काठमाडौं- रेशम चौधरी नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक हुन् । सुदूरपश्चिम प्रदेश सरकारमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सिफारिस गरेका कैलाश चौधरीको नाम हटाएर रामेश्वर चौधरीलाई वन मन्त्री बनाएको विषयमा उनी चर्चामा छन् । तर आफ्नो बलमा रामेश्वरलाई मन्त्री बनाएको रेशम स्वीकार्दैनन् ।
जनमत पार्टीसँग एकता गर्न भनेर वैशाख १७ गते मिति तोकिए पनि सर्वोच्चको फर्जी कागजका आधारमा रेशम पक्राउ परेको विषय पनि पेचिलो छ । त्यसयता नाउपा र जनमतको एकता रोकिएको छ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग एकताबारे तत्काल छलफल भएको छैन ।
यति मात्रै होइन, अब पार्टी एकता सम्भव नभएको समेत सङ्केत देखिन थालेको छ । पार्टी एकताका विषयमा कार्यकर्तामा देखिएको शङ्का उपशङ्कामाथि प्रष्टीकरण दिनुपर्ने अवस्था देखिएको छ । कांग्रेस, माओवादी, लोसपा र जसपाले कार्यगत एकता गर्न छलफल चलाएको पनि रेशम बताउँछन् ।
यसै सन्दर्भमा नाउपा–जनमत एकतामा संशय, पार्टीभित्रको आन्तरिक विवाद, रेशम केही घण्टालाई जेल जानुको रहस्य, थरुहट मुद्दा र अन्य राजनीतिक सेरोफेरोमा रहेर खबरहबले रेशम चौधरीसँग गरेको कुराकानीको सम्पादित अंश :
नाउपाबाट प्रदेशसभा सदस्य रामेश्वर चौधरी सुदूरपश्चिमको वन मन्त्री हुनुभएको छ, यहाँले बल प्रयोग गर्नुभयो रे हो ?
– मेरो बलमा कोही मन्त्री बन्छ र ? मलाई केही कुरा पनि थाहा छैन । म कुनै पनि संसद्, सचिवालय स्वतन्त्र हुनुपर्छ भन्ने मूल्य र मान्यता राख्दै आएको मान्छे हुँ । उनीहरूले जे निर्णय गर्छन् म त्यसलाई नै मान्यता दिन्छु । मैले केही पनि हस्तक्षेप गरेको छैन । म घरमै बिरामी आमा स्याहारेर बसेको छु । तर, मेरोविरुद्ध नियोजित प्रहार हुँदा अचम्मित छु ।
उसोभए सुदूरपश्चिममा किन कैलाश चौधरीको नाम मन्त्रीबाट आउट भयो त ?
– त्यस्तो केही पनि होइन । लछुमनजीको अडियो सार्वजनिक भएपछि वन मन्त्रालय खाली भयो । उहाँले राजीनामा दिएपछि एकजना मन्त्री पठाउनुपर्ने थियो, पठाएको हो । मैले यसमा आश्चर्य मानेको छैन । सुदुरपश्चिमको संसदीय दलले अध्यक्ष र संरक्षकलाई सोध्ने निर्णय गर्नुभएको रहेछ । यो निर्णय गर्नुपर्ने कुरा होइन ।
रञ्जिताजीले लेखेर सिफारिस गर्नुभयो । मैले त पठाइँन । यो कुनै ठूलो कुरा होइन । अध्यक्षलाई सोधेर निर्णय गरेपछि त उहाँले गरेको निर्णय मान्नुपर्ने थियो । तर, किन मान्नुभएन ? थाहा भएन । यो सुदूरपश्चिम संसदीय दलको नै कमजोरी हो । संसदीय दल आफैँमा स्वतन्त्र थियो । मैले धेरै पटक रञ्जिताजीलाई माननीय घनश्यामजीलाई शपथ खुवाइदिनुहोस् भनेर भनेको हो ।
तर, उहाँले शपथ ख्वाउनु भएन । उहाँले रामेश्वर चौधरीलाई निर्णय गरेर पठाउनुभयो । यसमा पनि हाम्रो केही आपत्ति छैन । जो बने पनि नागरिक उन्मुक्ति पार्टीको मन्त्री बन्ने हो । पहाड नै फोर्ने हो र मन्त्री भएर ?

यो विषयमा पार्टी अध्यक्ष र संरक्षकबीच छलफल संवाद भएको थिएन ?
– छैन, थिएन । कसैले केही भनेको थिएन । मिडियामा आएजस्तो विवाद पनि छैन । म सुदूरपश्चिम कञ्चनपुरको कार्यक्रममा अस्ति गएको थिएँ । संसदीय दलका साथीहरू मलाई भेट्न आउनुभएको थियो । मैले उहाँहरूलाई यहाँहरूले जसलाई छान्नुहुन्छ मिलाएर जानुहोस् भनेँ । त्योबेला घनश्यामजीलाई छान्नुभएको थियो ।
पछि घनश्यामजीले ‘म मन्त्री बन्दिनँ, म समिति सभापति छु, संसदीय दलको नेता छु’ भनेर माननीय रामेश्वरजीलाई सिफारिस गर्नुभएछ । त्यसपछि रामेश्वरजी मन्त्री बन्नुभयो । मेरो हस्तक्षेप छैन । अध्यक्ष रञ्जिताजीले कैलाशजीलाई सिफारिस गरेर पठाएपछि मैले के हो त असली कुरा भनेर उहाँलाई फोन गरेको थिएँ । तर, फोन उठाउनु भएन ।
यहाँहरूलाई एउटा आरोप लाग्ने गरेको छ, थारुहटको आवाज बोकेर बनेको पार्टी श्रीमान् र श्रीमतीका कारण बिग्रियो भनेर, यस्तै भएको हो ?
– अरूले सामाजिक सञ्जालमा लेखेर टिक्काटिप्पणी गरेजस्तो होइन । म जेलबाट छुटेपछि रनभुल्ल छु । कसको जालमा किन यस्तो भयो ? कसरी सम्भव छ ? सम्मानित अदालतले पनि विज्ञप्ति जारी गरेको छ । सरकारबाट गृहमन्त्रीले सदनमै जवाफ दिनुभएको छ । यो कुरालाई धेरै उछाल्नु जरुरी भएन । अब मेरो र रञ्जिताजीको कारण पार्टी बिग्रियो भन्ने कुरा त सरासर दोष थोपर्नु मात्रै हो ।
आजसम्म मैले जेल बसेर, खाई नखाई अहोरात्र खटेर सङ्गठन र पार्टीको काम गरिरहेको छु । नागरिक उन्मुक्ति पार्टीको सदस्य नभएका, सरोकार नभएका र नागरिक उन्मुक्ति पार्टीमा बसेर विभिन्न प्रकारले लाभ लिएका व्यक्तिले इर्श्या र डाहा गर्नु स्वभाविक हो ।
तर, रेशम र रञ्जिताकै झगडाका कारण नाउपा र जनमतको एकता रोकियो भन्छन् यहाँकै नेताहरू ?
– पार्टी एकीकरण रोकिनुको पछाडि कसको हात छ, मलाई थाहा छैन । वैशाख १७ गते ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको हल बुकिङ गरेका थियौँ । त्यसको तीन दिनपहिले हामीले केन्द्रीय समिति बैठक पनि डाकेका थियौँ ।
देशभरबाट हजार-१२ सय कार्यकर्ता आउनुभएको थियो, तर ११ बजे अध्यक्ष रञ्जिताजी र डा. सिके राउत दुवैजना आउनु भएन । यसले दुवै पक्षका कार्यकर्ताहरूमा शङ्का-उपशङ्का हुनु स्वभाविक हो । तर, यो शङ्काबारेमा उहाँहरूले नै प्रष्टीकरण दिनुपर्छ । बाँकी त मैले कुनै कारण देखेको छैन ।

कसका कारण रोकियो पार्टी एकता, जनमत कि नाउपाका कारण ?
– कसका कारण भाँडियो म भन्न सक्दिनँ । समयले भन्छ । तर, म जेलबाट छुटेपछि १८ गतेदेखि डा. सिके राउतसँग कुनै टेलिफोन संवादसमेत भएको छैन । त्यसकारण पार्टी एकता अहिले हुन सम्भव पनि देख्दिनँ । फेरि नागरिक उन्मुक्ति पार्टी भनेको थरुहट आन्दोलन र मधेस आन्दोलनको जग र पीडाबाट जन्मिएको पार्टी हो ।
हामीसँग सिङ्गो भूमिहीन कमैया, सुकुम्वासी दलितहरूको एउटा मुद्दा र एजेन्डा छ । जसका कारण म साढे ८ वर्ष जेल बसेँ । अब हामीले इमानदारपूर्वक एकता गर्न खोजेको हो । अहिलेसम्म जनमत अध्यक्ष राउतले सामान्य सहानुभूति राखेर सम्पर्क पनि गर्न नखोज्नु एकता प्रकृयालाई प्रश्रय नदिनु हो । यसमा हामीलाई केही भन्नु छैन ।
कसैसँग एकता गरिहाल्नुपर्छ, मिसिइहाल्नुपर्छ, टाँसिहाल्नुपर्छ भन्ने केही छैन । हामीले मधेस र थरुहटका जनताको भावना बुझेर एकता गर्न खोजेका हौँ । मलाई लाग्छ यो विषय जटिल बन्दै गएको छ । अब सायद एकता हुन्न पनि होला । यो प्रकारले एकता सम्भव पनि छैन । एकतामा अल्झिएर पार्टी विस्तार रोकिनु हुँदैन ।
यो पनि पढ्नुहोस् :
‘नागरिक उन्मुक्ति पार्टीको सरकारमा बस्ने मनसाय छैन’
हाम्रो तर्फबाट केन्द्रीय समिति सचिवालय समिति, कार्यसम्पादन समिति नौ बुँदे सहमति अनुसारको ‘लिस्ट’ नै छ । त्यो हामी १७ गते बुझाउने थियौँ नै, अहिले पनि जिउँका तिउँ छ । जनमतले यो विषयलाई कसरी लिएको छ ? उहाँहरूले पनि मिलाउँदै हुनुहुन्छ होला । पार्टी हो पार्टीमा समस्या रहन्छन् । विषयवस्तु हुन्छन् ।
उहाँहरूको पार्टीमा पनि केही समस्या होला । आन्तरिक समस्यालाई एकैछिन टुङ्गिएन भनेर पार्टी एकता नहुने त होइन । तर मलाई के लागेको छ भने नाउपाको जिल्ला प्रदेश क्षेत्र नगर सबै समिति गठन र सम्मेलनको समय अवधि सकिएको छ । हामीले यो सबै सम्मेलन गर्दा पनि दुई चार महिनाले पुग्दैन । त्यसैले अब सङ्गठन विस्तारको काम गर्नु नै उचित ठान्छु । पार्टी एकीकरणभन्दा पनि अब कार्यगत एकता गरेर जानुपर्छ भन्ने विषयमा छु ।
कस्तो कार्यगत एकता ?
– कार्यगत एकता गर्ने प्रस्ताव नेपाली कांग्रेसबाट पनि आएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि कुरा गर्नुभएको छ । लोसपाका महन्त ठाकुर र जसपाका उपेन्द्र यादवले पनि गर्नुभएको छ । अब हामी कार्यगत एकतातिर बढी जोड दिन्छौँ ।
कसरी गर्ने त कार्यगत एकता ?
– पार्टी एकता नगर्ने । एक पार्टीले अर्को पार्टीको मुद्दालाई सघाउने तर पार्टीलाई स्वतन्त्र निर्णय गर्ने अधिकार दिने ।

यसका लागि कोसँग एजेण्डा मिल्ला ?
– नेपालमा कुनै पनि अर्ग्यानिक पार्टी छैनन् । नेपालमा भौगोलिक संस्कृतिसहितको संघीयता र समुदायमा आधारित समाजवादको सिद्धान्त बोकेर हिँड्ने एउटा मात्र अर्ग्यानिक पार्टी नाउपा हो । यो पार्टी आफ्नै नीति र सिद्धान्त लिएर अगाडि बढ्छ । मैले भनेको कुनै कुनै इस्युमा कार्यगत एकता गर्ने मात्र भनेको हो । यसका लागि प्रस्ताव आएको छ ।
खबरहबसँगको कुराकानीमा जनमत अध्यक्ष राउतले एकताबारे नाउपा अध्यक्ष र संरक्षकसँग छलफलमै छौँ भन्नुभएको थियो, उहाँले भनेको कुरा झुटो हो ?
– यो गलत कुरा हो । मसँग कुनै संवाद भएको छैन ।
उसो भए त एकता हल्लामा मात्रै सीमित भयो है ?
– मेरो विचारमा एकताको प्रकृया यहीँ थाती राख्नुपर्छ । तर, जनमतले के डिसिजन गर्छ ? यसको केन्द्रीय समितिले पनि डिसिजन गर्ला । यसका पदाधिकारीले पनि निर्णय गर्लान् । मधेस र थरुहट जनताको भावनाअनुसार एकीकरण अपरिहार्य र अनिवार्य हो । तर नेतृत्व विवादका कारण एकीकरण सम्भव म देख्दिनँ । मलाई झूटो बोल्न आउँदैन ।
कस्तो नेतृत्व विवाद ?
– सचिवालय समिति गठन, कार्यसम्पादन समितिमा यताबाट उता, उताबाट यता भयो । उहाँहरूले पनि मान्छे टुङ्ग्याउन नसक्नु, हाम्रा तर्फबाट हामी ‘रेडी’ थियौँ । मलाई लाग्छ, अब यो एकता प्रकृया छाडेको राम्रो । यसको विषयमा बहस र गन्थन नै बेकार जस्तो भयो । एकता प्रकृया थाती राखेर आ–आफ्नो सङ्गठन निर्माणमा लागेर पार्टी बनाउन म सम्पूर्ण कार्यकर्तालाई अनुरोध गर्छु । एकताको विषयमा अनावश्यक छलफल र बहस नगर्न अनुरोध गर्छु ।
उसो भए अब नाउपा एक्लै अगाडि बढ्छ ?
– बढ्छ । हाम्रो नगर, क्षेत्रीय जिल्ला, पालिका वडा सबै सम्मेलन हुन्छन् । ०८२ भित्रमा महाधिवेशन सम्पन्न गर्नुछ । जुन महाधिवेशन निर्वाचन आयोगले मान्यता दिएको छैन, त्यसको मुद्दा पनि अदालतमा विचाराधीन छ । दुवै पक्षलाई ध्यानमा राखेर पार्टीको हित र कार्यलाई पनि अगाडि बढाउँदै मुद्दालाई पनि सुक्ष्म ढङ्गले नियाल्दै जानुछ ।
यो पनि पढ्नुहोस् :
सरकारको काममा सन्तुष्ट छैनौँ, समर्थन दिन बाध्य छौँ
तर, पार्टीमा त आन्तरिक कलह भएरै समस्या देखियो नि ?
– केही फरक छैन । मैले जन्माएको पार्टी हो । जेलमा लेखेको विधान हो । धारा र कानुनको विषयमा मलाई जानकारी छ । यदि मैले राजनीति गरेर उहाँहरूलाई अपच हुन्छ भने म राजनीति छाडिदिउँला नि त । तर थरुहटको माग, मुद्दा, आन्दोलन र विषयलाई म समाप्त गर्न सक्दिनँ । कुनै न कुनै रूपमा अगाडि बढाएर केही न केही रूपले अगाडि जाउँला । धेरै म विवादमा पर्न चाहन्नँ ।
नाउपाभित्रको विवादलाई कसैले पनि बढावा नदेओस् । तर, धेरै विवाद चुलियो भने जहाँनेर विवाद भएको छ, त्यो विवादित व्यक्तिमध्ये कुनै न कुनै व्यक्ति किनारा लाग्नुपर्ने हुन्छ । एउटा न एउटालाई हार र जितको पगरी दिनुपर्ने हुन्छ । अन्तिम समयमा आइसकेको छ ।

विवाद त देखियो, यदि यहाँ नै किराना लाग्नुपरे पनि तयार हो ?
– म त सबैभन्दा राम्रो तयार । सबैभन्दा सहज । मैले मेरी आमालाई पनि भनेँ– ‘आमा म धेरै थाकेँ । अब किताब लेख्छु । संसारभरि पढाएर क्षमता प्रदर्शन गरेर खान्छु ।’ रेशम चौधरी भनेको आफैँ बनेको व्यक्ति हो । कसैले बनाएको होइन । मलाई कलाकार, कवि, खेलाडी पनि कसैले बनाएन । कसैले सिफारिस गरेर मैले बहुमुखी पुरस्कार पाएको होइन । गोरखा दक्षिणबाहु पाएको होइन । राष्ट्रिय प्रतिभा पुरस्कार पाएको होइन । म यो जालझेल, छलकपटमा रमाउनुभन्दा आफ्नैपनमा रमाउन मन पराउँछु ।
प्रतिक्रिया