चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत्रमा खटिएका हुन् । 

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरणडाभार क्षेत्रमा गणकहरू खटिएका छन् ।

उनले पहिलो भागअन्तर्गत यस क्षेत्रमा दुई सय ८६ वटा ग्रिड बनाएर गणना गरिने जानकारी दिए । उनले भने, ‘एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखिने छ ।’

चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर बाघ गणना गर्न लागिएको जनाउँदै मगरले उक्त ब्लकलाई तीन भागमा विभाजन गरिएको बताए । 

उनका अनुसार एउटा भागमा दुई साता क्यामेरा राखी बाघ गणना गरिने छ । चितवन–पर्सा ब्लकमा नौ सय ५८ वटा ग्रिड बनाएर बाघ गणना गर्न लागिएको उल्लेख गर्दै सूचना अधिकारी मगरले यसको अर्थ दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गरिने जानकारी दिए । 

‘योसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि गणना गरिँदै छ । तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । हरेक चार/चार वर्षमा बाघ गणना गरिँदै आइएको छ’, मगरले भने ।

निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंसेवी, विद्यार्थी र संरक्षणका साझेदारहरू गणनामा सहभागी भएका उनले जानकारी दिए  । 

ग्रिडहरू बीचभागमा पर्ने स्थानमा गणना गर्ने प्राविधिक क्याम्प (शिविर) सथापना गरी गणकका लागि बस्ने व्यवस्था गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । गणकहरूले भूगोल अनुसार आठदेखि १२ सम्मको ग्रिडमा राखिएका क्यामेरा दैनिक अनुगमन गर्ने उनले जानकारी दिए । 

‘ग्रिडबाट क्यामेरा निकालेपछि अध्ययन थालिने छ । बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेरा राखिने छ । ती क्यामेराले बाघको फोटो खिच्ने गर्दछ’, सूचना अधिकारी मगरले भने । बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उनले बताए । 

‘हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन् । पहिलो कम्प्लेक्स (समूह) यो हो भने दोस्रो बाँके र बर्दिया राष्ट्रिय निकुञ्जलाई बनाइएको छ । त्यहाँभित्र पनि तीन वटा ब्लक हुनेछन् । तेस्रो कम्प्लेक्स शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझण्डी हुनेछ । यसलाई एउटै ब्लक बनाइने छ’, उनले भने ।

यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा तीन सय ५५ वटा वयस्क बाघ रहेका तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा एक सय २८, बर्दियामा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए ।

बाघ गणना भएपछि गैँडा गणना गर्ने तयारी गरिने निकुञ्ज कार्यालयले जनाएको छ । गत वर्ष गैँडा गणना गर्ने कार्यक्रम बजेट अभावका कारण रोकिएको थियो । रासस

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  १२ : ०९ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन