रास्वपा छोड्ने जोखिमपूर्ण निर्णय किन लिए सन्तोषले ? « Khabarhub

रास्वपा छोड्ने जोखिमपूर्ण निर्णय किन लिए सन्तोषले ?

डीपीपछि स्वर्णिमसँग पनि बढेको थियो दूरी



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट सन्तोष परियारले राजीनामा दिएपछि राजनीतिक वृत्त तरंगित भएको छ । वैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपालाई सुमना श्रेष्ठपछि सन्तोषले अर्को धक्का दिएका छन् ।

रास्वपामा भदौ २७ गते प्रतिनिधिसभा विघटन हुनुअघिसम्म उनी गाडी सुविधासहितको प्रमुख सचेतक थिए । यता पार्टीमा पनि उनी सचिवालय सदस्यको भूमिकामा थिए । तर पार्टीमा राम्रो अवसर पाएका सन्तोषको बहिर्गमनले रास्वपासँगै वैकल्पिक धारका दलहरूलाई नै तरंगित गरेको छ। उनको बहिर्गमनले रास्वपाभित्र खैलाबैला चलेको छ।

पहिलो निर्वाचनमै चौथो दल बनेर प्रतिनिधिसभामा छिरेपछि रास्वपाले परियारलाई प्रमुख सचेतक बनाएको थियो । प्रमुख सचेतक परियारले संसदीय दलको हरेकजसो निर्णयमा महत्वपूर्ण भूमिका खेल्थे । दलका नेता रवि लामिछाने जेल गएपछि त उनी निर्णायक भूमिकामा थिए । तर उनै परियारले रास्वपा छाडेपछि उनलाई अवसरवादी भन्न थालिएको छ।

उनी सभापति लामिछानेका विश्वासपात्रमध्ये एक मानिन्थे । परियारले खबरहबसँगको कुराकानीमा सभापति लामिछानेका कारण नभएर पार्टीभित्रका अन्यले अवरोध गरेपछि आफू बाहिरिएको बताएका छन् ।

उनले पार्टीलाई प्रगतिको शुभकामना दिँदै वैकल्पिक शक्ति अझै नयाँ उचाइमा पुग्नुपर्ने बताएका छन् । परियारले जनताले बुझ्ने सिद्धान्त बोकेर अगाडि बढ्न पनि रास्वपालाई भनेका छन् ।

भक्तपुरको गुण्डुमा २०४० सालमा जन्मेका सन्तोषले ५ कक्षासम्म निजी र त्यसपछि सरकारी स्कुलमा पढेका थिए । ०५७ सालमा एसएलसी दिएका उनले व्यवस्थापनमा आईए र पत्रकारितामा स्नातक उत्तीर्ण गरेका छन् । श्रीलंकाबाट द्वन्द्व व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले राजनीतिमा लाग्नुअघि करिब ५ वर्ष कलेज पढाए ।

तीन वर्षअघि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी खोलेपछि जोडिएका परियार समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य बने । उनले दलित समुदायको हकहितका लागि काम गर्दै आएका छन् ।

परियारले किन छोडे पार्टी ? ११ कारण

१. परियार वाम विचारधारा बोकेका नेता मानिन्छन् । उनी रास्वपामा पनि यो विचार स्थापित गर्न चाहन्थे । तर रास्वपा चाहिँ लोकतान्त्रिक र उदारवादी धारतर्फ गयो । उनले आफ्ना मन्तव्य र पार्टी बैठकमा वाम र मार्क्सवादी सिद्धान्तमा टेकेर विचार राख्ने गरेको रास्वपा नेताहरू बताउँछन् ।

सुरूमा नेकपा एमालेनिकट परियार केपी शर्मा ओलीले संसद् विघटन गरेपछि त्यसविरुद्धको आन्दोलनमा उत्रिए । त्यसपछि उनी रास्वपा र रविसँग जोडिए ।

२. जेन-जी आन्दोलनका क्रममा सभापति लामिछाने नख्खु कारागारबाट निस्किएपछि उनले पार्टीभित्र त्यसको विपक्षमा आवाज उठाएका थिए । सभापति लामिछानेलाई अनधिकृत रूपमा उपसभापति डोलप्रसाद अर्याल र सांसद हरि ढकालसहितका नेताहरूले निकालेको भन्दै उनी विपक्षमा उभिएका थिए । उनले आफू विधि र थिति बसाउने पक्षमा रहे पनि नसकेको कुरा निकटहरूसँग बताउने गरेका छन् ।

३. परियार फागुन २१ को निर्वाचनअगाडि नै पार्टीको पहिलो महाधिवेशन गर्नुपर्ने पक्षमा थिए । तर, चितवनमा कात्तिक २१ र २२ गते बसेको विस्तारित बैठकले महाधिवेशन मिति धकेलिदियो । महाधिवेशन नभएको अवस्थामा कार्यवाहक सभापति डीपी अर्यालको नेतृत्वमा निर्वाचनमा जान नहुने पक्षमा थिए उनी ।

४. उनी पहिलो महाधिवेशनबाट पार्टीको महामन्त्री हुन चाहन्थे । तर, प्रमुख सचेतक भएलगत्तै महामन्त्री पद खोजेको भन्दै उनलाई रोक्न नेताहरू लागे । कार्यवाहक सभापति अर्याल, महामन्त्री कवीन्द्र बुर्लाकोटी, नेताहरू सोविता गौतम, शिशिर खनाल, विपिन आचार्य र विराजभक्त श्रेष्ठहरु उनको चहानाको विपक्षमा उभिए ।

५. उनले रास्वपामा पार्टीभन्दा नेता ठूलो भएकोमा असहमति जाहेर गरेका थिए । पार्टीको आधारभूत सिद्धान्त र जनताको चाहाना पूरा गर्न लाग्नुपर्ने पक्षमा उनको जोड थियो। तर, पार्टी जेलमा रहेका लामिछाने वरिपरी घुमिरह्यो।

६. भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि रास्वपाका २१ जना सांसदले राजीनामा दिए । उनी यसको विपक्षमा थिए । उनी संविधान अनुसार पार्टी अगाडि बढ्नुपर्ने पक्षमा थिए । केही दिन संसद् चलाएर निकास खोज्नुपर्ने उनको मत थियो ।

७. पार्टीमा उनले संसद् विघटनको पक्षमा जान नहुने अडान राखे । यही संविधान र लोकतन्त्र मानेपछि यसैबाट समाधान खोज्नुपर्ने उनको अडान थियो । संसद् विघटनपछि सभामुखले पार्टीका प्रमुख सचेतकलाई संवादमा बोलाए । सन्तोष त्यहाँ जाने तयारीमा थिए । तर पार्टी कार्यवाहक सभापति अर्याल लगायतले उनलाई संसद् पुनर्स्थापनाको पक्षमा नखुल्न दबाब दिँदै सभामुखको बैठकमा जान दिएनन् । उनी बैठकमा हिँड्ने तयार हुँदा पार्टीले निर्देशन दिएरै रोकेको थियो ।

८. सन्तोष पार्टीले पपुलिष्ट धार समातेको कुरामा असन्तुष्ट थिए । सिद्धान्तनिष्ट कार्यकर्ताभन्दा पार्टी भिडमा बढेकोमा उनी खुसी थिएनन् । जेन-जी आन्दोलनपछिको घटनाक्रममा उनी र पार्टी नेतृत्वको दूरी बढेको थियो ।

९. रास्वपाले कात्तिक २१, २२ गते चितवनमा विस्तारित बैठक राख्यो । त्यहाँ सन्तोष पनि गए । तर राजनीतिक प्रतिवेदनमा फरक विचार राख्ने नेताहरूलाई अपमान गरिएको भन्दै चित्त दुखाए । बैठकमा उनले वाम विचारधारमा पार्टी अघि बढाउनुपर्ने कुरा नेताहरूसँग राखे । त्यो कुरा नेतृत्वसमै पुग्यो ।

१०. सन्तोषले रास्वपा छाड्ने अनुमान कसैले गरेका थिएनन् । तर, आफूले उठाएका मुद्दा र मागभन्दा सुनुवाइ नहुने भएपछि उनले पार्टी छाडेको नेताहरू बताउँछन् । कार्यवाहक सभापति अर्यालसहित उपसभापति डा. स्वर्णिम वाग्लेसँग पनि उनको मतभेद बढेको थियो ।

११. उनको जन्मस्थान तथा बसोबास क्षेत्र भक्तपुरमा रास्वपा कमजोर थियो । उनले त्यहाँ रास्वपाबाट निर्वाचन जित्ने सम्भावना नदेखेपछि पार्टी छाडेको नेताहरू बताउँछन् । अर्कातिर फेरि पनि समानुपातिक सांसदमा दोहोरिने इच्छा देखाएका उनी पार्टीको नीतिको कारण बाहिरिएको टिप्पणी पनि हुने गरेको छ ।

रास्वपाले समानुपातिकमा सांसदहरूलाई एक पटक भन्दा नदोहोर्‍याउने नीति लिएको छ । आफ्नो क्षेत्रमा प्रत्यक्षबाट चुनाव जित्न नसक्ने अर्कातिर समानुपातिकमा पनि दोहोरिन नपाउने समस्याका कारण उनले रास्वपा छाडेको टिप्पणी रास्वपाभित्रै हुने गरेको छ। रास्वा छाडेका उनी अहिले माओवादी केन्द्र छाडेका नेता जनार्दन शर्मा नेतृत्वको प्रगतिशील अभियानसँग सहकार्यमा जोडिएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ६ : ०७ बजे

रावा बैङ्कको ‘विजनेस मिट’ सम्पन्न

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्जा लगानी तथा निक्षेप संकलनमा

‘नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ’ 

वीरगञ्ज– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतमले नारायणी अस्पतालको

महिनावारीबारे खुल्दै किशोरी, सङ्कोच मान्ने चलन हराउँदै

काठमाडौं- किशोरावस्थामा पुगेपछि महिलाहरुमा महिनावारी चक्र सुरु हुनु भनेको प्राकृतिक

जिल्ला प्रशासनमा जेन-जी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र

काठमाडौं– गृह मन्त्रालयले जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका मध्ये ४५

मुस्ताङको थासाङमा भालुको जोखिम

मुस्ताङ– थासाङ गाउँपालिका-५ स्थित कुञ्जो, ताक्लुङ, छयो, झिप्रा देउरालीलगायतका स्थानमा