अप्रिल ३० देखि मे ९ सम्म दक्षिण कोरियामा २६ औँ छन्जु अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल चल्यो । यो फेस्टिवल दक्षिण कोरियाको प्रमुख फिल्म फेस्टिवल हो ।
फेस्टिवलको क्लोजिङ फिल्मका रूपमा ‘इन द ल्याण्ड अफ मेसिन्स’ शीर्षकको ९२ मिनेट लामो डकुमेन्ट्री प्रदर्शन भयो । यो डकुमेन्ट्री कोरियामा कार्यरत नेपाली श्रमिक कविहरूको कविता सङ्ग्रह ‘यो मेसिनको सहर हो’ मा आधारित थियो । र, कोरियन भाषामा अनुदित थियो ।
युरेसिया कल्चरल फोरम दक्षिण कोरियाले प्रकाशन गरेको कविता सङ्ग्रहमा ३५ जना नेपाली कविका ७० वटा कविता सङ्ग्रहित छन् । कोरियामा नेपाली श्रमिकका मनोभाव समेटिएको कविता सङ्ग्रहले राम्रो चर्चा पायो । विभिन्न सम्मानसहित पुरस्कारसमेत प्राप्त गर्यो ।
सङ्ग्रहले रुसी बोल्सेभिक क्रान्तिको स्मृतिमा दक्षिण कोरियामा प्रदान गरिने सन् २०२० का लागि रेड अवार्ड प्राप्त गर्यो । कोरियाका लोकप्रिय कवि स्वर्गीय वाकदुजिनको स्मृतिमा प्रदान गरिने दक्षिण कोरियाको प्रतिष्ठित पुरस्कार ‘एसिया भिजन’ सम्मानसहित २५ लाख वन राशिको पुरस्कारसमेत प्राप्त गर्न सफल भयो ।
कविता सङ्ग्रह दक्षिण कोरियामा करिब ४ दशक अघिदेखि चलचित्र लेखन, निर्माण तथा निर्देशन गरिरहेकी किम ओक्यङको नजरमा पर्यो । दक्षिण कोरियामा श्रम गर्न आउने प्रवासी श्रमिकलाई केवल मजदुरका रूपमा मात्रै बुझेकी उनी कविता सङ्ग्रह देखेर चकित परिन् । उनलाई ती कविताको पृष्ठभूमि, कविहरूको अवस्था र नेपालमा तिनको अनुभव जस्ता विषयमा चासो बढ्यो । उनले सङ्ग्रहबाट छनोट गरेर ८ जना श्रमिक कविको कविता र दैनिकीलाई पर्दामा उतार्ने निधो गरिन् ।

टोलीले छनोट गरेका कविताका सर्जकलाई सम्पर्क गर्ने र आवश्यक प्रकृया पूरा गर्ने काम गर्यो । छानिएका ८ जना कविलाई करिव २ वर्षभन्दा बढी समय लगाएर उनीहरूको कार्यस्थल, बिदाको समय, घुमफिरलगायतका सम्पूर्ण दैनिकीलाई फरक मौसम र ऋतुहरूमा निरन्तर पच्छ्याएर खिचिएको डकुमेन्ट्री ‘इन द ल्याण्ड अफ मेसिन्स’ हो ।
सङ्ग्रहमा पोमूको योगदान
‘यो मेसिनको सहर हो’ कविता सङ्ग्रह तयार पार्न कवि पराजित पोमूले योगदान गरे । उनले ३५ श्रमिक कविहरूका कविता छनोट गरे । सङ्कलन तथा सम्पादन गरे । र, कोरियन भाषामा अनुवाद गर्ने जिम्मा लिए ।
लामो समयदेखि युरेसिया कल्चरल फोरमले नेपाली कविहरूसँग मिलेर कविता सङ्ग्रह प्रकाशन गर्ने जमर्को गरिरहे पनि त्यो सम्भव भइरहेको थिएन । फोरमबाट कवि पोमूलाई सम्पर्क गरिएपछि भने उनको सम्पर्क, सम्बन्ध तथा सक्रियतामा कविताहरू सङ्कलन भए । सम्पादन गरिए र प्रकाशनका लागि तयार भए ।
डकुमेन्ट्री निर्माण टोलीले समेत पोमूलाई खोजी गर्यो । उनले आवश्यक समन्वय र सहभागिता जनाए । कतिपय सन्दर्भमा उनको प्रत्यक्ष संलग्नता रह्यो । कोरोना महामारीको समयमा विभिन्न असहजताका बीच खिचिएको डकुमेन्ट्री लामो समयको पर्खाइपछि फेस्टिवलमा स्क्रिनिङ भयो ।
उत्सवमा डकुमेन्ट्रीमा समावेश सबै कवि उपस्थित हुन सकेनन्, कवि जीवन खत्रीबाहेक । न त सुरूबाटै जोडिने पराजित पोमू नै । किनभने पोमू त केही वर्षअघि नै नेपाल फर्किसकेका थिए । बाँकी कविहरू कम्पनीको व्यस्तताले उपस्थित हुन सकेनन् ।
पराजित पोमूको त्यो सक्रियता र नेपाली साहित्यप्रतिको लगनले ‘यो मेसिनको सहर हो’ तयार हुन सक्यो । यो कृतिले दक्षिण कोरियाली माझ नेपाली भाषा र साहित्यको प्रचार हुन सक्यो । नेपालीहरूको सकारात्मक परिचयलाई थप बलियो बनाउन सहयोगी बन्यो ।

दैनिक २४ घण्टामा यहाँका सबै मजदुर दैनिक १०–१२ घण्टा शारीरिक श्रम गर्छन् । कम्पनी साहूलाई बेचिएको समयबाट उबारेर सिर्जनशील काम गर्छन् । यस्ता नेपाली मात्रै थोरै भेटिन्छन् । सिर्जनामा रमाउने नेपालीको एउटा ठूलै तप्कालै पराजित पोमूलाई आफ्नो मेन्टर ठान्न थालेको थियो ।
उनले पनि निरन्तर घच्घच्याइरहे । ‘निरन्तर लेखिरहनुपर्छ है’ भने । व्यक्तिगत रूपमा भन्नुपर्दा उनले निरन्तर कोट्याइरहेकाले नै मैले पनि कथा सङ्ग्रह प्रकाशन गर्ने हिम्मत गरेको थिएँ । उनीबाट मैलेजस्तै आड, भरोसा र हिम्मत पाउने लेखनमा रुचि हुने थुप्रै साथीहरू छन् ।
नेपाली साहित्यमा निक्कै पछिसम्म आदिवासी जनजाति समुदायको सांस्कृतिक सौन्दर्य, कला, भाषा तथा ज्ञानका विषयहरू फरक धारका रूपमा अथ्र्याइए अर्थात् तिनलाई मूलधार भनिने साहित्यले आँखा तरिरह्यो । यसको प्रतिरोधमा निरन्तर लेखहरू आइरहे । आवाजहरू उठिरहे । यिनै पृष्ठभूमिमा दक्षिण कोरियामा इतर आवाज साहित्य समाज नामको संस्था स्थापना भयो । पराजित पोमूले त्यसैको नेतृत्व गरे । खासगरी आदिवासी जनजाति समुदायका लेखकहरूलाई सिर्जना कर्ममा प्रेरित गरिरहे ।
संस्था स्थापनाको अवधारणा अनुसार विचार निर्माण गरी सिर्जनाहरू विभिन्न मञ्चमा प्रस्तुत भए, मन्थन भए । संस्थाको नेतृत्वकर्ताको हैसियतमा पोमूकै नेतृत्वमा सम्भवतः नेपाली कविताको इतिहासमा सबैभन्दा धेरै भाषा समेटिएको र सङ्ख्यात्मक हिसाबले धेरै कविहरू अटाइएको कविता सङ्ग्रह ‘इतर कविता’ सङ्कलन तथा सम्पादन गरी प्रकाशन भयो । यो कविता सङ्ग्रहलाई नेपालका कवि, लेखक तथा विद्वतवर्गले समेत विभिन्न सन्दर्भमा सन्दर्भ–सामग्रीका रूपमा प्रयोग गर्ने गरेका छन् । शोधकर्ताहरूबाट थुप्रै शोधकार्यहरू समेत भएका छन् ।
मेसिनसँगै नारिएर काम गरी लखतरान ज्यान लिएर बासस्थान फर्किएको एउटा मजदुरले यदि सामान्य आराम मात्रै गरी बसेको भए यति महत्त्वपूर्ण कृति नेपाली साहित्यले पाउने थिएन । यो पराजित पोमूको पागलपनबाट सिर्जित उत्कृष्ट कृति हो भन्न सकिन्छ ।
प्रतिक्रिया