एमआरआई मेसिनको धन्दामा किन फस्छ हरेक नेतृत्व ? | Khabarhub Khabarhub

वीपी प्रतिष्ठानको दुःख

एमआरआई मेसिनको धन्दामा किन फस्छ हरेक नेतृत्व ?

३१ वर्षदेखि निदान नभएको अस्पतालको रोग



सुनसरी – निजी लगानीमा सञ्चालित अधिकांश मेडिकल कलेज र अस्पतालहरूमा अत्याधुनिक मानिएको थ्री टेस्लाको एमआरआई (म्याग्नेटिक रिजोरेन्स इमेजिङ) मेसिन जडान भएको छैन भने त्यो मेडिकल कलेज वा अस्पतालको प्रतिष्ठा बढ्न बाँकी रहेको मानिन्छ । त्यसैले करोडौं रुपैयाँ लगानी गरेर भए पनि अस्पतालहरूमा एमआरआई मेसिन जडान गर्ने क्रम बढेको छ ।

एक्सरे, डिजिटिल एक्सरे, अल्ट्रासाउण्ड र सिटी स्क्यानले देख्न नसकेको रोगको जड एमआरआई मेसिनले पत्ता लगाउँछ । दैनिक ५०० बिरामी पनि नपुग्ने स्वास्थ्य संस्थाहरूमा पनि एमआरआई मेसिन जडान हुन थालेका छन् । यसले बिरामीलाई त सुविधा हुने नै भयो, मेडिकल कलेज र अस्पतालको आर्थिक स्वास्थ्यमा एमआरआई मेसिनको ठूलो हात हुने गरेको छ ।

यसो भनिरहँदा मुलुककै सबैभन्दा व्यस्त र ठूलो मानिएको धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने एमआरआई मेसिन जडान नहुनु र हुन नसक्नु आफैँमा विडम्बना भएको छ । जहाँ दैनिक ३५ सयदेखि चार हजार बिरामी ओपिडी (बहिरङ्ग) सेवामार्फत उपचारका लागि पुग्ने गरेका छन् । तीमध्ये दैनिक ४० देखि ६० जनाको एमआरआई गर्नुपर्ने हुन्छ ।

प्रतिष्ठानमा एमआरआई नहुनु भनेको त्यहाँबाट दैनिक ४० देखि ६० बिरामी अन्यत्र पठाउनु हो । एमआरआईका लागि अन्यत्र रिफर गर्नु भनेको सरदर वार्षिक १८ करोड रुपैयाँभन्दा बढी रकम बढी निजी अस्पताललाई लाभ गराउनु हो । वीपी प्रतिष्ठानमा एमआरआई नहुँदा बिरामीले सास्ती त खेपेकै छन्, चिकित्साशास्त्र अन्तर्गत रेडियोलोजी पढ्ने विद्यार्थीको सिकाइ पनि प्रभावित भएको छ ।

उपचारका लागि ओपिडी सेवादेखि स्वास्थ्य शैक्षिक कार्यक्रम र स्वास्थ्य अनुसन्धानहरूमा वीपी प्रतिष्ठान अब्बल ठहरिए पनि आठ वर्षयता एमआरआईविहीन हुँदा उपचार गर्न आएकामध्ये कतिपय जटिल बिरामी वा घाइते अन्यत्र रिफर गर्न बाध्य भएको छ ।

एमआरआई र वीपी प्रतिष्ठानको सम्बन्ध

१९ वर्षअघि सङ्घीय राजधानी रहेको काठमाडौं उपत्यका बाहिर पहिलोपटक एमआरआई मेसिन जडान भएको एकमात्र स्वास्थ्य शैक्षिक संस्था वीपी प्रतिष्ठान मात्र थियो ।

त्यसबेला ०.३५ टेस्लाको एमआरआई मेसिन जडान गरेर आधुनिक प्रविधि धरानमा भित्र्याएको वीपी प्रतिष्ठान तब विस्तारित र व्यस्तमात्र भएन; ट्रमा सेन्टर, टर्सरी सेन्टर, अंकोलोजी (क्यान्सर), कार्डियोलोजी (मुटु) र पीएचडी, फेलोशीप र डीएम÷एमसीएचजस्ता उच्च र विशिष्ट विशेषज्ञ सेवा दिने अवस्थामा पुगेको बेला एमआरआई मेसिन जडान नहुनु संस्थाको प्रतिष्ठामाथि नै व्यंग्य भएको छ ।

रेडियोलोजी विभागका एक अग्रज रेडियोलोजिस्टले खबरहबसँग भने, ‘विदेशमा हुने स्वास्थ्यसम्बन्धी सम्मेलनमा सहभागिता जनाउँदा कसैले सोधेमा एमबीबीएसदेखि डीएमएमसीएचसम्म चिकित्सा विज्ञान अध्ययन अध्यापन हुने नेपालकै ठूलो स्वास्थ्य शैक्षिक संस्थामा एमआरआई छैन भन्नुपर्ला भनेर नाकमुख देखाउन पनि लाज लाग्छ ।’

उपत्यका बाहिरको अस्पतालमा सबैभन्दा पहिले एमआरआई मेसिन वीपी प्रतिष्ठानले जडान गरेको इतिहास भन्नलाई मात्र बाँकी रहेको उनले बताए ।

सन २००६ मा गैरसरकारी संस्था कादुरी फाउण्डेशनले वीपी प्रतिष्ठानलाई सन २००२ को मोडेलको ०.३५ टेस्लाको एमआरआई मेसिन अनुदानको रूपमा दिएको थियो ।

जर्मनीको सिमेन्स कम्पनीले उत्पादन गरेको उक्त मेसिन करिव १२ वर्ष चलेपछि सन २०१७ मा बिग्रियो । उक्त मेसिन बिग्रेपछि प्रतिष्ठानले मर्मत गरेर चलाउनका लागि निर्माता कम्पनी सिमेन्ससँग पत्राचार गरेको थियो ।

तर, कम्पनीले पुरानो मोडेलको भएको र उक्त मेसिनको पार्टपूर्जा उत्पादन गर्न बन्द गरिसकेको जानकारी दिएपछि वीपी प्रतिष्ठानले नयाँ मेसिन ल्याउने प्रक्रिया चलाएको थियो ।

तात्कालीन उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दासको पालामा असफल प्रयास भएको थियो । १.५ टेस्लाको एमआरआई खरिद प्रक्रिया सुरु नगर्दै त्यसबेला रेडियोलोजी विभागका प्रमुख रहेका प्रा.डा. राजकुमार रौनियारले ३ टेस्लाको जमानामा १.५ टेस्ला काम नलाग्ने भन्दै विवाद झिके ।

विवादसँगै एमआरआई मेसिन खरिद गर्ने सपना तुहियो । रौनियार उपकुलपति बनेर आएपछि एमआरआई खरिद प्रक्रिया फेरि सुरु भयो ।

३ टेस्लाकै एमआरआई मेसिन ल्याउन माग गर्ने रौनियार उपकुलपति बनेपछि १.५ टेस्लाकै टेण्डर आह्वान भएर स्वीकृत भयो । हस्पीटेक इन्टरप्राइजेजसँग सम्झौता भयो । समयमै आपूर्ति नगरेको भनेर उक्त स्वीकृति र सम्झौदा रद्द गरियो । टेण्डर खोल्ने, स्वीकृत गर्ने र सम्झौता गर्ने तात्कालीन उपकुलपति प्रा.डा. रौनियारको निधन भइसकेको छ ।

रौनियारपछि वीपी प्रतिष्ठानमा अर्का उपकुलपति आए – डा ज्ञानेन्द्र गिरी ! नेपाल सरकारले अनुदान दिएको १५ करोड रुपैयाँ र प्रतिष्ठानको आन्तरिक स्रोत १० करोड रुपैयाँ गरी २५ करोड लागतको ३ टेस्लाको एमआरआई खरिद गर्न ०७८ जेठ २८ गते टेण्डर फर्मका लागि विज्ञापन गरिएको थियो ।

करिब ३० करोड लागतको ३ टेस्लाको एमआरआई खरिद गर्न प्रतिष्ठान आफैँले नसक्ने र सरकारले दिएको १५ करोड अपुग भएकाले थप पाँच करोड रुपैयाँ नपुग्ने देखिएपछि स्वास्थ्य मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा बजेट निकासाका लागि प्रयास भएको थियो ।

केही महिनाअघि प्रतिष्ठानको ३१ औं वार्षिकोत्सव र १३ औं दीक्षान्त समारोहमा आएका बेला स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका सहकुलपति प्रदीप पौडेलले भनेका थिए, ‘एमआएरआई मेसिन खरिद गर्न दिएको रकम वीपी प्रतिष्ठानले तलबमा खर्च गरिसकेछ ।’

०७८ को आर्थिक वर्षमा प्रतिष्ठानमा एमआरआई खरिदका लागि सरकारले विनियोजित गरेर १५ करोड रुपैयाँ पठाएको थियो ।

रेडियोलोजी विभागले कादुरीले दिएको एमआरआई मेसिन पुरानो भएको र गुणस्तरीय इमेज दिन नसकेपछि नौ वर्ष अघिदेखि ३ टेस्लाको एमआरआई मेसिन माग गर्दैै आएको छ ।

रेडियोलोजी विभागले आवश्यकता अनुसार प्रतिष्ठानका बायोमेडिकल इन्जिनियरको सल्लाहअनुसार ‘वर्ल्ड क्लास’को नेदरल्याण्डको फिलिप्स कम्पनीको एलिसियन एक्स, जर्मनीको सिमेन्स कम्पनीको म्याग्नेटम भिडा र अमेरिकाको जिई कम्पनीको सिग्मा आर्किटेक्टका ३ टेस्ला एमआरआई मेसिन लक्षित गरेर स्पेसिफिकेशन तयार गरेर पदाधिकारीलाई पटकपटक नबुझाएको होइन ।

एमआरआई खरिद प्रकृयाका लागि तयार पारिएको उक्त स्पेशिफिकेशनअनुसार पिक एम्लीच्युट ४४ र स्लीउ रेट २०० सय क्षमता रहेको थियो । तर कसैले पनि बोलपत्र दाखिला गरेनन् ।

वीपी प्रतिष्ठानका एक प्राविधिकले भने, ‘टेण्डर भएपनि कुनै पनि कम्पनीले बोलपत्र दाखिला नगरेपछि बजेट व्यबस्थापनका लागि फेरि स्वास्थ्य र अर्थमन्त्रालयमा अनुरोध गरिएको थियो । ३ टेस्लाको एमआरआई खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको थियो । यसैबीच उपकुपति डा. गिरीमाथि नपाएको प्राध्यापक पद आफैँ भिरेको मुद्दा लाग्यो । प्रतिष्ठानमा ३ टेस्लाको एमआरआई जडान गर्ने सपना जस्ताको तस्तै रह्यो ।’

डा. गिरीमाथि लागेको मुद्दा उनकै पक्षमा फैसला भएर पुन उपकुलपतिमा पदासिन भए । उनले गत कात्तिक २६ मा सम्पन्न दीक्षान्त समारोहमा भने, ‘३ टेस्लाको एमआरआई मेसिन खरिदका लागि पूर्ण बजेटको सुनिश्चितता नभएको कारण हाल सो का लागि समेत पहल भई पुनः टेण्डरको प्रक्रिया रहेको र प्रतिष्ठानले बैंक ऋण लिएर वा पब्लिक प्राइभेट पार्टनरशीप (पीपीपी) मोडेलमा भए पनि १.५ टेस्ला हाइण्ड एमआरआई मेसिन जडान गर्ने भनी प्रक्रिया अगाडि बढाइएको छ ।’

पछिल्लो समयमा १.५ टेस्लाको एमआरआई खरिद गर्ने प्रक्रिया पनि तुहिएको रेडियोलोजी विभागका एक चिकित्सकले बताए । उनले भने, ‘वीपी प्रतिष्ठानमा एमआरआई खरिद भएर जडान हुने सपना नदेखे पनि हुन्छ ।’ वीपी प्रतिष्ठानका रजिष्ट्रार सूर्य सङ्ग्रौलाले भने एमआरआई खरिद गर्ने भन्ने बारे आफूलाई केही जानकारी नभएको बताए ।

उनले भने, ‘मलाई यस विषयमा केही थाहा छैन । यसबारेमा मसँग सरसल्लाह गरिएको पनि छैन । आर्थिक सवै उहाँ (उपकुलपति)ले हेर्नुहुन्छ ।’

आर्थिक अनियमितता, भ्रष्टाचार, कमिसनको खेल हुन्छ भने स्वास्थ्य मन्त्रालय आफैंले खरिद गरेर वीपी प्रतिष्ठानलाई आधुनिक प्रविधियुक्त एमआरआई मेसिन उपलब्ध गरिदिए उत्तम हुने वीपी प्रतिष्ठानकै अधिकांश अग्रज चिकित्सकहरूले बताउँदै आएका छन् ।

एमआरआई मेसिन बिनाको वीपी प्रतिष्ठान कल्पना गर्न नसकिने भएपनि आर्थिक अभाव झेलिरहेको प्रतिष्ठान आफैंले खरिद गर्न सक्ने अवस्था छैन ।

दुई महिनादेखि चिकित्सक, शिक्षक, नर्स र कर्मचारीलाई तलब खुवाउन समेत नसकिरहेको अवस्थामा ३० औं करोड पर्ने एमआरआई खरिद गर्ने कुरै भएन । मेडिकल उपकरण खरिद गर्दा भ्रष्टाचार हुन्छ भन्ने लाग्छ भने स्वास्थ्य मन्त्रालय मातहत सिधै खरिद गरेर दिए कम्तिमा उपचार सेवा सहज सुलभ र सस्तोमा हुने चिकित्सकहरूले बताउँदै आएका छन् ।

तर, सरकारले भने प्रतिष्ठानलाई सौतेनी आमाको सन्तान झैं पाखा पारेको गुनासो उनीहरूले गरे ।

अल्ट्रासाउण्ड र एक्सरे मेसिनले थेग्दैन बिरामीको चाप

वीपी प्रतिष्ठानको रेडियोलोजी विभागमा दैनिक ५५० भन्दा बढी एक्सरे हुन्छ । २०० बढीको अल्ट्रासाउण्ड हुन्छ । तर, बिरामीको चापअनुसार प्रतिष्ठानमा मेडिकल उपकरणको अभाव छ ।

एमआरआई त छैन नै, उपकरण पनि सीमित छन् । रेडियोलोजी विभागअनुसार हाल तीन थान पुराना एक्सरे मेसिनले धानिरहेको छ ।

रेडियोलोजी विभागले कम्तिमा थप तीनवटा एक्सरे मेसिन माग गरेको वर्षौ भएको छ । भएका एक्सरे मेसिन १५ वर्ष पुराना भएकाले गुणस्तर सेवाका लागि आधुनिक डिजिटल प्रविधियुक्त एक्सरे मेसिन तथा फिल्म प्रिन्टर मेसिन माग गर्दैै आए पनि आर्थिक अभाव कारण खरिद गर्न सकेको छैन ।

विडम्बना के छ भने ०७२ सालमा सरकारले आधुनिक डिजिटल एक्सरे मेसिन दिएको थियो । तर उक्र मेसिन तीन वर्षपछि काम नलाग्ने भएर मर्मत गरेर संचालन गर्न तिर कसैले ध्यान दिएनन् ।

उक्त मेसिन मर्मत भएको खण्डमा त्यसैले मात्र दैनिक डेढ सयदेखि दुईसय एक्सरे गर्न सकिने क्षमताको छ । उक्त मेसिन मर्मतमा लाखौं लाग्ने भएपछि प्रतिष्ठानले मर्मत गर्न ध्यान नदिएको हो ।

सात वर्षदेखि बिग्रेको उक्त डिजिटल एक्सरे मेसिन वीपी प्रतिष्ठानको रेडियोलोजी विभागमा थन्क्याएर राखिएको छ । एक्सरे मेसिन मात्र अभाव नभएर अल्ट्रासाउण्ड मेसिन समेत अभाव छ ।

दैनिक अढाई सय बढीको अल्ट्रासाउण्ड हुने वीपी प्रतिष्ठानमा हाल ३ वटा मात्र अल्ट्रासाउण्ड मेसिन छन् । ती मध्ये एउटा इमर्जेन्सी विभागका लागि, एउटा वीपी भित्रकै वार्डमा भर्ना भएका बिरामीका लागि हो ।

ओपिडीबाट आउने जनरल बिरामीका लागि एउटा अल्ट्रासाउण्ड मेसिनले थेग्न नसक्दा १ महिना बढीको ‘डेट’ दिनुपर्ने बाध्यता रहेको रेडियोलोजी विभागले जनाएको छ । आर्टरीबाट बग्ने रगतबारे जाँच डोप्लर गर्दा अल्ट्रासाउण्डमा दुई घण्टासम्म लाग्छ ।

बिरामीको चाप थेग्न वीपी प्रतिष्ठानमा दुईवटा एमआरआई मेसिन, दुईवटा सिटिस्क्यान, दुईवटा इको, दुईवटा इआरसीपी, ६ वटा एक्सरे, दुईवटा क्याथलाव, दुईवटा कार्डियाक सर्जरी बाइपास मेसिन, डेण्टलमा दुईवटा आवश्यक रहेको विभागको भनाई छ ।

जनशक्ति पनि रेडियोलोजीमा अभाव छ । २५ जना रेडियोलोजिस्टको दरबन्दी रहेको वीपी प्रतिष्ठानमा हाल ८ जना विभागीय र ४ जना सिनियर रेजिडेन्ट मात्र छन् । ती विभागले बिरामी पनि हेर्नुपर्ने, चिकित्साशास्त्रका विद्यार्थीहरूलाई पढाउनुपर्ने र स्वास्थ्य अनुसन्धान पनि गर्नुपर्ने भएकाले भ्याइनभ्याइ काम गर्न बाध्य भएका छन् । सीमित जनशक्तिले इमर्जेन्सीमा २४ सै घण्टा र जनरलमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म खट्नुपर्ने अवस्था रहेको छ ।

मेडिकल उपकरण अभाव

जनशक्ति अभाव हुँदाहुँदै पनि कतिपय विषय विशेषज्ञ चिकित्सकका लागि भने वीपी प्रतिष्ठानमा मेडिकल उपकरण नै छैन ।

रेडियोलोजी विभाग अन्तर्गत नै रहेका एसोसिएट प्रोफेसर डा. निशान्त मिश्रले भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) दिल्लीबाट न्यूरो इमेजिङ एण्ड इन्टरभेन्सनल न्यूरो रेडियोलोजीमा डिएम (डक्टरेट अफ मेडिसिन) गरेर तीन वर्षअघि वीपी प्रतिष्ठानमा आए । उनले पढेको, जानेको र गर्नुपर्ने काम भनेको मस्तिष्कमा देखिएका समस्यामा औषधीले नभएपछि विना शल्यक्रिया मष्तिस्कको नसामा जमेको रगत निकालेर फाल्ने ।

मस्तिष्क पक्षघात, रगत जम्ने वा अरू समस्याले हुने मस्तिष्कको नसाको उपचार गर्ने विद्या तीन वर्ष सिकेर त आए तर त्यसको लागि चाहिने मेडिकल उपकरण नै वीपी प्रतिष्ठानमा नभएपछि सामान्य एक्सरे र अल्ट्रासाउण्ड गरेर दिन बिताइरहेका छन् ।

खवरहबले डा. मिश्रलाई भेटेर एम्समा तीन वर्षअघि सिकेर आएको न्यूरो इन्टरभेन्सनल ज्ञानको अवस्था के छ ? भन्ने जिज्ञासा राख्दा उनको उत्तर छ, ‘त्यो सीप नबिर्सने प्रयासमा छु ।’ उनकाअनुसार मस्तिष्कमा भएको रगतको नशामा हुने समस्याको उपचार गर्न क्याथल्याव वीथ वीप्लान डिएसए (डिजिटल सव्ट्राक्सन एन्जिओग्राफी) आवश्यक छ । उक्त उपकरणको मूल्य करिव एक करोड रुपैयाँ पर्छ ।

उनी जस्तै अर्का चिकित्सक छन् डा. करुण देवकोटा । उनी पनि वीपी प्रतिष्ठानका फ्याकल्टी हुन् । भारतको इन्दिरा गान्धी मेडिकल कलेजबाट इन्टरभेन्सनल रेडियोलोजीमा फेलोशिप सकेर आए । तर, मेडिकल उपकरण नभएपछि बैरागिएका छन् ।

आर्टरी भेनबाट पाइप छिराएर कुनै पनि रोगको पहिचान र उपचार गर्ने प्रविधि सिकेर आए पनि क्याथल्यावसहितको डिएसए उपकरण नभएपछि रेडियोलोजीमा सामान्य रिपोर्ट बनाउँदै बसेका छन् ।

हुन त वीपी प्रतिष्ठानमा एक थान क्याथल्याव छ । तर यो क्याथल्याव विषेशगरी मुटु रोगको पहिचान र उपचारका लागि छुट्याइएको छ । सो क्याथल्यावले मुटु रोगीको उपचार गर्न नै भ्याइ नभ्याइ हुन्छ ।

डा. मिश्र र डा. देवकोटाले सिकेको आधुनिक चिकित्सकीय ज्ञानअनुसार सर्वसाधारण बिरामीको उपचारका लागि प्रतिष्ठानले छुट्टै मेडिकल उपकरण जडान गर्नुपर्ने हुन्छ । तर, आर्थिक अभावले आवश्यक मेडिकल उपकरण जडान गर्न नसक्दा प्रतिष्ठान आफैंलाई घाटा भइरहेको छ ।

पछिल्लो समयमा ७०० शय्याबाट ९१३ शैय्यामा विस्तार गरिएको प्रतिष्ठानमा ०७२ सालमा शिलान्यास भएको मातृ शिशु उपचार केन्द्र (एमसिएच) को ४०० शैयाको भवन निर्माण सम्पन्न भएको छ । तर, मेडिकल उपकरणसँगै जशक्ति अभावले उक्त भवन प्रयोगमा ल्याउन सकेको छैन । प्रतिष्ठानको दीक्षान्त समारोहमा मंसिरदेखि सञ्चालनमा ल्याउने बताइएको छ ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  १२ : ३३ बजे

प्रचण्डद्वारा ग्रामथानका ज्येष्ठ नागरिकलाई सम्मान

मोरङ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोरङको ग्रामथान

बहुलराष्ट्र राज्यको स्थापना गर्न सबै लागौं : राजेन्द्र महतो

लहान– बलिदानी दिवसको अवसरमा आज मधेश र देशको लागि ज्यानको

जनशक्तिको सुनिश्चितता भएपछिमात्र बजेट विनियोजन गर्न पाइने

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सा औजार उपकरण राख्ने स्थान

गाजामा आइतबार बिहान ८ः३० बजेबाट युद्धबिराम लागू हुने

गाजा– अन्ततः हमास र इजरायलका बिचमा युद्धबिराम भएको छ ।

यु-१९ महिला विश्वकप : नेपालले दियो बंगलादेशलाई ५३ रनको लक्ष्य

काठमाडौं– मलेसियामा जारी आइसिसी यु १९ महिला विश्वकपमा नेपालले झिनो