कांग्रेस प्रमुख सचेतकको कस्तो सोच, के यौन बाहेक आम्दानीका सबै ढोका बन्द भएका हुन् ? « Khabarhub

कांग्रेस प्रमुख सचेतकको कस्तो सोच, के यौन बाहेक आम्दानीका सबै ढोका बन्द भएका हुन् ?

शरीर बेचेर धनी बन्ने सांसदको तर्कविरुद्ध सर्वत्र कटाक्ष



आइतबार नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले देशमा पर्यटक भित्र्याउन यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने आवाज उठाए। प्रतिनिधिसभाको विशेष समयमा बोल्दै घिमिरेले संसारमा सबैभन्दा बढी पर्यटक मनोरञ्जन क्षेत्रको हुने भन्दै देशको आर्थिक विकासका लागि यौन व्यवसायको व्यवसायीकरण आवश्यक रहेको धारणा राखे।

धार्मिक पर्यटकले खर्च कम गर्ने भएकाले मनोरञ्जक पर्यटक भित्र्याउनुपर्ने तर्क राखेका उनले निश्चित ठाउँहरू तोकेर यौन व्यवसायलाई वैधानिकता दिनुपर्ने आवश्यकता औंल्याए। यस विषयलाई लिएर सोमबारको बैठकमा सांसदद्वय दुर्गा राई र दीपक सिंहले कटाक्ष गरे। सत्तापक्षकै महत्त्वपूर्ण जिम्मेवारीमा रहेका सांसदले मुलुकको सामाजिक संरचना बिथोल्न खोजेको उनीहरूको आरोप थियो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सिंहले गणतन्त्र कोठी खोल्नको लागि ल्याइएको हो भनेर संसद्मा प्रश्न राखेका छन्। उनले प्रश्न गर्दै भनेका छन्, ‘नेपाली समाजलाई तहसनहस बनाउने षडयन्त्र स्वरूप सत्तारुढ दलका सांसदबाटै यस्तो धारणा आएको छ। हजारौँ युवाहरूले रोजगारी र शिक्षाको लागि देश छोडिसके। अब सीमित युवा, आमा छोराछोरी मात्र बाँकी छन्। तिनीहरुलाई अब कोठीमा राख्ने हो ?’ साथै, उनले नेपालमा महिलालाई देवी मानेर पूजा गर्ने भूमि मानिएकाले उछृङ्खल अभिव्यक्ति नदिन समेत आग्रह गरे।

त्यस्तै, नेकपा माओवादी सांसद राईले घिमिरेको धारणा रेकर्डबाट हटाउन माग गरेकी छन्। उनले सांसद घिमिरेलाई कडा चेतावनी दिँदै भनिन्, ‘यौन व्यवसाय गर्न आफ्नो परिवारबाट अगाडि बढाउन आँट गर्न सक्नुहुन्छ ?’

केही समयअघि एमाले नेता एवं गण्डकी प्रदेशका पूर्व सांसद् राजीव पहारीले पनि यौन व्यवसायलाई खुला राख्नुपर्ने धारणा राखेका थिए। उनी व्यवसायी पृष्ठाभूमिका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत जोडिएको पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलानमा पहारीको नाम मुछिएको छ।

सांसद् घिमिरेको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा बहस छेडिएको छ। केहीले इच्छा हुनेले यौन व्यवसायमा लाग्न पाउनुपर्छ भन्ने तर्क राखेका छन्। केहीले आर्थिक विकासको लागि मात्र नभएर समाजमा व्याप्त बलात्कार जस्तो अपराध न्यूनिकरण हुने धारणा राखेका छन्। तर अधिकांश नेपाल जस्तो सांस्कृतिक देशमा यौन व्यवसाय शोभा नदिने बताउँछन्। सामाजिक सञ्जालमा आएका केही टिकाटिप्पणी सम्पादन गरी समेटिएको छ।

अधिवक्ता सरिता तिवारी फेसबुकमा लेख्छिन्- भाउन्न छुटाउने अर्को कुरा आयो। कथित बैध यौन व्यवसायको प्रस्तावको। यौनकर्मी प्रति समाजको सम्मानजनक हेराइ हुनुपर्छ। यो भिन्दै विषय भयो। तर उत्पादन र आर्जनका असंख्य ढोकाहरू भ्रष्ट पारेर यौनाङ्ग बेचेर खाउँ भन्ने बुद्धि भएको मानिस सांसद कसरी भयो यो मुलुकमा ? औडाहा झोँक चलाउने ।

फेसबुक प्रयोगकर्ता प्रमोद आनन्दम लेख्छन्- यौन व्यवसायी सदस्यता पनि बाँड्नुहोस् माननीयज्यू, त्यसको प्रथम स्वीकृति आफ्नै परिवारभित्रकालाई देउ।

त्यस्तै राजेन्द्र महर्जन लेख्छन्- यौनलाई व्यवसाय होइन यसमा बाध्यताले लाग्नेलाई रोजगारीको व्यवस्था गरौ। संसद्मा रोजगारी सृजना गर्न सक्ने बुद्धि भएका नेताहरु आउनुपर्यो। अर्का होमनारायण श्रेष्ठ लेख्छन्- धनी मानिसलाई यस्तै चाहिन्छ। धनी पार्टीको नेताले यस्तै सोच राख्छ। यस्तालाई भोट दिएपछि यस्तै सोचको विकास गर्छ। यो गलत हो। निम्न र मध्यम वर्गलाई प्रयोग गरेर आफ्नो स्वार्थ पूरा गर्ने सोच हिजोको सामन्ती अवस्थाको हो। र अझै जनताले बुझ्न सकेका छैनन, सामन्ती वर्ग र तिनका अवशेष हटाउन जरुरी छ।

यौन व्यवसाय सानो पाटो मात्रै हो : पूर्व गभर्नर
पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्री पारिवारिक मूल्य र मान्यतामा आस्था राख्ने हाम्रो जस्तो संरचनामा यौन व्यवसायिकता आवश्यकता नभएको बताउँछन्। उनी भन्छन्, ‘आफ्नो संस्कृति र संस्कारलाई प्रवद्र्धन गरेर स्वच्छ पर्यटनलाई बढावा दिनुपर्छ। संस्कृति धरोहर, प्रकृति छटा नै नेपालको लागि पर्याप्त छ। त्यसको अधिकतम प्रयोग नै उपयुक्त हुन्छ।’

‘यौन व्यवसाय भनेको एक सानो पाटो मात्रै हो। जोडी घुम्न आएका छन् भने त्यो व्यवसायको के अर्थ ?’ उनी प्रश्न गर्छन्, ‘परिवारसहित आउने पर्यटकको लागि चासोको विषय भएन। यौन व्यवसायले कति प्रतिशत आर्थिक विकासलाई टेवा पुर्याउछ ? त्यसको लेखाजोखा देखिनुपर्यो ?’

विदेशी मुद्राको मुख्य प्राकृतिक स्रोत निर्यात नै भएको पूर्व गभर्नरको भनाइ छ। ‘हाइड्रोकै कुरा छ, अहिले भारतीय पैसा पनि हामीले डलर तिरेर ल्याइरहेका छौ। अर्को हामीसँग अपार जडीबुटीको सम्भावना छ। अरु मुलुकले जस्तै पंखा फिँजाएर विकास गर्नुपर्छ भन्ने हो भने सांसद् घिमिरेलाई उक्त कुरा जायज लाग्यो होला। तर उहाँले पर्यटनको कुरा निकाल्नु भएको छ’ उनले भने।

देशले विदेशी मुद्रा आर्जनको मुख्य स्रोत काँचो मासु अर्थात् युवाशक्ति निर्यात गरिरहेको उनले आरोप लगाए। वैदेशिक रोजगारलाई बढावा दिनुभन्दा जडीबुटी उत्पादन र निर्यातमा राज्यले नीतिगत काम गर्नुपर्ने उनले बताए। भन्छन्, ‘दुईचार वर्षपछि यार्सागुम्बा पनि पाइन्छ कि पाइन्न भन्ने अवस्थामा छौँ। पहिले नाइजरसीप भन्ने एक प्रकारको बीज थियो। त्यो विदेशबाट चराहरुलाई खुवाउनको लागि प्रशस्त माग हुन्थ्यो। कुकुरको लागि भनेर याकको दूधबाट बनेको छुर्पी निर्यात गर्छौ।’

नेपालमा यौन खोज्दै पर्यटक आउँदैनन् : समाजशास्त्री
समाजशास्त्री सविता प्रसाईंका अनुसार पर्यटक नेपालमा यौन खोज्दै नआउने निश्चित छ। उनले खबरहबसँग भनिन्, ‘नेपाल आर्थिक विकासका लागि यौन व्यवसायको व्यवसायीकरण गरौ भन्ने अवस्थामा पुगिसकेको छैन। यौन बाहेक अरु धेरै पर्यटक भित्र्याउने हामीसँग स्रोतसाधन छन्। प्रशस्त प्राकृतिक विरासत छन्। भूपरिवेष्ठित देश भए पनि हामीसँग प्रकृति छ। नेपालमा पर्यटक प्रकृति हेर्न आउने हुन्।’

कानुन बनेको छैन तर युवापुस्ताले लिभिङ टुगेदरलाई उत्कृष्ट सम्बन्ध मानेको छ। वैधानिक रुपमा यौन व्यवसायलाई खुला नगरिए पनि लुकिछिपी भने भइरहेको छ। तर हालका लागि यौन बजार खुला चाहिएको छैन।’

‘समाज अहिले अत्यन्तै परिवर्तित छ। हिजो धेरै ठुलो लागेको विषय सामान्य लाग्दै गइरहेको छ। हिजो लिभिङ टुगेदर सोच्नै नसकिने थियो। तर आज धेरैलाई सामान्य लाग्न थालिसक्यो’, प्रसाईं थप्छिन्, ‘कानुन बनेको छैन तर युवापुस्ताले यसलाई उत्कृष्ट सम्बन्ध मानेको छ। वैधानिक रुपमा यौन व्यवसायलाई खुला नगरिए पनि लुकिछिपी भने भइरहेको छ। तर हालका लागि यौन बजार खुला चाहिएको छैन। केही समय पछाडि विकल्पको रुपमा यो बजार खुला हुनुपर्ने होला। समयको त्यो परिवर्तनलाई स्वाभाविक लिनुपर्ने हुन सक्छ।’

प्राकृतिक र सांस्कृतिक स्रोतसाधन नभएका देश जुन देशमा यौनलाई खुला गरिएको उनको भनाइ छ। ‘जस्तै, संसारकै सबैभन्दा अग्लो हिमाल छ। मस्र्याङ्दी, त्रिशुली, कालीगण्डकी लगायत नदी छन्। जसमा र्फयाटिङ व्यवसाय फस्टाउँछ। नेपालमा मात्रै पाइने एक सिङगे गैंडा छ। पदयात्राको लागि नेपालका गाउँ ठाउँ उत्कृष्ट छन्। प्रवद्र्धन गर्नुपर्ने यसलाई हो,’ उनले भनिन्।

त्यसैगरी यदि यौन बजारलाई खुला गरिएको खण्डमा सबैभन्दा धेरै आर्थिक विपन्न वर्गका महिला शोषित हुने उनी बताउँछिन्। भन्छिन्, ‘पर्यटक भित्र्याउनकै लागि मात्रै यसको वैधानिकता आवश्यक छैन। नेपालमा यौनको खोजीमा पर्यटक आउँदैनन्। गगनचुम्बी भवन हेर्न पनि आउँदैनन्। किनमेलको लागि यहाँ खासै आफ्नै चीज केही छैन। हाम्रो संस्कृतिले महिलालाई उच्चस्थानमा राखेको छ। तर बजारले विपन्न वर्गको महिलालाई तान्छ।’

साथै उनले खुला यौन बजारले बलात्कार घटाउने तर्क वाहियात भएको टिप्पणी गर्दै भनिन्- ‘बलात्कार एक आपराधिक मानसिकताको उपज हो। अपराधले यो बजारसँग कुनै साइनो राख्दैन’ उनले भनिन्।

घिमिरेको प्रस्ताव- यौन व्यवसायलाई व्यवसायीकरण गरेर पर्यटक भित्र्याऔँ, देशको विकास हुन्छ

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  १० : १३ बजे

आमा बन्दै सामन्था रुथ प्रभु, फिल्मबाट केही समय विश्राम लिने घोषणा

काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले

महामन्त्रीको दौडबाट पछि हटे कवीन्द्र बुर्लाकोटी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची– डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार

लगातार तीन दिनदेखि घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– लगातार तीन दिनदेखि घटिरहेको सुनको मूल्य आज भने बढेको

कांग्रेस महामन्त्री घिमिरे र शेखर कोइरालाबीच भेट, पार्टीभित्रको विवाद समाधानबारे छलफल

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आधिकारिक नेतृत्वसँग