काठमाडौं– नेपालको अर्थतन्त्रमा सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको रेमिट्यान्समा मध्यपूर्व क्षेत्रमा रोजगारीको लागि गएका श्रमिकको भूमिका सबैभन्दा ठूलो देखिएको छ । अघिल्लो साता ८१.९५ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) यो साता पनि निरन्तर ओरालो दिशामा छ ।
सहरी विकास तथा पूर्वाधारको क्षेत्रमा काम गर्ने सहरी विकास मन्त्रालय सम्हालेका प्रकाशमान सिंह मन्त्रालयले प्राप्त गरेको पुँजीगत खर्च गर्नमा असफल देखिएका छन् । चालु आर्थिक वर्षको ८ महिनामा केपी ओली नेतृत्वको कांग्रेश–एमाले गठबन्धनको सरकारले नेपालको सार्वजनिक ऋण साढे २ खर्ब थपेको छ ।
आजका आर्थिक समाचार :
सहरी विकास मन्त्रीसिंह काममा पूरै असफल, ८ महिनामा १७ प्रतिशत मात्रै पुँजीगत खर्च
सहरी विकास तथा पूर्वाधारको क्षेत्रमा काम गर्ने सहरी विकास मन्त्रालय सम्हालेका प्रकाशमान सिंह मन्त्रालयले प्राप्त गरेको पुँजीगत खर्च गर्नमा असफल देखिएका छन् । चालु आर्थिक वर्षको ८ महिनामा मन्त्रालयले जम्मा १७.४३ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ भने समग्र खर्च १७.९३ प्रतिशत खर्च गरेको हो ।
त्यस्तै, मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार मन्त्रालयले पुँजीगत खर्च मात्रै नभएर चालु खर्चका लागि विनियोजन गरिएको बजेट समेत खर्च गर्न सकेको छैन । मन्त्रालयले चालु आर्थिक वर्षमा चालु खर्चका लागि ४ अर्ब ४२ करोड ३८ लाख २३ हजार रुपैयाँ विनियोजन गरेकोमा जम्मा २५.२३ प्रतिशत मात्रै खर्च गरेको छ ।
ओली नेतृत्वको सरकारले थप्यो साढे दुई खर्ब ऋण, २७ खर्ब पुग्यो सार्वजनिक ऋण

चालु आर्थिक वर्षको ८ महिनामा केपी ओली नेतृत्वको कांग्रेश–एमाले गठबन्धनको सरकारले नेपालको सार्वजनिक ऋण साढे २ खर्ब थपेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको नेपालको सार्वजनिक ऋण फागुन मसान्तसम्म आइपुग्दा २६ खर्ब ७६ अर्ब ३ करोड पुगेको छ ।
कार्यालयकाअनुसार ८ महिना अवधिमा गठबन्धन सरकारले २ खर्ब ४१ अर्ब ९३ करोड सार्वजनिक ऋण थप गर्ने कार्य गरेको छ । ८ महिनाको अवधिमा झण्डै साढे २ खर्ब ऋण थपिएसँगै नेपालको सार्वजनिक ऋण कुल गाह्रस्थ उत्पादनको ४६.९१ प्रतिशत पुगेको छ ।
रेमिट्यान्स योगदानमा मध्यपूर्वमा गएका श्रमिक अगाडि
नेपालको अर्थतन्त्रमा सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको रेमिट्यान्समा मध्यपूर्व क्षेत्रमा रोजगारीको लागि गएका श्रमिकको भूमिका सबैभन्दा ठूलो देखिएको छ । मध्यपूर्वी खाडी क्षेत्रमा रोजगारी गर्न गएका नेपालीले सन् २०२३-२४ मा सबैभन्दा धेरै रेमिट्यान्स नेपाल पठाएका छन् ।
नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको ‘नन–बैंक फाइनान्सियल इन्स्टिच्युसन सुपरभिजन रिपोर्ट २०२३-२४’ अनुसार सन् २०२३-२४ मा नेपालमा १२ खर्ब ९२ अर्ब रेमिट्यान्स भित्रिएको थियो । जुन अघिल्लो वर्ष भित्रिएको रेमिट्यान्स रकमको तुलनामा ६.६८ प्रतिशतले धेरै हो ।
पोखरामा सिचुवान एयरलाइन्सको सिधा हवाई सेवा सुरु

नेपाल चीन मैत्रीपूर्ण सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ र नेपाल तथा पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भ पारेर चीनको सिचुवान एयरलाइन्सले छेन्दु ९ पोखरा सिधा हवाई सेवा सुरु गरेको छ ।
मंगलबार १२७ जना चिनियाँ पर्यटकहरू लिएर सि चुवान एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
निरन्तर ओरालो शेयर बजार, २७ सय तल झर्यो नेप्से
अघिल्लो साता ८१.९५ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) यो साता पनि निरन्तर ओरालो दिशामा छ । आइतबार देखि निरन्तर घटेको नेप्से आज मंगलबार पनि ७.६६ अंकले घट्यो ।
मंगलबार नेप्सेमा आएको गिरावटसँगै नेप्से २७ सय बिन्दु तल २६९७.०४ मा पुगेको छ । नेप्सेमा गिरावट आएसँगै आज भएको शेयर कारोबारमा १५२ वटा कम्पनीको शेयर मूल्य घट्यो भने ८६ वटा कम्पनीको शेयर मूल्य बढ्यो । ५ वटा कम्पनीको शेयर मूल्यमा भने कुनै फेरबदल भएन ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको देउखुरी क्षेत्रमा तीन बाली मकैखेती हुने गरेको छ । बर्सेनि तीन हजार आठ सय हेक्टर क्षेत्रमा हिउँदे, वसन्ते र बर्खे मकैखेती हुने गरेको छ । तीमध्ये वसन्ते मकैखेती गर्ने किसान बढी छन् ।
परियोजनाका सूचना अधिकारी चन्द्रशोभा कँडेलका अनुसार तीन बाली लगाउँदा ३२ हजार मेट्रिक टन बढी उत्पादन हुने गरेको छ ।
उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्र ३२ हजार आठ सय ९४ मेट्रिक टन मकै उत्पादन भएको थियो । बर्सेनि उत्पादन बढिरहेको उनको भनाइ छ । आर्थिक वर्ष २०७९/८० मा २६ हजार चार सय ५५ मेट्रिक टन मकै उत्पादन भएको थियो । देउखुरी क्षेत्रमा रामपुर हाइब्रिड–१० जातको मकै लगाउने गरिएको छ ।
मुआब्जा नपाएपछि जलविद्युत आयोजना बन्द

यहाँको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने सम्बन्धित कम्पनीले जमिन उपयोग गरेबापत मुआब्जा नदिएपछि आयोजना नै बन्द गराएका छन् ।
लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले सुङ्देल र दिप्सुङको सिमाना स्थित रावाखोलाबाट उत्पादन गरिएको तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको ड्याम (बाँध)बाट खोलातर्फ पानी फर्काएर आयोजना बन्द गराएका हुन् ।

कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि उद्योग बन्द भएका हुन् ।
नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार कोभिड–१९ अघि देशभरमा ब्रोइलर कुखुराको चल्ला कोरल्ने तीन सय ४८ ह्याचरी उद्योग सञ्चालनमा थिए । अहिले यो सङ्ख्या एक सय २० मा झरेको छ । यस्तै १४ वटा रहेको लेयर्स ह्याचरी घटेर छवटामा झरेको छ ।
माथिल्लो ठूलोखोला ‘ए’ आयोजना धमाधम निर्माण

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उक्त आयोजनाको हालसम्म ७५ प्रतिशत निर्माण सकिएको छ ।
ठूलोखोला हाइड्रोपावर लिमिटेडले रघुगङ्गा–७ चिमखोला र वडा नम्बर ८ कुइनेमङ्गलेको सीमा क्षेत्रमा निर्माण गर्न लागेको २२ दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजना निर्माण सुरु गरेको दुई वर्षको अवधिमा बाँध, विद्युतगृह र पाइप लाइनतर्फको करिब ८० देखि ९० प्रतिशत काम सकिएको ठूलोखोला हाइड्रोपावरका वित्त प्रमुख प्रदीप खतिवडाले जानकारी दिए । उनका अनुसार आगामी जेठ मसान्तभित्र परीक्षण उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको पूर्वाधार निर्माणको कामलाई गति दिइएको छ ।
किसानलाई उन्नत जातका राँगा वितरण

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नगरका किसानलाई उन्नत जातका राँगा वितरण कार्यक्रम सुरु गरेको छ । नगरका किसानलाई स्वरोजगार बनाउँदै नगरपालिकालाई राँगाको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले यस वर्ष ६२ लाख बराबरको राँगा वितरण कार्यक्रम सुरु गरिएको हो ।
नगरपालिकाको घोषित कार्यक्रमअन्तर्गत तराईका फार्मबाट खरिद गरेर ल्याइएका उन्नत जातका राँगा कृषक समूहमार्फत किसानलाई वितरण गर्न सुरु गरिएको नगर उपप्रमुख विशन राईले बताए । ‘यस वर्ष चार सय राँगा वितरण गर्ने कार्यक्रम छ’, उनले भने, ‘नगरपालिकाको कृषि कार्यक्रमअन्तर्गत ७५ प्रतिशत अनुदानमा किसानलाई उन्नत जातका राँगा वितरण गर्ने नीति बनाइएको छ । हालसम्म दुई सय राँगा वितरण गरिसहेका छौँ ।’
प्रतिक्रिया