जसको जे स्वार्थ जोडियो, उनीहरुले आफ्नो स्वार्थपूर्तिका लागि विध्वंशात्मक अपराध गरे । एमालेका उम्मेदवार जो हारेका थिए, उनले गगन थापाको घर जलाएको भन्ने स्वयं गगनको गुनासो छ । विद्या भण्डारीको घर केपी ओलीका रक्षक एमालेले नै जलाए भन्ने आरोप छ ।
त्यसरी नै, सिंहदरबार – जहाँ लिपुलेक, लिम्पियाधुरा, महाकालीको लिखत कागज रहेका थिए – त्यसलाई तहसनहस गर्दा प्रमाण लोप हुन्छ भन्ने लागेर विदेशी एजेन्टले त्यहाँ आगो लगाए भनेर अर्कोथरिले भन्ने गरेका छन् । सरकारी धरोहर खरानी बनाउँदा हाम्रो क्रान्ति सफल भयो भन्ने विश्लेषण पनि सुनियो ।
नेता भीम रावलको घर रावलको फरक मतका विरोधी ओलीका पक्षधरले जलाए भन्ने छ । मुद्दा हराइएकाले अदालतहरु जलाए । न्याय मार्ने र निर्दोषलाई थुनामा पार्ने न्यायाधीशहरुका कारणले अदालत जलाइयो भन्ने छ । यसरी बजारमा कुराकानी हल्ला धेरै छ ।
व्यवसायिक प्रतिष्ठानहरु एमालेलाई जग्गा दान भनेर दिएकाले जलाइयो भनिन्छ । भाटभटेनी लुट्नेलाई सुरक्षाकर्मीले लखेटेको प्रतिशोधमा जलाइएको भन्ने छ । त्यसमा वर्तमान सत्तामा नरहेका साना पार्टीका कार्यकर्ता र भीडले जलाएको भन्ने छ । त्यो तथ्य भिडियोमा अहिले पनि सुरक्षित रहेको पाइन्छ ।
त्यसरी नै, नगरपिता रहेका बालेनले जलिरहेको सिंहदरबारको आगो निभाउन दमकल नपठाएर शंकास्पद भूमिका निभाएको देखिन्छ । टीओबी (ओरिजन ब्लड ग्रुप) नेपालको उक्त घटनामा संलग्न रहेको देखिन्छ, उनीहरुले बारबारा फाउण्डेशनको माध्यमबाट रकम लिएर फ्रि तिब्बत मुभमेन्टलाई पनि सहयोग गरेका छन भन्ने स्पष्ट देखिन्छ ।
एमालेले कांग्रेस, कांग्रेसले आफ्नै दलको असन्तुष्ट समूह, माओवादीले कांग्रेस–एमालेका घरमा आगो झोसेको देखिन्छ । आरोप मात्र नभएर विभिन्न श्रोत र अभिलेखबाट यो प्रमाणित हुन्छ । त्यस अतिरिक्त, विभिन्न स्वार्थ समूह मिल्नेहरुले सिंहदरबार, नेताहरुको घर, सरकारी कार्यालयमा आगो लगाए ।
प्रहरीका हातहतियार लुटे, कमब्याट ड्रेस लुटे । अपराधीहरुलाई कारागारबाट बाहिर निकाले । डिल्लीबजारमा समेत कारागारबाट कैदी भगाउन अनेक प्रयास भए । प्रहरी र सशस्त्रविरुद्ध कैदीहरु झडपमा उत्रिए । अन्त्यमा सेनाले स्थितिलाई सामान्य बनायो ।
यो सम्पूर्णको जड नेपाली कांग्रेस र एमालेको सरकार, सरकारको नेतृत्व गर्ने केपी ओलीको कुशासन, शेरबहादुर देउवापत्नी आरजु राणाको द्रव्यमोह, गृहमन्त्री लेखकको लापरवाहीको कारण यो जेन–जी आन्दोलन भएको थियो भन्ने स्वतन्त्र, देशभक्त, तटस्थ नेपाली नागरिकको अभिमत देखिन्छ । त्यसले नेपाल डुबायो । यदि सुशासनको बहाली, भ्रष्टाचार विरुद्धको कदम र विकासको थालनी गरे मात्र पनि यस्ता गतिविधि र विध्वंश रोक्न सकिने थियो ।
जेन–जी विद्रोहको घटनामा भ्रष्टाचारका प्रमाण गायब गर्नेहरु, अनुसन्धानमा प्रमाण गायब गर्नेहरु, मुद्दा हारेका कारण अन्यायमा परेकाहरु, आपनो क्षमता र योग्यता प्रतिभा भएर पनि स्थान नपाएकाहरु सबैले दोस्रो दिन भदौ २४ गतेको घटनामा सबैले साथ दिए । तर, पहिलो दिनमा केपी ओली र गृहमन्त्रीले सुनुवाई गरेर जेन–जीहरुको माग र चाहनालाई समयमा नै सम्बोधन गरेको भए सो स्थितिलाई साम्य पार्न सकिने थियो ।
त्यसो नगरिनु नेपाली कांग्रेस पार्टी र यसका नेता शेरबहादुर देउवाको असक्षमता र लापरवाही, सत्ता लोलुप नियत जिम्मेवार देखिन्छ । उनी जे जसरी आफूले ओलीलाई सत्ता सुम्पिँदा ७ बुँदे सम्झौता गरेर दिएका थिए, त्यसरी नै अब ओलीले फेरि सत्ता कांग्रेसलाई जिम्मा दिन्छन् भन्ने दुस्वप्न देखेर ओलीको भरोसामा बसेका थिए । यसरी हेर्दा देउवाको गम्भीर गल्ति देखिन्छ । उनमा परिस्थितिको विश्लेषण गरी भविष्यमा के होला ? भन्ने भविष्यदर्शीताको गुण र क्षमता मरिसकेको देखिन्छ ।
त्यस्ता व्यक्तिलाई नेतृत्वमा बहाल राख्नाले पार्टी पनि सकियो र नेपालले पनि ठूलो दुर्गति व्यहोर्नु परेको हो । अबदेखि सबै राजनीतिक पार्टीहरुले यसका होसियारी रहनु पर्ने देखिन्छ । जब २३ भदौको घटना भयो, तब राति नै गृहमन्त्री रमेश लेखकले राजिनामा दिए पनि नेपाली कांग्रेसको नेताले आपनो समर्थन फिर्ता लिएको घोषणा गरी अब सरकार नयाँ बन्ने र उनीहरुको माग चाहना पूरा गर्नेतिर कदम चालिने सम्बोधन देउवाबाट आएको भए त्यसले कांग्रेसको राजनीतिमा सकारात्मक प्रभाव पर्ने थियो । अनुकूल अवस्था रहँदा रहँदै त्यसो गरिएन ।
तसर्थ ठूला राजनीतिक दलहरु अनुकूल अवसरमा पनि स्थितिको समीक्षा गरी सो स्थितिलाई वशमा लिने गरी नीति बनाउन र सो निर्णय कार्यान्वयन गरी आम जनतालाई परिचालन गर्न चुकेकै हुन् । अबको नेतृत्व युवाहरुको हातमा लैजानु पर्दछ । त्यसका लागि दलीय कानुनमा पनि उम्मेदवार हुने उमेर घटाएर १८ राख्नु उचित हुने देखिन्छ ।
नेपाली कांग्रेसका सभापति देउवा र उनका ७ भाइ मतियार, सल्लाहकारले देउवा, पार्टी, सरकार तथा ठूला दलहरुलाई समेत विध्वंश गरी सत्तामा अडिइरहने लिप्साका कारण डुबाएकै हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले जे भएपनि अडान लिएका र नेपाली सेनाको सेनापति अशोकराज सिग्देल सहितको सानो समूहको इमानी मेहनत र मध्यस्थकर्ताको चतुर चालबाजीले गर्दा समन्वय गरी नेपालको संरक्षण भयो । संविधान जोगियो, मान्छे कम मरे ।
संविधान जोगिँदा देशको प्राण पनि जोगियो । त्यसो हुँदा अब विस्तारै सबै मिलेर नेपाललाई लयमा फर्काउन सकिने छ । त्यसका लागि भय होइन अभयता, हेर्ने होइन सदाचार, बिगार्ने होइन समेट्ने, गफ होइन खनखन्ती नगदमा काम गर्ने, अशान्ति होइन शान्ति र विकास, संसद बहाली होइन निर्वाचन भने पछि निर्वाचनमा जाने, राष्ट्रपतिले सेनापतिको मध्यस्थतामा बहाली गरेको सुशीला कार्कीको सरकारलाई भरथेग गरी तोकिएको अवधिमा निर्वाचन गर्ने गराउने तिर जोड दिन आवश्यक देखिन्छ ।
असल मान्छे, इमान्दार मान्छे, निष्ठा इमान भएको मान्छेलाई विगतमा पनि भीडले, आम जनताले आशा गरेर खोजी गरेर ल्याएको छ, होइन र ? किन असलले सधैँ पीर कष्ट र दुख नै पाउँदछ ?
अनुमानका भरमा बोल्ने, लेख्ने, भन्ने, मनमा लागेको कल्पनालाई विचार जनविचार – जनताको विचार – हो भनी सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने यो प्रवृत्तिले नेपालमा धेरै ठूलो दुष्परिणाम ल्याएको पाइन्छ । राजनीतिमा हुनुपर्ने भविष्यदर्शीता, योग्यता, साहस, विचार विश्लेषण गर्ने र सबै घटनाक्रमहरुको कार्यकारणको क्रमवद्ध विश्लेषण, त्यसको निष्कर्ष, सो निष्कर्षले अर्को घटना परीघटनाकालागि सिर्जना गर्ने कार्य कारणको सम्बन्धमा नेता र तिनको समूहले विश्लेषण गरी आपनो दललाई विचारको शक्ति दिन आवश्यक देखिन्छ । यसमा नेपालमा दलहरु तीनका नेताहरुमा ज्ञानको कमी देखिन्छ । अनुसन्धान गर्ने गराउने र अध्ययन गर्ने बानीको अभ्यास कमजोर देखिन्छ । गुप्तचरी कार्य र दस्ताको परिचालन कमजोर देखिन्छ ।
खराब आचरण मानिसको प्रवृत्ति हो, चोर, ठग, जुवाडे र अपराधी जहाँ गएपनि उनीहरुको अपराधिक प्रवृत्ति साथमा सँगसँगै जान्छ । हामीले मानिसलाई मार्ने हटाउने होइन कि उसमा रहेको खराब प्रवृत्ति हटाउने वा सुधार गर्ने हो । त्यसका लागि नेपालमा सबै मिलेर साथ दिएर अभियान चलाएर काम गर्नु पर्दछ । धेरै हात एकै साथ, अहिलेको आवश्यकता देखिन्छ । जोड्ने हो, तोड्ने होइन ।













प्रतिक्रिया