म्याग्दी– म्याग्दीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१–०८२ मा सञ्चालन गरेका आयोजनामार्फत ५२ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । साथै ७० हेक्टर जमिनमा सिँचाइ सुविधाको स्तरोन्नति भएको डिभिजनले जनाएको छ ।
६ किलोमिटर पक्की नहर, ६ दशमलव ११ किलोमिटर पाइपलाइन विस्तार, पाँच वटा बाँध र ४७ वटा सिँचाइका संरचना निर्माण गरेर सिँचाइ सुविधा विस्तार र स्तरोन्नति भएको डिभिजन प्रमुख झलकमोहन ओझाले बताए ।
सिँचाइतर्फ २२ वटा योजनाका लागि चार करोड ८३ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन भएकोमा २१ वटा योजना कार्यान्वयन भएका छन् । सिँचाइमा विनियोजन भएको मध्य ९१ दशमलव ३१ प्रतिशत अथवा चार करोड ४१ लाख ४० हजार खर्च भएको छ ।
यसैगरी, नदी नियन्त्रण योजनाबाट बाढी र कटानको जोखिममा रहेका ६ स्थानमा ४० मिटर पक्की पर्खाल, २५० मिटर ‘ग्याबियन’ पर्खाल निर्माण भएको छ । रघुगङ्गा– १ बेगमा बेगमा पनि ग्याबियन निर्माण गरेर पहिरो रोकथामको प्रयास भएको छ ।
नदी तथा पहिरो नियन्त्रण योजनाबाट ११० परिवार लाभान्वित र दुई दशमलव पाँच हेक्टर जमिन उकास भएको छ । नदी नियन्त्रण योजनाका लागि एक करोड ५० लाख ५० हजार रुपैयाँ विनियोजन भएकोमा एक करोड ४७ लाख ६९ हजार खर्च भएको प्रमुख ओझाले जानकारी दिए । (रासस)
प्रतिक्रिया