नेपाली र भारतीय पक्षले मंगलबार के कस्ता कदम चाले ? यी १३ बुँदामा बुझ्नुस् | Khabarhub Khabarhub

ओडिशामा नेपाली विद्यार्थीलाई ज्यादती

नेपाली र भारतीय पक्षले मंगलबार के कस्ता कदम चाले ? यी १३ बुँदामा बुझ्नुस्


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओडिसाको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि अन्य नेपाली विद्यार्थीमाथि भएको ज्यादतीबारे भारतीय पक्षले मंगलबार कारबाहीका विभिन्न ८ कदम चालेको छ।

त्यसैगरी नेपाली पक्षले पनि उक्त प्रकरणमा विभिन्न कोणबाट दोषीमाथि कारबाही चलाउन दबाब दिएको छ । मंगलबारको प्रतिनिधिसभामा सांसदहरूले उक्त प्रकरणलाई चर्कोसँग उठाए । शिक्षामन्त्रालयले त उचित कारबाही नगरिए ओडिसाका लागि विद्यार्थीको एनओसी रोक्ने चेतावनी दिएको छ । मंगलबार दिनभर विद्यार्थीका विभिन्न संगठनले नेपाल र भारत दुवैतिर प्रदर्शन गरे ।

एआईआईटीमा अध्ययनरत प्रकृतिको शव विश्वविद्यालयकै होस्टेलमा आइतबार शंकास्पद अवस्थामा भेटिएपछि त्यहीँ अध्ययनरत भारतीय युवा २१ वर्षीय अद्विक श्रीवास्तव पक्राउ परिसकेका छन् ।

श्रीवास्तविरुद्ध बीटेक (मेकानिकल) तेस्रो वर्षका विद्यार्थी २४ वर्षीय सिद्धान्त सिग्देलले कम्प्युटर तेस्रो वर्षमा अध्ययनरत बहिनी २० वर्षीया प्रकृतिको मृत्यु भएको खबर इन्फोसिटी प्रहरी थानामा आइतबार नै दिएका थिए ।

केआईआआईटी विश्वविद्यालयको बीटेक (मेकानिकल) तेस्रो वर्षमा अध्ययनरत अद्विक श्रीवास्तवले गरेको दुर्व्यवहारका कारण प्रकृतिले आत्महत्या गरेको उजुरी सिद्धान्तले गरेका थिए ।

उक्त प्रकरणको छानबिन मागसहित आन्दोलित नेपाली विद्यार्थीलाई केआईआईटी प्रशासनले बाहिरका युवा र सुरक्षागार्ड लगाएर कुटपिट र दुर्व्यवहारसहित निष्कासन गरेको थियो ।

उक्त विश्वविद्यालयमा अध्ययनरतमध्ये यस प्रकरणमा आन्दोलन गरेको भन्दै करिब ७ सय नेपाली विद्यार्थीको बिचल्ली हुने गरी उनीहरूलाई विभिन्न रेल स्टेशनमा लगेर बेवारिसे छाडिएको थियो ।

तर, यस प्रकरणलाई लिएर नेपाल र भारतमासमेत जनदबाब बढ्दै गएपछि केआईआईटी विश्वविद्यालय प्रशासन संकटमा पर्‍यो ।

त्यसपछि ओडिसा राज्य सरकारले समेत हस्तक्षेप गरेर उक्त प्रकरणमा उच्चस्तरीय छानबिन समितिसमेत बनाइसकेको छ ।

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र यससँग सम्बन्धित घटनाक्रमबारे मंगलबार साँझ काठमाडौंस्थित भारतीय दूतावासले ओडिशा सरकारका अधिकारी र कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआडईटी) सँग पनि समस्या समाधानका लागि पहल गरिरहेको जनाएको छ।

यी १३ पहल

१) केआईआईटी प्रकरणमा नेपाली विद्यार्थीमाथिको ज्यादतीले भारत र नेपाल तताएपछि काठमाडौंस्थित राजदूतावासले सिधै ओडिशा राज्य सरकारसँग संवाद भइरहेको जनाएको छ । केआईआईटी प्रशासनसँग पनि यसबारेमा यथाशीघ्र समाधानका लागि कदम चाल्न भनिएको दूतावासले जनाएको छ ।

२) ओडिशा राज्य सरकारले यस मामिलाको संज्ञान लिँदै यसमा संलग्न र गल्ती गर्ने अधिकारीविरुद्ध कारबाहीको कदम चालेको छ। आरोपित विद्यार्थीविरुद्ध फौजदारी मुद्दा दर्ता गरी उनलाई पक्राउ गरी न्यायिक हिरासतमा पठाइएको प्रहरी आयुक्तालय भुवनेश्वरले जानकारी दिएको छ ।

ओडिशा पुलिसले केआईआईटीका सुरक्षाकर्मीद्वारा विद्यार्थीमाथि गरेको दुर्व्यहारको पनि संज्ञान लिएर कारबाही थालेको छ । उनीहरूलाई पक्राउ गरी आपराधिक मुद्दा दर्ता गरिएको छ। ओडिशा पुलिसले घटनामा वस्तुनिष्ठ, निष्पक्ष र न्यायपूर्ण अनुसन्धान गर्ने आश्वासन दिएको छ ।

३) ओडिशा राज्य सरकारले केआईआईटीलाई निगरानीमा राखिएको जनाएको छ । अतिरिक्त मुख्य सचिव गृह विभागको नेतृत्वमा उच्चस्तरीय तथ्य खोज समिति गठन गरिएको छ । उच्चस्तरीय समितिको निष्कर्षका आधारमा उपयुक्त कानुनी र प्रशासनिक कारबाही गरिने भएको छ। विद्यार्थीहरूमाथि दुर्व्यवहारका रिपोर्टबारे पनि छानबिन भइरहेको छ । दोषीलाई कानुनबमोजिम जवाफदेही बनाइने ओडिशा राज्य सरकारले जनाएको छ ।

४) ओडिशा पुलिसले नेपाली विद्यार्थीका लागि २४ घण्टा र सातै दिन हेल्पलाइन नम्बर राखेको छ । +९१-८२८०३३३०१ नम्बरमा नेपाली विद्यार्थीहरूले सम्पर्क गरेर सहयोगको आवश्यकता परे उपयोग गर्ने सुविधा मिलाइएको ओडिशा राज्य सरकारले जनाएको छ ।

ओडिशा सरकारले नेपालीसहित सबै विद्यार्थीहरूको सुरक्षा, मर्यादा र सम्मान सुनिश्चित गर्न आफ्नो प्रतिबद्धता व्यक्त गरेको छ । न्याय छिटो र निष्पक्ष रूपमा सुनिश्चित गर्न सबै आवश्यक कदमहरू चाल्ने राज्य सरकारले जनाएको छ ।

५) केआईआईटीले दुईजना सुरक्षा कर्मचारीको सेवा पनि खारेज गरेको छ । दुई वरिष्ठ होस्टल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ अधिकारीलाई सोधपुछका लागि निलम्बन गरेको जनाएको छ ।

६) केआईआईटीका उपकुलपतिले आफ्ना कर्मचारीहरूको टिप्पणी र दुर्व्यवहारका लागि खेद प्रकट गर्दै सार्वजनिक रुपमा माफी मागेका छन् । सबै नेपाली विद्यार्थीहरूलाई नियमित पठनपाठनमा सामेल हुन पनि उनले अपील गरेका छन् ।

७) केआईआईटीले ‘साइन डाइ’ आदेश फिर्ता लिएको छ । नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्केर आफ्ना कक्षा सुचारु गर्न अपील गरेको छ । नेपाली विद्यार्थीलाई फर्कन सहज बनाउन क्याम्पसमा २४ घण्टा र सातै दिन कन्ट्रोल रुम स्थापना गरेको छ ।

८) केआईआईटी घटनाबाट सिर्जित समस्याको न्यायपूर्ण र वैधानिकरूपमा समाधान नगरिए भविष्यका लागि ओडिसा राज्यका विश्वविद्यालय/शिक्षण संस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) प्रदान गर्ने कार्य स्थगित गर्न सकिने चेतावनी शिक्षा मन्त्रालयले दिएको छ ।

९) यस प्रकरणमा नेपाली विद्यार्थीमाथि कुटपिट र दुर्व्यवहार गर्ने केआईआईटी विश्वविद्यालयका सुरक्षा गार्डहरू ४५ वर्षीय रमाकान्त नायक, रवीन्द्र नायक, जोगेन्द्र बेहेरा र बेगु बहेरा पक्राउ परेका छन् ।

भुवनेश्वर प्रहरीले यसअघि नै केआईआईटीमा अध्ययनरत प्रकृतिको शव विश्वविद्यालयकै होस्टेलमा शंकास्पद अवस्थामा भेटिएपछि त्यहीँ अध्ययनरत भारतीय युवा २१ वर्षीय अद्विक श्रीवास्तव पक्राउ गरिसकेको छ । उनलाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

१०) केआईआईटी विश्वविद्यालय भुवनेश्वरमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि अन्य नेपाली विद्यार्थीमाथि मुख छाड्ने दुई महिला कर्माचारीले सामाजिक सञ्जालमा आएर माफी मागेका छन् । आफूलाई उक्त कलेजको प्राध्यापक बताउने मञ्जुशा पाण्डे अर्की महिलाले पनि फेसबुक पेज र ट्विटरमा भिडियो हाल्दै माफी मागेका हुन् ।

११) नेपाली विद्यार्थीहरूलाई दुर्व्यवहार प्रकरणमा केआईआईटी कलेज प्रशासनले पनि माफी मागेको छ । नेपाली विद्यार्थीलाई कलेजमा फिर्ता गराउन एउटा कन्ट्रोल रुम २४ सै घण्टा खुला राख्ने व्यवस्था पनि कलेजले गरेको छ। नेपाली विद्यार्थीहरूसँग आफ्ना कर्मचारीहरूले बोलेका केही कुरालाई लिएर कलेजले माफी मागेको हो ।

१२) ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि उत्पन्न जटिल परिस्थितबारे बुझ्न र अनुसन्धानका लागि नेपाल प्रहरीको टोली मंगलबार नै बिहान पुग्यो । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीको दुई जनाको टोली ओडिसातर्फ पठाइएको जानकारी दिइन् ।

१३) भारत सरकारले त्यहाँ रहेका नेपाली विद्यार्थीहरूको हित सुनिश्चित गर्न आवश्यक सबै कदमहरू चाल्ने भएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ८ : १७ बजे

स्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक ‍

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यपालिका

आजको कार्टुन- पढ्न भारत गएका विद्यार्थीलाई डरैडर

काठमाडौं-  हजारौँ नेपाली विद्यार्थीका लागि नजिकको शैक्षिक गन्तव्य हो छिमेकी

प्रकृति प्रकरणमा बोल्यो भारत- नेपाली विद्यार्थीको सुरक्षामा सबै कदम चाल्छौँ, दोषीलाई कारबाही हुन्छ

काठमाडौं- रुपन्देहीकी विद्यार्थी प्रकृति लम्सालको गत आइतबार ओडिसाको भुवनेश्वरस्थित केआईआईटी

नबिल बैंकको ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवर्द्धन’ कार्यशाला सम्पन्न

काठमाडौं– नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

‘महालेखापरीक्षकको प्रतिवेदन संसद्मा छलफल हुनुपर्छ’

काठमाडौं– सार्वजनिक निकायहरुको बेजुरु बर्सेनि बढ्न थालेपछि महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएका