०८४ को चुनावमा भ्रष्ट नेता फालौँ | Khabarhub Khabarhub

नागरिक आवाज

०८४ को चुनावमा भ्रष्ट नेता फालौँ

'अहिलेकै नेताराजको अनुमोदन गर्ने मिसन ८४ हामीलाई चाहिँदैन'



जुन समाजमा असमानता छ, शोषण छ, जसमाथि अन्याय भइराखेको छ, यस्तो अवस्थामा व्यक्ति र समुदाय सडकमा पुगेका बेला नागरिक आन्दोलन र नागरिकहरुले सधैं साथ दिँदै आएका छन् । त्यो अहिले पनि जारी छ । रोकिएको छैन । रोकिँदा पनि रोकिँदैन ।

यसबीचमा हामीले हेर्‍यौं । केही समय प्रतिक्षा पनि गर्‍यौं । एउटा चुनावको अवधि समाप्त भयो । अर्को चुनावको अवधि पनि दुई वर्ष पूरा भएको छ । एकप्रकारले आधा कार्यकाल बाँकी रहेको अवस्था छ । योबीचमा हामीले खोजेका कुराहरु के भइरहेका छन् त ? सर्वत्र गुनासो मात्रै सुनिन्छ ।

राजनीतिका केही यस्ता पक्ष हुन्छन्, जो सधैंभरि गुनासोमा हुन्छन् । राजनीति अचानो हो, अचानोमा हानिरहिन्छ । समाजका धेरै चाहना र विविधताहरु हुन्छन्, ती सबै एकैपटक पूरा नहोलान् । तर, त्यसो भन्दैमा नागरिकले आफ्नो कुरा भन्न छाड्दैनन् । जो, नेपालमा चलिराखेको छ ।

अर्को– संविधान बनाएर मात्रै पुग्दैन । संविधानअनुसारको व्यवहार पनि चाहिन्छ, जसले केही राजनीतिक व्यवस्थाहरुलाई संस्थागत गर्छ । यसलाई हामी अर्को अर्थमा राजनीतिक संस्कार भन्न सक्छौं । राजनीतिले संस्कृति पनि निर्माण गरिरहेको हुन्छ । प्रणाली एउटा बनाउने तर त्यो भन्दा फरक किसिमको व्यवहार गर्ने हो भनेदेखि त्यो प्रणाली चल्दैन ।

अहिले कतिपय मानिसहरुलाई यो प्रणाली चल्दैन कि भन्ने लाग्न थालेको छ । तर, हामीसँग विकल्प पनि के त ? यो चन्दैन भने अर्को विकल्प के हो त ? हामी संघर्ष गरौंला । हामी सडकमा जान्छौं । फेरि, ल्याउँदाखेरि त हामीले सबैलाई समेट्ने, सबै अटाउने लोकतन्त्र नै खोज्ने होला नि त ।

अहिले हाम्रो समस्या पार्टीहरुमा आयो । पार्टीभित्र धेरै ठूलो विकृति देखियो । पार्टी भनेको यो प्रणालीलाई परिचालन गर्ने पक्ष हो । पार्टी नै सबै कुरा होइन । पार्टीले सबै कुरा दिँदैन तर त्यसले एउटा बाटो निर्माण गर्दछ । त्यो बाटोको माध्यमबाट राजनीतिक प्रक्रिया अगाडि बढ्छ र हामीले खोजेका कुराहरु क्रमशः या कुनै न कुनै किसिमबाट प्राप्त हुन्छन् ।

अर्को एउटा पनि पक्ष हुन्छ, प्रणालीका माध्यमबाट, खासगरी चुनावका माध्यमबाट मतदाता, जनताले हस्तक्षेप गर्छन् । त्यो हस्तक्षेपले कहिलेकाहिँ नसोचेको परिणाम ल्याउँछ ।

अहिले सबै पार्टीहरुले मिसन ८४ भन्न थालेका छन् । यही हालतको मिसन ८४ हामीलाई चाहिँदैन । यही अनुत्तरदायी नेतृत्व, यही गलत नेतृत्व, यही भ्रष्ट नेतृत्वलाई अनुमोदन गर्नका लागि मिसन ८४ चाहिएको छैन । त्यसैले अब म भन्छु– आउने चुनावमा हाम्रो आफ्नो मिसन छ

उदाहरणका लागि भारतमा हेरौं । कसले सोचेको थियो १९७७ को चुनावमा भारतीय कंग्रेसले हार्छ भनेर ? इन्दिरा गान्धीले हार्छिन् भन्ने कसले सोचेको थियो ? तर, लोकतन्त्रको एउटा सुन्दरता नै के हो भने नागरिकले हस्तक्षेप गर्ने हो भने उसले सोचेको परिवर्तन आउन सक्छ । भारतको त्यो परिवर्तन हावामा आएको थिएन । इन्दिरा गान्धी त हारिन् । उनको पार्टी हार्‍यो । तर, त्यो विकल्पमा भारतीय जनता पार्टीका नामबाट जुन नागरिकहरुको संस्था निर्माण भएको थियो, त्यसका पछाडि केही न केही थियो । खाली इन्दिरा गान्धीको विरोधमा मात्रै आएको मत थिएन त्यो ।

त्यसर्थ, हामीले समाजमा केही न केही प्रयत्न गरि नै रहनुपर्दछ । विकल्प दिइरहनुपर्छ । आज विकल्प असाध्यै साँघुरिँदै गएको छ । यहाँ दुई–तीनवटा कुराहरु म तपाईहरुसँग राख्न चाहन्छु ।

हामीले किन ‘नेताराज’ को अन्त्य भनेका हौं ? हामीले यसमा धेरै विचार गर्‍यौं । दलतन्त्र, दलीयकरण, धेरै शब्दहरु हामीले अत्यधिक प्रयोग गरिरहेका हुन्छौं । यो पनि हाम्रो समस्या छ । दलतन्त्र छ । तर, हामीले दल भनेर दलको शासनकै अन्त्य खोजेको होइन । हामीले गतिलो दलतन्त्र खोजेको हो । दलतन्त्र त खाली एउटा माध्यम मात्रै हो । हामीले खोजेको लोकतन्त्र नै हो । तर, लोकतन्त्रलाई अभ्यास गर्ने माध्यम राजनीतिक दल हो । दल अपरिहार्य छ । दलविना त अहिलेको लोकतन्त्र चल्न सक्दैन । भनेपछि, यिनमा सुधार ल्याउन कहाँनेर हामीले हिट गर्नुपर्ने हो ? कहाँनेर हामीले हान्नुपर्ने हो ? कतिपय ठाउँमा क्रस कटिङ पनि हुन्छ । एक ठाउँमा हान्दाखेरि त्यसको प्रभाव धेरै ठाउँमा पर्छ ।

यो सन्दर्भमा छलफल गर्दै जाँदाखेरि हामीले धेरै समस्याहरु देखिराखेका छौं । हेर्नोस् त देशमा कत्रो ज्यादती छ ? कत्रो अन्याय छ ? अस्ति भर्खरै हामीले सञ्चार माध्यमबाट थाहा पायौं, एउटा दलित र गैर दलितले जोडी बाँध्न नपाउने ? राज्यले त्यहाँसम्म हस्तक्षेप गर्नुपर्ने ? विदेशमा गएर समेत गिरफ्तारी गर्नुपर्ने ? के हो यो ?

यस्ता अनगिन्ती समस्याहरु हरेक दिन आइराखेका छन् । यसको जड के हो भने अहिले जुन किसिमको दलको संरचनामा जुन किसिमको नेतृत्व निर्माण भएको छ, यो नै समस्याको जड हो । यसलाई भत्काउनुपर्छ । यसलाई परिवर्तन गर्नुपर्छ । यसलाई नफालेसम्म हुँदैन ।

मैले अघिल्लो चुनावमा भनेको थिएँ । नामै तोकेर भनेको थिएँ, यो चुनावमा यी–यी मानिसहरु हार्नुपर्छ भनेको थिएँ । तर, मैले भनेर मात्रै हुने कुरै भएन । मसँग त एक भोट मात्र छ ।

चुनावी लोकतन्त्रका लागि, कम्तीमा पनि चुनावका बेलामा तपाई–हामीले जुन मत दिन्छौं, त्यसको सम्मान हुने परिपाटी त बनाउनुपर्‍यो नि । मतको न्यूनतम सम्मान भनेको विद्यामान जुन अवस्थामा पार्टी चुनाव लड्न गएको छ, त्यसमा पार्टी हार्ने होइन, नेता हार्ने हो । तर, हामीकहाँ पार्टी हराउँछन्, नेता कहिल्यै हार्दैनन् ।

चुनावमा नेताले हार्ने भनेको मतदाताका बीचमा पार्टीको एजेण्डा विक्री गर्न सकेन । मतदाताले चित्त बुझाउन सकेनन् । त्यसैले पश्चिमा देशहरुमा एउटा संस्कार के निर्माण भयो भने चुनावी परिणाम आइसकेपछि हारेको नेताले नैतिक जिम्मेवारी लिन्छ र नेतृत्व छोड्छ ।

अस्ति भर्खरै बेलायतमा चुनाव भयो । ऋषि सुनकको पार्टी (कन्जरभेटिभ) हार्‍यो । उनले हार स्वीकारे र तत्कालै छाडे । तर, उनलाई अघिवेशनसम्म पर्खनोस् भनियो । अधिवेशनपछि अहिले नयाँ नेतृत्व आएको छ । महिला नेतृत्व आएकी छिन् । अब कन्जर्भेटिभ पार्टी पावरमा गयो भने शायद उनी अब प्रधानमन्त्री बन्ने होलिन् बेलायतकी ।

हामीकहाँ चाहिँ के भयो भने एउटा मान्छेले होल्ड गर्‍यो । उसकै वरिपरि ग्याङ बन्यो । पार्टीभित्र हामीले अलिकति आशा गरेका व्यक्तिहरु पनि भोलिको नेतृत्वको चाहनाका लागि सम्झौतामा जानेखालको वातावरण बन्न थाल्यो । यो डरलाग्दो अवस्था निर्माण भयो ।

पार्टी त छ तर पार्टीभित्र एउटा विशेष वर्ग निर्माण भयो । यसले गर्दाखेरि हाम्रा अपेक्षाहरु सम्वोधन हुन सकेनन् र समाजमा अन्याय/असमानताको अवस्था रहिरह्यो ।

यो नेताराजलाई कसरी तोड्ने ? यसबाट कसरी मुक्त हुने भन्ने हाम्रो एउटा चासो हो । यो पटक अलि व्यापकरुपमा पार्टी नै सुधार गर्नुपर्छ भन्ने प्रमुख एजेण्डामा हामी आउन खोजेको हो

एकछिनलाई हामीले हेरौं । बाचा त धेरै ठुल्ठुला छन् । धेरै टाढा जानै पर्दैन, संविधान पल्टाए पुग्छ । संविधानमा जति बाचा गरिएको छ, ती बाचाहरु न्यूनतम रुपमा पूरा गर्दा पनि आर्थिक सामाजिकरुपमा धेरै फड्को मार्न सकिन्छ । तर, केही भएन । कसैले आफ्नो हिसाब–किताव गर्नु नपर्ने ?

गएको चुनावमा तीनवटा प्रमुख पार्टीले धेरै भोट घटाए । ७/८ प्रतिशत भोट घट्यो । चुनावमा दुई प्रतिशत भोट तलमाथि हुँदा धेरै ठूलो हारजीत हुन्छ, तर यहाँ त ७/८ प्रतिशत भोट घट्दाखेरि पनि पार्टीहरुमा प्रश्न नउठ्ने । ममात्रै जिम्मेवार हो र ? अरु पनि जिम्मेवार छन् भन्ने गरेको सुनिन्छ । हो, अरु पनि जिम्मेवार छन् तर कम्तीमा एउटा प्रमुख नेताले त जिम्मेवारी लिनुपर्छ नि । यसमा हामी अत्यन्त अनुत्तरदायी भयौं ।

नेतावाद भन्नुको कारण अलिकति व्यंग्यात्मक पनि हो । शब्दमात्रै प्रयोग गर्दा धेरै मानिसहरुको टाउको दुखेको छ । हामीले खोजेको असल नेता हो । तर, हामीले खोजेजस्तो नेता भएन । हामीले खोजेको राजनेता होइन, हाम्रो भावनाप्रति उत्तरदायी भएर नेपाली समाज र राजनीतिलाई ड्राइभ गर्ने पार्टी पो खोजेको हो त । त्यस्तालाई हामीले नेता भनेको हो ।

पदमा माथि पुगेर सारा आफ्नो स्वार्थका लागि सुविधा प्रयोग गर्ने मान्छे हामीले खोजेको होइन । यसैलाई अभिव्यक्त गर्नका लागि ‘नेताराज’ शब्द प्रयोग गरिएको हो । पार्टी नेतृत्व नै चाहिँदैन भन्न खोजिएको होइन । पार्टीको नेता नै चाहिँदैन भनेको होइन । हामीले अपेक्षा गरेको नेतृत्व आउनुपर्‍यो भन्ने हो ।

अहिले पार्टीभित्र जुन अनुत्तरदायी संरचना छ, त्यो संरचनालाई नागरिकले तोड्नुपर्छ भनेर हामीले योखालको प्रयास गरेका हौं । हाम्रा अगाडि केही जिम्मेवारीहरु पनि छन् । केही चुनौती पनि छन् । हाम्रो जिम्मेवारीमा हामी मूकदर्शक भएर बस्न सक्दैनौं ।

अहिले सबैतिर असन्तुष्टि छ र तपाई–हामीले बोलिराखेका पनि छौं । अहिले सोसल मिडियालाई एउटा इण्डिकेटर मान्ने हो भनेदेखि त्यसले देखाउँछ पार्टीहरुको अवस्था । त्यहाँ अलि ज्यादा पनि होला । गालीगलौज पनि होला । तर, हामी जीवनभर लोकतन्त्रको पक्षमा, पार्टी स्वतन्त्रताको पक्षमा लागेका मान्छे पनि यो सोल मिडियाबाट आएको आक्रोश अलि ज्यादा भयो कि भन्ने अवस्थामा छैनौं । किनभने अहिलेको प्रविधि पनि त्यस्तै छ, जहाँ बहस होइन कि प्रतिक्रियाहरु आउन सक्दछ । यो स्वाभाविक पनि हो ।

यो नेताराजलाई कसरी तोड्ने ? यसबाट कसरी मुक्त हुने भन्ने हाम्रो एउटा चासो हो । यो पटक अलि व्यापकरुपमा पार्टी नै सुधार गर्नुपर्छ भन्ने प्रमुख एजेण्डामा हामी आउन खोजेको हो । किनभने, पार्टी नभइकन हुँदैन । पार्टी साध्य होइन, माध्यम मात्रै हो । पार्टी त साधन हो ।

नेपालमा २००७ सालमा प्रजातन्त्र आयो । पार्टीहरु स्वतन्त्र बने त्यतिखेरका पनि मिडिया हेर्दाखेरि धेरै आलोचनाहरु (पार्टीप्रति) छन् । यसबाट के बुझिन्छ भने पार्टीका बारेमा आलोचना त जतिखेर पनि हुन्छ । त्यो ठाउँ नै आलोचना गर्ने हो । राजनीति गर्ने, सार्वजनिक जिम्मेवारी लिने अनि आलोचना नसुन्ने ? यही हो निरंकुशताको संकेत । यही हो अनुत्तरदायी भनेको ।

पार्टीका सभापति, पार्टीका अध्यक्ष, मुलुकका प्रधानमन्त्री, मन्त्रीसँग जनताको अलिकति आक्रोश पनि सुन्ने धैर्यता छैन भने त्यस्तो नेता हामीलाई चाहिँदैन । हामीले खोजेको नेता त्यो होइन ।

नागरिक आन्दोलनमा हामीले यत्तिका वर्ष काम गर्‍यौं । हामी माध्यम मात्रै हौं, भोलिको व्यवस्थापन तपाईहरुले गर्नुपर्दछ भन्यौं । ०६२/०६३ को आन्दोलनको सुरुको चरणमा दलका शीर्ष नेताहरुलाई हामीले भुइँमा बसाएर आफ्ना कुरा सुनायौं । उहाँहरुले सुन्नु पनि भयो । त्यो भनेको मतलब, हामीले उहाँहरुलाई अनादर गरेको होइन । नागरिकको आवाजलाई हामीले पहिलो प्राथमिकतामा राखेको हो । र, भोलिका दिनमा तपाईहरुले यसरी अगाडि बढ्नुपर्छ भनेको हो । तर, जब उहाँहरुले सत्ता पाउनुभयो, त्यो सबै बिर्सनुभयो । अब हामीले फेरि एकपल्ट सम्झाउने बेला भएको छ ।

अहिले सबै पार्टीहरुले मिसन ८४ भन्न थालेका छन् । यही हालतको मिसन ८४ हामीलाई चाहिँदैन । यही अनुत्तरदायी नेतृत्व, यही गलत नेतृत्व, यही भ्रष्ट नेतृत्वलाई अनुमोदन गर्नका लागि मिसन ८४ चाहिएको छैन । त्यसैले अब म भन्छु– आउने चुनावमा हाम्रो आफ्नो मिसन छ । सुध्रन नचाहेको, उत्तरदायी हुन नसक्ने, हाम्रा कुरा सुन्न नसक्ने पार्टी, नेता अर्को चुनावमा फ्याँकिदिनुपर्छ ।

दुई वर्षसम्म पार्टीहरुले आफूलाई सुधार्छन्, जनतालाई चित्त बुझाउँछन् भने ठीकै छ । अब हामी पार्टीहरुसँग कस्सिएर कुरा गर्छौं । तपाईहरुको एक नम्बर फटाइँ यो हो, दुई नम्बर यो हो, तपाईहरु निरंकुश हुनुभएको छ । उहाँहरुसँग पाखुरा सुर्केर कुरा गर्छौं । यो बहस पनि हामी गर्छौं ।

सँगसँगै, पार्टीभित्र कसैले सुधार वा परिवर्तनका लागि प्रयास गर्छ भने उहाँहरुसँग पनि सँगै हुन्छौं । त्यसैले एउटा खुल्ला किसिमबाट हामी अगाडि जाँदैछौं । नयाँ किसिमबाट नागरिक आन्दोलन अगाडि जानुपर्ने अवस्था छ ।

संक्षेपमा भन्दाखेरि हामीले उत्तरदायी नेतृत्व खोजेका हौं । यसमा तीन–चारवटा कुरा प्रमुख छन् ।

एउटा– आवधिक निर्वाचनका माध्यमबाट जनमतका आधारमा नेतृत्व परिवर्तन हुनुपर्दछ । आफूले अपेक्षा गरेको, आफूले बाचा गरेको भोटमा पछाडि पर्ने पार्टी नेतृत्वले छोड्नुपर्दछ । किनभने, त्यो पार्टी नै अस्वीकार गरेको होइन भन्ने मेरो मान्यता हो ।

नको नेतृत्वले मतदाताको चित्त बुझाउन नसकेको हुनाले नेता असफल भएको हो, पार्टी असफल भएको होइन भन्ने हाम्रो एउटा बुझाइ छ, यसलाई स्थापित गरौं ।

दोस्रो– राजनीतिक संस्कार बदल्न सकिन्छ । यसमा के गाह्रो छ र । सधैंभरि एउटै मान्छे ? अहिले हेर्नुहोस् न, महाधिवेशन हुन्छ कि हुँदैन भन्ने चिन्ता छ । कुन पार्टीको अधिवेशन कहिले हुन्छ त्यो हाम्रो सरोकारको कुरा होइन, पार्टीको अधिवेशन उनीहरुकै सरोकारको कुरा हो । तर, पार्टी भनेको सार्वजनिक संस्था हो । सार्वजनिक निकाय हो । यो प्राइभेट कम्पनी होइन ।

प्राइभेट कम्पनी त पारदर्शी हुनुपर्छ । प्राइभेट कम्पनीले त उपभोक्ताको हित विपरीत जान पाउँदैन भने सार्वजनिक हितको बाचा गरेर आएका र गठन भएका दलहरु त्यो पार्टीमा लाग्ने मानिसको मात्रै सरोकारको विषय होइन । हामी पार्टीमा छैनौं तर पार्टी सिस्टमका बलिया प्रतिरक्षक पनि हौं । हाम्रो आफ्नो पार्टी छैन तर हामी त्यो सिस्टमको प्रतिरक्षा गर्छौं । हामी नागरिक त्यसको पक्षमा उभिन्छौं ।

तेस्रो कुरा– हाम्रो मतबाट ती पार्टीहरु बनेका छन् । तिनीहरुको केन्द्रीय समितिले के भन्छ, त्यो हाम्रो धेरै चासोको कुरा होइन । तर, पार्टीको संसदीय दल हामी(नागरिक) प्रति उत्तरदायी हुनुपर्दछ । किनकि ए, बी, सी जुनसुकै पार्टी भए पनि त्यो जनताको मतबाट बनेको पार्टीगत संरचना हो । नेपालका पार्टीहरुमा संसदीय दल भन्ने जुन निकाय छ, त्यो जनताको मतबाट बनेको हो । त्यहाँ सांसदहरु सदस्य हुन्छन् । त्यसो भएको हुनाले त्यो निकाय मतदाताप्रति, जनताप्रति बढी जिम्मेवार हुनुपर्दछ । र, नेतृत्वको फैसला त्यहाँ हुनुपर्दछ ।

राजनीति यस्तो विषय हो कि जति बहस गरे पनि सकिँदैन । यो बहसमा अलि तरंग निर्माण होस् भन्ने हाम्रो आशय हो । हामीले अहिले ठूलो आन्दोलनको परिकल्पना गरेका छैनौं । अलिकति तरंग निर्माण गर्न सकिन्छ कि ? नागरिक चेतना जगाउन सक्यौं भनेदेखि मलाई लाग्छ, यसले दलहरुलाई तह लगाउँछ । तह नलाग्ने दल फालिन्छन्

म पनि कुनै समय कुनै पार्टीमा आवद्ध थिएँ । पार्टीको नेतृत्व कसरी बन्छ, अधिवशेन कसरी गरिन्छ, कुनै समयमा कुन नेतालाई कसरी पाखा लगाइन्छ र कसलाई कसरी ल्याइन्छ भन्ने मलाई थाहा छ ।

एकचोटि प्रदीप गिरिले नरहरि आचार्यको सन्दर्भमा भन्नुहुन्थ्यो, पार्टीमा नरहरिजीको सधैंभरि बोली बिक्ने तर चुनावमा हार्ने । चुनावमा एक दिन तपाई हार्नुहुन्छ, अरु सधैं दिन तपाई जित्नुहुन्छ ।

त्यसपछि मैले नरहरिजीलाई थपें– नरहरिजी तपाईसँग भोट छैन । पार्टी नेताहरुसँग कसैको एकसय, कसैको दुईसय भोट छ । तपाईको शून्यबाट शुरु हुँदै जान्छ । पार्टीचाहिँ मठाधीशहरुको कब्जामा छ । त्यो मठाधीशहरुको मठको अन्त्य गर्नु जरुरी छ ।
पार्टीको संरचना भनेको त जनता र मतदाताप्रति उत्तरदायी हुनुपर्छ । पार्टी भनेको विचारको प्रतिनिधि पनि हो । राजनीतिमा विचार यति प्रभावशाली हुन्छ कि त्यसबाट मुक्त हुन सकिँदैन । पार्टी छाड्दैमा मानिस विचारबाट मुक्त हुन सक्दैन । मैले अँगालेको पार्टीको राजनीतिक विचारबाट म मुक्त छैन । त्यसको मूल्य पद्दतिमाथि प्रश्न उब्जँदा म त्यसको प्रतिरक्षामा उभिन्छु । नागरिकमा पनि राजनीतिक चेतना हुनैपर्दछ ।

आज डरलाग्दो के भएको छ भने नागरिकमा पनि मूल्यका प्रतिको चेतना कमजोर हुँदै गएको छ । त्यसलाई जगाउने पनि हाम्रो एउटा उद्देश्य हो । मलाई लाग्छ, यो एउटा प्रारम्भ हो । केही कामहरु साथीहरुले गरिरहनुभएको छ । हामीले त पछाडिबाट साथ दिने हो । नयाँ पुस्ताका धेरै साथीहरु हुनुहुन्छ । मेरो पुस्ताको बुझाइले मात्रै पुग्दैन । नयाँ समाज, नयाँ राजनीतिमा मेरो बुझाइ पर्याप्त छैन । अहिलेको नयाँ पुस्ताले के सोच्छ ? युवा साथीहरुले पनि सोच्नुपर्छ । तपाईहरुको आफ्नो दृष्टिकोण आउनुपर्छ । ‘बूढाहरुले खाए’ भनेर मात्रै हुँदैन । यसरी फाल्ने बूढाहरुलाई भनेर आउनोस् न । मलाई लाग्छ नागरिक आन्दोलनको यो प्लेटफर्म युवाहरुको हो । सबै नागरिक समुदायको हो ।

राजनीति यस्तो विषय हो कि जति बहस गरे पनि सकिँदैन । यो बहसमा अलि तरंग निर्माण होस् भन्ने हाम्रो आशय हो । हामीले अहिले ठूलो आन्दोलनको परिकल्पना गरेका छैनौं । अलिकति तरंग निर्माण गर्न सकिन्छ कि ? नागरिक चेतना जगाउन सक्यौं भनेदेखि मलाई लाग्छ, यसले दलहरुलाई तह लगाउँछ । तह नलाग्ने दल फालिन्छन् । र, नयाँ खालको वातावरण बन्छ । देश धेरै बिग्रिएको छैन। सबभन्दा बिग्रिएको राजनीति हो ।

स्टेयरिङ समातेको ड्राइभिङ सिट नै बिग्रिसकेपछि त गाडी कतिखेर कहाँ दुर्घटना हुन्छ, भन्नै सकिँदैन । हामी डरलाग्दो दुर्घटनामा जान सक्छौं । हामी यति तल गइसकेका छौं कि यो भन्दा तल झर्ने ठाउँ छैन । अब अगाडि बढ्ने ठाउँ निर्माण गरौं ।

(वृहत् नागरिक आन्दोलनले मंगलबार दिउँसो थापाथलीस्थित मार्टिन चौतारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालद्वारा व्यक्त विचारको सम्पादित अंश)

हेर्नुहोस् पत्रकार सम्मेलनमा वितरीत अपील-

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ८ : ४६ बजे

आज २०८२ साल साउन ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने