जेन-जी आन्दोलन : आगजनी र लुटपाटमा संलग्न १३ जनाविरुद्ध किटानी जाहेरी | Khabarhub Khabarhub

जेन-जी आन्दोलन : आगजनी र लुटपाटमा संलग्न १३ जनाविरुद्ध किटानी जाहेरी


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

सुनसरी– जेन-जी आन्दोलनको नाममा गत भदौ २४ गते अराजक समुहले धरानमा निजी र सार्वजनिक सम्पतीमाथि तोडफोड, लुटपाट र आगजनीमा संलग्नहरूलाई कडा कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालयमा किटान जाहेरी दिइएको छ । किटानी जाहेरी धरानका पूर्व मेयर मनोजकुमार मेन्याङ्बोले दिएका हुन् । जाहेरीमा १३ जनाको नाम किटान गरिएको छ ।

धरानका पूर्व मेयर मेन्याङ्बोले धरानमा गठन भएको सर्वपक्षीय नागरिक बचाउ अभियान, राजनैतिक दलका नेता, पूर्व एवं वर्तमान जनप्रतिनिधिहरुसहितको उपस्थितिमा लुटपाट र आगजनी गर्ने अराजक समूहविरुद्ध प्रहरीमा जाहेरी दिएका हुन् ।

होटल र घरमा आक्रमण गर्न आएकाहरू मध्ये विभिन्न भिडियो फुटेज, फोटो र म्योजसहरुबाट पहिचान खुलेकाहरुको नाममा किटानी जाहेरी दिएको पूर्वमेयर मेन्याङ्बोले जानकारी दिए । जाहेरीमा १३ जनाको नाम रहेको पनि उनले बताए । मेन्याङ्बोका अनुसार लुटपाट गरेर पैसा लैजाने मध्ये २ जनाले सोमबार माफी माग्दै आत्मसमर्पण गर्न आएका थिए । उनीहरूलाई प्रहरीको जिम्मा लगाएको पनि पूर्व मेयर मेन्याङ्बोले बताए । अराजक समुहले ५३ लाख २३ हजार रुपैयाँ बढीको क्षति पु¥याएका थिए । 

गत भदौ २४ गते करिव ४ बजे नै धरानको भानुचोकमा जेनजी आन्दोलन समापन भएपछि पूर्वमेयर मेन्याङ्बोको होटल कञ्चनजङ्घामा तोडफोड, आगजनी र लुटपाट भएको थियो । त्यसक्रममा अराजक समुहले मेन्याङ्बोकी श्रीमती शान्ताको हातबाट खोसेर ६ लाख रुपैयाँ लुटेर लगेका थिए । होटललाई रिनोभेसन गरिरहेका मेन्याङ्बोले काम गर्नेलाई भुक्तानी गर्न बैंकबाट उक्त रकम ऋण लिएका थिए । 
    
उनले  धरान–८ स्थित आफ्नो होटल कञ्चनजङ्घा र घरमा अराजक समुह २४ साँझमा प्रवेश गरेर लुटपाट र आगजनीमा संलग्न मध्ये १३ जना विरुद्ध किटानी गरी दिएको बताए । आधुनिक धरानको रूपरेखा तयार पार्दै मुलुकमै जनसहभागितामा विकास निर्माणको मोडल तयार पार्ने भनेर चिनिएका पूर्वमेयर मेन्याङ्बो लामो समयदेखि एमालेबाट बाहिरिएर स्वतन्त्र रहँदै आएको अवस्थामा जेनजीको नाममा अराजक समुहले लुटपाट मचाएका थिए । 

अपराधमा संलग्नहरू फरार हुन सक्ने भएकोले प्रहरीले किटानी जाहेरी दिइएका नामहरू भने सार्वजनिक गरेको छैन । पूर्व मेयर मेन्याङबोले खवरहबलाई भने, ‘अहिले १३ जनाको नामसहित किटानी जाहेरी दिएको छ । बाँकी काम प्रहरी प्रसाशनको हो ।’

पूर्वमेयर मेन्याङ्बोले तोडफोडको अगुवाई धरानका मेयर हर्कराज राई (साम्पाङ) निकट मानिने मिलन वान्तवा राईको नेतृत्वमा भएको बताए । तोडफोडको नेतृत्व गर्ने मिलनले मेयर साम्पाङकै हातेमाइक प्रयोग गरेर मेयरकै डिजाइन र निर्देशनमा भएको दाबी गरे । यद्यपी जाहेरीमा भने मेयर साम्पाङको नाममा किटान गरेका छैनन । 

उनले भने, ‘तर उनको (मेयर साम्पाङको) सहयोगी समुह भनेर जाहेरीमा उल्लेख गरिएको छ । सबै मेयर साम्पाङकै मान्छेहरु छन्, भनिरहनै पर्दैन ।’

मेन्याङबोसंगै जाहेरी दर्ता गर्न पुगेका अर्का पूर्व मेयर तिलक राईले धरानमा भएको आक्रमणका पीडितहरूले छुट्टाछुट्टै किटानी जाहेर दिने तयारी गरेको बताए । उनका अनुसार आज बुधवार शोक दिवसको बिदा भएकोले बिहीबार पीडित र सर्वपक्षीय नागरिक बचाउ अभियानका सबै इलाका प्रहरीमा भेला भएर किटानी जाहेरी दिने बताए ।

उनले भने, ‘सुरक्षानिकाय पनि विशेष परिस्थितिमा भएकोले पहिलो चरणमा होटल कञ्चनजंघाबाट मात्र जाहेरी दिएको हो । आपराधिक कार्यमा संलग्न सबैलाई प्रहरीले कानुनी कारबाहीको दायरामा ल्याउँछ भन्ने विश्वास छ । भोलि बिहीबार पुनः अरु पीडितहरूबाट जाहेरी लिएर आउने छौं ।’

कांग्रेस नेता किशोर राईले अराजक समुहबाट धरान जलिरहँदा र ठुलो क्षति पुग्दासमेत मेयर साम्पाङ स्थलगत अवलोकन गर्न र पीडितलाई सान्त्वना दिनसमेत नगएको भन्दै आक्रोश पोखे । उनले धरान जलाउन मेयर साम्पाङकै हात रहेको दाबी गर्दै देश नै जलिरहेको छ भनेर उम्कन नपाउने पनि बताए । 

इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले आन्दोलनमा तोडफोड र आगजनीमा संलग्नहरूको खोजी कार्य तीव्र बनाइएको बताए । उनले व्यक्तिगत र सार्वजनिक सम्पत्ति आगजनि लुटपाट र तोडफोडमा संलग्न सबैलाई पक्राउ गरी कारबाही गर्न प्रहरी प्रतिबद्ध भएको पनि बताए । 

उनले भने, ‘आगजनी र तोडफोडमा केही व्यक्तिहरूको पहिचान भैसकेको छ । उनीहरूको नाम समेत किटानी जाहेरी दिइएकोले सबैको पहिचान गरी पक्राउ गर्न र कानुनी कारबाही गर्न माग गरिएको छ ।’ 

किटानी जाहेरी दिन मेन्याङबोसंगै इलाका प्रहरी पुगेका राजनीतिक दलहरूका नेताहरूले धरानमा भएको सबै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुन अनुसार कारबाही गर्न माग गरेका छन् ।

जेन-जी आन्दोलनको नामा धरानमा नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्रका कार्यालयहरू, भाटभटेनी सुपर मार्केट, धरानका पूर्व उपमेयर मञ्जु भण्डारी, पूर्व प्रतिनिधि सभा सदस्य जयकुमार राई, कार्यपालिका सदस्य सिर्जना नेपाल, काँग्रेस नेता उमेश थापा र सुजेन्द्र तामाङका घर तोडफोड, लुटपाट र आगजनी गरिएको थियो ।

धरानको भाटभटेनी सुपर मार्केट आगजनीमा लुटपाट गर्न भित्र पसेका मध्ये चारजना जलेर खरानी भएको अवस्थामा फेला परेका थिए । 

 यसैबीच सर्वपक्षीय नागरिक बचाउ अभियानका धरानले उक्त सबै घटनाको सत्य तथ्य छानबिन गरी आपराधिक गतिविधिमा संलग्नलाई कानुनको दायरामा ल्याउन र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । यसैबीच मेयर साम्पाङले भने आगजनी र तोडफोडमा आफ्नो समर्थकहरू नरहेको जिकिर गरेका छन् । 

उनले पत्रकार सम्मेलन गर्दै जेन-जी आन्दोलनमा आफूले प्रयोग गर्ने माइक अरुले प्रयोग नगरेको दावी गर्दै आगजनी, लुटपाट र तोडफोड गर्न कसैलाई पनि निर्देशन नदिएको बताए ।
 

जेनजी आन्दोलनको नामा आगजनीमा परि इटहरी उपमहानगरपालिकाको कार्यपालिका भवन पूर्ण रूपमा क्षति भएपछि मेयर हेम कर्ण पौडेलले क्षतिग्रस्त संरचनाकै अगाडि भुँइमा कार्यपालिका बैठक राखेका हुन् ।

उपमेयर सङ्गीता चौधरी, प्रमुख प्रशासकीय अधिकृतसहित कार्यपालिका सदस्यहरूको उपस्थितिमा बैठक बसेको हो । उपमहानगरपालिकाको क्षतिग्रस्त संरचनाको अवलोकन पछि बसेको बैठकले सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड गर्नेहरूलाई चाँडोभन्दा चाँडो कानुनी सजायको भागीदार बनाउन पहल गर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकाको अत्यावश्यक सेवा प्रवाहलाई असोज ४ गतेदेखि सुचारु गर्नको लागि तयारी अवस्थामा रहन कर्मचारी र वडाध्यक्ष हरूलाई आग्रह गरिएको छ । मेयर पौडेलले भत्किएका संरचना अहिले नै बनाएर जान सक्ने अवस्था नभएको हुँदा अस्थायी संरचना बाटै सेवा गर्नुपर्ने अवस्था भएको बताए । असोज ४ गतेसम्ममा सम्पूर्ण क्षतिको विवरण सङ्कलन गर्ने र त्यसपछि पुनर्निर्माण लाग्ने निर्णय भएको बताए । 

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा अराजक समुहले उपमहानगरपालिका भित्र प्रवेश गरेर मेयर कक्ष लगायत अन्य ५ वटा भवनमा आगजनी गरेका थिए । अधिकांश शाखामा आगलागी हुँदा तत्काल सेवा प्रवाहमा असहज परिस्थिति देखा परेको पनि मेयर पौडेलले बताए । सोही आन्दोलनको क्रममा मेयर पौडेल सहित १७ नम्बर वडाका अध्यक्ष प्रभात आचार्यको घरमा आगलागी भएको थियो । 

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  १२ : २४ बजे

पश्चिम नेपालमा ४.६ म्याग्नीच्यूडको भूकम्प

काठमाडौं – बुधबार राति पश्चिम नेपालमा भूकम्प गएको छ। पूर्वी

पश्चिम नेपालमा भूकम्पको शक्तिशाली धक्का

काठमाडौं – पश्चिम नेपालमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ

चाडपर्वलाई लक्षित गरी उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौं – नजिकिँदो चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुको सहजतालाई लक्षित

सडक बिग्रेका कारण खुलेन शुक्लाफाँटा निकुञ्ज सफारी

कञ्चनपुर – वर्षाका कारण निकुञ्ज जाने बाटो बिग्रेपछि शुक्लाफाँटा राष्ट्रिय