अमेरिकाबाट निष्कासित भुटानी शरणार्थीलाई इच्छाविपरीत अन्य देशमा नपठाउन सर्वोच्चको आदेश | Khabarhub Khabarhub

अमेरिकाबाट निष्कासित भुटानी शरणार्थीलाई इच्छाविपरीत अन्य देशमा नपठाउन सर्वोच्चको आदेश


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले अमेरिककाबाट निष्कासित चारजना भुटानी शरणार्थी युवाहरूलाई उनीहरूको इच्छाविपरीत भुटान वा अन्य देशमा नपठाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

गत चैत ११ गते अशोक गुरूङ, सन्तोष दर्जी, रोशन तामाङ र आशीष सुवेदीलाई अमेरिकाले निष्कासन गरेको थियो ।

निष्कासनमा परेका उनीहरू सुरूमा भुटान पुगेका थिए । त्यहाँ सुरूमा बस्न दिए पनि केही दिनपछि भुटानी सरकारले निकालेर खेदेको थियो ।

त्यसपछि उनीहरू अवैध रुपमा भारत हुँदै झापाको काँकडभिट्टा नाकाबाट नेपाल छिरिसकेपछि झापास्थित शरणार्थी शिविरबाट पक्राउ परेका थिए ।

उनीहरू चारैजना नेपाली भुटानी शरणार्थीका रुपमा दर्ता भएका थिए । नेपालमा लामो समय बसोबास गरेपछि तेस्रो मुलुक अर्थात् (अमेरिका) मा पुनर्वासका लागि लगिएको थियो ।

अमेरिकाले निष्कासन गरेपछि उनीहरू भुटानबाट भारत हुँदै नेपाल छिरेपछि पक्राउ परेर अध्यागमन विभागको मेची नगरपालिका–६ झापास्थित कार्यालयको थुनामा थिए ।

पक्राउ परेपछि चारैजनाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकोका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फ्याँलको इजलासले उनीहरूको इच्छाविपरीत अन्य देशमा निष्कासन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।

‘निजको जीवन खतरामा पर्नेगरी निष्कासन गरी भुटानमा पठाइएको र पुनःभुटानबाट भारत हुँदै नेपालमा पठाई हाल थुनामा रहेको देखिँदा निजको मातापिता जुन कारणद्वारा भुटानबाट नेपालमा शरणार्थी भई आएका हुन्, त्यो परिस्थितिमा परिवर्तन नआएले निजहरू आफ्नो उत्पत्तिको देशमा स्वैच्छाले फिर्ता हुन नसकी पुनर्वासमा गएको अवस्थामा हाल नेपाली अध्यागमन अधिकारीबाट निजलाई भुटान अथवा निजले इच्छा नगरेको देशमा फिर्ता गर्दा ‘यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजायविरुद्धको महासन्धि–१९८४ को धारा ३ तथा यस अदालतबाट भएका विगतका निर्णय र नेपाललाई समेत प्रथाजनित कानुनको रुपमा लागू हुने फिर्ता नपठाउने सिद्धान्तको विपरीत हुने देखिँदा यी निवेदकहरूलाई भुटान तथा अन्य कुनै देशमा निष्काशन गर्नु नगराउनु,’ अदालतले आदेशमा भनेको छ ।

घटना के हो ?

अमेरिकाले देशनिकाला गरेर पठाएका तीनजना भुटानी शरणार्थी झापाबाट चैत १६ गते शनिबार दिउँसो समातिएका थिए ।

दमक नगरपालिका–३ स्थित बेलडाँगी शरणार्थी शिविरमा बस्दै आएका ३६ वर्षीय आशीष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङलाई पक्राउ गरिएको थियो । त्यसैगरी अर्का भुटानी युवा अशोक गुरूङ पनि पक्राउ परेका थिए ।

उनीहरूलाई तीनैजनालाई अमेरिका देश निकाला गरेर भुटान फर्काएको थियो। तर तीनैजना भुटान पुगेर पनि त्यहाँको सरकारले निकालेपछि नेपाल छिरेर शरणार्थी शिविरमा बसिरहेका थिए ।

अमेरिकाले डिपोर्ट गरेर पठाएका भुटानीहरू अहिले पनि विभिन्न देशबाट भारत हुँदै नेपाल छिरिरहेका छन् ।

अमेरिकाबाट फर्किएर भारतमा बसिरहेका भुटानीहरू नेपाल छिर्न थालेको सूचना प्रहरीलाई आएको थियो । प्रहरीले समातेका भुटानी शरणार्थी युवाहरूलाई अध्यागमन कार्यालय काँकडभिट्टामा पठाइएको थियो ।

अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई भारतले शरण दिन मानेको छैन । त्यहीकारण उनीहरू नेपाल छिरेका थिए । सर्वोच्चले पनि उनीहरूलाई कतै नपठाउन भनेपछि तत्काललाई अब नेपालमै शरण दिनुपर्ने अवस्था आएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ४ : ५६ बजे

प्रधानमन्त्रीले सम्बोधन गर्ने आजको बैठक पनि अवरोध गर्ने रास्वपाको निर्णय

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठकमा आज (शनिबार)

गाउँपालिकाको लगानीले एसईई नतिजामा सुधार

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका– ६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालय गत

जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारी जीवनका लागि

महिलाहरूलाई उद्यमी बनाउन सीप विकास केन्द्र निर्माण

झापा– ग्रामीण क्षेत्रका महिलाहरूलाई सीप सिकाएर उद्यमशीलता बनाउने लक्ष्यका साथ

असार तेस्रो साताभित्रै भुक्तानी माग गर्न अनुरोध

पर्सा– पूर्वाधार विकास कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१–०८२ मा