काठमाडौं । ट्रमा सेन्टरको ५४९ नम्बर बेडमा लम्पसार परिरहेका २२ वर्षीय घाइते विजय अधिकारीको एउटै खुट्टामा छ गोली लागेको छ । उनले ‘यसरी छ गोली लागेर बाँच्नुभन्दा बरु मर्न पाएको भए सजिलो हुन्थ्यो’ भन्ने अभिव्यक्ति दिए ।
अस्पतालमा विरामीको अवस्था बुझ्नका लागि रिपोर्टिङ गर्न गएको संवाददाताहरु घाइते विजयको अभिव्यक्ति सुनेर विचार शून्य हुन पुगे । प्लसटू पास गरी जापान जान तयार अवस्थामा रहेका रुकुमका विजयलाई भदौ २३ गते भएको जेन–जी आन्दोलनमा दाँया खुट्टामा ६ वटा गोली लागेको छ । आन्दोलनको पहिलो दिन पहिलो गोली उनैलाई लागेको थियो ।
विजय तीन जना दाजुभाइमध्ये कान्छा छोरा हुन् ।देशमा भएको चरम भ्रष्टाचारको कारणले आफू विदेश जानु परेको पीडाले आन्दोलनमा सहभागी नभई उनको मनले मानेन । वेथितिविरुद्ध आफूले नबोले कस्ले बोल्छ ? अरुले बोलिदिएला भनेर बस्न मनले नमानेर उनी आन्दोलनमा गएका थिए ।
सुरुमा मिडियाले विजयको मृत्यु भएको समाचार प्रशारण गरे । समाचार सुनेर आमा बेहोस भइन् । पछि साथीहरुले ‘घाइते भएको हो । गोली लागेको हो, अस्पतालमा उपचार भइरहेको छ’ भन्ने खबर गरे । बल्ल थोरै भएपनि आमाको होस खुल्यो ।
आमाले ‘कहिले सुख नदिने भइस्’ भनेको सुनेर विजयलाई एकक्षण बाँच्नै मन नलागेको सुनाउछन् । खबरहबसँग कुरा गर्दै उनले भने, ‘आमाले समाचार हेरेर थाहा पाउनुभएछ । मलाई कहिले सुख नदिने भइस भनेर रुनुभयो । पहिले पनि मृत्युको मुखबाट बचाएर राखेको थिएँ । अहिले किन आन्दोलनमा गइस् ? भनेर गाली गरिरहनु भयो ।’
‘बूढेसकालमा छोराले सुख देला भन्ने आस थियो । पहिले फ्याक्चर भएकै गोडामा गोली लाग्यो । आमा रिसाएको चाहिँ होइन सायद मायाले मेरो चिन्ताले त्यसो भन्नुभएको हो । यो सबै देखेर आमालाई धेरै टेन्सन भयो’, उनले भने ।
विजय पहिले पनि ठूलो दुर्घटनामा परेर बाँचेका हुन् । उपचारमा निकै ठूलो रकम खर्च भएको थियो । उनी पहिले पनि हात र खुट्टामा दाग बोकेर हिँडिरहेका थिए ।
गोली लागेको घाउ निको हुन धेरै समय लाग्ने भएकाले उनले लामो समय अस्पताल बस्नुपर्ने देखिन्छ ।
ट्रमा सेन्टरले पूरै निःशुल्क उपचार र औषधी गरिरहेको उनी बताउछन् । भन्छन्, ‘मुख्य जो जेन–जी हो । उनीहरुले निः शुल्क उपचार पाइरहेका छन् । तर भागदौडमा मापसे गरेर दौडिएका थिए । जो आन्दोलन हेर्न मात्रै गएका थिए उनीहरुलाई आधा निःशुल्क उपचार भइरहेको छ ।’
घाइते भएर अस्पतालमा लडिरहेको अवस्थामा आमाबुवा भेट्न आउन सक्नुभएन । सरकारले ३ दिन कर्फ्यू लगाएपछि रोकिए । अहिले छोराको चिन्ताले आमाबुवा दुबै जना बिरामी छन् । अब छोरा हेर्न मात्रै नभएर आफ्नै उपचारको लागि पनि विजयका आमाबाबु काठमाडौं आउँदैछन् । हाल मामा र साथीभाइहरुले अस्पतालमा उनको हेरचाह गरिरहेका छन् ।
सरकार ढल्नुलाई विजयले आफ्नो आन्दोलनको मुख्य उपलब्धि ठानेका छन् । ‘नयाँ सरकारले कर्मचारीतन्त्रभित्रको भ्रष्टाचार रोक्न सक्यो भने देश बन्छ । नेता बिगार्ने नै कर्मचारी हो’, उनी थप्छन्, ‘जबसम्म कर्मचारी सुध्रदैन तबसम्म यस्ता आन्दोलन जति गरेपनि भ्रष्टाचार उन्मूलन भएर जाँदैन । कर्मचारीलाई सुधारेर काम गर्ने हो भने यति सानो देश बनाउन धेरै समय लाग्दैन ।’
‘मुख्य जेन–जी कुनैपनि राजनीतिक दलसँग आबद्ध छैन । हामी र हाम्रो साथीहरु कोहीपनि कुनै पनि दलमा आबद्ध छैनौँ । हामीले कसैप्रति प्रतिसोध साँधेर आन्दोलन गरेको थिएनौँ । जेन–जीको नाममा घुसपैठ भएको छ । संसद् भवनसम्म हामी पुगेको हो तर आगो लगाउने कुनै नियत थिएन । आगो लगाउने अरु हुन् । जेन–जी सलाई बोकेर आन्दोलनमा गएको थिएन’, उनले भने ।
जेन–जीहरुले सडकको रुखबिरुवासमेत भाँच्न दिएका थिएनन् । सडक वरपर रोपिएका फूल र दूबोसमेत जोगाउदै आन्दोलन गरिरहेका थिए । आन्दोलनमा मनकारीहरुले पानी बाँडिरहेका थिए । उनीहरुले आन्दोलनकारीले पानी खाएर फ्याँकेका बोतल र प्लाष्टिक आफैँ उठाएर हिँडिरहेका थिए ।
जेन–जीले रुखविरुवा भाँचे भन्ने समाचार आउछ भन्ने कुरामा समेत सचेत थिए पहिले–पहिले आन्दोलनहरुमा काठमाडौं महानगरले फोहोर गरेको भनेर जरिवाना तिराउँदै आएको थियो । ‘हामीसँग पैसा छैन, जरिवाना तिर्न सक्दैनौँ’, भन्दै फोहोर उठाइरहेका थिए । शान्तिपूर्ण आन्दोलन थियो । जेन–जीहरुको हातमा ढुङ्गा पनि थिएन ।
परिचालित व्यक्तिहरुले आन्दोलनको नाममा विध्वंश मच्याएको विजयको बुझाइ छ । ‘संसद् भवन जलाउने तथा तोडफोड गर्ने र प्रहरीलाई हान्ने भन्ने थिएन । प्रहरीले अचानक गोली हान्न थाल्यो । मलाई पहिलो गोली लागेपनि अर्को साथी सडकमै ढल्यो । त्यसपछि भने हामी पछाडी फर्किएनौँ । साथीहरु आवेगमा आए र प्रहरीमाथि जाइलाग्न थालेको कुरा सत्य हो ।’
‘सरकारको पक्षबाट धेरै ज्यादती भएको छ । लुकेर अश्रुग्यास हान्यो । हातहतियार विना आएको आन्दोलनकारीलाई गोली हान्ने हो ? अधिकांश स्कूल र कलेजको ड्रेसमा आएका थिए । किताब र कलम बोकेर आएको विद्यार्थीलाई सरकारले गोली हान्ला भनेर सोचेकै थिएनौँ, उनले भने ।
‘हामी युवा नेपालमै जागिर दे भन्न गएका थियौ । जागिरको सट्टा सरकारले गोली दिने ? हरेक दिन वैदेशिक रोजगारमा युवाहरु पलायन छन् । म आफैँ जापान जाने तयारीमा थिएँ । सीओई आइसकेको छ । यसलाई रोकिदेउ । हामीलाई यहि काम देउ भन्न गएको हो ।’ उनले सुनाए ।
नागरिकले अधिकार माग्दा जाँदा गोली हान्ने सरकार चाहिँदैन भनेरै २४ घण्टामै ढालियो । जनताको शक्ति कति हुने रहेछ भनेर पुराना दलका नेताहरुले बुझ्न जरुरी छ । यस आन्दोलनमा ज्यान गुमाएका र घाइतेहरुको रगतमा कसैले खेलवाड गर्ने प्रयास नगरोस् । यो आन्दोलन दोहोर्याउन नपरोस् ।’ उनले भने ।
‘पुराना नेताहरुले सुध्रिएर आउछौँ भनिरहेका छन् । तर, व्यक्तिगत रुपमा मलाई यिनिहरु सुध्रिएर आउछन् भन्ने विश्वास छैन । यो ३० वर्षमा नसुध्रिएका यिनीहरु अब कसरी सुध्रेलान् ? यो बीचमा कति आन्दोलन भए तर खै परिवर्तन ? खै सुध्रिएको ?जनताले मौका दिएकै हो ।’ उनले भने, ‘स्कूलको ड्रेस लगाएको नाबालकमागि गोली हान्ने यो कस्तो सरकार हो ? सरकार नालायकी हुन छुट छ ? जनताको सुरक्षा गर्न नसक्ने सरकार नालायक होइन ? गोली हान्ने आदेश दिनेलाई कडा भन्दा कडा सजाय होस् । नयाँ सरकारले उनीहरुलाई कानूनी कठघरामा उभ्याउन सकेन भने हामीले न्याय पाउने छैनौँ ।’
उनले भने, ‘यदि उनीहरुको ढाकछोप भयो भने हामी पुनः सडकमा उत्रनेछौँ । यो भन्दा चर्को आन्दोलनाको सामना गर्नुपर्ने स्थिति सिर्जना नहोस् । अनुन्धानमा कत्तिपनि विचलित नभइ निष्पक्ष होस् र गोली ठोक्न आदेश दिनेलाई सजाय भएको हेर्न पाइयोस् ।’
प्रतिक्रिया