छ।
हाम्रा पिता पुर्खाहरु प्लेटोको विवाह बारेमा नपढे पनि उनको विचारसँग सहमत रहेको देखिन्छ। त्यसैले हाम्रो समाजमा कसरी असल वंश निर्माण गर्न सकिन्छ भनेर रोजी-रोजी र खोजी-खोजी विवाह गर्ने/गराउने चलन थियो र छ । प्राचीन कालमा विवाह परिवार र राज्यको नियन्त्रणमा थियो भने आज यो व्यक्तिको पनि व्यक्तिगत स्वतन्त्रताको विषय बनेको छ।
विवाह केवल प्रेम वा सामाजिक सम्झौतामात्र होइन, एउटा सांस्कृतिक, धार्मिक, र कानूनी प्रक्रिया पनि हो। विवाह सम्बन्धी पहिलो लिखित कानूनका रुपमा बेबिलोनियन कोड अफ हम्मुराबो (१७५० ई .पू .) लाई लिइन्छ। विवाहको स्वरूप जात, धर्म, र क्षेत्रअनुसार फरक हुन्छ। २१औं शताब्दीमा विवाहलाई अध्ययनको विषय बनाइनु कति सान्दर्भिक हुन्छ, थाहा छैन । किनकि यो व्यक्तिको निजत्वको मामला हो। निजत्वमाथि राज्यले त हस्तक्षेप गर्न सक्दैन भने आम सर्वसाधारणको त के कुरा भयो र।

कुरै कुरामा एक दिन एउटा साथीले भन्यो – हेर न सगोत्रीमा समेत विवाह नगर्ने हाम्रो समाजमा मेरो परिवारको एउटा विवाहको कुराले तनाव दिइरहेको छ।
उसले थप्यो- केटा र केटी नाताले दाजुबहिनी पर्दछन् तर दुबैजना विदेशमा साझेदारी बसाइमा रहेका छन्। दुबैको कमाइ राम्रै छ । दुबैले एक अर्कालाई छोड्न नसक्ने कुरा गर्छन्। यही आएर विवाह गर्छौं मात्रै होइन, विवाह पारिवारिक हुनैपर्छ भन्दै नाइनास्ती गर्छन्। उनीहरुलाई यस्तो विवाह गर्न हुँदैन तर तिमीहरु नगरी नछोड्ने हो भने उतै गर न भनेर धेरैजनाले धेरै पटक सम्झाउँदा पनि मान्दैनन्। अब गर्ने के ?
साथीको भनाइमा म नाजवाफ भएँ। मसँग यसको कुनै उत्तर नै थिएन र छैन पनि। तर, यस घटनाले मलाई झक्झकायो। के नेपालमा मात्रै वा हिन्दु धर्ममा मात्रै रगतको नाता सम्बन्धमा विवाह गर्न रोकेको हो त भनेर घोत्लिएँ। अनि यसो केही अध्ययन गर्दै गर्दा यस्ता केही रोचक कुराहरु फेला परे, जसलाई यहाँ पस्किने प्रयास गरेको छु।
के हो रगतको नाताको विवाह ?
रगतको नाताको विवाह भनेको आफ्नै रक्त सम्बन्धी अर्थात जैविक रूपमा नजिकको भाइबहिनी, कजिन, फुपू/मामाका सन्तान, आदिसँग गरिने विवाह हो। यसलाई अंग्रेजीमा Consanguineous Marriage भनिन्छ। रगतको नाताको विवाहलाई प्रत्यक्ष रक्त सम्बन्धी विवाह अन्तर्गत भाइ-बहिनी विवाह र मामा-भान्जा/फुपू-भतिजा विवाह भनिन्छ।
प्राचीन मिस्रमा फेरो राजाहरूले आफ्नै बहिनीसँग विवाह गर्ने चलन थियो भनिन्छ। प्राचीन कालमा भाइ-बहिनी विवाह भए पनि अहिले भने सबै देशमा कानूनी रुपमा प्रतिबन्धित छ। धेरै देशहरुले कानूनी रुपमा बन्देज लगाए पनि मामा-भान्जा/ फुपू-भतिजा विवाह भारतका तमिलनाडु र आन्ध्र प्रदेशमा अहिले पनि छ।
कुरा रह्यो अर्को ‘कजिन विवाह’ को। यो कजिन विवाह पनि फर्स्ट कजिन विवाह र सेकेन्ड कजिन विवाह गरेर दुई समूहमा बाँडेको पाइन्छ। पहिलो विवाहमा मामाचेली र फुपूचेलीबीच बिहेबारी हुन्छ भने देस्रोमा दाजुभाइका नाति-नातिनी बीचमा विवाह हुन्छ। यी दुई विवाह धेरै देशहरुमा कानूनी रुपमा वैध नै मानिन्छन्।
एउटै वंश, परिवार, वा साझा पूर्वज भएका, रगतको नातामा पर्ने दुई व्यक्तिहरूबीचको विवाह consanguineous marriage हो। यसलाई हाडनाता वा रगतको नातामा विवाह पनि भनिन्छ। वैज्ञानिक दृष्टिले यस प्रकारको विवाहले स्वास्थ्य तथा सामाजिक समस्याहरू ल्याउन सक्छ भन्ने गरिन्छ।
नेपालमा, हिन्दू धर्म र कानुन अनुसार, सात पुस्ताभित्रका रगतको नाताबीच विवाह गर्न प्रतिबन्ध छ। तर, त्यही धर्म अन्तर्गतका हिन्दु पुराण र कथाहरुमा रगतको नाताभित्र विवाह गरेका प्रसंगहरु पनि भेटिन्छन्। महाभारतका चर्चित पात्र अर्जुनले आफ्ना मामा बासुदेवकी छोरी तथा कृष्णकी बहिनी शुभद्रासँग विवाह गरेका थिए भने सिद्धार्थ गौतमले कोलीय वंशका राजा सुप्वबुद्ध/शुप शुद्ध अर्थात आफ्नै मामाकी छोरी तथा देवदत्तकी बहिनी यशोधरासँग गरेका थिए।
हुन त पुराण र वास्तविक जीवनबीच त्यतिधेरै तालमेल नहुन पनि सक्छ र खोज्नु सान्दर्भिक पनि हुँदैन। नेपालमा क–कसले यस्तो विवाह गर्छन् त ?

आधुनिक कालमा ठूला घरनाका वा दरवारिया भनेर मानिने र चिनिने शाह र राणा परिवारमा मामाचेली र फुपूचेलीबीचको विवाह भएको देखिन्छ। यसको शुरुवात श्री ३ महाराज जङ्गबहादुर र श्री ५ महाराज सुरेन्द्रका पालादेखि भएको देखिन्छ।
नेपालको राजनीतिक इतिहासमा यसलाई राजनीतिक विवाह पनि भन्ने गरिन्छ। यसप्रकारको विवाहले दुई परिवारबीच राजनीतिक सम्बन्धको गाँठो बलियो गरी कसेकैले होला, १०४ वर्षसम्म राणाजीहरुले श्री ३ को पगरी र पदवीसहित गजधम्म परेर बस्न पाए। २०५८ साल जेठ १९ को कहालीलाग्दो घटना पनि यही प्रकारको विवाह काण्डले भएको पनि भन्ने गरिन्छ।
यो परम्परा विशेषगरी राणाकाल (१८४६-१९५१ ) व्यवस्थितरुपमा भएको देखिन्छ। तर यही कुरा अन्य हिन्दु धर्म मान्नेहरुका लागि भने वर्जित थियो। उनीहरुको भातभान्सा रोकिन्थ्यो भने जात पनि तहगत शासकहरुबाट च्यूत गरिन्थ्यो । त्यसैले भनिएको त होला नि, सानालाई ऐन अनि ठूलालाई चैन ।
यसप्रकारको विवाह क्षेत्री, नेवार, मधेशी, र केही जनजातीय समुदायमा अहिले पनि पाइन्छ। यसप्रकारको विवाहको पक्षमा वकालत गर्नेहरु भन्दछन् कि यसले पैतृक सम्पत्तिको सुरक्षा हुन्छ, सामाजिक-आर्थिक स्थिरता कायम हुन्छ, र सास्कृतिक मूल्य र मान्यताको जगेर्ना हुन्छ।
पछिल्लो समयमा यसखाले विवाह क्रमशः घटदो क्रममा रहेको देखिन्छ। तथापि विश्व बजारमा यसका अवशेषहरु अझै पनि पाइन्छन्। गुरुङ, मगर, थारु, राई, लिम्बु, र नेवार लगायतका जनजातिहरुमा बढी प्रचलित यसखालको विवाह केवल नेपालमा मात्रै सीमित छैन। नेपालको तुलनामा भारत, पाकिस्तान, र अरब देशहरुमा यो प्रथा अझ व्यापक मात्रामा रहेको छ।
पाकिस्तानका विभिन्न समुदायमा वट्टा-सट्टा भनिने यो विवाह प्रचलनमा छ। जस्तैः पञ्जाव प्रान्तमा एक परिवारले आफ्नो छोरी अर्को परिवारको छोरालाई दिन्छन र उसको छोरी लिन्छन् । भारतका तमिल ब्राह्मणहरूमा मामाकी छोरीसँग विवाह गर्नलाई उत्तम ठान्दछन्। मामाचेली/फुपूचेली विवाह दक्षिण एसिया, मध्य पूर्व, र अफ्रिकामा सांस्कृतिक र धार्मिक रूपमा स्वीकार्य छ।
ऐतिहासिक रूपमा जापानमा फूपुचेली विवाह प्रचलित थियो, तर अहिले कानूनी रूपमा मन्जुर छ। कानूनले प्रतिबन्ध लगाए पनि चीनका ग्रामीण वस्तीहरुमा मामाचेली विवाहको चलन अहिले पनि पाइन्छ।
पश्चिमा विकसित देशहरु भनेर चिनिने युरोप, अमेरिका, र अस्ट्रेलिया जस्ता देशहरुमा पनि यस प्रकारको विवाह प्रचलनमा रहेको पाइन्छ। युरोपका जर्मनी, फ्रान्स, र स्पेन जस्ता मुलुकमा क्रस-कजिन विवाह गैरकानूनी छैन । तर, सामाजिक रूपमा अस्वीकार्य बन्दै गैरहेको छ। बदलिँदो विश्व परिवेश र भूमण्डलीकरणका कारणले पनि यसप्रकारका विवाहमा विस्तारै अस्वीकार्यता बढदै गएको पाइन्छ।

अमेरिकाका ३१ वटा राज्यहरुमा फर्स्ट-कजिन विवाहमा प्रतिबन्ध नै लगाएको पाइन्छ बाँकी १९ वटा राज्यमा केही शर्तहरु जस्तै डाक्टरको स्वीकृति वा न्यायिक आदेश आदिका आाधारमा विवाहको अनुमति दिने गरेको छ।
मुख्य राज्यमा जेनेटिक काउन्सिलिङ गरेर मात्र विवाह गर्न अनुमति दिइन्छ भने एरिजोनामा ५० वर्षभन्दा माथिका मानिसले मात्रै यसप्रकारको विवाह अनुमति पाउँछन्। ४५ वर्ष माथि वा बाँझोपन प्रमाणित गरेमा इलिनोइस राज्यमा यस्तो विवाहका लागि अनुमति पाउँछन्।
यसखालको विवाहमा फ्लोरिडाले २०२३ मा कानूनी रुपमा प्रतिबन्ध लगाउने प्रस्ताव गरे पनि हालसम्म कानूनी रुपमा वैध नै मानिन्छ। उता अस्ट्रेलियाका धेरैजसो राज्यहरुमा क्रस-कजिन विवाह कानूनत वैध मानिन्छ । तथापि, पश्चिमी अस्ट्रेलियामा न्यायिक स्वीकृति आवश्यक पर्छ भने र भिक्टोरियामा जेनेटिक काउन्सिलिङ आवश्यक छ। सामाजिक रूपमा यो प्रथा अस्वीकार्य त होइन, तर धेरै प्रचलित पनि छैन। विशेषतः मुस्लिम समुदायमा समानान्तर कजिन विवाह प्रचलित रहेको पाइन्छ।
समानान्तर कजिन विवाह अर्थात बुबाको भाइकी/दाइकी छोरी वा आमाकी बहिनीकी/दिदीकी छोरीसँग गरिने विवाहलाई भनिन्छ। विशेष गरी मध्य पूर्व, उत्तरी अफ्रिका, र केही जनजातीय समुदायहरूमा प्रचलित छ। यो प्रथा धर्म, संस्कृति, र सामाजिक संरचनाअनुसार फरक छ।
समानान्तर कजिन विवाह विशेष गरी मुस्लिम अरब, पठान, र केही हिन्दु जातिहरूमा प्रचलित छ। साउदी अरब, यमन, जोर्डन, इराक, सिरिया, मिस्र जस्ता देशहरुमा बुबाको भाइकी/दाईकी छोरी (Father’s Brother’s Daughter – FBD) सँग गरिने विवाहलाई ‘इब्न अल-अम्म’ भनिन्छ। यस प्रकारको विवाहबाट जन्मिने सन्तानहरुमा थ्यालेसिमिया, मानसिक विकलाङ्ग, र ह्रदय रोग आदिको खतरा भए पनि यो अरब संस्कृतिको महत्वपूर्ण अंश मानिन्छ।
यस्तो देख्दादेख्दै र जान्दा जान्दै पनि यस यस प्रकारको विवाहका पैरवीकर्ताहरुले परिवारको सम्पत्ति र सामाजिक एकतालाई अक्षुण कायम राख्न यसले महत्वपूर्ण भूमिका खेलेको जिकिर गर्दछन्। कतिपय धार्मिक कानूनले पनि यसप्रकारको विवाहलाई अनुमति दिएको छ।
इस्लामको सबैभन्दा शक्तिशालि मानिने धार्मिक कानून अर्थात इस्लामिक कानून जसलाई शरिया कानून पनि भनिन्छ, ले कजिन विवाहलाई अनुमति दिन्छ । पैगम्बर मुहम्मदले आफ्नै कजिन (फुपूचेली) खदीजासँग विवाह गरेको ऐतिहासिक उदाहरण छ । धार्मिक कानूनलाई सामान्य कानून भन्दा शक्तिशाली मान्ने मुस्लिम समुदायमा यस प्रकारको विवाहले धार्मिक शुद्वता कायम राख्छ भन्ने मान्यताले गहिरोसँग जरा गाडेको पाइन्छ। नेपालमा पनि यो प्रथा थारु जस्ता समुदायमा सीमित छ भन्ने गरिन्छ।
हाम्रा पूर्वजहरु विवाहका मामिलामा निकै सजग भएको देखिन्छ। पानी मिउनु मूलको विहे गर्नु कुलको भन्दै छोरी माग्न जाँदा सात जोर जुत्ता फटालेको गफ गरेको सुनिन्थ्यो। चिना भिडाएर ग्रहदशा मिलेनमिलेको जाँचेर तौलेर मात्र विवाह गर्थे/गराउथे। बत्तीस गुणले युक्त कन्या हुनुपर्छ भन्दै सात गाँउ चारेको कुरा गर्थे।
नेपालको इतिहासमा श्री ५ हरुका लागि ३२ जना सम्म कन्याहरु डोलाका रुपमा भारतका विभिन्न ठाँउ डुलेर ल्याएको पढ्न पाइन्छ। अहिले त विवाह केटाकटीकी खेल जस्तो बनेको छ । अर्थात, आज विवाह भोलि डिभोर्स, अर्थात पारपाचुके।अहिले विभिन्न कारणले यस प्रकारको विवाहमा कमि आएको भए पनि बसाँइसराइ र पुस्ता खोजाइको अभावमा अन्जानवस पनि यस प्रकारका विवाह हुनजाने सम्भावना भने बढदै गएको आशंका गर्नेहरु पनि छन्।
प्राचीनकालमा जानेर वा नजानेर हाम्रा पूर्खाले बसाएका प्रथा र परम्परा केहीहदसम्म वैज्ञानिक रहेको तथ्य र सत्य अहिलेका वैज्ञानिक अनुसन्धानले पुष्टि गरिरहेका छन्। Hamamy(2011) ले समानान्तर कजिन विवाहबाट हुने आनुवंशिक जोखिमकाबारेमा व्यवस्थित अनुसन्धान गरेका छन्। उनको अध्ययनले मध्य पूर्व, दक्षिण एसिया, र उत्तरी अफ्रिकामा प्रचलित यस प्रथाको स्वास्थ्य प्रभावलाई प्रकाशमा ल्याएको छ।
त्यसैगरी Lancent(2019) ले मध्य पूर्वमा रक्त सम्बन्धित विवाह र शिशु मुत्यु दर शिर्षकमा गरेको अध्ययनले पनि कजिन विवाहले शिशु स्वास्थ्यमा गम्भीर नकारात्मक प्रभाव पारेको देखाएको छ। Hamamy को अनुसन्धानमा यस्ता बाबुआमाबाट जन्मिएका बच्चाहरुमा आनुवंशिक रोगको खतरा अन्य विवाहबाट जन्मिने बच्चामा भन्दा २-३ गुणा बढी रहेको देखिन्छ।
त्यसैगरी जन्मजात विकृत बच्चाहरुको दर Hamamy का अनुसार ६ प्रतिशत छ भने Lancent का अनुसार ६ .८ प्रतिशत छ जवकि सामान्य अवस्थामा यो दर २-३ प्रतिशत रहेको जिकिर गरेका छन् दुबैजनाले। दुबै अनुसन्धानको नतिजा अनुसार सामान्यभन्दा शिशु मृत्यु दर ४ .४ प्रतिशत बढी रहेको देखिन्छ।
अझ खतरनाक कुरा त लगातार कजिन विवाह गर्दा आनुवंशिक बोझ बढ्छ,जसले गर्दा पछिल्ला पुस्ताहरुमा जटिल रोगहरु जस्तै मधुमेह, ह्रदयरोगको सम्भावना बढ्छ भन्ने उनीहरुको अध्ययनले देखाउछ। दुबैजनाको सुझाव कजिन विवाह गर्न चाहने जोडीहरुलाई विवाह अगाडि जेनेटीक काउन्सेलिङ र परीक्षण अनिवार्य गरिनु पर्ने रहेको छ। साथै ग्रामीण भेगमा विशेष गरी स्वास्थ्य शिक्षासम्बन्धी कार्यक्रममा यसलाई समेटनु पर्ने आवश्यकता औंल्याएका छन्।

मेडिकल विधामा काम गरिरहेका स्वास्थ्यकर्मीहरु पनि यसप्रकारको विवाहका बारेमा चिन्तित रहेको देखिन्छ। प्रत्यक्ष परोक्ष रुपमा यस्ता विवाहबाट जन्मिएका बच्चाहरुको उपचारमा उनीहरु जोडिन पुग्छन। उनीहरु पनि यही समाजका एक अङ्ग हुन्। अर्कोतिर राज्यको ठूलो लगानी यस्ता बाबालिकाको उपचारमा खर्चिनु पर्ने भएकाले राज्य पनि यसप्रकारको विवाहलाई निरुत्साहीत गर्नतिर लाग्नुपर्छ।
सन् २०२० मा जर्नल अफ मेडिकल एथिक्सले ‘कजिन विवाहमा कानूनी र नैतिक मुद्दाहरू’ शीर्षकमा गरेको अध्ययनले मूलतः कानूनी विवाद, नैतिक द्वन्द्व, र सामाजिक प्रभावमा केन्द्रित रहेको छ। यसले पश्चिमा र पारम्परिक समाजहरूबीचको द्वन्द्वलाई उजागर गरेको छ। यस अध्ययनले पनि कजिन विवाहबाट जन्मिएका बच्चाहरूमा गम्भीर रोगको सम्भावना २–३ गुणा बढ्छ भन्ने निष्कर्ष दिएको छ। यस अध्ययनले पनि कानूनी प्रतिबन्ध भन्दा पनि विवाह अगाडी जेनेटिक परामर्श दिनुका साथै शिक्षा र स्वास्थय सेवा बढाउन जोड दिएको छ।
यसका अतिरक्त यस प्रकारको विवाहको सांस्कृतिक संवेदनशीलतालाई ख्याल गर्दै सामाजिक टयाबु नबनाई वैज्ञानिक चर्चाको रुपमा अगाडि बढाउन सुझाव दिएको छ।Consanguinity and Genetic Disorders in Brazil” (2017) र Social and Genetic Impacts of Cousin Marriage in Brazil” (2020) जस्ता अनुसन्धानले पनि माथिका तथ्य र सामाजिक संरचनाका नजिक नजिक रहेर निष्कर्ष र सुझावहरु दिएका छन्।
नेपालले मुलुकी ऐनमा हाडनाता करनीका बारेमा कानूनी प्रबन्ध गरेको छ। त्यो मात्र पर्याप्त छैन, त्यस प्रकारको विवाहबाट जन्मिने सन्तानको स्वास्थ्य समस्यका बारेमा विद्यालय शिक्षामा समावेश गरी जनजागरण ल्याउन पहल गर्नुपर्छ। आमाबुबाहरु पनि यस प्रकारको विवाह हुन नदिन सजग हुनुपर्छ।
अहिले कुल संरक्षण वा वंशावली बनाउने होड चलेको छ। यसले पनि यस प्रकारका विववाहलाई कम गर्न अवश्य पनि सकरात्मक भूमिका नै खेल्ने नै छन्।
हिजो कुन समय र परिवेशमा शुरु गरिएका यस्ता विवाह आज जरुरत नपर्न सक्छन्। विश्व आज हातको एउटा मोबाइलमा सीमित हुन पुगेको छ।अझै पनि कतै-कतै गरिबी र शिक्षाका अभावमा गरिने यस प्रकारको विवाहमा कमि ल्याई समाज सुधारका लागि कडा कानूनी प्राब्धान भन्दा पनि जेनेटिक परामर्श र वैज्ञानिक जनचेतना मार्फत शिक्षा र स्वास्थ्यसँग जोडेर अघि बढ्न आवश्यक देखिन्छ। यदि त्यसो गर्न सकिएन भने समाजमा विकलाङ्गहरुको संख्या बढ्ने, शिशु मृत्यु दर बढ्ने र नसर्ने रोगबाट ग्रस्तहरुको संसार हुने अवस्था नआउला भन्न सकिँदैन।
थाहा छैन, माथि उल्लेखित पात्रको विवाह भयो कि नाई। यदि भएको रहेन छ भने नहोस र भैसकेको रहेछ भने आशा गरौं उनीहरुका सन्तान स्वस्थ जन्मिउन्।
(अर्याल त्रिभुवन विश्वविद्यालयमा कार्यरत राजनीतिशास्त्रका प्राध्यापक हुन् )
प्रतिक्रिया