फूलखेतीबाट चार करोड आम्दानी | Khabarhub Khabarhub

फूलखेतीबाट चार करोड आम्दानी


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

 गण्डकी– पोखरा महानगरपालिका–३३ भरतपोखरीको बागमाराका युवराज आचार्यले विगत सात वर्षदेखि फूलको व्यावसायिक खेती गर्दै आएका छन् ।

उनले यस वर्ष पनि करिब पाँच रोपनी क्षेत्रफलमा तिहारका लागि सयपत्री फूल लगाएका छन् । यतिखेर बारीमा ढकमक्क फूल फूलेका छन् । आचार्यले तिहारका लागि कर्मा ५५५ जातको सयपत्री फूल लगाएका छन् । उनले सुरुमा एक रोपनी क्षेत्रफलबाट फूलखेती सुरु गरे पनि यसबीचमा सात रोपनी क्षेत्रफलसम्म फूल लगाएको अनुभव सुनाए ।

पाँच रोपनी क्षेत्रफलमा फूलको खेती गर्दा करिब रु एक लाख लगानी भएको बताउँदै आचार्यले फूललाई बजारसम्म पुर्‍याउनसकेमा यसबाट राम्रै आम्दानी हुने विश्वास व्यक्त गरे। हार्डवेयर व्यवसाय सञ्चालनसँगै आफूले फूलखेतीलाई पनि निरन्तरता दिँदै आएको उनले बताए ।
    
बागमाराकै अर्का युवा सुदनराज अधिकारीले पनि करिब डेढ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका छन् । व्यावसायिक कृषिका विविध क्षेत्रमा सफल बन्दै आएका उनले पनि विगत केही वर्षयता फूलखेती गरिरहेका छन् ।

आफ्नो बारीमा करिब एक हजार २०० बोट सयपत्री फूल झपक्क फुलिसकेको बताउँदै अधिकारीले तिहारअगावै पनि चौरासीको पूजालगायत धार्मिक अनुष्ठानमा फूल बिक्रीसमेत भइसकेको जानकारी दिए ।
    
उनले असारको २०-२१ गते कर्मा ५५५ जातको सयपत्री फूल बीउ जमाएर साउनको १०-११ गतेतिर बिरुवा लगाएको बताए। 

‘बारीमा लगाएको फूल करिब १०५ दिनमा फुलिसकेको छ । यस वर्ष मौसम पनि राम्रो भएका कारण फूलको उत्पादन राम्रो भएको छ, यसबाट राम्रै आम्दानी हुने आशा छ’, आचार्यले भने। 

आचार्य र अधिकारी मात्रै होइन पछिल्लो समय पोखराका विभिन्न स्थानका युवा सयपत्री फूलको व्यावसायिक खेतीमा आकिर्षत भइरहेका छन् । महानगरपालिका र अन्य स्थानीय तहको सहयोगले पनि व्यावसायिक फूलखेतीमा आकर्षण बढाएको हो ।

पोखरा महानगरपालिका वडा नं ३३ मा व्यावसायिक कृषिमा लाग्ने जो कोहीका लागि वडाका तर्फबाट आवश्यक साथ र सहयोग भइरहेको वडाध्यक्ष रामचन्द्र अधिकारीले बताए।

पछिल्ला वर्षमा तिहारमा मालाका लागि प्रयोग गरिने सयपत्री फूलमा पोखरा आत्मनिर्भर बन्दै गएको पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरिया बताउँछन्। उनका अनुसार विगतमा तिहारका लागि बाहिरबाट फूल आउने गरेकामा पछिल्ला वर्षमा त्यो क्रम क्रमशः घट्दै गएको छ ।

 पछिल्ला वर्षमा अधिकांश परिवारले घरका लागि आवश्यक फूल आफ्नै बारीमा तयार गर्ने र व्यावसायिक फूलखेती गर्नेको सङ्ख्यासमेत बढेसँगै पोखरा सयपत्री फूलमा आत्मनिर्भर बन्दै गएको हो ।
    
शाखा प्रमुख कडरियाले सयपत्री फूलप्रतिको आत्मनिर्भरता बढाउने उद्देश्यले महानगरपालिकाले विगत तीन वर्षयता फूलको बीउ वितरणलगायत कार्यमा अनुदान सहयोगसमेत गर्दै आएको बताए। महानगरले फूलखेतीमा लाग्ने किसानलाई लक्षित गरी फूलको न्यूनतम समर्थन मूल्य तोक्नाका साथै आवश्यक अन्य सहयोग पनि प्रदान गरिरहेको उनले जानकारी दिए।

‘यस वर्ष पोखरामा करिब ३०० रोपनी क्षेत्रफलमा तिहारका लागि सयपत्री फूलखेती गरिएको छ’, कडरियाले भने, ‘विगत केही वर्षअघिसम्म तिहारका लागि आवश्यक ८० प्रतिशत फूल बाहिरबाट आउँथ्यो, अचेल यहाँ आवश्यक हुने करिब ८० प्रतिशत फूल स्थानीय उत्पादनले धानिरहेको छ ।’
    
यस वर्ष तिहारमा करिब चार करोडको फूलको कारोबार हुने अनुमान छ । पोखरामा मात्रै तिहारमा तीन लाख माला बिक्री हुने अनुमान गरिएको महानगरले जनाएको छ । यस वर्ष फूलको बिक्री मूल्य प्रतिकिलो रु ३०० देखि रु ४०० तथा प्रतिमाला रु १०० देखि १५० सम्म निर्धारण गरिएको छ ।

यस्तै, प्रतिथुङ्गा १५ देखि २० ग्रामको पाँच, १० देखि १५ ग्रामको चार र पाँचदेखि १० ग्रामको रु दुई बिक्री मूल्य निर्धारण गरिएको छ । उत्पादकलाई बिक्रीमा सहजता ल्याउने उद्देश्यले महानगरपालिकाले पोखराका विभिन्न २५ ठाउँमा बिक्रीवितरण केन्द्रसमेत निर्धारण गरेको छ । 
    
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फान)कास्कीका अध्यक्ष राम सुवेदीले पछिल्ला वर्षमा पोखरामा बाहिरबाट आउने गरेको फूलको आयात घटेको जानकारी दिए । महानगरपालिबाट तीन वर्षयता अनुदानका फूलको बीउ वितरणसँगै बजारीकरणमा पनि सहयोग प्राप्त भइरहेको उननले बताए। 

पोखरामा स्थानीय उत्पादनले पुग्ने भएकाले यहाँको उत्पादनलाई प्राथमिकता दिँदै व्यवसायलाई प्रोत्साहित गर्न आवश्यक छ’, अध्यक्ष सुवेदीको आग्रह छ । 

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  १ : ४८ बजे

अटोमेटिक गन र एक लाख गोली लुटिएको छ, कैदी फरार छन्; फागुन २१ मा चुनाव हुँदैन : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा अ‍ोलीले फागुन

जेन-जी युवालाई प्रचण्डको आग्रह- मित्र र दुस्मन छुट्याउनू

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मेक्सिको–युरोपियन सङ्घ व्यापार सम्झौता २०२६ फेब्रुअरीदेखि लागू हुने

ब्रसेल्स- मेक्सिको र युरोपियन सङ्घबीचको नयाँ व्यापार सम्झौता आगामी फेब्रुअरीदेखि

प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म ढुङ्गाना समूह चुनावमा सहभागी नहुने

काठमाडौं– ‘जेनजी’ आन्दोलनका अगुवा मिराज ढुङ्गाना समूहले प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’

तीन महिनामा १८ प्रतिशत बजेट खर्च

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को सुरुआती तीन महिनामा सरकारले