जेनेभामा भएको स्वास्थ्यमन्त्रीहरुको बैठकमा मन्त्री पौडेलको सम्बोधन « Khabarhub

जेनेभामा भएको स्वास्थ्यमन्त्रीहरुको बैठकमा मन्त्री पौडेलको सम्बोधन

‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वैदेशिक विकास सहायता कटौतीका कारण नेपालको मातृ बाल तथा नवजात शिशुको जीवनरक्षा कार्यक्रम प्रभावित भएको भन्दै यसको निरन्तरताका लागि संयुक्त राष्ट्रसङ्घ लगायतका अन्तर्राष्ट्रिय दातृ निकायसँग आग्रह गरेका छन् ।

स्वीट्जरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य संगठनको ७८ औँ सभा सुरु हुनु पूर्व आयोजित मन्त्रीस्तरीय गोलमेचमा सहभागी हुँदै मन्त्री पौडेलले सहयोग कटौतीले चुनौती सिर्जना गरेको बताए ।

वैदेशिक विकास सहायताको कटौतीले मातृ बाल तथा नवजात शिशुको जीवनरक्षा तथा स्वास्थ्यका क्षेत्रमा पर्ने प्रभाव र प्रतिक्रिया विषयक मन्त्रीस्तरीय गोलमेचमा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले नेपाल निम्न तथा मध्य आय भएका राष्ट्रहरूको सूचीमा स्तरोन्नतिका लागि अघि बढेकाले विकास सहायता अझ कम हुँदा प्रमुख स्वास्थ्य सेवा प्रभावित हुनसक्ने देखिएको बताए ।

प्रजनन उमेरका करिब ५० लाख महिलाले पाइरहेको महत्वपूर्ण सेवा तथा ५ वर्ष मुनिका १५ लाख बालबालिका पोषण कार्यक्रममा सहयोग रोकिएकाले चुनौती देखिएको मन्त्री पौडेलले बताए । उनले ३५ लाख वयस्कले प्रजनन शिक्षा तथा सेवामा समेत सहयोग कटौतीले प्रभाव पर्ने बताए ।

‘प्राथमिकता परिवर्तन भएका कारण अन्य द्विपक्षीय तथा बहुपक्षीय कटौतीले नेपालका मातृ तथा शिशु स्वास्थ्य, खोप, पोषण, सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन कार्यक्रम जस्ता प्रमुख स्वास्थ्य कार्यक्रमहरू प्रभावित हुने देखिएको छ,’ मन्त्री पौडेलले भने, ‘समस्यासँग जुध्न नेपालले यी क्षेत्रमा आन्तरिक बजेट वृद्धि गरेको छ ।’

सहयोग र बजेट कटौतीका बाबजुद नेपालले आन्तरिक श्रोतबाट लगानी बढाउने प्रयास गरेको भन्दै मन्त्री पौडेलले तर पनि घट्दो स्वास्थ्य बजेट चुनौतीका रूपमा रहेको बताए ।

मन्त्री पौडेलले विश्वका अल्पविकसित देशहरू सहयोग कटौतीको मारमा परेको भन्दै स्वास्थ्य चुनौती सामना गर्नका लागि राष्ट्रसङ्घ तथा दातृ निकायहरूले दिगो आर्थिक तथा प्राविधिक सहयोगमा जोड दिनुपर्ने उल्लेख गरे ।

मन्त्री पौडेलले बैठकमा नेपालले मातृ शिशु स्वास्थ्यका क्षेत्रमा प्राप्त गरेको सफलताबारे प्रस्तुति समेत राखेका थिए । नेपालले सन् २०२३ मा मातृ मृत्युदर प्रति एक लाख जन्ममा हुने मृत्युदर सन् २००० को तुलनामा ७१ प्रतिशतले गिरावट ल्याएको तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री पौडेलले सुधार जारी रहेमा सन् २०३० सम्ममा दिगो विकास लक्ष्य पूरा गर्ने विश्वास गरे ।

स्वीट्जरल्याण्डको जेनेभामा रहेका मन्त्री पौडेलले भोलीबाट सुरु हुने सभाको मुख्य कार्यक्रममा सम्बोधन गर्दै छन् । यसै गरी, विभिन्न राष्ट्रका स्वास्थ्य मन्त्रीहरू तथा स्वास्थ्य सम्बद्ध अधिकारीहरूसँग भेटवार्ता गर्ने मन्त्री पौडेलले युरोपका नेपाली चिकित्सक समुदाय सँगसमेत अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  २ : ५२ बजे

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।