विवाहेत्तर यौनसम्बन्ध : अपराध कि आत्मनिर्णय ? | Khabarhub Khabarhub

नयाँ पुस्ता

विवाहेत्तर यौनसम्बन्ध : अपराध कि आत्मनिर्णय ?


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 7 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

नेपाली समाजमा विवाह र यौनसम्बन्ध सधैं एकअर्कासँग गाँसिएका विषय मानिँदै आएका छन्। परम्परागत धारणाअनुसार विवाह नै यौन सम्बन्धको एकमात्र वैध माध्यम हो र विवाहबाहेकको सम्बन्धलाई ‘अपराध’, ‘अश्लीलता’ वा ‘पतन’ का रूपमा हेरिन्छ।

धर्म, संस्कृति र सामाजिक मर्यादाको नाममा यो सोच गहिरो रूपमा रोपिएको छ। तर, आजको पुस्ता, विशेषतः शिक्षित र शहरी क्षेत्रका युवायुवतीहरूले यौन, प्रेम र सम्बन्धका विषयमा परम्परागत मूल्यहरूलाई प्रश्न गर्न थालेका छन्। उनीहरू विवाहलाई प्रेम वा यौनको अनिवार्य पूर्वशर्त मान्न चाहँदैनन्।

जीवनको हरेक निर्णयजस्तै यौनसम्बन्ध राख्ने कि नराख्ने, विवाह गर्ने कि नगर्ने, बच्चा जन्माउने कि नजन्माउने भन्ने सवालमा महिलाको आत्मनिर्णयलाई केन्द्रमा राख्नुपर्ने धारणा फैलिँदो छ। ‘शरीर मेरो, निर्णय मेरो’ भन्ने नारा नयाँ सामाजिक सचेतनाको प्रतीक बन्दैछ, जसले नेपाली समाजको वर्तमान संरचनालाई हल्लाउन थालेको छ।

परम्परागत हिन्दू समाजमा विवाहलाई मात्र यौनसम्बन्धको वैध ढोका मानिन्छ। विवाहले मात्र स्त्री-पुरुषबीचको शारीरिक र भावनात्मक सम्बन्धलाई सामाजिक स्वीकृति दिन्छ भन्ने मान्यता गहिरो रूपमा जरा गाडेर बसेको छ। विवाहपूर्व वा विवाहबाहेकका यौनसम्बन्धलाई अशुद्ध, पापपूर्ण वा अनैतिक ठहर गरिन्छ।

विशेष गरी महिलाको यौनिकतालाई पवित्रताको चश्माबाट मूल्याङ्कन गरिने चलन अझै पनि विद्यमान छ, जहाँ ‘पवित्रता’ को मापदण्ड विवाहपूर्व यौनसम्बन्ध नराख्नु, कौमार्य जोगाउनु र सामाजिक मर्यादामा बाँधिएर बस्नुलाई मानिन्छ।

यस्ता व्याख्याहरूले स्त्रीलाई भोगबिलासिताका उपभोग्य वस्तु बनाएर सामाजिक नियन्त्रणमा राख्ने काम मात्र गरेका छन्, जबकि पुरुष यौनिकताप्रति समाजको दृष्टिकोण तुलनात्मक रूपमा लचिलो देखिन्छ।

अश्लीलता र पवित्रता भन्ने शब्दहरू अधिकांश अवस्थामा महिलालाई नियन्त्रण गर्ने उपकरणझैं प्रयोग गरिएका छन्, जसले यौनसम्बन्धलाई प्रेम र सहमतिमा आधारित प्राकृतिक सम्बन्धको सट्टा लाज, अपराधबोध र सामाजिक डरको विषय बनाइदिएको छ।

यदि दुई वयस्कबीच सहमतिपूर्ण यौनसम्बन्ध स्थापित हुन्छ भने, के त्यो सम्बन्धलाई अपराधको संज्ञा दिन मिल्छ? यो प्रश्न नेपाली समाजका लागि मात्र होइन, आजको विश्वव्यापी नारीवादी बहसको पनि केन्द्रमा रहेको छ।

नेपालको हालको कानूनी संरचनाले यो विषयलाई स्पष्ट तरिकाले परिभाषित गरेको छ- दुई वयस्कबीच सहमतिमा यौनसम्बन्ध हुन्छ र कुनै दबाब, जबर्जस्ती वा नाबालिगता समावेश हुँदैन भने त्यस्तो सम्बन्धलाई अपराध मानिंदैन।

नेपालको मुलुकी अपराध संहिता, २०७४ (भाग ४ खन्ड १८) अनुसार बलात्कार वा यौनसम्बन्ध दुर्व्यवहारका घटना तब मात्र दुर्व्यवहार वा अपराध ठहरिन्छन् जब असहमतिको अवस्था, नाबालिगता वा शारीरिक/मानसिक असक्षमता देखा पर्दछ ।

तर, हाम्रो सामाजिक दृष्टिकोण भने अझै पनि कानूनी दृष्टिकोणभन्दा धेरै पिछडिएको छ। महिलाको यौनिकतालाई अझै पनि समाजको नियन्त्रणमा राख्न खोजिन्छ।

यदि कुनै महिला विवाहबिना शारीरिक सम्बन्ध राख्छिन् भने उनलाई चरित्रहीन, वेश्या वा नैतिक पतनको प्रतीकजस्तै व्यवहार गरिन्छ। पुरुषको आत्मनिर्णयलाई स्वतन्त्रता मानिने यो समाजमा महिलाको त्यही निर्णयलाई अपराधको रूपमा हेरिने विडम्बनापूर्ण अवस्था अझै कायम छ।

अतः आत्मनिर्णय र सामाजिक बन्धनबीचको यो द्वन्द्व आजको नेपाली समाजको मूल चिन्तनको हिस्सा बन्नुपर्छ। व्यक्तिगत स्वतन्त्रता, विशेषतः महिलाको यौनिक स्वतन्त्रता, कुनै अपराध होइन; यो एक चेतनशील मानवको अधिकार हो, जुन पारस्परिक सहमतिमा सम्मानयोग्य र सुरक्षित हुनुपर्छ।

यौन सम्पर्क मानव जीवनको एक प्राकृतिक आवश्यकता हो, जसरी खानु, सुत्नु र संवेगात्मक सम्पर्क आवश्यक हुन्छ, त्यसैगरी शारीरिक सम्पर्क पनि व्यक्तिको जैविक र भावनात्मक स्वास्थ्यसँग गहिरो रूपमा सम्बन्धित छ।

यौनसम्बन्ध केवल प्रजननको माध्यम मात्र होइन, यो प्रेम, अपनत्व, आत्मीयता र सुरक्षित भावनात्मक सम्बन्धको पनि महत्त्वपूर्ण आधार हो। यस अर्थमा, विवाहबिना यौनसम्बन्ध राख्नु अनैतिक भनेर ट्याग लगाउनु केवल पुरातन सोचको उपज हो, यसले प्राकृतिक तथा संवेगात्मक आवश्यकता ,व्यक्तिगत स्वतन्त्रता र भावनात्मक सम्बन्धलाई बेवास्ता गर्नुका साथै कतिपय महिलाहमा शारीरिक तथा मानसिक समस्या निम्त्याउँदछ ।

आजको विश्वमा सहजीवन (Living together relationship) एक वैकल्पिक जीवनशैलीको रूपमा विस्तार हुँदै गएको छ। यो सम्बन्धमा दुई व्यक्ति विवाह नगरी पारस्परिक प्रेम, भरोसा र सहमतिमा एकसाथ बस्छन्। पश्चिमी समाजहरू – जस्तै अमेरिका, फ्रान्स र स्क्यान्डिनेभियन देशहरूमा सहजीवन लामो समयदेखि सामान्य अभ्यास हो। ती देशहरूमा कानुनी रूपमै सहजीवन बस्ने जोडीलाई केही हदसम्म वैवाहिक जोडीसरह अधिकार दिइन्छ।उदाहरणका लागि, स्वीडेन र नर्वेमा सहजीवनलाई पारिवारिक संरचना मानिन्छ। यस्तै, भारतको सुप्रिम कोर्टले पनि सन् २०१० मा सहजीवनलाई कानुनी मान्यता दिंदै यो ‘वैध सम्बन्ध’ हुन सक्ने निर्णय सुनाएको थियो।

पूर्वीय सन्दर्भमा पनि परिवर्तनका संकेतहरू देखिन थालेका छन्। नेपाल, भारत र बंगलादेशजस्ता देशहरूमा सहजीवनलाई समाजले पूर्ण रूपमा स्वीकार नगरे तापनि युवापुस्ताले निजी तहमा व्यवहारमा ल्याउन थालेका छन्।

नेपालमै पनि काठमाडौँ, पोखरा, धरानजस्ता शहरी क्षेत्रहरूमा सहजीवन बस्ने जोडीहरू बढ्दै गएका छन्। उनीहरूका लागि सम्बन्धको सार विवाहको प्रमाणपत्रभन्दा बढी पारस्परिक समझदारी र स्वतन्त्रताको भावमा छ। यसैले, यौनसम्बन्ध र प्रेमलाई विवाहको साँघुरो परिभाषामा सीमित गर्ने परम्परा बदलिंदो सामाजिक यथार्थसँग मेल खान छाडेको छ।

सहजीवन र विवाहबिना सम्बन्ध राख्ने जीवनशैली कुनै विकृति होइन, यो नयाँ पुस्ताले रोजेको स्वतन्त्र, जिम्मेवार र संवेदनशील जीवनको स्वरूप हो। यस्तो सम्बन्धप्रति औंला ठड्याउनुको सट्टा यस्ता व्यक्तिहरूको भावनाको कदर गर्नु आजको लोकतान्त्रिक समाजको आवश्यकता हो।

नेपाली समाजमा महिला यौनिकता अझै पनि एउटा निषेधित विषय हो, न बोलेर व्यक्त गर्न पाइन्छ, न खुलेर स्वीकार। महिलाले आफ्नो यौनिकता बारेमा सोच्नु, त्यसलाई अभिव्यक्त गर्नु वा त्यसप्रति सचेत हुनु नै अशोभनीय मानिन्छ। यौनिकता भनेको केवल पुरुषको क्षेत्र हो भन्ने सन्देश समाजले सशक्त रूपमा दिएको छ। यही सोचका कारण महिलाको यौनिकता अभिव्यक्त भएको देख्नेबित्तिकै उसमाथि सामाजिक आरोप, निन्दा र चरित्रहत्या सुरु हुन्छ। जबकि पुरुषले खुलेर यौनसम्बन्ध, प्रेम प्रसंग वा बहुविवाहको गर्व गर्न पाउँछन्, महिलाले चाहिँ केवल लाज, अपराधबोध र मौनता भोग्नुपर्छ।

यो दोहोरो मापदण्डले आजको डिजिटल युगमा झन् खतरनाक रूप लिन थालेको छ। यौनिकता प्रकट गर्ने महिलाहरू, चाहे तिनीहरू कलाकार, पत्रकार, लेखिका वा साधारण प्रयोगकर्ता हुन्, सामाजिक सञ्जालमा चरम गालीगलौज, ट्रोलिङ र साइबर बुलिङको शिकार बन्ने गर्छन्।

उदाहरणका लागि, कुनै महिलाले प्रेमसम्बन्ध वा सहजीवनका विषयमा आफ्ना धारणा राखे मात्र पनि उसलाई ‘चरित्रहीन’, ‘बेसरम’, ‘पश्चिमी संस्कृति प्रभावित’ भन्ने गम्भीर आरोप लगाइन्छ। त्यो मात्र होइन, कतिपय अवस्थामा उनीहरूको व्यक्तिगत तस्बिर सम्पादन गरेर अश्लील सामग्री बनाएर सेयर गरिन्छ- जसले उनीहरूको मानसिक स्वास्थ्यमाथि गहिरो असर पार्दछ।

महिलाहरूले आफ्नै परिवार, कामकाजी क्षेत्र वा सामुदायिक परिवेशमा यौन स्वतन्त्रताको संकेत दिएकै भरमा उपेक्षा, अपमान र कहिलेकाहीँ हिंसासम्मको शिकार बन्नुपर्छ। यस्तो अवस्थामा यौनिकता भन्नाले केवल यौनसम्बन्धको विषय होइन, आफ्नो शरीर, विचार, चाहना र जीवनशैलीमा स्वामित्व राख्ने अधिकार पनि हो भन्ने बुझ्न आवश्यक छ।

महिलाको यौनिकता समाजका लागि डरको विषय होइन; त्यो स्वतन्त्रता, आत्मविश्वास र समतातर्फको पाइला हो। आधुनिक नारीवादी चिन्तनले यौनिकतालाई केवल जैविक वा व्यक्तिगत विषय मानेको छैन, यो सत्ता, संरचना र नियन्त्रणसँग गासिएको गहिरो राजनीतिक प्रश्न हो।

सन् १९४९ मा फ्रेन्च नारीवादी चिन्तक सिमोन द बुभोआले आफ्नो प्रसिद्ध कृति The Second Sex मा लेखेकी छन् – “स्त्री जन्मिँदैन, बनाइन्छ।”

उनले नारीलाई स्वतन्त्र अस्तित्वको रूपमा हेर्नुपर्ने र आफ्नो जीवनका सबै निर्णय, चाहे त्यो प्रेम होस्, विवाह होस् वा यौनिकता, महिलाले आफैं लिनुपर्ने पक्षमा दृढ अडान लिएकी छन् । उनले दार्शनिक ज्याँ पाल सार्त्रसँग विवाह नगरी जीवनभर सहजीवन बिताइ प्रेममा अधिकार, स्वतन्त्रता र आत्मसम्मान कति महत्त्वपूर्ण हुन्छ भन्ने ज्वलन्त उदाहरण प्रस्तुत गरिन् ।

बेल हुक्सले यौनिकता र जातीयताको अन्तर्सम्बन्धको कुरा उठाउँछिन्। उनले Ain’t I a Woman? जस्ता कृतिहरूमा महिलाको शरीरमाथिको नियन्त्रणले उनलाई सामाजिक, राजनीतिक र आर्थिक रूपमै कसरी सीमित बनाउछ भन्ने कुरा लेखेकी छन् । त्यस्तै मिशेल फुकोले आफ्नो History of Sexuality मा यौनिकतालाई शक्ति र समाजको उपकरणको रूपमा विश्लेषण गरेका छन्। उनको विचारमा, यौनिकता केवल व्यक्तिगत चाहना होइन, राज्य र समाजले नियन्त्रण गर्न खोज्ने क्षेत्र हो।

यी वैश्विक चिन्तनसँगै नेपाली नारीवादीहरू पनि महिला यौनिकतामाथिको स्वतन्त्रताको वकालत गर्दै आएका छन्।

मंगलीदेवी शाहीले पहिलो पटक खुला रूपमा छाउपडी प्रथा विरुद्ध लडेर महिलाको शरीरमाथिको सामाजिक नियन्त्रणको भेद खोलेकी थिइन्। स्मारिका पराजुली, शारदा शर्मा, नारायणी खड्का जस्ता समकालीन नारीवादी लेखिकाहरूले पनि महिला यौनिकता र व्यक्तिगत स्वतन्त्रतामाथि गहन तर्क गर्दै समाजमा महिला यौनिकतामाथिको बहसको ढोका खोलेका छन्।
त्यस्तै दक्षिण एसियाली नारीवादी लेखक कमला भासिनले बारम्बार भनेकी छन्- “स्त्रीको स्वतन्त्रता भनेको पुरुष बन्ने होइन, आफू बन्ने अधिकार हो।”

यी विचारहरूले आजको नेपाली समाजमा उठिरहेको बिवाहेत्तर यौनसम्बन्धको बहसलाई गहिरो आधार र तर्क प्रदान गर्छन्।

आज, “The personal is political” भन्ने नाराले महिला यौनिकता, विवाह र सम्बन्धलाई केवल व्यक्तिगत अनुभवको रूपमा मात्र होइन, सामाजिक–सांस्कृतिक सत्ता संरचनाको प्रतिरोधका रूपमा हेर्न सिकाएको छ। महिलाले आफ्नो शरीर र जीवनको निर्णय लिने अधिकार पाउनु भनेको समाजका गहिरा असमानता चिर्ने क्रान्तिकारी कार्य हो र यही सोच आजको युवापुस्तामा बिस्तार हुँदैछ।

आजको नेपाली समाज तीव्र रूपमा बदलिँदो जीवनशैली, सोच र सम्बन्धको स्वरूपलाई देख्दैछ, तर त्यो यथार्थलाई स्वीकार गर्न भने अझै ढिला गरिरहेको छ।

सहमतिमा आधारित यौनसम्बन्ध, विवाहइत्तर सम्बन्ध र महिला स्वतन्त्रता जस्ता विषयहरूमा हाम्रो समाज गम्भीर रूपमा द्विविधामा छ। यथार्थ बदलिइसकेको छ, तर सोच पुरानै जकडमा।

खासगरी जब महिला स्वतन्त्र हुन्छे, आफ्नो निर्णय आफैं लिन्छे र यौनिकता तथा प्रेमबारे खुलेर बोल्न थाल्छे, तब समाज ऊसँग डराउन थाल्छ र यस्ता महिलालाई परम्परागत सामाजिक संरचनाको चुनौतीको रूपमा हेर्दछ ।

महिलाको स्वतन्त्रता समाजको आँखामा अनियन्त्रितताको पर्याय बनेको छ र यही सोचको आधारमा यौनिकता र सम्बन्धबारे हुने कुनै पनि वैकल्पिक विचारलाई दमन गर्ने प्रयास गरिन्छ। तर, प्रश्न उठ्छ- नारी-पुरुष सम्बन्ध किन केवल विवाहको चौकटीमा सीमित हुनुपर्छ? यौनिकता किन केवल गोप्य र निषेधित हुनुपर्छ? र, महिलाले किन आफ्नो जीवनबारे निर्णय लिन सक्दिनन्?

यी प्रश्नहरूको उत्तर पाउन आज यौनिकता, प्रेम र विवाहबारे खुला बहसको गहिरो आवश्यकता छ। विद्यालय, विश्वविद्यालय, सञ्चारमाध्यम, सार्वजनिक मञ्च—सबैले यी विषयलाई निषेध नगरी बहसको विषय बनाउनुपर्छ। जबसम्म समाजले बदलिँदो यथार्थसँग सामन्जस्य गर्न सक्दैन तबसम्म स्वतन्त्रता र संस्कृतिबीचको द्वन्द्वले महिलाहरूलाई अन्यायपूर्ण मौनतामा बाँधिरहन्छ। यो मौनता भत्काउन जरुरी छ-सांस्कृतिक संरक्षणको नाममा व्यक्तिगत अधिकारको हत्या गर्न दिइनु हुँदैन।

यौनिकता, प्रेम र सम्बन्धबारेको बहसलाई नैतिकताको साँघुरो परिभाषाबाट मुक्त गरी अधिकारको सवालमा रूपान्तरण गर्ने समय आएको छ ।

विवाहविना यौनसम्बन्धलाई अपराधको रूपमा हेरिनु केवल सामाजिक संकीर्णता हो- जबकि वास्तविक प्रश्न चाहिँ सहमति र जिम्मेवारीको हो। यदि दुई वयस्कबीच पारस्परिक समझदारी, सम्मान र सहमति छ भने त्यो सम्बन्धलाई अनुचित वा अनैतिक भन्नु अन्यायपूर्ण हुन्छ।

स्वतन्त्रता भनेको उच्शृङ्खलता होइन; यो सोच्न, निर्णय गर्न र जिम्मेवार भएर बाँच्न पाउने मानवीय हक हो। महिलाले आफ्नो शरीर, यौनिकता, प्रेम र जीवनका सबै निर्णयहरू आफैं लिन पाउनुपर्छ । यही हो समतामूलक समाजको आधार। उनीहरूलाई पवित्रताको पिँजडामा थुन्न खोज्ने प्रयास अब विफल हुनुपर्छ। समाज, संस्कृति र कानुनको काम व्यक्तिको स्वतन्त्रता सुनिश्चित गर्नु हो, सीमित गर्नु होइन।

आजको युग बहसको हो, जहाँ अब विवाह नै एकमात्र सम्बन्धको ढोका हो भन्ने सोचलाई चुनौती दिनु आवश्यक छ। महिलाको यौनिकता निषेधको विषय होइन, अधिकारको मुद्दा हो। यसलाई बुझ्ने, स्वीकार गर्ने र संवेदनशील समाज बनाउने दिशामा अघि बढ्न सकेमा मात्रै हामी साँच्चिकै समावेशी र न्यायपूर्ण समाज निर्माण गर्न सक्छौं।

यो लेख पढेपछि समाजले अनेक टीका-टिप्पणी र आलोचना गर्न सक्छ । लेखमा उठाएको विषयले धेरै परम्परागत साथीभाइ र नेपाली समाजलाई असहज पार्न सक्छ। कतिले त यस्तो विषयमा लेख लेख्नु नै महिलाको निर्लज्ज व्यवहार हो भन्ने आरोप पनि लगाउन सक्छन्। तर सत्य यही हो- यौनिकता कुनै जात, लिङ्ग वा वर्गको एकाधिकार होइन। महिलाको यौनिकता पनि उतिकै मानवीय, स्वाभाविक र सचेत हुने अधिकारको विषय हो। त्यसलाई बोकेर हिँड्नु अपराध होइन, एक सचेत नागरीकको जिम्बेवारी हो । बरु अरूका डरले जीवनका यथार्थहरू लुकाउनु समाज र आफैंप्रति अन्याय गर्नु हो ।

(अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी अर्याल स्वास्थ्य बीमा बोर्डमा कार्यरत छिन्)

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  १ : ०५ बजे

बढ्न सकेन कर्जाको माग, राष्ट्र बैंकले एक महिनामै खिच्यो तीन खर्ब ८० अर्ब

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/०८३ लागेयता नेपाल राष्ट्र बैंकले बैंकिङ

आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीलाई अघि बढाउनुपर्छ : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आगामी निर्वाचनमा बहुमत

नेपालमा रुबेला रोग निवारण भएको डब्ल्यूएचओको घोषणा

काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपालमा रुबेला रोग निवारण

सरकारलाई जलवायुजन्य प्रकोपको तयारीमा उत्तरदायी बनाउनुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सांसद गगनकुमार थापाले सरकारलाई

नेपालमा अत्याधुनिक वासर ड्रायर सार्वजनिक

काठमाडौं– टीसीएल इलेक्ट्रोनिक्सले नेपाली बजारमा अत्याधुनिक प्रविधियुक्त सी७११०डब्ल्यूडीजी फ्रन्ट–लोड वासर