पर्यटक भित्र्याउन तीन सय वर्ष पुरानो मौलिक शहरको प्रवर्द्धन | Khabarhub Khabarhub

पर्यटक भित्र्याउन तीन सय वर्ष पुरानो मौलिक शहरको प्रवर्द्धन


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

बागलुङ– अहिलेको बागलुङ बजार दुई सय ८४ वर्षभन्दा पुरानो हो । पुरानो बजारमा अहिले पनि एक सय वर्षभन्दा पहिले बनाइएका कलात्मक घर अहिले पनि उस्तै छन् । यहाँको नारायण चोक सांस्कृतिक विविधताले धनी छ । अहिले त्यही नारायणचोक क्षेत्रलाई मौलिक शहरको रुपमा विकास गरी पर्यटक चिनाउने अभियान थालिएको छ ।

बागलुङ नगरपालिका– ३ स्थित नारायणचोक आसपासका घर परम्परागत शैलीमा निर्माण भएका छन् । पर्यटकीय शहरका हिसाबले अझै महत्वपूर्ण मानिएको पुरानो शहरलाई स्थानीय र वडा कार्यालय मिलेर पर्यटन भित्र्याउने गरी मौलिक शहरको रुपमा विकास गर्न थालिएको छ ।

नारायणचोकसँगै देउराली चोक, किराना टोल, नौबीसे टोल र कम्पुटोल बागलुङ बजारको पुरानो शहरमा पर्दछ । सय वर्ष पुरानो बागलुङ बजारको नारायणचोकमा रहेको भक्तिलाल चौपारी अहिले धपक्क बलेको छ । चौपारीलाई बाँस र खरले छाइएको छ भने बत्तीले झिलीमिली पारिएको छ ।

बागलुङ नगरपालिका– ३ वडा कार्यालय र स्थानीयको पहलमा गुमनाम बन्दै आएको बागलुङको पुरानो शहर संरक्षण गर्दै मौलिकता झल्कनेगरी सजाउन थालिएको छ ।

बढ्दो शहरीकरणको चापमा पुरानो शहर ओझेलमा पर्न थालेपछि स्थानीयले शहरको प्रचारप्रसारका लागि प्रवेशद्वार निर्माण, भक्तिलाल चौपारी पुनर्निर्माण, सजावट, सांस्कृतिक कार्यक्रम गर्ने र पर्यटकलाई स्थानीय खानाका परिकार चखाउन थालिएको हो ।

मौलिक शहरको रुपमा विकास गर्न भक्तिलाल चौपारीलाई सजाइएको छ भने पाँच वटा टोलको प्रवेशद्वारमा बाँसमाथि खरले छाएका प्रवेशद्वार बनाइएको छ ।

बढ्दो शहरीकरणका कारण मासिँदै गएको मौलिक शहरलाई जीवितै राख्नका लागि प्रचारप्रसारमा जुटेको बागलुङ नगरपालिका– ३ का वडा अध्यक्ष सनी केसीले बताइन् ।

नेवारी बस्तीलाई मौलिक शहरको रुपमा स्थानीयको सक्रियतामा विकास गर्न थालिएको केसीको भनाइ छ ।

मुख्यतया नारायणचोक र देउराली चोकमा पर्यटक भित्र्याउनका लागि सडकमा ढुङ्गा छाप्ने र बन्दीपुरको झल्को दिनेगरी फूल लगाउने काम थालिएको हो । वडाको अभियानलाई स्थानीय नेवार समुदाय र अन्य समुदायले साथ दिनथालेका छन् । अहिले शुक्रबार र शनिबार साँझमा सांस्कृतिक कार्यक्रम गर्न थालिएको छ । जसमा नेवारी र मगर संस्कृति देखाउनसमेत थालिसकेको छ ।

विसं २०११ सालमा बीपी कोइरालाले समेत भक्तिलाल चौपारीमा उभिएर भाषण गरेको, नेवारी संस्कृति हनुमान नाँच र भदौरे नाँच यही चौपारीबाट निकालिँदै आएको र दसैँमा मालाश्री गाउने चौपारीलाई अहिले सिँगारिएको किसानरा टोलका स्थानीय मुकेशचन्द्र राजभण्डारीले जानकारी दिए ।

भक्तिलाल चौपारी संस्कृति र राजनीतिको उद्गम थलको रुपमा रहेको राजभण्डारीको भनाइ छ । ‘मौलिक घर नै हाम्रा सम्पत्ति हुन् बन्दीपुरमा जस्तो पर्यटक भित्र्याउन नारायणचोकले सक्दछ, यहाँको नयाँ र पुरानो समुदायले पहिचान अनुसारको खानाका परिकार र आतिथ्यता दिनथालेका छन्’ राजभण्डारीले भने, ‘खासगरी नेवारी र मगर संस्कृति प्रदर्शन र परिकारले स्थानीय पर्यटक तान्नेछ भने यहाँको नारायणचोक र देउराली चोकको प्रचारप्रसार हुँनेछ ।’

सजाइएको पुरानो शहरले व्यापार बढाउने अपेक्षा गरेको स्थानीय रन्जितप्रसाद मलेपतीले बताए । एक सय वर्षभन्दा पुरानो घरमा अझै डोको, नाम्लो, माछा मार्ने जालजस्ता सामग्री बिक्री गर्दै आएका मलेपतीले पुरानो बजारलाई पर्यटनसामु चिनाउन आवश्यक रहेको बताए । आधुनिकतासँगै मौलिकतासमेतको समेत महत्व बढेर आएको उनको भनाइ छ ।

उनले यही पुरानोबजारबाट नयाँ बजार विस्तार भएको बताउदै पुरानो बजारलाई मौलिक शहरको रुपमा विकास गर्न स्थानीय लागेको बताए ।

नारायणचोकमा दरबारको झल्कोदिनेगरी १९९५ सालमा ओम प्रसाद गौचनले निर्माण गरेको ५२ झ्याले घर समेत संरक्षण गरी राखिएको छ । यहाँको पुरानो बस्ती अध्ययन अवलोकनका लागि महत्वपूर्ण मानिँदै आइएको छ । यहाँको तीन सय वर्ष पुरानो हनुमान नाँच, लाखे नाँच, रोपाई नाँचलगायतका नाँचहरुले समय–समयमा प्रदर्शन गरिँदै आइएको छ । 

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ७ : २५ बजे

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको

रुपन्देही उपनिर्वाचनको लागि राप्रपाबाट छ जनाको नाम सिफारिस

रुपन्देही – रुपन्देही क्षेत्र नं ३ मा आगामी कात्तिक १७

अन्तिम मिनेटमा सम्हालिन नसक्दा बंगलादेशसँग नेपाल पराजित

काठमाडौं – साफ यू –२० महिला च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा

सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

काठमाडौं – सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना