धन र सम्पत्ति घरमै झोलामा,
बाँसको डोलामा लान्छन् खोलामा।
प्रस्तुत गीतको नेपाली सांगीतिक क्षेत्रमा भजनका रुपमा परिचित छ। यो गीत विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रममा विभिन्न कलाकारले विभिन्न संस्करणमा प्रस्तुत गरेको पाइन्छ। यो गीतका सर्जकको पहिचान छैन। बाँसको बहुआयामिक महत्त्वको चर्चा आज दिवसको अवसरमा आवश्यक हुन्छ।
सन् २००९ मा थाइल्याण्डको बैंककमा आयोजित सम्मेलनले सेप्टेम्बर १८ लाई विश्व बाँस दिवसका रूपमा घोषणा गरेको हो। त्यसयता विश्वका धेरै देशले पर्यावरणीय, सामाजिक र सांस्कृतिक कार्यक्रममार्फत् बाँसको महत्त्वको प्रचार-प्रसार गर्दै आएका छन्। हामी जन्मदेखि मृत्युसम्म बाँससँगै हुन्छन्। मानिस जन्मने बित्तिकै सुत्नको लागि प्रयोग गरिने कोक्रोदेखि मृत्युपछिको अन्तिम यात्रासम्म बाँस प्रयोग हुन्छ।
बाँस दैनिक जीवनमा अत्यन्तै गुणकारी वनस्पति हो। बाँस केवल वनस्पति मात्र नभई मानव सभ्यता, संस्कृतिको विकास र सामाजिक जीवनसँग गहिरो रूपमा गाँसिएको प्राकृतिक सम्पदा हो। यसलाई विश्वका विभिन्न संस्कृतिमा पवित्र, उपयोगी र जीवनदायी वनस्पतिको रुपमा लिइएको पाइन्छ।
विशेषतः नेपाल लगायत सम्पूर्ण एशियाली समाजमा बाँसको ऐतिहासिक र सांस्कृतिक महत्त्व देखिन्छ। चीन, भारत, नेपाल र दक्षिण–पूर्व एशियाली सभ्यतामा बाँस हजारौँ वर्षदेखि दैनिक जीवनसँग जोडिएको छ।
पुराना ग्रन्थ, महाकाव्य र लोककथामा पनि बाँसलाई जीवन, स्थायित्व र पुर्नजन्मको प्रतिकका रूपमा चित्रण गरिएको पाइन्छ। वैश्विक सांस्कृतिक दृष्टिकोण अन्र्तगत चीनमा बाँसलाई साहित्य, चित्रकला र कवितामा ‘अटूट आत्मा’ को प्रतीकको रुपमा मानिन्छ। त्यसैगरी चीनमा बाँसलाई प्राचीन कालदेखि “चार सज्जन” (plum, orchid, chrysanthemum, bamboo) मध्ये एक मानिन्छ। जसले लचकता, बल, सरलता र निर्भिकता दर्शाउँछ।
भारतमा बाँसलाई “कल्पवृक्ष” (इच्छा पूरा गर्ने वृक्ष), जापानमा दुष्ट आत्माबाट सुरक्षा गर्ने पवित्र वनस्पति मानिन्छ। नेपालमा “जीवनको साथी” मानिन्छ, जुन जन्मदेखि मृत्युसम्म साथ दिने वनस्पति हो।

बाँस मानव जीवन चक्रसँग सम्बन्धित छ। हिन्दू र बौद्ध संस्कृतिमा बाँसलाई पवित्रता, स्थायित्व र शुद्धताको प्रतीक मानिन्छ। बौद्ध धर्ममा बाँसलाई ध्यान, अनुशासन र लचिलोपनको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ। किराँत समुदायमा पनि बाँसलाई पवित्र र शुभ मानिन्छ। लोककला र परम्पराको निरन्तरतामा पनि बाँसको स्थान अभिन्न छ।
बाँसबाट बनेका मुरली, बाँसुरी, मादलको संरचना, पिङ आदि परम्परागत मनोरञ्जन र कला-संस्कृतिको अंग बनेका छन्। लोककथामा बाँसलाई दयालु, लचिलो र संघर्षशील जीवनको प्रतीकका रूपमा प्रस्तुत गरिन्छ।
बाँस सामाजिक एकता र सहकार्य, सांस्कृतिक पहिचान र हस्तकला तथा उद्योगको पर्याय हो। यसले घर, खेत, पशुपालन, सजावट र खेलकुददेखि लिएर धार्मिक अनुष्ठान, मनोरञ्जन र सांस्कृतिक क्षेत्रमा समेत विशिष्ट योगदान पुर्याएको छ।
बाँस नेपाली समाजमा दैनिक जीवनको अभिन्न हिस्सा हो। यो हलुका, बलियो र बहुआयामिक प्रयोगले ग्रामीण र शहरी जीवनमा सुविधा, आर्थिक लाभ र सांस्कृतिक मूल्य प्रदान गरेको छ।
बाँस नेपाली समाजमा दैनिक जीवनको अभिन्न हिस्सा हो। यो हलुका, बलियो र बहुआयामिक प्रयोगले ग्रामीण र शहरी जीवनमा सुविधा, आर्थिक लाभ र सांस्कृतिक मूल्य प्रदान गरेको छ।
नेपालमा बाँस दैनिक जीवनका विविध पक्षमा व्यापक रुपमा प्रयोग भएको हुन्छ। घर, गोठलगायतका संरचनामा होस् वा ती संरचनाको सुरक्षाका लागि पर्खाल/बाँधको रुपमा, मेला, चाडपर्व तथा धार्मिक स्थल सजावट र मञ्च व्यवस्थापन होस् वा अस्थायी पुल पुलेसा निर्माण गर्न, भान्सामा परम्परागत पकवान बनाउन यसको प्रयोग हुन्छ। अन्न भण्डारण, खेतीपाती गर्दा होस् वा अन्नबाली भित्र्याउँदा, खोर गोठको ढाँचा निर्माणमा होस् वा त्यसभित्र रहने घरपालुवा जनावरका लागि खाद्यान्न श्रोत जुटाउन, तरकारी फलफूल अन्न बोट विरुवालाई सुरक्षित राख्न यसको आवश्यक देखिन्छ। कतिपय ठाउँमा इन्धनका रुपमासमेत बाँसलाई प्रयोग गरिन्छ।
के बन्दैन बाँसको ? के हुदैन बाँसको ? घरेलुजन्य, कृषिजन्य, निर्माण सामाग्रीका साथै औद्योगिक कच्चा सामग्री बनाउँन बाँस उपयोगी छ। हाम्रा पिता पूर्खाले बाँससँग जोडिएका धेरै ज्ञान सीप हामीलाई छोडेर गएका छन्। अब ती परम्परागत ज्ञानसीपलाई हामीले उचित जगेर्ना गर्दै यसलाई आधुनिक प्रविधिसँग जोड्दै अझ फराकिलो, उन्नत, प्रतिस्पर्धी र बनाउनु आवश्यक छ।
बाँस आज विश्वव्यापी रूपमा हरित उत्पादन र दिगो उद्योगको लागि एक महत्वपूर्ण कच्चा पदार्थको रूपमा विकास भएको छ। यसले केवल प्राकृतिक स्रोतको रूपमा नभई आर्थिक, औद्योगिक र वातावरणीय दृष्टिले ठूलो भूमिका खेलिरहेको छ।
सन् २०२४ मा विश्व बाँस बजारको मूल्य लगभग ६७/ ७५ अर्ब अमेरिकी डलर अनुमान गरिएको छ। दिगो उत्पादनको कच्चा पदार्थ, काठको विकल्प, बायो इनर्जी, फर्निचर, निर्माण र कपडाजन्य आवश्यकतामा विश्वव्यापी वृद्धिसँगै सन् २०३० सम्म यसको आकार करिब ८७ देखि ९० अर्ब डलर पुग्ने प्रक्षेपण गरिएको छ।
बाँसको मुख्य निर्यातकर्ता चीन
चीन विश्वको बाँस बजारको मुख्य निर्यातकर्ता हो। जसले विश्व बजारको ६७ प्रतिशत हिस्सा ओगटेको छ। अमेरिका र युरोप बाँसका प्रमुख उपभोक्ता हुन्। नेपाल जस्ता देशले सही रणनीति, गुणस्तर सुधार, प्रविधि र ब्रान्डिङमा ध्यान दिएमा अन्तर्राष्ट्रिय बजारमा सहभागी भएर प्रशस्त लाभ उठाउन सक्छ।
चीन विश्वको बाँस बजारको मुख्य निर्यातकर्ता हो। जसले विश्व बजारको ६७ प्रतिशत हिस्सा ओगटेको छ। अमेरिका र युरोप बाँसका प्रमुख उपभोक्ता हुन्।
बाँसबाट भिरालो जमिनलाई पहिरो र समथर जमिनलाई बाढीको क्षतिबाट जोगाउन सकिन्छ। घर, अफिस, होटेल, रिसोर्ट आदि आवासीय वा व्यावसायिक भवनलाई आकर्षक र मनमोहक ढङ्गले सजावट गर्न सकिन्छ।
नेपालमा बाँसबाट निर्मित वस्तुको माग र बजार क्रमशः बढिरहेको छ। निर्माण सामग्री, हस्तकलाका आकर्षक सामान वा बाँसजन्य उद्योग देशभर स्थापना गरेर बाँसमा ज्ञान, सीप र क्षमताको विकास गर्न सकिन्छ। दीर्घकालीन योजना बनाउने हो भने बाँसलाई समृद्धिसँग जोड्न सकिन्छ। स्थानीय रोजगारीका अवसरमा उल्लेख्य वृद्धि भई देशको आर्थिक विकासमा टेवा पु-याउन सकिने बलियो सम्भावना बाँसमा छ।
बाँस वातावरणीय दृष्टिले अत्यन्त उपयोगी छ। यसले अरु रुख विरुवा भन्दा बढी कार्बनडाईअक्साइड लिने कुरा विभिन्न अनुसन्धानले देखाएका छन्। यसको प्रयोगबाट राम्रो आर्थिक उर्पाजन गर्न सकिने भएकोले यसलाई “कलियुगको कल्पवृक्ष” अनि “हरियो सुन” पनि भनिन्छ।
जसरी जीवन बाँच्न अन्न, पानी, वायुसँग सम्बन्धित छ, त्यसरी नै ग्रामीण समाजमा बाँसले मानव जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्दछ। जीवन टिकाउन आवश्यक स्रोत, आश्रय, रोजगारी, संस्कृति बाँससँग जोडिएका छन्। बाँस भएको ठाउँमा हरियाली, वातावरणीय सन्तुलन हुन्छ।

बाँस केवल एउटा घाँस प्रजाति मात्र नभई नेपाल र विश्वकै लागि मूल्यवान सम्पदा हो। यसलाई संरक्षण गर्दै व्यावसायिक प्रयोगमा प्रवद्र्धन गर्नु, आधुनिक प्रविधिसँग जोड्नु र सांस्कृतिक मूल्यलाई कायम राख्नु आवश्यक छ। बाँस नेपालकै हरित भविष्य र दिगो विकासको आधार बन्न सक्ने प्रशस्त आधार छन्। बाँस र जीवन एक–अर्काका परिपुरक हुन्, जीवन बाँसमा निर्भर छ र बाँसले जीवनलाई सम्भव बनाउँछ। बाँसलाई इतिहास, संस्कृति र आधुनिक विकास बीचको सम्बन्ध सेतुका रूपमा मान्न सकिन्छ। “जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस।”
प्रतिक्रिया