आलमलाई सफाइ दिने दुवै न्यायाधीश सर्वोच्च तानिए, छानबिन थालियो | Khabarhub Khabarhub

आलमलाई सफाइ दिने दुवै न्यायाधीश सर्वोच्च तानिए, छानबिन थालियो


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका दुवै न्यायाधीशमाथि छानबिन थालिएको छ ।

उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनलाई न्यायपरिषद्को मंगलबारको बैठकले सर्वोच्चमा तानेर कारबाही अघि बढाएको हो ।

छानबिनमा तानिएपछि दुवै न्यायाधीशले मुद्दा हेर्न नपाउने भएका छन् । आलमलाई सफाइ दिने फैसलाका कारण विवादित बनेपछि उनीहरूलाई सर्वोच्चमा तानिएको हो ।

आलमलाई सफाइ दिएको आक्रोशमा दुवैजनालाई इजलासमै धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले मोसो दलिदिएका थिए । त्यहीकारण उनीहरूको सुरक्षामा पनि चुनौती बढेपछि सर्वोच्चमा काजमा तानिएको हो ।

उनीहरूले जिल्ला अदालत रौतहटले १३ वैशाख २०८१ मा गरेको जन्म कैदको सजाय १४ जेठमा उल्ट्याइदिएका थिए ।

जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएपछि उनी नख्खु जेलमा थिए । आलम त्यही बेलुका छुटिसकेका छन् । त्यसपछि उनलाई ब्रेन स्ट्रोक भएर गम्भीर बिरामी परेका थिए ।

उजुरी

रौतहट जिल्ला अदालतले दोषी ठहर गरिसकेको अवस्थामा आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशद्वय थारु र महर्जनलाई कारबाही माग गर्दै जेठ १६ गते न्याय परिषद्मा उजुरी परेको थियो ।

यी दुवै न्यायाधीशविरुद्ध युवराज पौडेल सफलले शुक्रबार उजुरी दर्ता गराएका थिए । उजुरीकर्ताले न्यायाधीशद्वयलाई तत्काल निलम्बन गरी आलमलाई उन्मुक्ति दिइएको मिसिल झिकाएर न्यायिक परीक्षण माग गरेका थिए ।

‘पीडितलाई नै अन्याय हुनेगरी आदेश गर्ने उल्लेखित न्यायाधीशद्वय थारु र महर्जनले हालसम्म जिल्ला अदालत वा उच्च अदालतमा रहँदा गरेका न्याय सम्पादनका कार्य एवम् निजहरूले गरेका आदेशसमेत परीक्षण गर्न र उल्लेखित न्यायाधीशलाई तत्काल निलम्बन गर्न एवम् न्याय परिषद् सचिवालय ऐन बमोजिम अन्य विभागीय कारबाही गर्न माग गर्दै प्रस्तुत उजुरी पेश गरेको छु,’ उनले उजुरीमा भनेका थिए ।

२०६४ सालको संविधान सभा निर्वाचनको बेला आलमले २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको आरोप लागेको थियो ।

२०७६ कात्तिक २९ मा जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो । न्यायाधीश मातृका प्रसाद आचार्यको एकल इजलासले प्रतिवादी आलमलगायतलाई जन्मकैदको सजाय सुनाएका थिए।

जिल्ला अदालतको उक्त आदेश उच्च अदालतले उल्ट्याइदिएपछि त्यसबारेमा देशभर न्यायालयको भूमिकामाथि अनेक टीकाटिप्पणी र विरोध भइरहेको थियो ।

रौतहटको राजपुरमा २०६४ चैत २७ गते बम बिस्फोट भएछि घाइतेहरूलाई जिउँदै इँटाभट्टामा हालेको आरोप आलमलाई लागेको थियो ।

२६ असोज २०७६ मा  पक्राउ परेका तत्कालीन अवस्थामा रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित आलमविरूद्ध प्रहरीले १४ जनाको हत्या गरेको अभियोगमा मुद्दा चलाएको थियो । घटनाको १२ वर्षपछि प्रहरीले आलमलाई रौतहटस्थित निवासबाटै पक्राउ गरेको थियो ।

घटना?

चुनावको तयारी भइरहेका बेला २०६४ चैत २७ गते रौतहटको फरदवम गाउँमा बम विस्फोट भएको थियो ।

विस्फोटमा दुई जनाले घटनास्थलमै ज्यान गुमाए । त्यहाँ १२ जना भन्दा धेरै घाइते भए। घाइतेमध्ये नेपाली र भारतीय नागरिकसमेत थिए । बम विस्फोटको त्यति ठूलो घटनाका कयौँ घाइते लगत्तै गायब भए ।

घटनापछि गायब भएकामध्ये केहीका परिवार प्रहरीमा पुगे । शेख रुक्सना खातुन र श्रीनारायण सिंहले संविधान सभाको चुनावमा उम्मेदवार बनेका आलममाथि हत्या आरोपसहित जाहेरी दिए । त्यसबेला बम विस्फोटबाट घाइते भएका ११ जनालाई आलमले इँटाभट्टा हालेर मारेको आरोप लागेको थियो ।

उक्त उजुरीको लामो समयपछि सक्रिय भएको प्रहरीले संविधानसभा चुनावमा बुथ कब्जा गर्न भारतबाट मान्छे ल्याएर बम बनाउन लगाएको पत्ता लगायो ।

बम बनाउँदा बनाउँदै विस्फोट हुँदा दुई जना घटनास्थलमै मारिए । जसमा ११ जना गम्भीर घाइते भएको खुल्यो । उक्त काण्ड लुकाउन आलमले उनीहरूलाई जिउँदै इँटा भट्टामा हालेर मारेको गाउँलेले बताउँदै आएका थिए। त्यसकै आधारमा अनुसन्धान थालेको प्रहरीले आलमसहितविरुद्ध ज्यान मुद्दा चलाएको थियो ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ५ : ३३ बजे

आदिकविबाट नेपालीलाई भाषा र भावनाको सेतुले जोड्ने काम भयो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यले नेपालीलाई भाषा र

दुई क्विन्टल गाँजासहित एक युवक पक्राउ

सिरहा– सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी

कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई

इलाम– इलाम माङसेबुङ गाउँपालिका–२ रत्नबस्तीका किसान राजेश राईले कफीको बिरुवा

युरो कप फुटबल : जर्मनीविरुद्ध स्विडेनको चार गोल

काठमाडौं – स्विडेनले युरो कप फुटबलको समूह चरणको खेलमा जर्मनीमाथि

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

मोरङ– बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिनप्रतिदिन पानीको अभावले सुक्न