२०१७ सालको काण्डमा भारतको हात छ : नवराज सुवेदी « Khabarhub

२०१७ सालको काण्डमा भारतको हात छ : नवराज सुवेदी

‘पञ्चायतकालमा काण्डैकाण्ड भए, सूर्यबहादुर थापालाई जेल हालियो’


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार गठन भएको ‘राजतन्त्र पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीले २०१७ साल पुस १ मा तत्कालीन राजा महेन्द्रले काण्ड गराउनुमा भारतको हात रहेको दाबी गरेका छन् ।

पूर्वपञ्चहरुले राजा महेन्द्रको कदमलाई ‘राष्ट्रवादी’ बताउँदै आइरहेका छन् । तर, राष्ट्रिय पञ्चायतका तत्कालीन अध्यक्षसमेत रहेका पूर्वपञ्च सुवेदीले भने आफ्नो आत्मवृतान्त ‘इतिहासको एक कालखण्ड’मा राजा महेन्द्रको उक्त कदममा भारतको हात रहेको दाबी गरेका हुन् ।

पञ्चायतकालमा पटक–पटक मन्त्री र संसदको अध्यक्षसमेत बनेका ८६ वर्षीय सुवेदीले पुस्तकमा लेखेका छन्, ‘श्री ५ महेन्द्रलाई प्रजातन्त्रविरोधी पनि भनिन्छ । यो आरोप लाग्ने कारण २०१७ सालको काण्ड नै हो । पार्टीमाथि प्रतिबन्ध लगाई, जनताद्वारा निर्वाचित सरकारलाई विघटन गर्नु झट्ट हेर्दा अप्रजातान्त्रिक लाग्दछ । तर, यो काण्ड गराउनमा भारतको पनि हात छ ।’

महेन्द्रको कदममा भारतको हात रहेको पुष्टि गर्ने प्रयास गर्दै सुवेदीले अगाडि लेखेका छन, ‘२०१७ साल मंसिर २८ गते शिकार खेल्ने निहुँमा तत्कालीन भारतका सेनाध्यक्ष जनरल श्री के एम थिमैया ठोरीको जंगलमा आए । त्यहीँ भारतीय राजदूत श्री भगवान् सहायले श्री ५ महेन्द्र र थिमैयाको भेट गराएका थिए । त्यसपछि पुस १ गतेको काण्ड हुन गयो ।’

पूर्वपञ्च सुवेदी थप्छन्, ‘मेरो दृष्टिमा त्यसबेला राजा महेन्द्र र प्रधानमन्त्री विश्वेश्वरवीच के कुरा मिलेका थिएनन्, थाहा भएन तर, यसको फाइदा भारतले लिन खोज्दा नै २०१७ साल पौष १ को काण्ड हुन गयो ।

पुस्तकमा सुवेदीले लेखेका छन्, ‘यो काण्डपछि पं. जवाहरलाल नेहरुले यो ठीक भएन भन्नेमात्र वक्तव्य दिनुभयो । अरु केही प्रतिक्रिया भारतबाट नआउनु शंका गर्ने ठाउँ छ ।’

राजा महेन्द्रलाई राजावादीहरुले राष्ट्रवादी छविका राजनेता बताइरहेकै बेला वयोवृद्ध पूर्वपञ्चबाटै भारतसँगको मिलेमतोमा २०१७ सालको काण्ड भएको दाबी गरिनु रहस्यमय विषय बनेको छ ।

पञ्चायतकालमा दरबारले काण्डैकाण्ड मच्चाएको आरोप

त्यसो त सुवेदीले राजा महेन्द्रको राष्ट्रवादमाथि मात्रै प्रश्न उठाएका छैनन्, उनले आन्तरिक राजनीतिमा पनि दरबारका नाममा भ्रष्टाचार र बेथिति मौलाएको पुस्तकमा वर्णन गरेका छन् ।

‘घुस खाने दरबारका सचिवहरु, दण्ड पाउने मन्त्री र सिंहदरबारका सचिवहरु…’ सुवेदी पुस्तकमा लेख्छन्, ‘कार्पेट काण्डमा पर्ने नेपालका सपुतहरुबारे पनि इतिहासले लेख्नेछ । म यत्तिमात्र लेख्छु– यो ज्यादै दुःख काण्ड हो ।’

पञ्चायती शासनका बेथिति औंल्याउँदै सुवेदी लेख्छन्, ‘यस्ता काण्डहरु हुँदै गए । कहिले गाई काण्ड त कहिले के काण्ड । नेपाल काण्डै काण्डको देश बन्यो । …. सूर्यबहादुर थापाले देशमा द्वैध शासन छ– सिंहदरबारमा एक छ, अर्को नारायणहिटीमा छ भनी कडा आलोचना गर्नुभयो । यो आलोचना गरेवापत उहाँलाई जेलमा थुनियो ।’

अहिले ८६ वर्षको उमेरमा पूर्वराजा ज्ञानेन्द्र शाहको आशीर्वाद लिएर राप्रपा परित्याग गरी राजसंस्था फर्काउने अभियानमा लागेका सुवेदीले पुस्तकमा राजदरबारमा देखिएको विसंगति उदांगो पारेका छन् ।

उनी पुस्तकमा लेख्छन्, ‘पञ्चायतको लामो कालखण्डमा हुँदाहुँदा प्रधानमन्त्री पनि दरबारका सचिवहरुको इच्छामा बन्न सुरु भयो । कहिले रञ्जन खनालको इच्छामा नगेन्द्रप्रसाद रिजाल, कहिले ताराबहादुर थापाको इच्छामा मरिचमान सिंह त कहिले शरदचन्द्र शाहको मण्डले ग्रुपको इच्छामा लोकेन्द्रबहादुर चन्दजस्ता व्यक्तिहरु प्रधानमन्त्री भए ।’

यो पनि–

ज्ञानेन्द्र र नवराजको सम्बन्ध बिगार्ने ओमेगा घडीकाण्ड !

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ६ : ५१ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्