काठमाडौं- जेन–जी आन्दोलन पश्चात नागरिकहरुलाई राज्यविहीनताको भानले सताइरहेको छ । आँखैअगाडी जनधनको ठूलो क्षति देख्नेहरु अझै ट्रमामा छन् । आन्दोलनमा प्रहरी प्रधान कार्यालय नक्सालबाट करिब तीन किलोमिटर दूरीमा रहेको महाराजगञ्ज वृत्त र पाँच किलोमिटर दूरीमा रहेको कोटेश्वर प्रभागमा प्रहरीलाई नै कुटेर मारियो ।
साथै, आन्दोलनकारीले सुरक्षा निकायका १२ सयभन्दा बढी हातहतियार लुटपाट तथा चोरी भयो । आन्दोलनका क्रममा गुमेको प्रहरी मनोबल उकासिन नसक्दा सडकमा राज्यविहीनताको अवस्था सिर्जना भएको छ ।
ट्राफिक प्रहरी पहिलेपनि सडकमा सुरक्षित थिएनन् । अहिले झनै सडकमा उग्रता देखिएको छ । ट्राफिक नियम चालकले मान्न छाडेका छन् । रात्रिकालीन व्यवसाय प्रशासनले तोकेभन्दा बढी समय सञ्चालनमा छन् । रातभर प्रहरी जागराम बस्दा नागरिक चैनको निन्द्रा सुत्न पाउथे ।
त्यसमाथि गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार मन्त्रालयमा सिंहदरबार जलाउनेलाई कहिले समात्नुहुन्छ ? भन्ने प्रश्नमा ‘सुशासनको मामिलामा के–के गर्नुपर्छ गरिन्छ । तर, यो सरकार क्रान्ति पछि बनेको हो । क्रान्तिकारीहरूलाई उनीहरूले आतंककारी देखिरहेका छन्’ भन्ने अभिव्यक्ति दिएका छन् । गृहमन्त्रीको अभिव्यक्तिले सुरक्षा निकाय सशङ्कित बनेको छ ।
विध्वंस मच्चाउनेलाई पनि गृहमन्त्री अर्यालले क्रान्तिकारीको संज्ञा दिएका छन् । तर, सिंहदरबार जलाउने, सर्वोच्च अदालत जलाउने, प्रहरीका हतियार लुट्ने र कार्यालय जलाउने अनि प्रहरी मार्नेलाई कानूनी दायरामा ल्याउनुपर्ने विज्ञहरू बताउँछन् ।
अर्यालले एकातिर सुरक्षाकर्मीको मनोबल उच्च राख्नुपर्छ भनिरहेका छन् भने अर्कातिर प्रहरीकै भवन जलाउने र लुटपाट गर्नेलाई पक्राउ नगर्ने आदेश दिन्छन् । उनको दोहोरो नीतिले प्रहरीलाई काम गर्न अप्ठ्यारोमा पारेको छ ।
पत्रकार राजकुमार सिग्देल लेख्छन् – काठमाडौंको झण्डै दुई दशक बसाइको अवधिमा यस्तो दृश्य कहिल्यै देखेको थिइनँ, जुन अहिले देखिँदै छ । चोकहरूमै लङ्गुर बुर्जा खेल्नेको भिड देखिन्छ । सडकमा ट्राफिक चेकजाँच छैन । जुवा तास बढ्दो छ । त्यसमाथि भागेका अपराधीहरू समाजमा घुमिरहेका छन् ।
जेन–जीकै नाममा सरकारी र निजी कार्यालयहरूमा आतङ्क छ । तर, सुरक्षा दिनुपर्ने सुरक्षाकर्मी नै बलियो नभएको सुनिन्छ ।3
जनतालाई आश्वस्त पार्न जेनजी आन्दोलनपछि राज्यले पहिले गर्नुपर्ने काम नै आधारभूत सुशासन कायम गर्नु थियो । त्यसैगरी अर्का पत्रकार विक्रमरत्न लेख्छन् –म पनि दश वर्ष भयो । भदौ २३–२९ सम्म मैले सडकमा जेजस्ता मानिसहरु देखेँ । त्यस्ता रुप, रंग, चालका मानिसहरु मैले कहिल्यै देखेको थिइनँ । राज्यविहीनताको अवस्था छ भन्ने थाहा मात्रै पाए भने मानिसकै रुप कस्तोसम्म हुँदोरहेछ, देखियो ।
यतिबेला नागरिक, पत्रकार, व्यवसायी, नेता तथा कर्मचारीदेखि प्रहरी प्रशासनसम्मको अवस्था नाजुक स्थितिमा छ । भागेका कैदीबन्दी र थुनुवा नियन्त्रणमा नआउँदा तथा लुटिएका हतियार फिर्ता नहुँदा समाज आतङ्कित बन्न पुगेको छ । तर, सरकारको ध्यान प्रहरीको मनोबल उकास्नतर्फ भने केन्द्रित भएको देखिँदैन ।
गहमन्त्रीको पदबहालीपछि अर्यालले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका थिए । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले जेन–जी प्रदर्शन र आन्दोलनमा प्रहरीतर्फ भौतिक एवं मानवीय क्षतिको फेहरिस्तबारे अर्याललाई ब्रफिङि पनि गरेका थिए । जसमा उनले ५५१ युनिटका ४५० बढी सवारी साधन जलाइएको रिपोर्ट गरेका थिए ।
त्यसैगरी, भवन पनि त्यतिनै सङ्ख्यामा जलेको थियो । यस्तो अवस्थामा अर्यालले जतिसक्दो छिटो प्रहरीलाई स्रोतसाधन सम्पन्न बनाउनु पर्ने थियो । तर, आन्दोलन भएको एक महिना पुगिसक्दा समेत सवारीसाधन खरिद र प्रहरीका जलेका भवन बनाउने सम्बन्धमा कुनै कदम चालिएको छैन ।
अहिले सडकमा भइरहेका कानून विपरीतका गतिविधि रोक्ने काम प्रहरीकै हो । तर, प्रहरीलाई देख्नै नहुने वातावरण आन्दोलनबाट सिर्जना गरिएको छ । हतियार लुट्ने समूहलाई तत्काल नियन्त्रणमा लिन प्रहरीलाई स्वतन्त्र जिम्मेवारी दिनुपर्ने थियो ।
गृहले यही असोज ९ गते विज्ञिप्त जारी गरेर गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रतिवेदन नबुझाएसम्म आयोगको कार्यक्षेत्रमा रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारबाही अगाडि नबढाउने भनेपछि सुरक्षा निकाय झन् सशङ्कित बनेको छ ।
गृहमन्त्री अर्यालले जेनजी प्रदर्शनका क्रममा विध्वंसात्मक गतिविधिमा संलग्नलाई छाड्न आईजीपी खापुङलाई निर्देशन दिए । प्रहरीले प्रमाणसहित पक्राउ गरेकालाई हिरासतमुक्त गरिदियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंलगायतका प्रहरी युनिटबाट चार सयभन्दा बढी थुनुवा छाडियो । युनिट जलाउने र पोशाक समेत लुट्नेलाई प्रमाणसहित पक्राउ गरिएको भएपनि छाड्न प्रहरीलाई बाध्य पारिएको थियो ।
सर्वसाधारणदेखि व्यवसायीसम्मले ढुक्कसँग काम गर्ने अवस्था छैन । सडकमा अराजकता मच्चिएको छ । शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको प्रहरीको हातखुट्टा बाँधिएिको अवस्था छ । यस्तो अवस्थामा सरकारले दण्डहीनतालाई झन् प्रश्रय दिने गरी काम गर्दै गयो भने यसले अराजकता बढाउँछ ।
तर, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की भने प्रहरीलाई ‘मनोबल गिराउन’ छुट नभएको बताउँछन् । खबरहबसँगको कुराकानीमा उनले भने, ‘आन्दोलन भनेकै यथास्थितिभन्दा फरक हुनु हो । हामीलाई नयाँ ठाउँमा जाँदा त केही फरक महसुस हुन्छ भने । आन्दोलनमा भएको जनधनको क्षतिले भौतिक मात्रै नभई मनोवैज्ञानिक क्षति गरेको छ ।’

‘यस्तो अवस्थामा प्रहरीले मात्रै नभई सबैले उच्च मनोबलका साथमा अगाडी बढ्न सक्नुपर्छ । राज्यविहीनताको अवस्था छैन’, उनी थप भन्छन्, ‘अवस्था केही फरक हो तर प्रहरी तैनाथ छ । नागरिकहरुको सुरक्षालाई प्राथमिकतामा राखेर पहिलेकै अवस्थामा प्रहरी छन् । पहिलेकै तालिका अनुसार प्रहरी गस्तीमा छन् ।’
साथै, कार्कीले देशमा हुने विभिन्न सङ्कटको समयमा सबै नागरिकहरु एक जुट भएर काम गर्नुपर्ने बताए । उनी भन्छन्, ‘सङ्कटको सामना सबैले गर्नुपरेको छ । भवन जलेका छन्, हातहतियार लुटपाट भएको छ । तर प्रहरीले त्रिपालमुनि बसेर पनि नागरिकको सुरक्षामा छ । यो समयमा प्रहरी र नागरिक मिलेर जिम्मेवारी निर्वाहमा लागेपछि समस्या हुँदैन ।’
प्रतिक्रिया