‘गुण्डुका बा’ले जितेर हारेको ‘ह्याट्रिक’ « Khabarhub

‘गुण्डुका बा’ले जितेर हारेको ‘ह्याट्रिक’



गुरु द्रोणाचार्यले महाभारत युद्धमा शहादत प्राप्त गरेपछि कौरव खेमामा सेनापति कसलाई बनाउने भन्ने विषयमा रस्साकस्सी शुरु भयो । अश्वत्थामा, दुर्योधन, कर्ण, शकुनी र दुशासन कौरव पक्षका होनहार लडाकु थिए । उनीहरुले सेनापतिमा धेरै गुण हुनुपर्ने भएकाले नायक रोज्दा सुरवीर, धैर्यवान र परेका बखत तत्काल निर्णय दिन सक्ने क्षमता भएको व्यक्ति भावी सेनापति हुनुपर्ने राय दिए । यही मौकामा अश्वत्थामाले महावीर कर्णलाई सेनापति बनाउन प्रस्ताव गरे । उनी वीरबल, विद्वान् र वुद्धिमानी थिए, अश्वत्थामाको प्रस्ताव एकमतले पारित भयो ।

यो निर्णयबाट सबैभन्दा धेरै दङ्ग चाहिँ दुर्योधन देखिन्थे । सबै विदावारी भएपछि कर्णलाई अँगालो हाल्दै एकान्तमा लगेर उनले भने– ‘मित्र, वास्तवमा मलाई पितामह र गुरु द्रोणाचार्य कसैको विश्वास थिएन । वास्तवमा उहाँहरू पाण्डवलाई बढी माया गर्नुहुन्थ्यो । त्यसैले हामी क्षमता भएर पनि सफल हुन सकेनौँ । म त तिम्रै भरमा थिएँ । सेनापति बन्ने योग्यता तिमीबाहेक कसैमा छैन । अब हामी सफल हुन्छौँ ।’

दुर्योधनको प्रशंसाबाट हौसिएका कर्ण भन्छन्– ‘अब म पाण्डवलाई युद्धमा टिक्नै दिन्न । भोलि नै अर्जुनलाई खत्तम गरेर सबै पाण्डव म आफ्नो शिविरमा ल्याई थुन्छु । यो मेरो प्रतिज्ञा हो ।’ कर्णको संकल्पले दुर्योधनलाई हुनसम्मको ढाडस दियो । यी पात्र बाहिरबाट अत्यन्तै मिलेजस्तो देखिए पनि शङ्काको लाभ लिन चुक्दैनथे । सहयोगीका नाममा एकले अर्कालाई राम्रैसँग ठग्थे । यिनीहरूको सम्बन्ध नङ–मासुजस्तो त थियो तर नङ काटिँदा मासु कुनै प्रतिवाद गर्दैनथ्यो ।

युद्धका नायक श्रीकृष्ण अन्ततः व्याधाको प्रहारबाट नासिए । राज्यभोग गर्नुपर्ने पाण्डव एक/एक गर्दै सुमेरु पर्वतमा बिलाएका छन् । कूटनीतिज्ञ विदुरलाई वैराग्यले छोएको छ । पाण्डवहरुले कर्णलाई शत्रु ठानेका थिए । तर कर्ण दाजु भएको खुलासा आमा कुन्तीले गरेपछि पाण्डवहरु यति व्यथित भए कि जीवनको उत्तरार्द्ध उनीहरूका लागि अनन्त सुरुङ यात्रा सावित भयो । युद्धका वीरहरू किंकर्तव्यविमूढ बने ।

एमालेको मुखिया पद केपी ओलीका लागि जितेर हारेको पदवी हो । उनीसँग न समय छ, न सौर्य छ, न साधन छ, न आशा जगाउने स्वभाव नै छ । प्रारब्धले उनलाई दुर्योधन र कर्णको ठाउँमा ल्याइदिएको छ । महाभारत त्यस्तो श्रृङ्खला हो, जसका पात्रले राज्य जितेर पनि कीर्तिमानी हुने सुअवसर पाएका थिएनन् । राज्यभोगको साइत अन्ततः श्राप र आँसुको दुर्दान्त रुझानमा लपक्कै भिजेको छ ।

एकाध महिनाअघि ओली भन्थे– ‘मैले बनाएको लिस्टलाई भेलाले पास गर्छ । मैले बोलेपछि महाधिवेशन सकिन्छ ।’ ओलीको अहंलाई मञ्जुर भएका विषय समयले स्वीकारेन । अब एमालेभित्र जन्मिएको ओजपूर्ण स्थायी प्रतिपक्षको उपस्थितिले ओलीको बेचैनी बढाउने निश्चित छ । एघारौँ महाधिवेशनले एमालेको खालमा च्याँखे थाप्नेहरु जबर्जस्त बढेका छन् ।

तिनीहरुले अब गुण्डु हेडक्वार्टरलाई च्यासलमा सार्न भोलिकै मितिदेखि मनोवैज्ञानिक दबाब दिनेछन् । पार्टीभित्रका शिखण्डी र पाखण्डीहरुको खेलकुदमा केही हदसम्म अंकुश लाग्नेछ । ओलीको पार्टीसत्तामा कसैले उठेर चुनौती दिन सक्नु नै ठूलो नैतिक विजय हो । बाका नजरमा प्रश्न गर्ने मानिस सर्वाधिक ठूलो शत्रु हो । केपीको प्यानलसँग हारेकाहरु अर्को पार्टीमा बसाईं जानेहरु होइनन् । बरु ओलीका लागि स्थायी एलर्जी हुन् ।

केपी ओली नेपालको इतिहासका अपदस्थ प्रधानमन्त्री हुन् । राणाकालीन राजनीतिबाहेक यस्तो अप्रिय कोपभाजनमा शायदै अरु राजनीतिक प्राणी परेका थिए । एमाले, कांग्रेस, माओवादी विचार हो । यिनीहरुका मुखिया भनिएका मानिसहरु व्यक्ति हुन् । यिनीहरुका कारण पार्टीको हाँगा लच्किएला, तर किमार्थ भाँचिदैन ।

जेन–जी आन्दोलनपछि मानसिक रुपमा ओली अशान्त छन् । एमालेजनको ठूलो स्वरले छोप्न खोजे पनि इतिहासकै अनपेक्षित र अप्रिय आन्दोलनको सकसपूर्ण घडीको सुई उनीतर्फ तेर्सिएको छ । धेरै प्रश्नको जवाफदेहीताबाट उनी उम्किरहेका छन् । जीवनको उत्तरार्द्धपछि पनि उनलाई यी प्रश्नले लखेटिरहने छन् ।

यो सवालमा एमालेको अध्यक्ष हुनु, नहुनुले केही फरक पर्ने छैन । स्कुल, कलेजको ड्रेसमा शहादत प्राप्त गरेको किशोरले ओलीविरुद्ध नारा लगाउँदै अन्तिम सास फेरेको दृश्य ताजै छ । हरेक सरकारी कार्यालय खरानी बनाइसकेपछि त्यसको खण्डहरमा उनीविरुद्ध कोरिएका नारा अझै मेटिएका छैनन् । सामाजिक सञ्जाल ओलीविरुद्धको प्रदूषणले भरिएको छ । देश विदेशमा रहेको तीनपुस्ताको अधिकांश कित्ता उनलाई रुचाउँदैन ।

केपी, देउवा, प्रचण्डसँग समयले खोजेको वर्तमानको हिसावकिताब हो । उनीहरुले जनस्वाधीनताको खातिर लडेको लडाईं सधैँका लागि अक्षयकोष होइन । आफ्नो राजनीतिक कालमा बोकेको बेरुजुको फस्र्योट उनीहरु आफैंले गर्नुपर्ने छ ।
पृथ्वीमा रहेका हरेक चीजको आयु छ । त्यसको आवश्यकता क्षणभङ्गुर हुन्छ । शक्तिका नाममा यो धराको शक्ति सधैँ रहिरहन्थ्यो भने महाभारत, रामायण, वेद लेख्नेले सत्ता छोड्दैनथ्यो होला । अब महेश बस्नेतको बुटीमा टिकेको ओलीसत्ता आवरण हो, गुदी होइन । ओलीको सन्तुष्टि र हाँसो विमान परिचारिकाको जस्तै बाध्यताको हाँसो हो । त्यो हाँसोमा अभिनयको मात्रा अधिक छ । अब उनले पाइला पाइलामा प्रश्नको सामना गर्नुपर्ने छ ।

पहिला पहिला कम्युनिष्ट र कांग्रेस अलग दल हुन्थे । दलका शीर्ष नेता हुन्थे । नेताले भनेको माथिदेखि तलसम्म अक्षरशः पालना हुन्थ्यो । अहिले त एमालेभित्र कांग्रेस–माओवादी, माओवादीभित्र कांग्रेस–एमाले, यी सबै दलभित्र लोकमानसिंह कार्कीका चेलाचपेटाको बिगबिगी छ । लोकमान त झारले छोपिएको पिपलजस्तै हुन् । जब झारपात घामको ताप र बर्खाको भेल थेग्न नसकेर पराल हुन्छ, त्यसपछि पिपलरूपी लोकमान लहलह भएर उदाउने छन् । फेरि जयजयकार शुरु हुनेछ । राजा ज्ञानेन्द्रको सत्ता पल्टिँदा सबैभन्दा घृणा गरिने रमेशनाथ पाण्डेजस्ता पात्र समकालीन राजनीतिमा म्यारिजको मालजस्तो भइसकेका छन् । बेथितिमा चलेका तिनै नेता हातमा घडी फेरेर समय आफ्नो कब्जामा रहेको भ्रम दशकौँदेखि छर्न सफल छन् ।

केपी ओलीले चराको चुच्चोजस्तो रेल र चुलोचुलोमा ग्याँस ल्याउने सपना देखाउँदा राजनेताको पखेटा लगाएर फेसबुक भरेका कार्यकर्ता अहिले शीताङ्ग भएर थन्किएका छन् । तिललाई पहाडमा अनुवाद गर्न सक्ने कम्युनिष्ट मनोविज्ञानबाट उनीहरु स्वयं चुकेको बुझ्न कठिन छैन । संसारका मानिसले बुझ्ने समान भाषा हो– हाँसो । अन्धकार नासिएपछि नागरिकका अनुहारमा भेटिने भावधारा यही हो । हाम्रो भूधरातल र सामाजिक सन्तुलन यस्तो अवस्थाको छ कि औँलामा गनिने मानिसले थोरै लोभ त्यागिदिने हो भने सबैथोक आफैँ मिलेर जान्छ । यहाँ कांग्रेस, एमाले, माओवादी जित्ने, देश हार्ने प्रतिस्पर्धाले घर गर्‍यो ।

जति सत्य बुझ्यो उति जीवन सरल हुन्छ । विश्वमा शान्ति र विकास बलले नभई समझदारीले आएको छ । रूखपछि बनेको भन्दैमा पीर्कामा रिस पोख्ने दुस्साहस किमार्थ गर्नुहुन्न । राजनीतिमा त झन् यो आत्मघाती सिद्ध हुन्छ । नेतासँग देश सलादजस्तो सबैको अस्तित्व देखिने किसिमको बनाउने योजना हुनुपर्छ । सबै परिकार मिसिएर आएको सुस्वादिलो समाजले देश सुन्दर बनाउँछ ।

राजनीतिलाई सधैँ तातो तावामा उफारेर भुङ्ग्रोमा पार्ने काइदाका रूपमा बुझ्नु मनासिव होइन । नीतिहरूको राजा राजनीति मानिन्छ भने दानहरूमा महान दान मतदान हो । चाणक्य भन्छन– ‘जसको गुण आफैँलाई थाहा छैन, त्यस्ता मानिसको सेवा बुद्धिमानले गर्नु हुँदैन । किनभने यसो गर्नु बाँझो खेत जोत्नुजस्तै हो । यसबाट फल निस्कँदैन ।’ नेपाल एउटा विश्वको त्यस्तो नमूना देश हो, जहाँ पुलिसले अपराधी समात्दा, पत्रकारले कुनै एउटा राम्रो समाचार लेख्दा, न्यायाधीशले राम्रो फैसला गर्दा, कुनै नेताले विकासवादी भाषण ठोक्दा, कर्मचारीले तोकेको काम गर्दा त्यो हिट समाचार बन्छ । यसको अर्थ के हो भने हरेक मानिसहरू आफ्नो स्वधर्मभन्दा अलग पेशामा पारङ्गत छन् । सफल राजनेता आफू साधारण जीवन बाँचेर जनतालाई असाधारण जीवनशैलीमा पुर्‍याउन अहोरात्र खट्छन् । तर, हामी कहाँ राजनीति कहिल्यै अवकाश लिन नपर्ने जागिर भएको छ ।

नेता कस्तो हुनुपर्छ ? महाभारतको एउटा रोचक प्रसंग । महाभारतको युद्धमा लाखौँ सैनिकले भाग लिएका थिए । तर तिनीहरुलाई खानेकुराको व्यवस्था कसरी हुन्थ्यो भन्ने कुरा सायदैलाई मात्र थाहा थियो । हजारौँ योद्धा दैनिक मरेका थिए । तर दिन दिनै कसरी खानेकुराको व्यवस्था हुन्थ्यो भन्ने कुराले सबैलाई अचम्मित बनाउँथ्यो । युद्धको घोषणा भएपछि सबै राज्यले आ-आफ्नो पक्ष चुने । कोही पाण्डव त कोही कोही कौरवतर्फ लागे । केही तटस्थ बसे । त्यसमध्येका एक थिए उडुपीका राजा । उनले श्रीकृष्णको आदेशमा भोजन बनाउने काम गरेका थिए ।

उनलाई प्रतिदिन कति खाना बनाउने भन्ने चिन्ताले सताइरहँदा श्रीकृष्णले उपाय सुझाएका थिए । युद्धका बेला श्रीकृष्ण सधैं उठ्नासाथ बदाम खान्थे । उनले एउटा बदाम खाए भने हजार सैनिक मारिन्थे । त्यही आधारमा राजा ताउलोमा खानेकुराको बन्दोबस्ती मिलाउँथे । यो हिसाबले न खाना कम हुन्थ्यो, न बढी । श्रीकृष्णको सानो तर रहस्यमयी तत्वज्ञानले समस्याको चुरो फुक्यो ।

राजगद्दी गुम्नुअघि रावणलाई सल्लाह दिँदै विभीषणले भनेका थिए– ‘हे राजन ! यहाँ मिठो कर्णप्रिय कुरा गर्ने सल्लाहकारहरु जताततै छन् । तर सुन्दा नमिठो भए पनि परिणाममा हित हुने सल्लाह दिने वक्ता अनि सत्य सुन्ने सामर्थ्य भएका धैर्यशाली श्रोता भने दुर्लभ छन् ।’ नीतिले भन्छ– ‘क्रोधले बुद्धि, अहङ्कारले ज्ञान, चिन्ताले आयु, लोभले इमान, घुसले इन्साफ, प्रायश्चितले पाप, याचनाले स्वाभिमान र अकर्मण्यताले भविष्य सिध्याउँछ ।’ त्यसैले अरुका लागि नभएर आफ्नो अग्निपरीक्षामा खरो उत्रिनेहरु कहिल्यै पराजय हुँदैनन । त्यो मानिस सौभाग्यशाली हो जसलाई समय र विवेक एकसाथ मिल्छ । सबैमा उचित समयमा विवेक आउँदैन । जतिबेला समझ आउँछ, त्यतिबेला समय चिप्लिन्छ ।

रोमन कानुनमा स्वास्नी मानिसलाई भुत्ल्याउनु अपराध मानिन्छ । राती डकैत गर्नेलाई जोसुकैले मारे पनि अपराध ठहर्दैनथ्यो । कुनै न्यायाधीशले घुस लिएमा मृत्युदण्ड दिइन्थ्यो । कसैको घरमा आगो लगाई अपराध गरेमा उसलाई आगोमा नै हालेर सखाप पारिन्थ्यो । झूठो कुराको साक्षी बकेमा पहाडबाटै झारेर खसालिन्थ्यो । हाम्रा धार्मिक ग्रन्थकारहरु मनु, याज्ञवल्क्य, नारद, वृहस्पति र कात्यायनमाले जुन ग्रन्थहरु लेखे, त्यसमा धेरै शास्त्र पढेका, लोक व्यवहार बुझेका, नैतिक चरित्रले उच्च व्यक्तिहरुलाई न्यायाधीश बनाउनुपर्ने उल्लेख छ । न हाँस न बकुल्लाको नियतिमा चलेका हामीहरु छातीमा हात राखेर सोचौं– देशप्रति को कति इमान्दार छौं ?

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ५ : ५८ बजे

रवि शुक्रबार मात्रै छुट्ने, रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने

काठमाडौं- सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

निर्वाचन नै अन्तिम विकल्प : अर्थमन्त्री खनाल

तिलोत्तमा– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचन अन्तिम विकल्प रहेको बताएका छन् 

अध्यक्ष बनेलगत्तै ओलीको आक्रमक सम्बोधन : यो सरकारसँग भिड्न तयार छौँ, परिआए ढालिदिन्छौँ

काठमाडौं- नेकपा (एमाले) का अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित केपी

एमालेको ११ औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित, भदौ २३–२४ का घटनाको निष्पक्ष छानबिन गर्न माग

काठमाडौं- नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनले राष्ट्रिय स्वाधीनता,