‘माग्ने राजा’लाई ५ ‘हट’ प्रश्न ! | Khabarhub Khabarhub

‘माग्ने राजा’लाई ५ ‘हट’ प्रश्न !


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केदार घिमिरे ‘माग्ने बूढा’ भदौ ६ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माग्ने राजा’मा जोडिनुभन्दा अघिको एक प्रसंग पढौँ चर्चामा छ ।

केदार नजिकको आफन्तको विवाहमा जन्ती बनेर दाङ गएका थिए । दाङमा पुगेपछि चिनेको मान्छेलाई भेटेर फर्कन मन लाग्यो । उनले मुनाल घिमिरेलाई फोन गरे । दुईको भेटे भयो ।

त्यही भेटमा मुनालले केदारलाई भने, ‘यो सही गरेको खाली चेक लानू । पारिश्रमिक जति मन लाग्छ त्यति रकम लेख्नु र साट्नू । म एक फिल्म गर्दैछु तपाईं लिने सोच छ ।’ केदारले चेक लिन मानेनन् । काठमाडौं फर्किएपछि स्क्रिप्ट पढेर धेरै पटक मिटिङ बसेपछि उनी फिल्म साइन गर्न राजी भए ।

यो ‘माग्ने राजा’ बनाउँदा कलाकार चयनको दौडधुपमा विकासित किस्सा केदार र ‘माग्ने राजा’का निर्माता मुनालले सेयर गरेका हुन् ।

केदार अहिले महँगा कलाकारका रुपमा हेरिन्छन् । फिल्मका लागि तय गरेको पारिश्रमिकको स्ट्यान्डडर उनको आफ्नै छ ।

त्यही भएर होला ‘केदारलाई फिल्ममा हतपत खेलाउन सकिँदैन ।’ भन्ने चर्चा हुन थालेको छ । यसका मुख्य तीन कारण छन्- पारिश्रमिक, कथा र समय ।

केदारलाई फिल्ममा लिन चाहने मेकर टन्नै छन् । तीन फिल्म प्रदर्शन हुन बाँकी नै छ । समय व्यवस्थापनमा चुनौती स्वभाविक छ। अर्को केदारको मान्यता छ, ‘हलमा पुगेका दर्शकलाई निराश बनाएर फर्काउनु हुँदैन ।’ यसका लागि केदारलाई स्क्रिप्ट चित्त बुझ्नु पर्‍यो । सबै स्क्रिप्ट उनलाई चित्त बुझ्ने कहाँ हुन्छ र !

गत वर्षको दशैँ यता ५० भन्दा बढी फिल्मबाट अफर आएको केदार आफैँ बताउँछन् । उनी भन्छन्, ‘केही कथा चित्त नबुझेर र केही भूमिका चित्त नबुझेर छोडियो ।’

उनकै बोली विश्वास गर्दा मोटो पारिश्रमिकको लोभमा केदार पर्दैनन् । धेरै पारिश्रमिक दिएर उनलाई फिल्म साइन गराउन सकिँदैन । पारिश्रमिकबारे केदार भन्छन्, ‘पैसाको लागि आफैँलाई चित्त नबुझेको फिल्म गर्नु भनेको दर्शकलाई धोका हो । विगतका मेरा फिल्म सफल छन् । दर्शकले मन पराएरै त्यो सफल भएको हो । दर्शकले कम्तीमा पनि मैले विगतमा जत्तिको फिल्ममा अभिनय गर्छ भन्ने सोच्नुभएको हुन्छ । राम्रो स्क्रिप्ट चयन गरिनँ भने उहाँहरु निराश हुनुहुन्छ ।’

अर्थात्, दर्शकप्रतिको आफ्नो इमानदारिता पैसाले बिर्साउन नसक्ने उनको स्पष्ट आडान छ ।

केही मेकर नगद नै लिएर केदारलाई फिल्मको प्रस्ताव गर्न पनि आएका छन् । फिल्म साइन नगर्ने भएपछि उनीहरु केदारलाई भन्छन्, ‘लक्ष्मीको श्राप लाग्छ नि भाइ । आज ढोकामा पैसा आउँदा नलिने, एकदिन पैसा खोज्दै हिँड्ने दिन आउँछ ।’

०००

बाहिर ब्यानरको फिल्ममा असुरक्षित ?

‘केदारको व्यवसायिक सफलताको लाभ उनीपछि छक्का पञ्जा टिमलाई हो’ भन्ने विश्लेषण पनि हुन थालेको छ ।

कारण- केदार बलियो बन्दा छक्का पञ्जा टिम मजबुत हुन्छ । उनको दर्शकको दायरा बढ्दा यही टिमलाई प्रत्यक्ष–अप्रत्यक्ष फाइदा पुग्छ ।

‘अन्य मेकरसँग केदारको सहकार्य नदोहोरिन पनि सक्छ । तर, छक्का पञ्जा टिमको उनी कोर सदस्य हुन् । उनी त्यस टिमको फिल्ममा दोहोरिरन्छन् । त्यसैले केदार बलियो बन्दा टिमलाई प्रत्यक्ष फाइदा पुग्छ,’ भन्ने तर्क बजारमा सुनिन्छन् ।

यो तर्क केदारकै अभिव्यक्तिपछि सुनिन थालेको हो । पारिश्रमिक विवादबारे जब केदारले भने, ‘मलाई माग्ने राजा टिमबाट भड्खालोमा पार्न खोजियो ।’

‘६१ लाख पारिश्रिमक’ झुट भएको खुलासा गरेकै मञ्चमा उनले यो अभिव्यक्ति दिएका थिए ।

यही कारण ‘केदारको कुभलो नचिताउने भनेको छक्का पञ्जा टिम हो’ भन्ने सुनिन थालेको हो ।

यो विश्लेषण केदार गलत ठहर गरेर खारेज नै गर्न सक्दैनन् । तर, स्वीकार गर्दा एकाग्रपूर्ण हुने उनको बुझाइ छ ।
उनी भन्छन्, ‘छक्का पञ्जा टिमबाट त मलाई पनि फाइदा भएकै छ नि ।’

केदारले बाहिरी ब्यानरका तीन फिल्म गरे । ती मेकरबाट उनले असुरक्षित महसुस गरेका छन् त ?

केदारको जवाफ छ, ‘टिम फरक भए पनि काम एकै हो । इन्डस्ट्री एकै हो । असुरक्षित महसुस भएको छैन ।’

हिरो बन्न गाह्रो ?

केदारको फुलटाइम ठूलो पर्दाको कलाकार बनेको छक्का पञ्जा टिमले निर्माण गरेको फिल्मबाट हो ।

यो टिमका शतप्रतिशत फिल्म हिट छन् । तर, केदार सहायक भूमिकामा देखिँदै आएका छन् । त्यसले गर्दा फिल्म प्रचारको सम्पूर्ण जिम्मेवारी उनीमा मात्रै निर्भर थिएन ।

केदार लिड नायकका रुपमा डेब्यू गरेको फिल्म नै ‘माग्ने राजा’ हो । यो फिल्मको प्रचारको जिम्मेवारी उनैको काँधमा छ ।

हिरो बन्दा प्रचारमा दबाब हुने रहेछ ? भन्ने प्रश्नमा केदारको जवाफ छ, ‘छैन । छक्का पञ्जा टिममा हुँदा प्रचारमा खट्नेमा म पनि एक थिएँ । त्यही गरेको काम गरिरहिएको छ । नयाँ केही छैन । दबाब पनि महसुस भएको छैन ।’

उनलाई ‘फिल्मको हिरो नमान्ने’ पनि छन् । केदारले नै ‘यस्तो पनि हिरो हुन्छ’ भनेर टिप्पणी लेखेको पढेका छन् ।

यसबारे भन्छन्, ‘यसले मलाई व्यक्तिगत कुनै असर गर्दैन । बरु फिल्मकै प्रचार हुन्छ ।’

सोहीकारण प्रचारका हरेक कार्यक्रममा केदारले ‘म हिरो होइन भनेर स्पष्टीकरण’ भने दिनु परेको छ ।

अर्कोतर्फ, केदार आफैँ ‘आफू नृत्य क्षमता कमजोर भएको’ कलाकार मान्छन् । आइ नआइ ‘माग्ने राजा’को प्रचार गीतमा नाच्नु परेको छ ।

हिरो भएपछि यति त गर्नै पर्‍यो !

यसबारेमा उनी भन्छन्, ‘गरेकै काम हो । छक्का पञ्जा फिल्मको प्रचार गीतमा पनि नाचेकै हो । यो पनि नौलो काम भएन ।’

लिड हिरो सोचेको उपलब्धि ?

केदारले काठमाडौं संघर्ष फुटपाथबाट सुरु गरेका हुन् । उनी फुटपाथमा व्यापार पनि गरे ।

साइकल डुलाएर मसलाको व्यापार गरे । एक दर्जनभन्दा बढी व्यवसाय टिकाउ नभएपछि उनी कलाकारितामा होमिएका हुन् ।

सानो पर्दाबाट उनले अभिनय यात्रा सुरु गरेका हुन् । उनी भन्छन्, ‘संघर्षका दौरानमा एकदुई संवाद बोल्न पाइन्छ कि भनेर दौडधुप गरेको दिन धेरै छन् ।’

अहिले फिचर फिल्म ‘माग्ने राजा’मा केदार शीर्ष भूमिकामा देखिँदैछन् । उनको चर्चित पात्र ‘माग्ने बूढा’बाट फिल्मको शीर्षक ‘माग्ने राजा’ राखिएको छ । ‘माग्ने बूढा’को चरित्र नै फिल्मको हिरो हो ।

यसबारे उनी भन्छन्, ‘झन् मेरौ क्यारेक्टरमा फिल्म बन्ला भनेर त सोचेको पनि थिइनँ । यो मेरो सपना बाहिरको कुरा हो ।’

सामाजिक सञ्जाल कमेन्ट पढ्ने बानी ?

केदारले ‘६१ लाख पारिश्रमिक लिएको झुटो हो’ भनेर खुलासा गर्नुको कारण सामाजिक सञ्जालमा आएको गाली पनि एक हो भन्ने यस फिल्म निकट बताउँछन् ।

हुन पनि केदार बढी आलोचित बनेको घटना नै यही हो ।

गाली खाएको पोस्ट हटाउने केदारको बानी छ । विगतमा उनले यस्तो गरेका छन् ।

अर्को कुरा केदार सामाजिक सञ्जालमा सबैभन्दा कम गाली खाने ‘छक्का पञ्जा’ टिमका कलाकार पनि हुन् ।

अलि बढी कमेन्ट पढ्ने बानी छ रे हो ? भन्ने प्रश्नमा उनको जवाफ छ, ‘नकारात्मक कमेन्टले पहिला पहिला अलि बढी प्रभाव पार्थ्यो । अहिले केही लाग्दैन । तर, सकारात्मक छन् कि नकारात्मक कमेन्ट आयो भनेर हेर्ने चाहिँ गर्छु ।’

नकारात्मक मानिने कमेन्ट ग्रहण गर्ने बुझाइ अहिले फेरिएको उनी सुनाउँछन् ।

भन्छन्, ‘अहिले जे लेखिदिनु हुन्छ मेरै लागि लेखिदिनुभएको हो भन्ने लाग्छ । नराम्रो लेख्नुभयो भने उहाँहरुको इच्छा पूरा भएन भन्ने लाग्छ । उहाँहरु जस्ता सबैलाई धन्यवाद ।’

‘छक्का पञ्जा’ टिमले अर्को फिल्म कहिले बनाउँछ ?

हरेक वर्ष ‘छक्का पञ्जा’ टिमले एक फिल्म बनाउँदै आएको छ । यो वर्ष भने यो टिमले फिल्म नबाउने भएको छ ।

यो टिमले फिल्म निर्माणबाट विश्राम लिएको बताएको छ । यो वर्षको दशैँमा ‘छक्का पञ्जा’ टिमको फिल्म नआउने भएपछि खोजी सुरु भएको छ ।

केदार पनि तत्काल यो टिमले फिल्म बनाउने सम्भावना नरहेको बताउँछन् ।

भन्छन्, ‘हामीबीच केही असमझदारी छैन । फिल्म बन्छ तर केही समय लाग्न सक्छ ।’

यस टिमका सदस्यले बाहिरी ब्यानरको फिल्म साइन गरेकाले निर्माणमा केही ढिलाइ स्वभाविक हुने उनी बताउँछन् ।

भन्छन्, ‘मैले पनि बाहिरी ब्यानरमा काम गरेको छु । दीपक दाइ पनि गर्ने सोचमै भए जस्तो लाग्छ । सबैको समय मिलाएर फिल्म गरिन्छ। साइन गरेका फिल्मको छायाङ्कन सकिनुपर्यो । यस्ता कुरामा समय मिल्न पर्‍यो ।’

अर्को दशैँमा छक्का पञ्जा टिमको फिल्म प्रदर्शनमा आउने उच्च सम्भावना रहेको केदार बताउँछन् ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ७ : ०० बजे

बूढानीलकण्ठमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं – काठमाडौंको बूढानीलकण्ठमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

दार्चुला–गोकुेलेश्वर सडकमा पहिरो, तेर्छालेक रनेबास  क्षेत्र अवरुद्ध

खलङ्गा– वर्षापछि आएको पहिरोले दार्चुला–गोकुेलेश्वर सडक अन्तर्गत तेर्छालेक रनेबास क्षेत्र

चाँदी आयातका लागि पाँच लाख डलरसम्मको सटही सुविधा

काठमाडौं– नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमा वृद्धि गरेको

टप टी-२० सिरिज : मेलबर्न स्टार्सले नेपाललाई दियो १७६ रनको चुनौती

काठमाडौं – अस्ट्रेलियाको मेलबर्न स्टार्सले नेपाललाई १७६ रनको चुनौती दिएको

पहिरोले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध

गुल्मी– वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास‐रिडी