कञ्चनपुर–कमला सडक : दुईपटक म्याद थपिँदा पनि प्रगति ६७ प्रतिशत | Khabarhub Khabarhub

कञ्चनपुर–कमला सडक : दुईपटक म्याद थपिँदा पनि प्रगति ६७ प्रतिशत


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

 सिरहा– रूपान्तरणीय गौरवको परियोजनाका रूपमा अगाडि बढाइएको कञ्चनपुर–कमला सडक विस्तार तथा स्तरोन्नतिको काम म्याद सकिन करिब दुई महिना बाँकी छ । हालसम्मको निर्माण प्रगति भने ६७ प्रतिशत मात्रै छ । 

सडकखण्डको स्तरोन्नति तथा चार लेनमा विस्तार गर्ने उद्देश्यले सुरु गरिएको यस आयोजनाको ठेक्का सन् २०२० मा चाइना रेलवे कम्पनी–२ इञ्जिनियरिङ ग्रुपले पाएको थियो । 

१५ अर्ब ६६ करोडको लागतमा सुरु गरिएको आयोजना २८ अक्टोबर २०२३ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएका लक्ष्यअनुसार काम सम्पन्न नभएपछि दुईपटक म्याद थपिएको छ । पहिलोपटक १४ महिनाको र दोस्रोपटक १२ महिनाको म्याद दिइएको हो । हालको सम्झौताअनुसार कम्पनीले अब ३१ डिसेम्बर २०२५ भित्र काम सम्पन्न गर्नुपर्नेछ ।

सडक निर्माण कार्यलाई पूर्व र पश्चिम गरी दुई खण्डमा बाँडेर काम भइरहेको छ । पूर्वीखण्ड कञ्चनपुरदेखि कुशहा (३९ दशमलव ४२ किमी) र पश्चिमीखण्ड कुशहादेखि कमला नदीसम्म (४७ दशमलव ४१ किमी) रहेको छ । विशेष गरी पश्चिम खण्डअन्तर्गत लहान क्षेत्रको काम भने निकै सुस्त रूपमा भइरहेको छ ।

योजना पश्चिमखण्डका सूचना अधिकारी इन्जिनियर सरोजकुमार कोइरालाका अनुसार केही मुख्य संरचनाको निर्माण नहुँदा अन्य काम अघि बढाउन नसकिएको हो ।’अण्डरपास, ओभरपास र आकाशेपुलको पाइल फाउण्डेशन जस्ता संरचना नबन्नु नै मुख्य अवरोध हो’,उनले भने,’यी काम नगरी अन्य संरचनाको निर्माण गर्न सकिँदैन । यही बाध्यताले काम ढिलो भएको हो ।’

निर्माणस्थलमा पर्ने विद्युत् प्राधिकरणका पोल समयमै नहटाइँदा सडक निर्माणमा थप ढिलाइ भएको कोइरालाले बताए। पटकपटक अनुरोध गर्दा लहान क्षेत्रको उत्तरतर्फका पोल अझै नहटाइएको उनको पनि गुनासो छ । 

निर्माणमा ढिलाइ हुँदा वर्षौंदेखि धुलो र हिलोको सास्ती भोग्नु परिरहेको छ । लहानको मुख्य चोक आसपास क्षेत्र अस्तव्यस्त बनेको छ भने व्यापारसमेत प्रभावित भएको छ । सहिद स्मारक भत्काएर बनाइएको डाइभर्सनमार्फत एकतर्फी सवारीसाधन चलाइए पनि धुलो, हिलो र दुर्घटनाको जोखिम उच्च रहेको छ । सोही कारण स्थानीयले असारमा चक्काजामसमेत गरेका थिए ।

मिर्चैयाको अण्डरपास र लहानको ओभरपासको पाइल फाउण्डेशन निर्माणपछि केही समय रोकिएको काम असोज २३ गतेदेखि पुनःसुरु भएको छ । कम्पनीले लागत बढेको भन्दै आर्थिक नोक्सानी बेहोरेको बताउँदै आएको छ । भदौ २४ गतेका लागि तय भएको निर्माणसम्बन्धी छलफल स्थानीयस्तरमा भएको आन्दोलनका कारण स्थगित भएपछि कम्पनीका पदाधिकारीहरू चीन फर्किएका छन् । सडक विभागले हाल पुनः छलफलका लागि समन्वय गरिरहेको जनाइएको छ ।

मिर्चैयास्थित पश्चिमखण्ड कार्यालयले सार्वजनिक गरेको पछिल्लो त्रैमासिक प्रतिवेदनअनुसार असार मसान्तसम्म ३९ दशमलव ४२ किलोमिटरमध्ये ३० दशमलव ८५ किलोमिटर मात्रै सडक कालोपत्र भएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ५ : १५ बजे

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार

एनपीएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा

धनुषा – जनकपुरधाममा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफीको आज पूजापाठ

बङ्गलादेशको प्रमुख विमानस्थलमा आगलागी हुँदा उडान अवरूद्ध

ढाका – बङ्गलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा शनिबार