लिम्बुवानको थप दस्तावेज : याक्थुङ साप्मुन्धुम « Khabarhub

पुस्तक चर्चा

लिम्बुवानको थप दस्तावेज : याक्थुङ साप्मुन्धुम



अरुणपूर्व लिम्बुवानमा २३९ वर्षअघि सांस्कृतिक पर्व मनाउँदा शाह–शासकको नाममा कर तिर्न बाध्य पारिँदो रहेछ । शाही–उर्दी मान्न बाध्य हुनुपर्दो रहेछ । कर नतिरे दण्ड–सजाय भोग्नुपर्ने रहेछ ।

हिन्दू शासकले दशैं मनाउनै पर्ने बाध्यकारी उर्दी त गरेकै थिए । याक्थुङ मुन्धुमी परम्परामा आधारित चाडपर्व मनाएवापत् छुट्टै कर तिर्न इस्तिहार जारी गरिएको थियो । यहीँबाट मुन्धुमी परम्परामा आधारित सांस्कृतिक चाडपर्वलाई रणनीतिकरूपमा पाखा लगाउने अभियान सुरु गरेको देखिन्छ ।

लामो समय स्वतन्त्र रहेको लिम्बुवानसँग वि.स. १८३१ साउन २२ गते राजा पृथ्वीनारायण शाहले ‘नूनपानीको सन्धी’ गरे ।
एकापसमा ‘भैयाद’ भारदारी सम्बन्ध स्थापित गरे । सशर्त संरक्षित राज्यको रुपमा गोरखा राज्यमा सम्मिलित गराए । लालमोहरहरू जारी गरे ।

पृथ्वीनारायण शाहले नूनपानीको सन्धि गरेको १२ वर्ष नबित्दै नाति राजा रणबहादुर शाहले वि.सं १८४३ फागुन ९ गते आइतबार एउटा लिखत इस्तिहारमार्फत् निर्देशन जारी गरे ।

उक्त लिखत इस्तिहारअनुसार पञ्चखत बाहेकका कार्य गर्न र गौवध नगर्न निर्देशन दिइएको थियो । याक्थुङ लिम्बूको मुन्धुमी परम्पराअनुसार साउने सङ्क्रान्ति मानेवापत् दुई आना तिर्नुपर्थ्यो । त्यसबेलाको हिन्दू परम्पराअनुसार फागुजात्रा माने/ नमानेवापत् पनि दुईआना कर तिर्नुपर्ने बाध्यता सिर्जना भयो ।

सोही लिखतमा पञ्चखत (ज्यान मारेको, गाई मारेको, छुवाछूत, हाडनाता अपराध र राजकाज मुद्दा) बाहेकका अन्य मुद्दा मामिला छिनोफानो गर्ने अधिकार पूर्वका लिम्बुवानी शासकलाई दिइएको उल्लेख छ ।

उक्त इस्तिहारमा गौवध नगर्न भनेर पहिलो पटक बन्देज लगाइएको पनि छ । रणबहादुर शाह अघिका शासकबाट गौवधको विषयमा हालसम्म कुनै पनि इस्तिहार जारी भएको पाइएको छैन ।

यसरी हेर्दा वि.सं १८४३ फागुन ९ गते जारी भएकै इस्तिहारलाई पहिलो दाबी गर्न सकिन्छ । रणबहादुर शाहद्वारा जारी यो इस्तिहारभन्दा अघि पूर्वमा गौवध हुन्थ्यो भन्न सकिन्छ ।

त्यसो त याक्थुङ मुन्धुमी परम्पराअनुसार आफ्नो मौलिक सांस्कृतिक र धार्मिक अनुष्ठान गर्दा कोरली गाईको भोग–बलि अनिवार्य चढाउनुपर्ने चलन थियो ।

कोरली गाईको भोग–बलिमाथि रोक लगाउने इस्तिहार जारी भएपछि मुन्धुमी अनुष्ठान पनि अधूरो भयो । लिम्बुवान ‘सांस्कृतिक अतिक्रमण’मा पर्‍यो ।

याक्थुङ लिम्बू समुदायले परम्परागत मुन्धुमी नीतिअनुसार तुम्याहाङ प्रणाली अपनाएर परिवार, समाजमा न्याय– निसाफको फैसला गर्थे ।

यसरी न्याय–निसाफ गर्दा दुबो–ढुङ्गो छुवाई कसम खुवाउँथे । याक्थुङ लिम्बूहरू आफूलाई ‘लुङ्बोङ्वासा–खाम्बोङ्वासा’ (दुबो-ढुङ्गोसँगै उत्पति भएको शाखा सन्तान) भनेर चिनाउने भएकाले दुबो-ढुङ्गोलाई साक्षी राखेर कसम खुवाउने चलन (प्रथाजनित कानून) लाई शाहकालका शासकले प्रतिबन्ध लगाए ।

शाह वंशले लादेको सांस्कृतिक र धार्मिक परम्परा पनि पूर्वका याक्थुङ लिम्बू समुदायले थामिल्याउनु पर्ने र आफ्नो मौलिक सांस्कृतिक चाडपर्व मनाउँदा तोकिएको दुईआना कर प्रत्येक घरले अनिवार्य तिर्नुपर्थ्यो ।

यो शाही हुकुम जारी हुनुका पछाडि याक्थुङ मुन्धुमी परम्परालाई विस्थापित गर्ने मुख्य उद्देश्य रहेको सहजै अनुमान गर्न सकिन्छ ।

हालै सार्वजनिक गरिएको ‘याक्थुङ साप्मुन्धुमः लिम्बू र लिम्बुवान इतिहास’ पुस्तकमा लिम्बुवान इतिहासका यस्तै तथ्य समावेश गरिएका छन् । लामो समय खोज, अनुसन्धान, सङ्कलन गरेर इतिहासका अध्येता लीलाबहादुर तुम्बाहाङ्फेले पुस्तक प्रकाशन गरेका छन् ।

हालसम्म सार्वजनिक नभएका कतिपय पुराना दस्ताबेजहरू समावेश गरेर इतिहासका तथ्यलाई बाहिर ल्याएका छन् ।

नेपाल राज्यमा गाभिएपछि (युद्धमा जितेर नभई सन्धी–सम्झौता भएकाले कतिपयले एकीकरण भन्दैनन्) आफ्नो मौलिक परम्परागत चाडपर्व, संस्कार संस्कृति, याक्थुङ मुन्धुमी धर्म-संस्कृति मानेवापत् कर तिर्नु परेको कागजात सङ्कलन गरिएको छ ।

तुम्बाहाङ्फेकै पुर्खा सुब्बा भगिमानसिंह लिम्बू र सुब्बा जेठानसिंह लिम्बू, उनका तुम्बा (बडाबाबु) कृष्णबहादुर तुम्बाहाङ्फे, उनका बाबु सलबहादुर तुम्बाहाङ्फे, आमा पद्ममाया चवेगुलगायतले करिब अढाई सय वर्ष अघिका कागजातलाई सङ्कलन गरेर सुरक्षित राखेका थिए ।

आफ्ना बाबु–बाजे, हजुर बाजेहरूले सङ्कलन गरेर सुरक्षित राखेका पुराना लिखतलाई ऐतिहासिक दस्ताबेज र सम्पत्ति मान्दै लीलाबहादुरले थप खोज र सङ्कलन गर्दै नयाँपुस्तामा समर्पण गर्ने उद्देश्यले पुस्तकाकार दिएका छन् ।

पुस्तक दुई खण्डमा विभाजित छ । पहिलो खण्डमा सरकारी अभिलेख ५७ वटा छन् । दोस्रो खण्डमा तमसुक र स्थानीय अभिलेख ३३ वटा छन् । इतिहासका अध्येता तुम्बाहाङ्फेले पुस्तकमा वि.स. १८१८ माघ १० गते मङ्गलबार लालमोहर दिँदै सात-रायलाई चारकिल्ला किटान गरिदिएको कागजदेखि फेदापका नयाँ–पुराना सुब्बाहरूको नामावलीको कागज–पत्र गरी ९० थान लिखत–दस्ताबेज समावेश गरेका छन् ।

आजभन्दा अढाई सय वर्षअघि प्रयोग हुने शब्द, वाक्य, अक्षर, उच्चारण र काइते लेखनलाई आजका आम विद्यार्थी र शिक्षक–प्राध्यापले पढ्न, उच्चारण गर्न र उतार्न नसक्ने भएकाले पुस्तकमा समावेश अभिलेखलाई इतिहासका अध्येता तुम्बाहाङ्फेले सरलरूपमा लिप्यन्तर गरेर टिप्पणी र व्याख्या पनि गरेका छन् ।

जसले गर्दा आमपाठकलाई बुझ्न सजिलो भएको छ । पूर्वका लिम्बूवानी शासकलाई पृथ्वीनारायण शाहले भैयाद बनाउँदै नूनपानीको सन्धि सम्झौता गरेर चलिआएको मानिल्याएको परम्परालाई थामिदिएको लालमोहर, ताम्रपत्र दिए ।

त्यसपछिका उनका वंशजहरू नाति रणबहादुर शाह, पनाति गिर्वाणयुद्धविक्रम शाह, खनाति राजेन्द्रविक्रम शाह र राणा शासकहरूबाट भने लिम्बुवानी भूमिमा विकास र विस्तार भएका सामाजिक, पारिवारिक, सांस्कृतिक, राजनीतिक, आर्थिक मूल्य– मान्यतालाई विस्थापित गर्न अनेक पटक ती सन्धि–सम्झौता विपरीतका इस्तिहार, कस्यरुक्का जारी भएको तथ्य पुस्तकमा समावेश छन् ।

सेन, शाह र राणा शासकसँग अरुणपूर्वका विभिन्न याक्थुङ लिम्बू शासकबीच अनेकौं पत्राचार, सन्धि–सम्झौता, लिखित सूचना आदान–प्रदान भए । ती लिखत कागज–पत्रलाई इतिहासकारले ऐतिहासिक लालमोहर, ताम्रपत्र, इस्तिहार, कस्यरुक्का आदि भनेर भन्ने गरेका छन् । त्यस्ता पुराना लिखत कागज–पत्रहरू, सेनकालीन स्याहा मोहर, शाहकालीन लालमोहर र ताम्रपत्रहरू अचेल विरलै पाइन्छन् ।

कतिपय कागजपत्र लुकाएर राख्दाराख्दै सडेर नष्ट भए । ताम्रपत्रलाई गलाएर अरु नै घरेलु सामग्री बनाएर कतिले एक डबका जाँडमा साटे । कतिपय आगलागीमा परेर खरानी भए । कतिपय कागजपत्र त्यत्तिकै फालिए । कतिपय ताम्रपत्र र कागजात जसले दिएको थियो, उसैले फिर्ता लगे ।

फिर्ता मागे पनि नदिएका, दिए पनि सक्कल बमोजिम नक्कल उतारेर राखेका, केही सचेत लिम्बूहरूले आफ्ना बाबु–बाजेको नासोको रूपमा सुरक्षित राखेका कागजपत्र र ताम्रपत्रको लिप्यन्तर र व्याख्या गर्दै तुम्बाहाङ्फेजस्ता इतिहासका अध्येताले पुस्तक प्रकाशन गरेर नयाँपुस्तालाई गुन लगाएका छन् ।


याक्थुङ साप्मुन्धुमभित्र विजयपुरका करिब अन्तिम राजा कामदत्त सेनले लिम्बू सुब्बाहरूलाई दिएको चारकिल्ले लालमोहर (वि.सं १८१८ माघ १०), सेन शासकले खम्बू (राई) लाई लिम्बू सरह अधिकार भोग्न दिएको लिखत (वि.सं १८१८ चैत १५), पृथ्वी नारायण शाहले आफ्नो मृत्यु (वि सं १८३१ माघ १) हुनुअघि सोही सालको साउन १ गते दिएको लालमोहर, बहादुर शाहले पूर्वका सुभा–सुभाङ्गी शासकलाई बन्दुकलगायत हातहतियार दिएको पत्र (वि.स. १८४२ ज्येष्ठ १२) र रणबहादुर शाहले पूर्वका लिम्बूलाई गौवधमा रोक लगाउँदै पञ्चखतबाहेकका पहिलेदेखि चलिआएको रीतिथितिअनुसार अधिकार उपभोग गर्न दिएको अख्तियारी–पत्र (वि सं १८४२ जेठ १२) पुस्तकमा समावेश छन् ।

त्यसैगरी, सेनवंशी राजा हिन्दूपतिले लिम्बुवानका लिम्बूलाई थिति थामिदिएको पत्र (वि.सं १८४३ चैत्र ९), फेदापका अतहाङ र छथरका खेवालाई दिएको इस्तिहार (वि.सं १८४७ भाद्र ५¬), छथरका खेवा राजालाई दिएको कस्यरुक्का (वि.सं १८५१ साउन २०), केन्द्र सरकारबाट लादिएको कर तिर्न नसकेर सिक्किम, दार्जिलिङ, आसाम भागेका लिम्बूहरूलाई फिर्ता बोलाएको कस्यरुक्का (वि.सं १८५२ मङ्सिर ३०), सेनका पालाको मोहोर शाहले थामिदिएको पत्र (वि.सं १८५८ माघ १२) लगायत पत्रहरू पुस्तकमा समावेश छन् ।

सादा–खाँडीको कपडामा बुट्टा भरेवापत् छिपोछापो कर कायम गरिएको इस्तिहार (वि.सं १८८४ चैत १५), आफ्नै मौलिक संस्कार संस्कृति र धर्मअनुसारको ‘नीति’ मा चल्ने लिम्बू र शाह शासकले लादेको हिन्दू नियम कानून ‘सामृति’ अनुसार चल्ने लिम्बू बीचमा केन्द्र सरकारले गरेको विभेदको कस्यरुक्का–पत्र (वि सं १८९७ माघ) को पत्र, दशैंमा राँगा–बोका काट्ने वा नकाट्ने थितिको बन्देज गरेको कस्यरुक्का (विंस. १८९१ वैशाख १४), लिम्बू र याक्खालाई नमासिने जात कायम गरेको पत्र (वि सं १९१७ माघ ९) लगायतका पत्रहरूमा तत्कालीन समयको आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक पक्षलाई उजागर गरिएको छ ।

सेन र शाह शासकबाट अरुण पूर्वका याक्थुङ मुन्धुमी परम्परामा आधारित जीवन पद्धति चलाउने लिम्बूहरूलाई दिएका ताम्रपत्र, लालमोहर, कस्यरुक्का, इस्तिहारमा राय, राई शब्दले सम्बोधन गरिएको पाइन्छ । यसर्थ अधिकांश याक्थुङ लिम्बूका वंशावलीमा पनि करिब डेढसय वर्षअघिका पुर्खाहरूको नामको पछाडि राय र राई लेखिएका पाइन्छन् ।

लिम्बूलाई मात्र राय, राई भनेर सम्बोधन नगरी याक्खा, खम्बू, आठपहरिया र लोहोरुङलाई दिइएको दस्ताबेजमा पनि यस्तै शब्दले सम्बोधन गरेको पाइन्छ । लिम्बूको नामको अगाडि आउने राय, राई शब्दबारे भन्नु पर्दा वि.सं १८९१ देखि लिम्बूले किपट जमिन रैकर हुने गरी केन्द्र सरकारलाई चढाएमा सुब्बा र राई पगरी हुने नीति बनेपछि सुब्बा हुन चाहाने लिम्बूले एकजना राई पगरीसहित पाँच सहयोगी पाउने चलन बस्यो ।

वि.सं १८९७ सम्म पूर्वका लिम्बूहरूले आफू सुब्बा हुन किपट जग्गा रैकर हुने गरी केन्द्र सरकारमा चढाए । त्यसपछि उक्त नीति बन्द भएसँगै लिम्बू समुदायले राई, राय शब्द प्रयोग गर्न छाडे । सेन, शाह र राणाहरूले सांस्कृतिक अतिक्रमण गरिदिएको थोत्रो पद ‘राई’, ‘राय’ र ‘सुब्बा’ शब्दप्रतिको मोह त्यागेर आफ्नै माङ्गेनायक (पुर्खाले रासोबासो गरेको आदिम थलो) र मिङ्श्रा (थर) अनुसार नाम लेख्ने चलनलाई निरन्तरता दिए ।

दस्ताबेज सङ्कलन, लेखन लिप्यन्तरका बारेमा लीलाबहादुर तुम्बाहाङ्फेले भनेका छन्, ‘मेरा तुम्बाहाङ्फे पुर्खाहरू तत्कालीन लिम्बुवान फेदाप मेयङ्लुङमा नेतृत्व सुब्बाहरू हुनुहुन्थ्यो । उहाँहरूले आफ्ना जिम्माको जनताको हेरचाह गर्नुका साथै विभिन्न मुद्दा–मामिलामा समेत न्याय निरूपण गर्नुपर्थ्यो ।

आफ्ना जिम्माका जनता तथा समग्र लिम्बुवानी जनताका सामाजिक, सांस्कृतिक र राजनीतिक हक अधिकारका लागि बहस पैरवी गर्नुपर्थ्यो । त्यसका लागि तत्कालीन अध्ययन सामग्री भन्नु नै यस्तै राज्यबाट प्रेषित विभिन्न कागजपत्र हुन्थे । तर यस्ता कागजपत्र सबै जनताको पहुँचमा हुँदैनथे ।

तेह्रथुमको मेयङ्लुङ चैनपुरपछि प्रशासनिक केन्द्रका रूपमा स्थापित भयो । यहाँको सरकारी प्रशासनमा विभिन्न उद्देश्यका कागजपत्र आउँथे र हुन्थे । ती कागजपत्रबारे नेतृत्वमा रहेका सुब्बाहरूले जानकारी राखी जनतालाई समेत सुसूचित गर्नु र गराउनुपर्थ्यो । यसका लागि हाम्रा पुर्खाले ती कागजात लिएर वा सारेर राख्नुपरेको थियो ।’

उनले अगाडि थपेका छन्, ‘त्यसरी यी कागजात लिएर वा सारेर नराखेको भए ती प्रशासनमै सीमित रहन्थे । पछि, धेरैजसो मुख्य र सक्कल कागजात केन्द्र सरकारले नै धनकुटा गौंडा हुँदै काठमाडौंमै फिर्ता लगेर अहिले विभिन्न मन्त्रालयको गोप्य शाखा, कौसी तोसाखाना र राष्ट्रिय अभिलेखालय आदिमा राखिएका छन् ।

ती कागजपत्र हाल पनि सबै सर्वसाधारण जनताको पहुँचमा छैनन् । ती र त्यस्ता महत्त्वपूर्ण कागजात हामी अध्येता र जनताको पहुँचमै नपुगी नष्ट पनि हुन सक्छन् । तर ती नेपाल सरकार र सबै नेपाली जनताका अमूल्य निधि, इतिहास हुन् । त्यसैले यस्ता ऐतिहासिक अभिलेखबारे सबै अध्येता तथा जनतालाई जानकारी होस् भनी हाम्रा पुर्खाले सङ्कलन गरी राखेका यस्ता महत्त्वपूर्ण दस्ताबेज छनोट गरी यसरी प्रकाशन गरिएको हो । यसले सिङ्गो नेपाल र प्रत्येक नेपाली जनसमुदायको इतिहास लेखनमा केही न केही सहयोग गर्न सक्छ भन्ने हामी सङ्कलक, प्रकाशकको उद्देश्य र अपेक्षा छ ।’

(डीबी आङ्बुङद्वारा सम्पादित यालुङ प्रिण्टर्सबाट मुद्रित र लेखक सङ्कलक तुम्बाहाङ्फेकै छोरी भावना र ज्वाइँ पासाङ नाम्ग्याल लामाद्वारा प्रकाशित ४ सय ७० पेजको रङ्गीन कलेवरको पुस्तकको मूल्य १ हजार ५ सय रुपैयाँ राखिएको छ ।)

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ६ : ५९ बजे

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी